१० कार्तिक २०८१ शनिबार
image/svg+xml
कला

दीपावली: सकारात्मक ऊर्जाको अनुभूति

संस्कृति

संस्कृतमा दीपलाई बत्ती र वलीको अर्थ पंक्ति भन्ने बुझिन्छ। जसले उज्यालोको प्रतीकलाई संकेत गर्छ। त्यो उज्यालो जसले बाहिरको अन्धकार मेटाउनमा मद्धत गर्छ। बिहानबेलुका पूजा आरती गर्ने, कलशमा जल राख्ने र प्रार्थना गर्ने हाम्रो सनातन धर्म संस्कृतिको परम्परा हो।

बाल्यकालको सम्झना छ, हामीलाई रातको भोजन सकेर, सरसफाइ गरेपछि कलशमा पानी भरी राखेर र दीप जलाएर मात्र सुत्न गइन्थ्यो। हजुरआमाले हामी दिदीबहिनीलाई त्यो पालो लगाइदिनुभएको थियो। साँझको बत्ती देवतालाई, रातमा बलेको बत्ती र कलशको जल पितृका लागि हो भनेर सम्झाउनुहुन्थ्यो। पितृ खुसी राख्नुपर्छ, नत्र देवताले दिए पनि पितृले हर्छन् भन्नुहुन्थ्यो।

समग्रमा जहाँ दीप प्रज्वलित हुन्छ, त्यहाँ नकारात्मक ऊर्जाले स्थान लिन सक्दैन। दीपसँगै राखेको जलको ऊर्जाशक्ति नै परिवर्तन हुन्छ र त्यसले समग्र घर, वरपरको वातावरण र व्यक्तिको मनस्थिति पनि सकारात्मक बनाउँछ। हामीलाई बाहिरी वातावरण मात्र सकारात्मक बनाएर जीवन ऊर्जा सकारात्मक हुँदैन, आन्तरिक प्रकाश प्रज्वलित गरेर ज्ञान र प्रज्ञाको विकास गर्न ध्यान, साधना र मनका रिपुहरूलाई जलाउनुपर्छ। औंसीको रातमा नै मनाइने दीपावलीले बाहिरको उज्यालो जस्तै आन्तरिक ज्ञानको प्रकाशले अज्ञानता र अहङ्कारलाई मेटाउने संकेत गरेको हो। चारैतिर झिलिमिली बत्ती जल्दा जसरी मन खुसी हुन्छ र रमाइलो अनुभूति हुन्छ, त्यो खुसी आन्तरिक रूपमा सदा बनिरहोस्, दीपावलीको सन्देश हो।

धन, ज्ञान, समृद्धि र प्रसन्नताको तिहार

पर्वलाई हिन्दी भाषामा त्योहार भनिन्छ। हाम्रो तिहार पनि त्यस्तो पर्व हो, जतिबेला धनको पूजा गरिन्छ किनकि हामी जेको पूजा गर्छौं, त्यही प्राप्त हुन्छ। यसले पनि हामीलाई ज्ञान दिन्छ। कर्मको पूजा गर्नुपर्छ। कर्मको पूजा गरेपछि धन आर्जन हुन्छ। ठगेर, लुटेर, चोरेर, भ्रष्टाचार गरेर र अनैतिक तरिकाले आर्जन गरेको धनलाई धन भनिन्न। धन देवी लक्ष्मीको प्रतीक बन्नुपर्छ। कर्मयोगमार्फत आर्जित पूजा र प्रार्थनाको फल हो धन। धनलाई आकर्षण गर्न धनको आराधना र सम्मान गर्नुपर्छ किनकि देवी लक्ष्मीबिना प्रार्थना र सम्मान प्राप्त हुँदैन। एउटा जागृत व्यक्तिले मात्र वास्तविक धन के हो थाहा पाउन सक्छ। जागृत व्यक्ति त्यो हो, जसले भयलाई उत्साहमा, चिन्तालाई विस्मयमा, शोकलाई शक्तिमा, क्रोधलाई करुणामा र कामनालाई तृप्तिमा बदल्न सक्छ।

जागृत व्यक्तिले जीवनका ससाना दुःखलाई सुख र खुसीयालीमा बदल्नेदेखि लिएर जीवनलाई नै आनन्दको प्रवाहमा रूपान्तरित गर्ने ज्ञान, सोच र कलाले निपुण हुन्छ। त्यही नै उसका लागि लक्ष्मी प्राप्ति हुन्छ। बाहिरका जानकारीले ज्ञानभन्दा धेरै अज्ञान बढाएको हुन्छ। प्रकाशरूपी ज्ञान र विवेकरूपी प्रज्ञा आर्जन गर्न पनि भित्रको अज्ञानतारूपी अन्धकारलाई नष्ट नगरी सुख छैन। भगवान् बुद्धले मनुष्य जातिलाई आफ्नो अन्तिम उपदेश दिनुभएको थियो– ‘अप्प दीपो भवः’। अर्थात् आफ्नो प्रकाश आफैं बन। त्यो प्रकाश जहाँ आन्तरिक ज्ञानले प्रज्वलित छ, प्रज्ञाले ओतप्रोत छ अनि प्रसन्नताको ऐश्वर्यले भरिपूर्ण छ। केवल बाहिर दियो जलाएर मात्र आन्तरिक अज्ञानता नष्ट हुँदैन। लक्ष्मी अर्थात् धनको अर्थ हो आफूसँग जे छ त्यसप्रति अहोभाव व्यक्त गर्न जान्नु। रुपियाँपैसा, घर, जग्गा जमिन, गाडीलगायतका भौतिक सम्पत्ति मात्र धन होइन। परिवार, मित्रजन, गुरुजन, सङ्गत, खुसी, स्वास्थ्य र सन्तोष महत्त्वपूर्ण धन हो। त्यसैले सन्तजनहरू भन्ने गर्छन्– आफ्नो दुःखको गणना होइन, जीवनमा के के उपहार पाएका छौं, त्यसको गणना गर।

चेतनाको दियो

आफूप्रति सचेत रहनु मात्र चेतना होइन, आफ्नो उद्गमप्रति सचेत रहनु चेतनाको उच्चतम स्थितिमा उपलब्ध हुनु हो। ‘म’को विस्तारित रूप चेतना हो। म र मेरो सीमित ऊर्जा हो भने यसलाई विस्तार हुन दिएर अनन्तताको अनुभूति, समग्रतालाई देख्न सक्नु चेतना जागृत हुनु हो।

दीपावलीमा त्यो चेतनाको दियो जलाएर चेतना जागृत गर्नुछ। जीवनमा धेरै सतर्कता अपनाएर आफ्नो भलाइ त हामी खोजिरहेका हुन्छौं तर यो मस्तिष्कको काम हो र यसले बाहिरको काम मात्र बन्छ। चेतना जागृत हुनुको अवस्था हो– स्रोतसँग एकाकार हुनु, सृष्टिसँग एकाकार हुनु अनि स्वयंमा त्यो अनुभूति जागृत हुनु। काम, क्रोध, लोभ, मोह, ईष्र्या र द्वेषरूपी रिपुहरू त्यागेर परम स्वतन्त्रतामा बाँच्न जान्नु चेतनाको उच्चतम अवस्थामा बाँच्न जान्नु हो। यो नै दिव्य चेतनामा स्थित हुने अनुभूति हो।

जीवन जान्नु र जीवनमा हुनु मात्र होइन, जीवन्तताको बोध गर्न सक्नु चेतनाको बोध हो। जीवनका लागि जति सोच र विचार आउँछन्, ती सीमित सोच हुन्। चेतनाको फैलावट असीमित छ। आफ्ना हरेक कर्म, स्वभाव र क्रियाकलापप्रति सचेत रहनु चेतना बोध हो। विचार, तर्क, अहङ्कार सबै त्यागेर आन्तरिक संवेदना र ऊर्जासँग जोडिनु र त्यसमा एकाकार हुनु चेतनाको दियो बाल्नु हो। घरभित्रको अन्धकार हटाउन घरबाहिर झिलिमिली पारेर हुँदैन।

एकपटक सोचौं– हाम्रा कर्म र परिणामले बाहिरै मात्र झिलिमिली पारेका छन् कि भित्रको शान्ति, सुख र आनन्द अनुभूति हुने खालका छन् ? आन्तरिक शान्ति र आनन्द मिल्ने दियो जलाउन नसक्दासम्म तेल सकिएपछि निभ्ने दियोझैं हुन्छ जीवन। केही पायो खुसी, भने जस्तो भएन दुःख र गुनासोका कथाहरू सिर्जित भइहाल्छन्। बाहिरको दियो बाहिरी सहयोग पाउँदा, तेल बाँकी हुँदासम्म मात्र बल्छ भने आन्तरिक दीप निरन्तर प्रज्वलित छ। त्यसलाई अनुभूत गर्ने माध्यम केवल ध्यान हो। सन्तुलित र आदर्श जीवन बाँच्न सिकाउने कला पनि ध्यान नै हो। भौतिकताको चरम सुख र सुविधासँगै भित्रको आध्यात्मिक करुणा, स्वभाव जागृत गराउने माध्यम पनि ध्यान नै हो। ध्यानस्थ र जागृत व्यक्तिले मात्र आफूमा आन्तरिक प्रकाशको ज्योति जगाउँदै अरूको मुहारमा उज्यालोका किरण छर्न सक्छ।

पारिवारिक पर्व

परिवारजन भेला हुने, विशेषगरी दाजुभाइ र दिदीबहिनीको प्रमुख मानिने यो पारिवारिक सुसम्बन्ध र प्रेमलाई बढाउने पर्व पनि हो। दिदीभाइबिचको टीका, माला, उपहार र आशीर्वाद पारिवारिक सुखको एउटा उच्चतम क्षण हो। परिवारजन मिलेर सेल, फिनी, अनरसालगायतका मिठाइँका परिकार बनाउने, विभिन्न भोजनको तयारी गरी साथमा रमाउने स्वतन्त्र र स्वच्छन्द पर्व हो।

घर, आँगनको सरसफाइ गरी सप्तरंगी रङ मिलाएर रंगोली बनाउने, स्वस्तिक बनाउने शुभ संकेत र लौकिक परम्परा हो। घरको द्वारलगायत सबैतिर सयपत्री फूलमालाले सिँगारी फूलजस्तै सुन्दर जीवनको परिकल्पना गर्ने पर्व पनि हो। यमपञ्चकभरी काग, कुकुर, गाई, गोरुको पूजा गरी मानव जीवनमा सुरक्षा र साथ दिने जीवजन्तुप्रति धन्यवाद प्रकट गर्नु र कृषि पेसालाई सम्मान गर्नु हो।

टीका लगाउने विधि र परम्परा, कहिल्यै नओइलिने मखमलीको माला दाजुभाइलाई पहिराएर दीर्घायुको कामना गर्नु अनि दाजुभाइका सारा समस्या ओखरझैं फोरेर खुसीको कामना गर्नु, तेलको घेराले छेकेर कुनै नकारात्मक शक्ति दाजुभाइको जीवनमा नआओस् भनेर प्रार्थना गर्नु। यी सबै प्रक्रियाले सकारात्मक ऊर्जाको विकासमा मद्दत पुर्‍याउँछन्। सकारात्मक ऊर्जा नै जीवन ऊर्जा हो र दीपावलीले यही ऊर्जामा स्थित हुने सन्देश दिएको हुन्छ।

प्रकाशित: १० कार्तिक २०८१ ०५:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App