७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

बाढीपहिरोको विपद्सँगै बडादसैं

निबन्ध

यसपालिको बडादसैं बाढीपहिरोको विपद्ले रुवाबासीमा बित्ने भयो। बिछोडको पीडामा तड्पिँदै जाने भयो। करुण क्रन्दनका असह्य चोटका चित्कारहरू। शरद्को सौन्दर्यमा बेमौसमको बर्सादले पारेका बर्बादीहरू। कहालिलाग्दा एकपछि अर्को कहरपछि कहरका अनेकौँ कैरनहरू।

खुसी खोसिएको, हाँसो रित्तिएको बेला। उत्साह सेलाउँदै जाँदा। अप्रत्याशितको विपद्सँगै बडादसैंको आगमन पीडादायी हुने नै भयो।

हराएका बाटाहरू खोज्दै, हराएका घरबारी सम्झिँदै, झोरझाडी फाँड्दै। बाढीले भिजेका पोकापन्तुरालाई काँधमा भिरेर चिप्लो र हिलाम्मेमा पछारिँदै, पौडिँदै, धर्मराउँदै कहिले पुग्नु गन्तव्य? ढुङ्गा पन्छाउँदै मरितरी उकालो चढेर खुइय सास फेर्दै, धन्न मर्न नसकेको ज्यान भन्दै। आफैंलाई सराप्दै, फेरि माया गर्दै सुमसुम्याउँदै। बाँच्नुको जिन्दगी कति भुक्तमान खाइस नि भन्दै, फेरि ज्यान हत्केलामा राखेर बामे सर्दै ओरालो झर्दै। दसैंको मुखमा नमिठो, दुःखदायी सास्ती र सुस्केरा फेर्दै।

बाढीपीडितलाई नै थाहा हुन्छ यो बेलाको अवस्थाको कुरा। चरिचरन चिथोरचाथर भएको। बोटबुट्यान, घरघुर्‍यान बाढीकै भेलमा विलय भएको। भोको पेट, सुकेको मुख र कलेटी परेको ओठ। हंश उडेर आकाशतिर गइरहेको। बाढी बगेर तलतिर बगिरहेका, बगाइरहेका। बाढी बितन्डाको बिजोक हेर्ने रमिते मात्र। महाप्रस्थानको प्रथम पल हुनुपर्छ त्यो। थरर कामिरहेका खुट्टा। डर र त्रासले बेचैन। मन र मुटु लगलग, फुट्लाझैं गरी कम्पायमान। निसासिँदो ठाउँमा हृदय भक्कानिँदा टाउकैमा बज्रप्रहार हुँदा ऐय्या ! भन्ने बोलीसमेत बाहिर निस्किन पाएन। हृदय ढक्क फुल्यो। आँखा रसाइरह्यो, रमाउन सकेन। सडक खण्डहर भएर अवरुद्ध भयो। सडकको कन्तबिजोकै भयो। सडकमा पहिरै–पहिरो थुप्रियो।

पर धेरै पर आँखाले देख्न सक्ने दृश्यसम्म धमिलो पानीको भेलबाढीकै प्रवाह अविरल बगिरह्यो।  जहाँ कुनै छेकथुनको सम्भावना भएन। जहाँ कुनै अवरोध र रोकावटले त्यो वेगलाई थामथुम पार्न सक्ने कुरै भएन। काल बनेर आएको अहोरात्रको बाढी बितन्डाले अपशकुन ल्यायो।

प्रकृतिको लीला न हो। प्रलयको यो अर्को शृङ्खला हुनसक्छ। सर्वत्र त्राहिमामको यो अर्को चरण हुनसक्छ। वनस्पतिका जिलिगाँठी नै निखारेर लगेपछि सुक्खा मरुभूमितुल्य जमिन। वल्लो र पल्लोघर अनि माथ्लो र तल्लोघरको चिनोबानो छैन। गाउँ छैन। गाउँ जाने, खेत जाने न बाटो छ न घर, न त खोतबारी नै। पारि बजार जाने पुलसमेत छैन। सबै बगाएर लगेपछि चिनोबानो बाँकी केही रहेन। सदाका लागि सखाप। सधैंका निम्ति समाप्त।

भूकम्पले थला परेका ज्यानहरू तङ्ग्रिएर जागरुक हुँदै थिए। लगातार बर्सिएको पानीको प्रवाहले भूकम्पको त्राहिमामभन्दा डरलाग्दो त्रासदी थपिदियो। बरु भूकम्पले घर भत्किए कम्तीमा पनि सरसामानहरू भिज्ने थिएनन्। बगेर कतै जाने, बगाएर लैजाने थिएन। त्यहीं पुरिन्थे खोतल खातल गरेर खोज्दा पुरिएको अवस्थामा त्यहीं भेटिन्थे। तर बाढीले बगाएपछि कहाँ खोज्नु, कहाँ भेट्नु आफ्ना अमूल्य सामानहरू, आफ्ना घरखेत जग्गा जमिनहरू ?

बाढी प्रकोपले थिलथिलो भएका ज्यानहरू तङ्ग्रिनलाई अब निकै समय लाग्न सक्छ किनभने ज्यान मात्र भिजेन। जमिनमा बस्ने, खाने, लाउने, सुत्ने तमाम सरसामान र अमूल्य कागजपत्रहरू सबै पानीले भिजेर यति बिजोकको अवस्थामा पुगे। तिनलाई न मध्यदिनको चर्को घाममा सुकाएर पहिलेकै अवस्थामा फर्काउन सकिन्छ न आगोमा सेकाएर सेकताप गरी तन्दुरुस्त अवस्थामा ल्याउन सकिन्छ। न त कुनै औषधि, वैद्य, धामी ज्योतिषीबाट उपचार गरी बिसेक पार्न नै सकिन्छ।

सकिँदैन केही गरी अब बाढीपहिरोले सुक्खा पारेको बस्तीलाई हराभरा बनाएर पहिलेकै अवस्थामा फर्काउन। समय खर्चनुपर्छ। धाँजा फाँटेका, चिरा परेका, भत्किसकेका, भत्किन लागेका र जोखिममा परेका जमिनहरूमा बसेर अब निर्धक्क सास फेर्न सकिँदैन। सायद खुसीले दसैं मनाउन सकिँदैन।

सायद आशीर्वाद दिन र लिन सकिँदैन। अब बसाइँ जानेहरूको लर्को लाग्न सक्छ। तर कहाँ जाने, के गर्ने ? गन्तव्यहीन अवस्थामा मानिसको भवितव्य यसरी शून्यमा शून्यसरी बिलाएको। घनघोर बर्सादले बर्बादीको सीमा नाघेको। बाढीसँग कसले सिँगौरी खेल्न सक्ने ? बाढीलाई कसले रोकेर रोक्न सक्ने ? दैवी विपत्ति होइन यो। मानिसले नै नित्याएको प्राकृतिक प्रकोप हो यो।

जहाँ पानी बग्ने बाटोमा बस्ती बसाइयो। घरैघर बनाइयो। सहर बसाइयो। सुन्दर टोल, सुविधा सम्पन्न बजारको व्यवस्था गरियो। तर, भावी सम्भावनाको कुनै लेखाजोखा गरिएन। पानी कसरी बगेर जान्छ, त्यसको निकास खोजी गरिएन। वर्तमानको सुखसुविधाका लागि हामीले पानी बग्ने बाटोलाई अवरुद्ध गर्‍यौं। बाटै थुनिदियौं र आलिसान महल बनाएर रमायौं। बर्खे भेलमा पानीले निकास खोज्दै, बाटो खोतल्दै, तिनै पानी हिँड्ने बाटोलाई अवरोध गर्ने पर्खालरूपी घर, महलहरू भत्किँदै गए। बाढीले सपना मात्र बगाएर लगेन, आफन्तजनसमेतको उठिबास भयो। बडादसैंको पूर्वसन्ध्यामा कसरी जाने, कसरी आउने ? कहिलेकाहीं जाने ठाउँ भएर मात्र पनि हुँदो रहेनछ। जानका लागि सजिलो बाटो कति आवश्यक छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। यसपालिको बाढी प्रकोपले पारेको बिल्लीबाठले यही पाठ पढायो। स्पष्ट भयो, बाटोबिना कहाँ गन्तव्य पुग्न सक्नु ? बाटो नभएपछि कसरी हिँड्नु ? कसरी आफ्नो घर पुग्नु ?

आखिर विकास हुनु, सुख–सुविधा पाउनु भनेको, बाटोले नै निर्धारण गर्ने रहेछ। बाटो नभएपछि कहाँ जानु, के गर्नु ? न कतैबाट कोही आउँछ न आफू नै कतै जान सकिन्छ। पुग्नुपर्ने गन्तव्य टाढिँदै जाने रहेछ। आउनुपर्ने आफन्त पनि आउन नसक्ने हुँदो रहेछ।

एकासी सालको दसैं एक्कासी कति बेमौजको हुने भयो। कति बेस्वादको बन्ने भयो। जहाँ आफन्तको सुखद मिलन सायदै हुन सक्ला। जहाँ शारदीय सौन्दर्यले खुलेको धर्ती र आकाशको दर्शन कसरी गराउन सक्ला र !

आकाशमा कालो बादल मडारिरहेकै छ। धर्तीमा मान्छेका मनहरू डराइरहेकै छन्। आफन्त गुमाउनुको पीडा सहन नसकेर रोइरहेकै छन् मनहरू।

हाँस्ने हाँसोहरू रित्तिसकेको छ। रुने रुवाइहरू सिद्धिइसकेको छ। रुँदा–रुँदा आँखाहरू टट्टाइसकेको छ। आँखामा आँसु झर्न छोडिसकेको छ। हृदय भक्कानिएर छिया–छिया भएको छ। यस्तोमा कहाँ खुसीले उन्मुक्त उडान भर्न सकिन्छ र ? कहाँ निर्धक्क घुमेर यात्रामा निस्किन सकिन्छ र? डरैडरको भुँवरीले अधिक रूप लिएपछि कसको भर पर्नु, कसको भर नपर्नु, कसको आश गर्नु ? बेकार सबै लोभमोह र ईष्र्या, घृणाका भावहरू। व्यर्थ जीवनका अमूल्य पलहरू। सबै कुरा क्षणभङ्गुर बनेर पातालमा विलीन भइजाने रहेछ।

बाढीले बाटो बगाएपछि नजिकको गन्तव्य पनि धेरै टाढाको अनकन्टारमै पुग्दो रहेछ। खानेलाउने कुरासँगै एक झप्को सुत्ने ओभानो ओछ्यानसमेत नहुँदोरहेछ। अभावको हाहाकारले चिथोरेको नीलडाम बोकेर बाँच्नु भनेको बडादसैंको मुखमा दुःखको पराकाष्ठा नै हो।

अन्ततः विकासको गति शताब्दीअघिको अविकसित अवस्थामा फर्किंदो रहेछ। कोसी उर्लिएर उत्पात मच्चाउनु त स्वाभाविकै हो। गण्डकी गडगडाएर बाढीको भेल निम्त्याउनु पनि ठिकै हो। कर्णाली, मेची, महाकालीको पानीको बहाव उर्लिनु, कुर्लिनु र त्रस्त पार्नु पनि स्वभाविकै हो। तर सानातिना कमिला घुम्ने खोलाहरू नदीभन्दा ठुलो स्वरूप लिएर डरलाग्दो हुँकार गर्दै बगाउँदै, विनास गर्दै बग्नु कम आततायी स्वरूप होइन। कम पीडादायी क्षण मान्न सकिँदैन।

यसपालिको दसैंलाई कति नमिठो चोट दियो। जताततै बाढी बितन्डाको बिजोग लीलाले प्रकृतिसँग हार खानुबाहेक अरू के विकल्प बाँकी रह्यो र ! वर्ष दिनका लागि खाने खेतीपातीका अन्न–ऐश्वर्य माटोमै मिले। पानीमै बगेर गए। हेर्दाहेर्दै पहाडै बगेर गयो। घरै बगायो, मान्छे बगायो। बिल्लीबाठको कतिसम्म बिजोक लीला हेर्नु ? पानीपानी जताततै पानी ! उर्लंदो भेलमा बगेका सारा सरसामानहरू कसरी जोगाउनु, कसरी बाँच्नु र बचाउनु ? ज्यानै जोखिममा परेको बेला, ज्यान जोगाउन कठिन भइरहेको बेला अरू सामानको बचाउ गर्न कहाँ सक्नु ?

जलमग्न जमिनको अवस्था र बग्दै गइरहेको पानीको प्रवाह। तिनै पानीमा डुबेर मृत्युको मुख नजिक हुँदै गइरहेका ज्यानहरू। यसरी जीवन र मरणको दोसाँधमा पुगेर बिजोक हुँदा समेत न उद्धार, न राहत। ‘ऐया–ऐया मरेँ ! मलाई बचाऊ’ भन्दै गुहार माग्नेहरूको चित्कार ‘अरण्य रोदन’ भयो। बाँच्ने आशा छिनभरमै मृत्युमा परिणत भयो। छिनभरमै सारसौंदो जीवनले मृत्युवरण गर्नुपर्‍यो। खोला खहरेमा बाढीको भेल ओर्लिंदै माया र करुणाको भाव होइन, त्राशदीमय अवस्थाको प्रारम्भ भइदियो।

शरद्को घाम, शरद्को जून, शरद्को हावा अर्कै भयो। अनौठो भयो। अचम्मै भयो। एकासी सालको दसैं दर्दनाक हुने भयो। पीडैपीडाको हुने भयो। अभाव र हाहाकारको हुने भयो। कतै लिङ्गेपिङ हालेको देखिएन। आकाशमा चङ्गा चेट भएको र चङ्गाहरू चचहुइ गर्दै चरासँग चक्कर मारेर बादलसँग लुकामारी गरेको पनि देखिएन। चङ्गा र चरा उड्ने शरद्को निलो आकाशमा कालो बादल मडारिँदै ‘मृत्युउत्सव’ पो मनाएको छ। चहलपहलको धरतीमा सुनसान र सर्वत्र सन्नाटा व्याप्त छ। चकमन्न वातावरण उदास–उदास छ। उत्सवको रङ बेरङमा बदलिएको छ। बेस्वादमा परिणत भएको छ।

यसपालिको दसैं यस्तै हुने भयो। वर्ष दिन पर्खिंदा बल्ल सँघारमै आएको, बलेँसीमै आइसकेको, दैलोमै पस्ने तरखर गरिरहेको दसैं। भव्य स्वागत गर्न बाटोघाटो सफासुग्घर पार्दै। घरकोठा रङरोगन गर्ने तरखर पनि त्यत्तिकै अलपत्रै भयो। जाँगर म¥यो। जोश हरायो। रहर सेलायो। सिर्जनधर्मी मनहरू सुस्ताए।

जाने ठाउँ भएन। भाग्ने ठाउँ सुरक्षित रहेन। बस्ने ओभानो ठाउँ नै भएन। बाढीले बगाएका बस्तीहरू नराम्रा र नरमाइला भए। जहाँ सारा खुसीहरू खोसिए र जर्बजस्ती दुःखका कोसेली भित्रिए।

खुसी भेट्न दुःखका हजारौं हन्डर, हैरानी खेप्दै हिँड्नुपर्ने तर दुःख भेट्न र पाउन बल्लतल्ल पाएको तिनै खुसीहरूलाई बलात तिलाञ्जली दिनुपर्दोरहेछ। अनि आफू दुःखको आहालमा डुबेर निस्किनै नसक्ने गरी उकुसमुकुस हुँदै छटपटिँदै भोकप्यासले रन्थनिँदै अधकल्चो जिन्दगी बाँच्नुपर्ने रहेछ। यसपालिको दसैं यस्तै हुने छाँट छ। तथापि यति हुँदाहुँदै पनि बचेखुचेको अलिकति हाँसो बाँडौं। खुसी साटौं, सप्रेम सद्भावले बाँचौं। सन्तुष्टिले बाँचौं।

मरिलानु के छ र दसैंलाई दशामा होइन आस्था र आराधनामा मनाऔं। देवी भवानीको भव्य उत्सव मनाऔं। नवदुर्गाले हामी सबैको कल्याण गरून्। बाढीपहिरोको आपद्विपद् बिर्सेर भित्रिसकेको बडादसैंलाई निरश–निस्तो नराखौं। यो हाम्रो सांस्कृतिक पर्वलाई अविच्छिन्न बचाएर राखौं। ठुलो–सानो नभनी, विपन्न–सम्पन्नको अहम् त्यागौं। मित्रवत् मायाको हार्दिकपनमा नवदुर्गाको आशीर्वादले आगामी दिनको मङ्गल कामना गरौं। बडादसैंको सबैमा यही शुभकामना !

प्रकाशित: १९ आश्विन २०८१ ०६:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App