मुक्तक भनेको कविताको लघुतम रूप अन्तर्गत पर्ने प्रभावकारी काव्य विधा हो। नेपाली कविता परम्परामा यो अत्यन्त लोकप्रिय र शक्तिशाली काव्य विधाका रूपमा परिचित छ। स्वतन्त्र अर्थ प्रदान गर्ने ‘मुच्’ धातुमा ‘त’ प्रत्यय लागेर बनेको मुक्त शब्दमा पुनः ‘क’ प्रत्यय लाग्दा मुक्तक शब्दको निर्माण हुन्छ। यसको शाब्दिक अर्थ नै स्वतन्त्र रचना भन्ने हुन्छ। यसर्थ मुक्तक पूर्वापर प्रसङ्गबाट पूर्णतः मुक्त हुन्छ। यो स्वयम्मा पूर्ण हुन्छ। त्यस्तै सङ्क्षिप्तता, भाव सघनता, स्पर्श सामर्थ्य, लयात्मकता आदि मुक्तकका विशेषता हुन्। प्रायजसोः चतुष्पदीय शैलीमा ए, ए, बी, ए को संरचनाभित्र रहेर लेखिने यो काव्य प्रभेदको पहिलो हरफमा भावको थालनी गरी उत्सुकताको प्रारम्भ, दोस्रो हरफमा भावलाई गति दिई उत्सुकता बढाउने काम, तेस्रो हरफमा निष्कर्षको लागि परिवेश निर्माण र चौथो हरफमा चोटिलो प्रहार गरिन्छ।
मुक्तकलाई सबैभन्दा पहिले परिभाषित गर्ने काम प्राचीन ग्रन्थ ‘अग्निपुराण’ ले गरेको पाइन्छ। मुक्तकबारे चिन्तन गर्ने प्रथम विद्वान छैटौँ शताब्दीका भामहलाई मानिन्छ।
नेपाली साहित्यको क्षेत्रमा भने मुक्तक भनेरै मुक्तक लेख्ने पहिलो मुक्तककार भीमदर्शन रोकालाई मानिन्छ। प्रारम्भमा यस उपविधाको उन्नयन र विकासको लागि अग्रज साहित्यकारहरू- टेकबहादुर नवीन, कृष्णप्रसाद पराजुली, भूपि शेरचन, हरिभक्त कटुवाल, रत्नशमसेर थापा, मोहनहिमांशु थापा, यादव खरेल, चेतन कार्की लगायतको महत्वपूर्ण भूमिका रहेको देखिन्छ।
खोटाङ जिल्लाको रावावेँसी गाउँपालिका-२ खार्पामा जन्मिएर मोरङ जिल्लाको विराटनगर महानगरपालिकालाई साहित्यिक साधनाको थलो बनाउँदै आएकी स्रष्टा नानुमैया दाहाल पनि ‘खुला आकाशमुनि’ मुक्तकसङ्ग्रह लिएर नेपाली मुक्तक क्षेत्रमा प्रगतिवादी चेतसहित उदाएकी छन्।
चतुष्पदीय शैलीका जम्मा १५२ मुक्तक सङ्गृहीत यस सङ्ग्रहभित्र वर्तमान नेपाली समाजका विविध पक्ष समेटिएको पाइन्छ। मानवीय संयोग तथा वियोगजन्य संवेदना, मानवतावाद तथा जन्मभूमिप्रतिको श्रद्धाभावसहितको राष्ट्रवादी चेत यस सङ्ग्रहमा मुस्कुराएको छ। त्यस्तै छोरी, पत्नी आदि स्त्री जातिका समस्याको उजागर गर्दै त्यसको समाधानको लागि एकताबद्ध रूपमा विद्रोहको आगो ओकल्न आह्वान गरिएको छ।
जन्म र मृत्युबिचको समय नै जीवन हो। यस धरतीमा जन्मिएका सबै मान्छे एकदिन मर्नैपर्छ तर जीवनकालमा मान्छेले के कर्म गर्यो भन्ने कुराले मृत्युको प्रकृति निर्धारण गर्दछ। कुनै मृत्युमा दुनियाँ खुसी हुन्छ भने कुनै मृत्यु सहन नसकेर दुनियाँ बेस्सरी रुन्छ भन्ने भाव प्रवाह गर्दै मुक्तककार दाहालले जीवनका हरेक घुम्ती मोडहरूमा हामीले अमरत्व प्राप्त हुने गरी काम गर्नुपर्ने कुरामा जोड दिएकी छन्–
कुनै मृत्यु प्वाँखजस्तै विनामूल्यको हुँदो रहेछ
कुनै मृत्युले आफन्तको मात्र दिल छुँदो रहेछ
कुनैचाहिँ हुँदो रहेछ धेरै गह्रौँ खालको मृत्यु-
पीडा थाम्न नसकेर सिङ्गो देश नै रुँदो रहेछ। (मुक्तक १७)
व्यवस्था र अवस्था परिवर्तनको आशाले नेपाली जनताले त्याग, तपस्या र बलिदानका बिस्कुनहरू थुप्रै पटक दिल खोलेर सुकाए। व्यवस्था त परिवर्तन भए तर ‘जुन जोगी आए पनि कानै चिरेकोʼ भनेझैँ शासन सञ्चालनको जिम्मेवारी पाएका शासकहरूले सत्ताशीन हुनासाथ आफैँले जनतासँग गरेका वाचा, सङ्कल्प र घोषणापत्रका बुँदाहरू चटक्कै भुलेर छल, प्रपञ्च, ईर्ष्या, द्वेष, घात, आघात र विश्वासघातजन्य कुत्सित क्रियाकर्मको आहालमा लाज समेत लजाउने गरी पौडी खेल्न थालेपछि नेपाली जनताले परिवर्तनको तात्विक आभाष गर्न नपाएको कुरालाई मुक्तककारले यसरी उजागर गरेकी छन्-
दुर्गन्ध छ वरिपरि बित्थै सुगन्धको कुरा नगर तिमी
हुस्सु लागेको छ बस्तीमा न्यानोको भ्रम नछर तिमी
विनाकारण मोड्यौ यात्रा अलपत्र छन् सारथीहरू
पुग्दैनौ गन्तव्यमा यो पाराले एक्लै जँघार नतर तिमी। (मुक्तक ४)
कोइलीले परिवर्तनको गीत गाएको छैन
रातो गुराँसको सौन्दर्य कतै छाएको छैन
गर्न त गरे शिशिरको पीडा हटेको उद्घोष
तर अझै वास्तविक वसन्त आएको छैन। (मुक्तक १३)
सङ्ग्रहका कतिपय मुक्तकमा बहुसङ्ख्यक नेपालीको अन्तर्हृदयलाई स्पर्श गर्ने भावपूर्ण उद्गार पाइन्छ। जन्मभूमि र राष्ट्रप्रति मुक्तककारको अगाध प्रेम र चिन्ता हुँदा हुँदै पनि स्वार्थान्धि नेता अनि धनाढ्य सामन्तहरूको दाउपेच तथा हैकमको भुमरीमा परेर निर्धन सोझा निरीहले तिरस्कृत हुनुपरेको कुराले मुक्तककारको मन दुखेको छ। निश्छल गरिब, निरीह छोरीचेली (कान्छी) ले तिरस्कृत र शोषित जीवन बाँच्न मुस्किल परी प्राणको आहुति दिनुपरेको, काठमाडौं जस्तो मैमत्त सहरीया परिवेशमा अपमान र तिरस्कारका चोटसँग जीवन बन्धक राख्नु परी विद्धेषादिनको भुङ्ग्रोमा पिल्सिनुपरेको अवस्थालाई सूक्ष्म ढङ्गले केलाउदै मुक्तककारले जन्मभूमि खार्पाको माटो छोएर बग्दै गरेकी रेवा भनिने रावा नदीले पनि धिकार्दै गरेको होला भन्ने जस्ता संवेदनशील र ज्यादै नै मार्मिक मनोद्गार यस सङ्ग्रहका मुक्तकहरूमा प्रष्फुटन गरेको पाइन्छ। साँच्चिकै भन्नुपर्दा उनकाे मुक्तकहरूमा माटाे बाेलेकाे पाइन्छ-
उधारोमा जीवन किन्ने सहर हो काठमाडौं
भाउ होइन दाउ चिन्ने सहर हो काठमाडौं
अपमान र तिरस्कारका लाठीहरू बर्साएर
सपनाहरू क्षणमै छिन्ने सहर हो काठमाडौं। (मुक्तक २७)
रावाका दुखेसाहरूले साह्रै मन छोएपछि म रोएँ
दुःखसँग हारेर कान्छीले जीवन धोएपछि म रोएँ
गर्भमा घाम फुलाउँदा पनि ज्योति देख्न नपाएपछि
आफ्नै काखलाई धिकार्दै खार्पा रोएपछि म रोएँ। (मुक्तक ६८)
सङ्ग्रहका मुक्तकहरू पढ्दा मुक्तकीय प्रतिभाका छहराहरू वेदनामा छटपटाएको यथार्थताका छाँगामा छङ्छङ्गाएजस्तो अनुभूत हुन्छ। मुक्तकहरूमा युग, समाज र आधुनिक न्यायको छलकपटलाई अनुभूतिका माध्यमबाट कलात्मक, सम्मोही र व्यङ्ग्यात्मक अभिव्यक्तिद्वारा कारूणिक शैलीमा चित्रण गरेको पाइन्छ। यसमा वर्तमान अवस्थाको न्यायलय, न्यायकर्मीका कार्यशैली, क्रियाकलाप, निर्णय र फैसलाहरूको साङ्केतिक चिरफार गर्दै काला कोटभित्रका जालझेल र त्यसैको पासोमा परेको न्यायले मत्स्य न्याय मात्र प्रदान गरेको कुरा यसरी चित्रण यसरी गरिएको छ–
दाग लाग्यो कालो कोटमा खै कसरी धुने?
नजिर बस्यो पीडक हाँस्ने पीडित भने रुने
किन हुन्छ यस्तो फैसला यहाँ न्याधीशज्यू
‘मुखिया बाʼ ले गल्ती गर्दा हरी दोषी हुने? (मुक्तक ३८)
किन आउँछ सधैँ तिम्रो इमानमा दरार?
बैँससँगै जीवन चुँड्दा न्याय किन फरार?
सम्हालिन नसकेर आफैँ पोख्दै हिडेपछि
भुइँको टिपी खाँदा चाहिँ किन दोषी करार? (मुक्तक ४७)
हाम्रो देशमा वर्गीय समाज विद्यमान छ। श्रमजीवीहरूको मिहिनेत र पसिनाको कमाइमा ठालुहरूको रजगज चलिरहेको छ। यसले गर्दा गरिखाने वर्गले हेपिएको अनुभूति गरिरहेको छ भने बसिखाने वर्गले ऐसआरामसहित जीवन जिइरहेको छ। परिणामस्वरूप श्रमप्रति घृणाभाव र शोषणप्रति सम्मानभावको विकास भइरहेको छ। यस प्रवृत्तिमा गुणात्मक सुधार गर्दै सुशासनको माध्यमबाट देशलाई समृद्धिको यात्रामा डोर्याउन पर्नेमा बाँदरे चरित्रमा रमाउन पल्किएका हाम्रा नाइकेहरू निजी फाइदाका लागि राष्ट्रको गरिमा र ढिकुटी रित्याउने काम मात्र होइन गर्वसाथ आमाको छातीमा लात मारेर भिखारी हात समेत लम्काइरहेका छन्। यस्तो कारूणिक अवस्था देख्दा देशप्रेमी नेपालीहरूको मन बेस्सरी दुखेको छ। मुक्तककारले यस्तो दुःखद् अवस्थाको यसरी पर्दाफास गरेकी छन्–
श्रमप्रति घृणाभाव जगाएको देख्छु
पसिनाको मान पनि बगाएको देख्छु
ढोड भए पुग्ने हो कि मागेर पेट पाल्ने
बाँदरलाई मकै रुँग्न लगाएको देख्छु।
समग्रमा यो कृति नेपाली साहित्यको मुक्तक क्षेत्रमा भाव, विचार र कलाको त्रिवेणी बनेर उदाएको छ। कृतिले नेपाली मुक्तक क्षेत्रमा देखिएको प्रगतिवादको खडेरीलाई थोरै भए पनि राहत पुर्याउने गरी सिमसिमे वर्षा गराएको छ। कृति निकै उत्कृष्ट छ। आगामी दिनमा पनि उहाँका यस्तै उत्कृष्ट खालका कृतिहरू पढ्न पाइयोस् भन्ने शुभकामना दिन्छु।
–विमला पोख्रेल
प्रकाशित: २ कार्तिक २०८१ ०९:४१ शुक्रबार