१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

हाईहाई अमेरिका! बाईबाई नेपाल!

निबन्ध

आज म अलि छिटो घर फर्केको थिएँ। मन मिल्ने साथीहरू बाटोमा नभेटेको हुँदा छिटो घर पुगिएको थियो। घरमा जहानले हुलाकबाट आएको चिठी दिइन्। खाममा संयुक्त राज्य अमेरिकाको हुलाक टिकट टाँसिएको थियो। खाममा पाउने नाममा मेरो घरको ठेगानासहित मेरो नाम लेखिएको तथा पठाउनेको नाम बारबरा विलियम भन्ने थियो। एक छेउ च्यातेर पत्र निकालेँ। पत्रमा लेखिएको थियो-

प्रिय दाजु सुजित,

कोटिकोटि प्रणाम !

यो पत्र तपाईंको हातमा पर्दा तपाईं जरुर अचम्म मान्नुहुनेछ। कारण, यो पत्र संयुक्त राज्य अमेरिकाको एउटा राज्य क्यालिफोर्नियाबाट पठाइरहेकी छु। पत्र पठाउने व्यक्ति एउटी अमेरिकी महिला छे। तर त्यस्तो होइन। उनी अरू कुनै अपरिचित विदेशी महिला होइनन्, सो महिला तपाईंहरूकै धर्मवाहिनी गंगा हुन्। यसतर्फ आउनका लागि इसाई धर्म प्रचारकहरूको करबलले आफ्ना बाबुआमाले राखेको नामका साथै आफ्नो हिन्दु धर्मसमेत त्यागी इसाई बनी उपर्युक्त नाम धारिनुपरेको हो। तपाईंहरूलाई थाहा भएकै हुनुपर्छ, मैले बारम्बार भन्ने गरेकी थिएँ, ‘अमेरिका पुग्न पाए कस्तो रमाइलो हुनेछ।’

शुद्ध मनले मात्र कुनै इच्छा कामना गर्नु अथवा चिताउनुपर्ने रहेछ। भगवानले पूरा गरिदिँदो रहेछ।

आज म अमेरिकामा छु। संसारका सबैजसो देशका मान्छेको गन्तव्यस्थल बनाउन चाहना गर्ने देशमा, हाम्रो देश नेपालमा पनि कक्षा १२ सम्म पढेपछि उच्च शिक्षा लिने नाममा यसतर्फ आउने र आउन खोज्नेहरू प्रशस्त छन्। सानोतिनो काम गरी कोही उच्च शिक्षा लिन सफल पनि हुन्छन्। यहाँ आइसकेपछि धेरैजसो भारतीय मूल अथवा चिनियाँ मूलका अमेरिकीहरूको पसल, रेष्टुराँ तथा लजहरूमा सानोतिनो काम गरी जीवन गुजारिरहेको मैले देखेकी छु। अमेरिका आएपछि काम नपाउने, रोजगार नपाउने हुँदैन, खोज्नु मात्र पर्छ। अमेरिकीहरू यसरी कम ज्यालादारीमा भनौं वा कम वेतन दिएर पढेलेखेका व्यक्तिलाई आफ्नो कामकाज गर्न र गराउन पाइरहेको मैले देखेकी र सुनेकी छु।

मेरो पनि नेपालमा छँदा जसरी भए पनि अमेरिका पुग्ने र त्यहाँ वैभवशाली जीवनयापन गर्ने ठुलो सपना थियो। यो सपना तपाईंहरूको सहयोग नपाएकी भए पूरा हुने थिएन। कारण म केवल कक्षा १० सम्म मात्र पढेकी, आमाबुबा नभएकी टुहुरी केटीले कसरी साकार पार्न सक्ने? तपाईंहरूको सहयोग, माया, दयाकै कारण नर्स तालिम लिन पाइयो। यस्तो प्राविधिक कार्यले गर्दा मात्र यहाँ मैले प्रवेश पाउन सकेकी थिएँ।

आज यहाँ मैले भौतिक सुविधा भरपुर उपयोग गरिरहेकी छु, घुमफिर गर्न पाइरहेकी छु। आज मेरो आफ्नै फ्ल्याट छ, गाडी छ, बैंक ब्यालेन्स पनि छ। तर भित्री हृदयदेखि आफ्नो मान्ने शुभचिन्तक मैले भेटाउन सकेकी छैन।

तपाईंहरूलाई थाहा नै होला, म नेपालको पूर्वाञ्चलको एउटा गाउँकी सामान्य केटी थिएँ। मेरो गाउँ भारतको दार्जिलिङनजिक रहेको हुँदा त्यहाँ धेरै शिक्षित व्यक्तिहरूको वासस्थान छ। त्यसैले मेरा आमाबुबाले मलाई अंग्रेजी भाषाका माध्यमले पढाउने निजी विद्यालयमा भर्ती गरी पढाउनुभएको थियो। तर आमाको असामयिक निधनले कक्षा १० पूरा पढी परीक्षा उत्तीर्ण हुने अवसर मिलेन। आमाको निधनले मेरा बुबाको नुर गिर्‍यो।

 पहिलेझैं आफ्नो हैसियतअनुसार कामकाज गर्न सक्नुभएन। भएको खेतबाट पहिलेझैं आम्दानी नभएको हुँदा आफ्नो घरको भुइँतलाका कोठासमेत बहालमा दिनुपर्‍यो। गिर्दो आर्थिक स्थितिले बुबाले मेरो पढाइ छुटाउन बाध्य हुनुभयो र गाउँकै धनी मानिएका जमिनदार बाजे वीरबहादुर कार्कीको छोरा जङ्गबहादुर काकाको साथ घरेलु कामदार भई काठमाडौं आउनुपरेको थियो। उहाँ काठमाडौंमा एक सरकारी कार्यालयको उच्च पदस्थ कर्मचारीका रूपमा आउनुभएको थियो। काठमाडौंमा ६/७ महिना यताउता डुली रमाइलोसँग बितेको थियो।

जङ्गबहादुर काकाका साथीहरू बढ्दै गएपछि हरेक शुक्रबार साथीहरू कहाँ रमझम गर्ने, मद्यपान गर्ने बानी बस्यो। घरमा ढिलो फर्कने भइयो। सधैं ढोका खोल्ने मेरो जिम्मेवारीमा पर्‍यो। मदिराले लट्ठ पर्दा उहाँबाट मेरो शारीरिक शोषण हुन थालेको हुँदा समयमै उक्त घरबाट तपाईंहरूको सहयोगले निस्कन सकेँ। नर्सको तालिम लिन पाइयो। पछि यतातिर आउन सफल भइयो।

अन्तमा तपाईंहरूलाई नेपाल छँदा मुखामुख भेट्न नसकेकोमा पछुतोमा छु। कारण यतातर्फ आउनेमा मात्र मेरो मन, वचन र कर्म लागेको हुँदा समय पाउन सकिनँ। साँच्चै भन्ने हो भने तपाईंहरूले यता आउनबाट रोक्नुहुन्छ जस्तो लागेको थियो। अब त मनले चिताएको पुग्यो। मबाट हुनसक्ने केही सहयोग गर्न सदा तयार छु। अब नेपाललाई ‘बाई बाई’ गर्दै ‘हाईहाई’ अमेरिका भन्नु मात्र मेरो काम भएको छ।

यहाँ मैले सुखद जीवनयापन गर्दैछु। केही कुराको कमी महसुस गरेकी छैन, सिवाय तपाईंहरूको संगतको। पत्रको उत्तर पाउने अपेक्षा गरेकी छु।

तपाईंहरूकी धर्म बहिनी

गंगा उर्फ बारबरा।

यसरी ६/७ वर्षको अन्तरालमा एक जमानामा आफ्नै सहोदर बहिनी ठानेर सक्दो सहयोग गरिएकी महिलाको पत्र पाएर म दंग भएँ। उनी नेपालमा दुःख पाएर हुर्केकी थिइन्। त्यसैले देशमै सुख पाइएला भनेर उनले सोच्न समेत सकिनन्। सुखका लागि उनले देश परिवर्तन गरिन्, धर्म परिवर्तन गरिन्, नाम परिवर्तन गरिन्। उनको त्यो परिवर्तन देखेर मलाई भने ‘हाईहाई अमेरिका ! बाईबाई नेपाल !’ होइन, ‘बाईबाई अमेरिका ! हाईहाई नेपाल !’ भन्न मन लागेको छ।  

प्रकाशित: १० कार्तिक २०८१ ०६:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App