२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

इटहरीका अग्रज साहित्यकार लुगुनको निधन

इटहरी – जीवनमा कहिल्यै पनि विद्यालयको मुख नदेखेका स्वःअध्ययनबाटै जीवनमा पर्याप्त ज्ञान हासिल गरेका सुनसरीको इटहरीका अग्रज साहित्यकार जीबी लुगुनको मंगलबार निधन भएको छ।

सैन्य जीवनबाट राजीनामा गरि स्वदेश फर्केपछि निरन्तर रुपमा साहित्य सिर्जनासँगै संस्कृतिको खोज अन्वेषणमा लागेका लुगुनको इटहरी वडा नम्बर ४ स्थित घरैमा निधन भएको हो। लुगुन लामो समयदेखि मुटु रोगले पीडित थिए।

वि.स. १९८४ माघ ७ गते भोजपुरमा जन्मेका लुगुन केही महिनायता बिरामी भएर घरमै थलिएका थिए। ४० वर्षको उमेरदेखि साहित्ययात्रा थालेका लुगुनले स्वःअध्ययनको भरमा किताबहरू लेखेका थिए। उनले लेखेका पुस्तकहरू साहित्यभन्दा पनि खोज र अनुसन्धानमा बढी केन्द्रित छन्।

२०२७ सालयता उनले पुस्तक प्रकाशन थालेका थिए। ‘साकेला उभौली’ नामक राई जातिको संस्कृतिलाई प्रकाश पार्ने किताबदेखि हिन्दु धर्मको विश्लेषणात्मक टिप्पणी, बुद्धको महानता अक्षय निधि, किराँत अस्तित्वजस्ता किताबसमेत उनले लेखे।

राई जातिको संस्कृति विज्ञको रुपमा परिचित लुगुन म मेरै कवितामा रोएको छु (कवितासंग्रह), साहित्य सौरभ, साहित्य सागर, आत्मानिबन्ध, रसिक स्मारिकाजस्ता पुस्तक प्रकाशन गरेका थिए। उनले अच्छा राई रसिक साहित्य प्रतिष्ठान स्थापना गरेका थिए।

जीवनको उत्तरार्धमा पनि युवाहरूलाई साहित्यमा लाग्न प्रेरणा दिन उनी नसकि नसकि भएपनि कार्यक्रमहरुमा पुग्ने गर्थे।  उनको मंगलबार अपरान्ह अन्तिम दाहसंस्कार गरियो।

प्रकाशित: २१ चैत्र २०७४ ०७:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App