एकजना मस्कोवासी फेसबुक मित्रले मलाई ‘रामविन्दु ! रुसी भाषामा नेपाली परी कथाका पुस्तकहरू प्रकाशित भएका छन् कि ? म मेरो छोराका लागि किन्न चाहन्छु’ भनी जिज्ञासा पोखे। केही दिनपछि उनले ‘रामविन्दु, सन् १९७१ मा सोभियत कालमा प्रकाशित ‘नेपाली दन्त्य कथाहरू’को पहिलो पुस्तक भेटियो र त्यो आज मैले किनेँ’ भनी लेखे। साथै त्यो पुस्तक अनुवादकको टिममा स्व. कृष्णप्रकाश श्रेष्ठको नाम देखेर उनले ‘यो दोस्रो अनुवादक श्रेष्ठ तिम्रा आफन्त पर्छन् कि?’ भनी सोधे। र अब हामी यसलाई हाम्रो छोरासँग पढ्नेछौं भनी लेखे।
मैले सो पुस्तकको कभर हेरें र यसको नाम ‘नेपाली लोककथा’ रहेछ। पुस्तकका अनुवादकहरू रुसी लेखिका ल्युदमिला अलेक्सान्द्रेभ्ना अगानिना र स्व. कृष्णप्रकाश श्रेष्ठ रहेछन्।
हो, यिनै रुसी लेखिका ल्युदमिला अगानिनाले सन् १९५८ को अक्टोबरमा अफ्रो–एसियाली लेखकहरूको ऐतिहासिक तासकन्द सम्मेलनमा हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई भेटेकी रहिछन् र पहिलोपटक विदेशी भाषामा देवकोटाको जीवनी लेखिन्।
ल्युदमिलाको शब्दमा देवकोटा एक प्रतिभाशाली नेपाली कवि, स्वतन्त्रता प्रेमी, देशभक्त, शब्दका शिल्पकार, उपनिवेशवाद विरोधी र सकारात्मक कार्य गर्ने व्यक्ति हुन्। देवकोटा सोभियत संघका हार्दिक मित्र थिए। कवि मर्छ तर उसको रचना अमर हुन्छ। देवकोटाका कविता जीवन्तताका उदाहरण हुन्। देवकोटाजस्तो प्रतिभा राष्ट्रको सीमामा मात्र सीमित नभई जहींतहीं अमर हुन्छन् र जनताको हृदयमा अनन्तसम्म रहन्छन्।
देवकोटाको रुस यात्रा
त्यो जुगमा महाकवि लक्ष्मीप्रसाद देवकोटा सन् १९५८ मा तत्कालीन उज्बेक सोभियत समाजवादी गणतन्त्रको राजधानी तासकन्दमा आयोजित अफ्रो–एसियाली लेखक सम्मेलनमा भाग लिन मस्को पुगेका थिए। यात्रामा उनकी पत्नी मनदेवी देवकोटा र राष्ट्रकवि माधव घिमिरे पनि सँगै थिए।
१९५० को यो उत्तराद्र्ध दशक सोभियतकालको सबैभन्दा उत्कृष्ट समय थियो। त्यो दोस्रो विश्वयुद्धकालमा पूर्णतः क्षतविक्षत भएको मुलुकलाई पुनः निर्माण गरेर सोभियतहरूले भर्खर अन्तरिक्षमा पु¥याएको उत्कर्ष बेला थियो। विश्व भूराजनीतिमा सोभियत संघले महाशक्तिको हैसियत स्थापित गरेको थियो।
अब सोभियत मिसन विश्वव्यापी बन्न खोज्दै थियो। यो आयोजनामार्फत ‘सोभियतपूर्वीय राजधानी तासकन्दले अन्तर्राष्ट्रिय पाहुनाहरूलाई विविध सांस्कृतिक कार्यक्रमको मनोरञ्जन मात्र प्रदान गरेन, बल्किएसियाली सोभियत गणतन्त्रहरूमा हासिल आश्चर्यजनक समाजवादी निर्माणका उपलब्धिहरूसँग परिचित गराउने अवसरसावित गर्यो। औपनिवेशिकताविरोधी आन्दोलनमा लेखकहरूको भूमिकालाई गोलबन्द र मुखरित गर्ने उद्देश्यसहित आयोजित अफ्रो–एसियाली लेखकहरूको सम्मेलनले शान्ति, राष्ट्रिय स्वाधीनता र जनऐक्यबद्धताको संघर्षमा लेखकहरूको भूमिका र दायित्व दिशाबोध गर्यो।
त्यतिखेर उज्बेकिस्तानको राजधानीमा युरोप, एसिया, अफ्रिका र अमेरिकाका ३७ देशका दुई सयभन्दा बढी लेखकहरू भेला भएका थिए। तासकन्द सम्मेलनमा महाकवि देवकोटाले प्रस्तुत गरेको भाषण–मन्तव्यलाई बाहिरी दुनियामा नेपाल र नेपाली साहित्यको परिचय फैलाउने महत्त्वपूर्ण दस्ताबेज मानिन्छ।
सञ्चार, मिडिया अनि यातायातको पहुँच नभएको त्यो अवस्थामा पनि सम्मेलनको चर्चा देशको कुना कन्दरासम्म फैलिएको थियो। कार्यपत्रबाहेक त्यो अफ्रो–एसियाली सम्मेलनमा उनले के बोलेका थिए, त्यो इतिहासको गर्भमा होला। तर मानिसहरू त्यसलाई आआफ्नै किसिमले प्रस्तुत गर्थे र त्यससम्बन्धी विभिन्न कहावतहरूसमेत बनिसकेका थिए, भलै कतिपय ठट्यौलीकै रूपमा किन नहोस्। यस मामलामा हाम्रो बागलुङ पनि अछुतो थिएन। हाम्रा नेपाली भाषा महेन्द्रमालाका शिक्षक स्व. योगराज गुरु, सो सम्मेलनमा देवकोटाले ‘जेसन...एन्ड...जेसन....इज आवर सिभिलाइजेसन’ भनेका थिए भन्दै हँसाउँथे।
१९ अक्टोबर १९५८ मा प्राब्दा प्रकाशनको ‘अगान्योक’ साप्ताहिकले ‘तासकन्द सम्मेलनको आवाज – एकता हो’ शीर्षकअन्तर्गत ‘प्रतिनिधिमण्डलका प्रमुखहरू बोल्छन्’ उपशीर्षकमा विश्वका विभिन्न देशका प्रतिनिधिहरूको विचार छापेको थियो। उक्त पत्रिकाको सातौं पेजमा हाम्रा महाकविको निम्नानुसारको विचार पनि राखिएको रहेछ:
‘अफ्रो–एसियाली लेखकहरूको सम्मेलन हाम्रो समयको एक धेरै मत्त्वपूर्ण घटना यसकारण हो कि यस भव्य सम्मेलनले विश्व शान्तिका पक्षधरहरू र सर्जकहरू, मानवताका दाजुभाइहरू, उत्कृष्ट दिमागहरू सबैलाई एकैथलोमा भेला गर्यो। यो जमघटका ती प्रतिनिधिहरूका पछाडि हामी डेढ अर्ब मानिसहरूको उपस्थिति महसुस गर्छौं।
म आशा गर्छु कि यो सभाले विश्वका लाखौं उत्पीडित जनताका लागि सुनौलो आशा ल्याउनेछ र भविष्यका लागि स्पष्ट बाटो देखाउनेछ। यो भेला हाम्रा अमिट सम्झनाहरूमा सदा स्मरणीय रहिरहनेछ। –लक्ष्मीप्रसाद देवकोटा, नेपाल, अक्टोबर १९५८’ सोभियतकालमा व्यक्तिको स्वास्थ्यको अत्यन्त ख्याल राखिन्थ्यो। त्यहाँ नेपालबाट अध्ययन गर्न गएका कतिपय रोगी विद्यार्थीहरूलाई एअरपोर्टबाट सिधै अस्पताल लगेर वर्षौं उपचार गरिन्थ्यो अनि मात्र विश्वविद्यालयमा प्रविष्ट गराइन्थ्यो। कुनै जमानामा डा. केशरजङ रायमाझी पनि रुसको अस्पतालमा आरोग्य प्राप्तिका लागि गएका थिए र अस्पतालकै बेडमा उनले नर्सबाट नेपालमा राजा महेन्द्रले २०१७ सालमा राजनीतिक ‘कू’ गरेको खबर पाएका थिए।
भ्रमणका क्रममा हाम्रा महाकविको मस्कोको प्रसिद्ध ‘बोत्किन अस्पताल’मा एक महिनाजति उपचार गरिएको थियो। स्वास्थ्यमा सुधार भएपछि उनी नेपाल फर्केका थिए। कुनै बेला शिक्षामन्त्री भएका देवकोटालाई स्वास्थ्योपचारका लागि आर्थिक सङ्कट परिरहन्थ्यो। कस्तो विडम्बना, अफ्रो–एसियाली लेखक सम्मेलनपश्चात् सोभियत संघबाट स्वदेश फर्केपछि अनुमति नलिई रुस भ्रमण गरेको आरोपमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महाकविको तलब रोक्का गर्यो। एकेडेमीको तलब रोक्का हुँदा उनको स्वास्थ्य झन् प्रतिकूल भयो। पछि राजा महेन्द्रले यो रहस्य थाहा पाएपछि एक महिनाको तलब जरिबाना गरेर उनको पारिश्रमिक फुकुवा गरिदिएका थिए।
देवकोटा मस्कोमा उपचाररत रहँदा अंग्रेजीमा काव्य सिर्जना गरेका थिए। तीमध्ये केही कवितालाई आगानिनाले रुसी भाषामा अनुवाद गरेकी थिइन्। तिनले महाकविको मस्को बसाइका क्रममा दोभाषेको काम पनि गरेकी थिइन्। तीमध्ये एउटा कवितांश यसप्रकार छ:
म मस्को नामको सहरमा छु।
मस्को एक दन्त्यकथाजस्तै सुन्दर छ।
....
तर मेरो मुटु सधैं मेरो देशसँगै छ:
खुलेको दिन होस्,
वा गड्याङगुडुङ गर्जनसहितको,
मेरो अगाडि देखा पर्छ मेरो सपनामा–
नेपाली पहाड फिरोजा,
नेपाली ताल फिरोजा,
नेपाली फिरोजा आकाश।
(फिरोजा-बहुमूल्य रत्न)
देवकोटाबारे सोभियत विदुषी स्व. ल्युदमिला अलेक्सान्द्रेभ्ना अगानिनाले १३६ पृष्ठको ‘नेपाली कविको कथा (लक्ष्मीप्रसाद देवकोटाको जीवन र सिर्जना)’ नामक कृति लेखिन्। यो सन् १९७० मा सोभियत विज्ञान एकेडेमी, प्राच्य अध्ययन संस्थानले प्रकाशन गरेको थियो। ल्युदमिलाले सन् १९८६ मा आफ्नो विद्यावारिधि पनि ‘आधुनिक नेपाली कवितामा साहित्यिक परम्पराको रूपान्तरण’ शीर्षकमा गरेकी थिइन्।
उनी सन् १९६८ मा प्रकाशित ३८ हजार शब्दले भरिएको ‘नेपाली–रुसी शब्दकोश’ सम्पादन टोलीमा पनि संलग्न रहिन्। यसबाहेक उनले नेपाली कविता, साहित्य, नाट्य आदिका आठवटा जति कृति रचेकी छन्। नेपाली साहित्यलाई रुसी संसारमा प्रसार गर्न ल्युदमिला अलेक्सान्द्रेभ्नाको ठुलो योगदान छ।
रुसी भाषामा देवकोटाका मुनामदनलगायत अन्य काव्य अनुवाद भएका छन्। तिनमा ल्युदमिला आगानिना र कृष्णप्रकाशबाट अनुदित ‘लक्ष्मीप्रसाद देवकोटा: सङ्कलित रचना’, ल्युदमिला साल्तिकोभा र कृष्णप्रकाश श्रेष्ठबाट अनुदित ‘सुनको बिहान ’ र फुटकर रचना ‘नेपाली साहित्य’ पर्छन्।
रुसी भाषाका विभिन्न नेपाली लेखकहरूको सङ्कलन सङ्ग्रहहरूमा पनि देवकोटाका रचना समावेश छन्। यु वास्तोभद्वारा अनुदित कवितासङ्ग्रह ‘नेपालका कविहरू’, ल्युदमिला आगानिना र अन्यद्वारा अनुदित ‘नेपाली कविहरूका कविता’ तथा निकोलाई काराल्योभ र ल्युदमिला आगानिनाबाट अनुदित कथासङ्ग्रह ‘आमाको ममता’ आदि यसका उदाहरण हुन्।
देवकोटा रुस जानुभन्दा एक वर्ष अघि मात्र ४ अक्टोबर १९५७ मा सोभियत संघले विश्वमै प्रथम भूउपग्रह स्पुतनिक अन्तरिक्षमा सफल प्रक्षेपण गरेको थियो। उनको सिर्जना ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक’ यसैको उपज हुन सक्छ।
यो कविता लेख्दा धेरैले उनलाई तरङ्गी भने र यो अचम्मको संयोग मान्नुपर्छ कि महाकविको निधन हुनुभन्दा दुइ दिनअघि मात्रै १२ सेप्टेम्बर १९५९ मा सोभियत संघले प्रक्षेपण गरेको लुना–२ अन्तरिक्ष यान पहिलोपटक चन्द्र धरातलमा ओर्लिएको थियो। १४ सेप्टेम्बर १९५९ सोमबार साँझ ६ बजे यी महामानवले धरतीबाट महाप्रस्थान गरे। देवकोटालाई नजिकबाट चिन्ने र नेपाललाई असाध्य माया गर्ने रुसी विदुषी ल्युदमिला आगानिनाले पनि २५ डिसेम्बर २००० मा संसार छाडिन्।
प्रकाशित: १० कार्तिक २०८१ ०८:०९ शनिबार