पटकपटक ‘अब पुरानो जमाना कहाँ छ र ?’ भन्ने सुन्दै आएको छु। न जनताका गीत, न राजनीतिक प्रशिक्षण, न पार्टी कमिटी परिचालन, न तीजको कार्यक्रम, न चुनाव लड्ने काम, न त पार्टी कमिटीको गठन, जहाँ जे गर्दा पनि सबैतिर यही एउटै वाक्य सुनिन्छ– ‘समय कहाँदेखि कहाँ पुगिसक्यो, दाइ पनि के कुरा गर्नुहुन्छ ?’ मानौं कि जनताको गीतै नचाहिने, राजनीतिक प्रशिक्षणै नचाहिने, तीजको कार्यक्रममा जे जसो गरे पनि हुने, कमिटी पुरानो पाराले नचल्ने, चुनाव पैसावालाले मात्र लडून्, पार्टी कमिटीमा पैसावाला, हाहा हो हो गर्ने, हावादारी, भुइँफुट्टा, गफाडी र असैद्धान्तिक मान्छेहरूलाई राखेर पार्टी बनाए हुन्छ भनेझैं।
म आज यस लेखमा जनताका गीतबारे केही कुरा गर्न लागिरहेको छु। नेपालमा २०४६ सालअघि कम्युनिस्ट पार्टीको प्रचारप्रसार र विस्तारमा जनताका गीतहरूले अभूतपूर्व भूमिका पूरा गरेका थिए। तर आज आएर त्यो मुख्य पाटोलाई चटक्कै बिर्सिइएको अवस्था छ। जनताका गीतहरू पनि हुन्थे भन्ने आज धेरैलाई थाहा छैन। जनताका सर्जकहरूलाई चिन्न पनि छाडिएको छ। कम्तीमा रेडियो नेपाल र नेपाल टेलिभिजनले नेपालमा लोकतन्त्र र गणतन्त्रको स्थापनाका लागि लडेका सांस्कृतिक योद्धाहरूलाई सम्झाइरहने काम गरिरहनुपर्थ्याे। त्यसैले त्यही कुरा सम्झाउने यो जमर्को हो।
एकदेव ज्ञवालीको शब्द, जेबी टुहुरेको स्वर र संगीतको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भै, सुखको सधैं प्यासी बनेर ?’ भन्ने गीत अहिले पनि गाउँघर दूरदराजका महिलाका लागि सान्दर्भिक छ।
हिजोआजको सञ्चार जगत्को विकासका कारण सामन्ती र पुँजीवादी संस्कृतिको प्रभावमा परेका महिलाहरूको अवस्था पुरानै देखिन्छ। सहरमै भएका पनि उच्च घरानियाँ, सम्पन्न र महिलाबारे समग्र रूपमा सोच्नै नसक्ने कमजोर र अस्पष्ट महिला जमात यस गीतले संकेत गरेजस्तै पिछडिएका छन्। यस गीतभित्र महिलाहरू पछि पर्नुका कारणहरू, महिलाको अवस्था र महिला मुक्तिका कुराहरू समेटिएका छन्। त्यसैले उनीहरूलाई सारा पिछडापनबाट निकाल्ने यस्ता गीतहरू अझै पनि गाइरहनुपर्छ भन्ने हो। नयाँ सिर्जनाको नाममा आवश्यकताका सिर्जनाहरूलाई पन्छाउनु सही कार्य होइन।
‘अब त हामीले गाउँदै आएका जनताका गीतहरू पुराना भए, नयाँ परिवेशमा सुहाउने गीतहरू बनाउनोस् न भन्छन् अचेल ठुलै मान्छेहरू पनि। जहिल्यै त्यही गीत कति सुन्नु’ रे। यसो भन्नेहरू हामीले गाउँदै आएका वर्गीय चेतनाका गीतहरू अब गाइरहनुपर्दैन भन्ने ठान्छन्। उनीहरू मञ्जुलद्वारा लेखिएको रामेशको संगीत अनि रामेश र मञ्जुलको स्वर भएको यो गीतलाई अब पुरानो भयो भन्छन्ः
‘वर्गीय समाजमा वर्गीय प्रेममात्रै न्यानो र चोखो हुन्छ,
बाहुनको छोराले बाहुनकै छोरालाई ठग्छ
नेवारको छोराले नेवारकै छोरालाई ठग्छ
एउटै जातिका हौं हामी भनी गरिने प्रेम
व्यवहारमा झुटो हुन्छ।’
नेपालमा वर्गीय समानता आएकै छैन, त्यसैले उपर्युक्त गीतबारे थप म केही भन्न आवश्यक ठान्दिनँ। किनभने गीत आफैंमा प्रस्ट बोलिरहेको छ। ल मलाई कसैले भनुन् न त, गीतको कुरा सही छैन ? आजभोलि पनि दलाल, ठग, बिचौलिया र भ्रष्ट लिम्बूले तिमी त लिम्बू नै हौ भनेर अर्को लिम्बूलाई नठगेको कहीं देखिन्छ ? कुनै ठग बाहुन, छेत्री, नेवार, मधेशी, दलित, जनजाति, मुस्लिम आदिका छोराछोरीले त्यही जातिका अरू छोराछोरीलाई जातका आधारमा नठगेको कहीं देखिन्छ ? त्यसैले उहिले ४०–५० वर्ष अघिदेखि गाइँदै आइएको यो गीत अझै पनि र कति दशकपछिसम्म पनि सान्दर्भिक रहिरहने हो, अझै भन्न सकिन्न।
२०२६/२७ सालदेखि यता गाइँदै आइएका जनताका गीतहरू अब पुराना भए भन्नेहरूदेखि म छक्क पर्छु। त्यसो भए के शम्भु राईको संगीत र स्वरमा रहेको मञ्जुलको गीत ‘मानिस छुत अछुत हुन्छ म भन्दै भन्दिनँ, जाति र पाति छुट्याउने रीतलाई म मान्दै मान्दिनँ’ भन्ने गीत अहिले चाहिएन ? जातीय विभेद आज पनि छैन ? पहिले गाइएका गीतहरू पुराना भए भन्ने साथीहरूलाई थाहा छैन आज पनि जातीय विभेद बाँकी नै छ भनेर ? आज पनि दलित समुदायलाई मान्छे नठान्ने र पशुझैं कुटीकुटी मारिने गरिएको छैन र ? त्यही कारण नेपालको संविधानमा जातीय समानताको कुरा मौलिक अधिकारका रूपमा नै राखिएको होइन ? लोकतन्त्र मात्र होइन, गणतन्त्र पनि आइसक्यो तर अझै पनि यस्ता विभेदहरू रहिरहेकै छन्, होइन ? त्यसैले ४५–५० वर्षअघिका यस्ता गीत आज पनि सान्दर्भिक छन् र नेपाली समाजमा यस्ता गीत अझै कति दशकसम्म सान्दर्भिक रहिरहने छाँट देखिन्छ। दलित समुदायमाथिको व्यवहार हेर्दा उनीहरूलाई आफूसमान मान्छेका रूपमा स्विकार्न अझै धेरै समय लाग्छ।
जीवन शर्माको रचना, संगीत र स्वरको ‘सिमली छायामा बसी भरिया लामो सास फेरेको, उमेर भैसक्यो असी, झन् ठुलो दुःखले घेरेको’ भन्ने गीतको कुरा शर्माले गीत नलेख्दैदेखि र आजसम्म पनि सान्दर्भिक छ। मालिक र नोकर या साहु र भरिया रहने समाज व्यवस्था रहुन्जेलसम्म यस गीतको सान्दर्भिकता रहिरहनेछ। ‘पुराना गीतहरू कति गाउनुहुन्छ ? अब नयाँ परिवेशका गीतहरू बनाउनोस् न’ भन्ने साथीहरूलाई सबैले सोधौं त– ‘यदि नयाँ र पुरानोको हिसाब राख्ने हो भने युगौं पुरानो गैरकम्युनिस्ट र १७६ वर्षअघि लेखिएको कम्युनिस्ट पार्टीको घोषणापत्र आएपछि संगठित रूपमा बढेको कम्युनिस्ट विचारचाहिँ किन आजसम्म बोकिरहनु ? पुरानो त्यागेर नयाँ विचार बोके हुन्न र ? यसो गर्न कसैले पनि सक्दैनन्। त्यसैले मेरो भनाइ नै यही हो, नयाँ समय र परिवेशअनुसार धेरै कुरा फेरिन्छन् तर मूल जरो त फेरिने कुरा हुन्न नि।
विक्रम सुब्बाको गीत, माधव प्रधानको स्वर र संगीतको गीत ‘धेरै नै टाढा छ हामी पुग्ने ठाउँ, लगातार अघि बढ्दै जाऊँ’ कहिल्यै पुरानो हुन्छ र ? अहँ हुन्न। आजका नयाँ पुस्ताले पनि यही गीतले भनेजस्तै आफ्नो लक्ष्यमा पुग्न लगातार अघि बढ्नैपर्छ किनभने पुग्नुपर्ने ठाउँ हातैमा त कसैको पनि बसेको हुँदैन भन्ने कुरा जगजाहेरै छ। यो गीतले भनेजस्तै पछि जन्मने पुस्तालाई पनि यही कुरा लागु हुन्छ। त्यसैले यी जनताका गीतहरू सबै पुराना हुँदैनन्।
विजय सुब्बाको शब्द, संगीत र स्वरको ‘मेरै त हो महाकाली मेरै कालापानी, कसले भन्छ अर्काको आफ्नो जानी जानी’ भन्ने गीत नेपालको छिमेकी राष्ट्रसँगको सीमा विवाद रहुन्जेलसम्म जीवित रहनेछ। २०५४ सालमा लेखिएदेखि यता २७ वर्ष त यसको सान्दर्भिकता देखियो नै। भन्न सकिन्न, यसको सान्दर्भिकता अझै कति वर्षसम्म रहने हो। सीमाको समस्याले नेपाल आक्रान्त भइआएको दशकौं भइसक्यो। छिमेकीले नेपालमाथि सीमा हस्तक्षेप रोक्ने नामै लिँदैन।
नेपाली राजनीतिक दलहरूको राष्ट्रप्रेमबारे यही रवैया रहिरहने हो भने यो समस्या कहिल्यै समाधान हुनसक्दैन। यस्तो अवस्थामा समयका हिसाबले यो गीत अघि लेखियो, संगीत गरियो र गाउन सुरु गरियो होला तर त्यसको सार वा मूल जरो अझै पनि सही छ। अनि के आधारमा पहिले बनाइएका गीतहरूका ठाउँमा नयाँ चाहिएको हो ? अझै पनि हरहिसाबले चाहिरहने यस्ता गीतहरूलाई बचाइराख्नुपर्नेमा नयाँ गीत खोज्नेहरूको जमात बढेकोमा मलाई चिन्ता लागेको छ किनकि सीमा समस्या नबुझ्नेहरूले नै हो यस्ता गीतहरूको महत्त्व नबुझ्ने।
खुसीराम पाख्रिनको रचना, संगीत र स्वरको ‘गैंती बेल्चा उचालेर पहरालाई छिचोलेर, डाँडाकाँडा बाटो बनायो, के खायो नि कुल्ली दाइले, के पायो नि कुल्ली भाइले, अर्कैले ट्याक्सी गुडायो, ठेकदारले पैसा कमायो, संघर्षमा अब लगाइदेऊ’।
यो गीतको अर्थ आज पनि उत्तिकै छ। श्रमिकको पीडादायी जीवन र त्यसबाट मुक्तिको बाटो देखाउने गीत अझै असान्दर्भिक भइसकेको छैन। विकसित मुलुकहरूमा समेत मजदुरहरू छन् र तिनका हितको कुरा भइरहेको छ। अनि झन् नेपालजस्तो हरहिसाबले पिछडिएको मुलुकमा त किसान र मजदुरको हितको कुरा त प्राथमिकतामै पर्ने भयो। समय बित्दै जाँदैमा समयकै कारणले जनताका गीतहरूको सन्दर्भ पुरानो वा नयाँ भन्न मिल्दैन भन्ने हो।
जनकवि गोकुलप्रसाद जोशीको रचना र रामेशको स्वर, संगीतको यो गीत २०१८ सालअघि लेखिएको हो– ‘रोक्ने को हो दूरदर्शी विचारका धारा ?, को हो नयाँ नेपालको बोक्ने अभिभारा ?, नौलो नयाँ समाजको सङ्केत बारम्बार, सभ्यताको जग राख्ने कवि कलाकार।’
६२ वर्षभन्दा अघि लेखिएको यो गीतले नयाँ समाजको परिकल्पना गरेको छ। यस अर्थमा गोकुलप्रसाद जोशीलाई पहिलो गणतन्त्रवादी कवि भन्न सकिन्छ। समाजमा व्याप्त शोषण, अन्याय र अत्याचारको सक्दो विरोध गरिएको छ। गीतमा उल्लिखित समाजको अवस्था आज पनि करिब करिब उस्तै छ। त्यसैले यस गीतको सान्दर्भिकता अझै सकिएको छैन। हामीले गाउन थालेकै ४५ देखि ५० वर्षजति भइसक्यो। त्यसैले कुनै पनि विषयमा बोल्दा वा आग्रह राख्दा कुनै पनि सिर्जनाको अल्पकालीन, दीर्घकालीन र सर्वकालीन महत्त्व हुनेगर्छ भन्ने कुरा बिर्सन हुन्न।
रामकृष्ण दुवालको संगीत अनि उनी र रामेशद्वारा गाइएको गोपालप्रसाद रिमालको ‘एक जुगमा एक दिन एकचोटि आउँछ, उलटपुलट उथलपुथल हेरफेर ल्याउँछ, लाटा सुधा बोल्न थाल्छन् चल्छ ओठ दुःखको’ भन्ने गीतकै कुरा गरौं। के यो ६०–६५ वर्षअघि लेखिएको गीतको भावना पुरानो भयो ? कि अझै मिल्छ ?
म भन्छु– अझै मिल्छ र मिलिरहेको छ। सही कुरा हो कि नयाँ गीत पनि चाहिन्छ। नयाँ वातावरण, सन्दर्भ र परिवेशमा सुहाउने नयाँ विषयहरू समेटिएका नयाँ गीतहरू चाहिन्छन्, बन्छन् र बन्नु पनि पर्छ। तर यी र यस्ता दीर्घकालीन अर्थ बोकिरहेका गीतहरूलाई पुरानो भयो भन्नु कति युक्तिसंगत होला र ?
अर्को पनि तर्क छ। पौने दुई सय वर्षअघि लेखिएको ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’ अब त पुरानो भयो भन्न खोजेजस्तै अर्थ लाग्ने गरी जनताका गीतहरू पुराना भएचाहिँ नभनौं। हो, र्याप शैलीमा लेख, गाऊ, नयाँ नयाँ शैलीमा प्रस्तुत होऊ, नयाँ नयाँ विषयवस्तुमा सिर्जना गर अर्थात् नयाँ पुस्ताले चाहेजस्तै सिर्जना गर भन्नु ठिकै हो तर सार र अन्तर्वस्तु नै अर्कै चाहिए जसरी चाहिँ नबोलौं।
आज मैले यसो लेखिरहँदा पहिले जनताका गीतहरू मरिहत्ते गरेर सुन्नेहरू त्यसकै वैचारिक प्रभावबाट राजनीतिमा लाग्नेहरू नै आफ्नो कार्यक्रमहरूमा गैरप्रगतिशील गीतहरूमा मक्ख परेर छमछमी नाचिरहेको कुरा सम्झिरहेको छु।
श्याम तमोटको रचना र संगीत अनि रामेश र मञ्जुलको स्वर रहेको यो गीतको उमेर आज नयाँ गीत खोजिरहेका लाखौं युवाहरू अर्थात् ४५/५० वर्ष भइसकेकाहरू जत्तिकै पुगेको छ। जसमा भएको देश निर्माणको भावना आज पनि उत्तिकै मिल्छ। अर्थात् गीतले देश (घर) बनाउन सबैले एक एक थोक काम गर्नु नै पर्छ अनि मात्र नयाँ नेपाल निर्माण हुन्छ भनेको छ।
‘हिँड मेरा दाइ हो झम्पल बोकेर,
हिँड मेरी दिदी हो डोको बोकेर
कोही काठपात बोक्ने, कोही इँट ओसार्ने,
सबको हातले सबको साथले घर भत्काउने,
थोत्रे घरको ठाउँमा नयाँ बनाउने।’
के यस गीतका शब्दहरू असान्दर्भिक भए ? देश निर्माणमा सबै लाग्नुपर्छ भनेको कुरा पुरानो भएको हो त ? भएका छैनन् र होइन पनि। अनि नयाँ पुस्ताले खोजेको कुराचाहिँ के हो त ? कम्युनिस्ट विचारहरूले आफ्ना पार्टी र संगठनका कार्यक्रमहरूमा सामन्ती र पुँजीवादी विचार बोकेका गीतहरू बजाएर नाचिरहेका हुन्छन्। त्यही खोजेका हुन् त ? होइन भने यी सबै कुरा नकेलाईकन त्यत्तिकै नयाँ नयाँ नयाँ भनेर नयाँ जनताका गीतहरू खोज्नेहरू बोलिरहेका हुन्। आजभोलि पार्टीका नेता कार्यकर्ताहरू त्यस्ता गीतमा चाहिँ मस्त रमाएर नाचिरहेको देख्दा जेबी टुहुरेहरूलाई अघोषित प्रतिबन्ध लगाएजस्तो लाग्न थालेको छ। किनभने करिब करिब अश्लील र द्विअर्थी गीतमा समेत झुम्नेहरू टुहुरे, रामेश, रायन, मञ्जुलका गीतहरूमा रमाउन नसक्ने भएका छन्। त्यसपछिको पुस्ताको त झन् के कुरा।
हेमराज राईको रचना, स्वर र संगीत रहेको ‘चेतनाको ज्योतिले देशै उज्यालो पारौं, समाजको अँध्यारोलाई हामी मिली फालौं’ भन्ने गीतको उमेर नै करिब ४५ वर्ष भएको छ। तर यसको सिर्जनाका बखत यसको सामयिकता जेजस्तो थियो, आज पनि उही र उस्तै रहेको छ। यो गीत त सर्वकालिक नै छ भन्दा केही फरक पर्दैन। यो नेपालमा मात्र होइन, विकसित मुलुकमा पनि उत्तिकै सामयिक ठहर्छ।
त्यसैगरी चन्द्र भण्डारीको रचना, संगीत र स्वर रहेको गीत यस्तो छ– ‘मुठी उचाली लड्छौं बढ्छौं देशको निम्ति उठ्छौं, मुक्तिका लागि जुझिरहने प्रण गरेर उठ्छौं।’
यो गीत यो समाजमा वर्ग रहुन्जेलसम्म अर्थात् वर्गीय शोषण रहुन्जेलसम्म सान्दर्भिक देखिने गीत हो।
यस पंक्तिकारको आशय व्यापकताका साथ यस विषयमा जानुभन्दा पनि जनताका गीतबारे आज जे जस्तो सपाट आलोचना सुन्दै आइरहेको छु, त्यसले मलाई यति लेख्न उद्वेलित गरिरहेको थियो र यति लेखिएको छ।
हामीले सिर्जना गरेका रचनाहरू सबै सार्वकालिक हुँदैनन्, तिनीहरूको सामयिकता फरक फरक हुनसक्छ तर देश, काल र परिस्थितिमा आधारित भएर उब्जिएका रचनाहरूलाई तिनका आधारहरू र सामयिकता रहँदारहँदै नबोल्नुपर्ने आफ्नै प्रगतिशील जमातबाट पनि तिम्रा जनताका गीतहरूको सामयिकता हरायो भन्ने अर्थमा जे बोलिँदैछ, त्यसमा मात्र मैले २०४६ सालको जनआन्दोलनले स्थापित गरेको लोकतान्त्रिक कालदेखि यता असहमति जनाउँदै आएको हो।
अन्त्यमा, मेरो पहिलो कुरा हो– नेपालमा लोकतन्त्र स्थापना गर्नका लागि २०४६ सालको जनआन्दोलनको सफलतासम्म पहिलो प्राथमिकतामा पर्दै आएका जनताका गीतहरू र तिनका स्रष्टाहरू आज किन तिरष्कृत भइरहेका छन् ? यसो हुनुहुन्न।
अनि दोस्रो कुरा हो– वैचारिक कारणले सरकारी र गैरसरकारी सञ्चार माध्यमहरूको एकछत्र सुविधा पाइआएका गैरप्रगतिशील नेपाली गीत संगीतले अझै पनि त्यही प्राथमिकता पाइरहनुपर्ने ? जनताका गीतहरूले प्राथमिकता पाउनै नपर्ने ? मेरो चाहना त्यसको उत्तर पाउनु हो किनभने नेपाली जनताको आर्थिक, सामाजिक, राजनैतिक र सांस्कृतिक अवस्था २०४६ साल अघिभन्दा केही परिवर्तनबाहेक खासै फरक देखिन्न। ठुलो भिन्नता भनेको राजतन्त्र हुनु र नहुनु मात्र हो। त्यसैले प्राथमिकता पाउनै पर्ने चाहिँ देश र जनताप्रति जिम्मेवार जनताका गीतहरू एवं देश र जनताप्रति समर्पित सबै खाले विचारका स्रष्टाहरूका सिर्जनाहरूले हो। हामीले देशप्रति माया जगाउनु छ। जनताको हितका लागि गम्भीर नागरिकको उत्पादन गर्न जरुरी छ। त्यसनिम्ति राज्यले नै हो नेतृत्व गर्ने। राज्य सञ्चालकहरूको कुशलता र क्षमता यहीं नै हो देखिनुपर्ने र चाहिने।
प्रकाशित: ५ आश्विन २०८१ १०:१२ शनिबार