१) मुक्तक
जिन्दगीबाट दुःखको दिन त गयो होला भन्ने लाग्छ,
आङमा घाम लागेर उज्यालो भयो होला भन्ने लाग्छ।
तर सधैं छल गरिरहेकै हुन्छ जिन्दगीले मलाई,
सङ्घर्ष गर्दै त जिन्दगी चलिरह्यो होला भन्ने लाग्छ।
२) मुक्तक
आँखाबाट तप्प चुहिने कथा जिन्दगीको,
मुटु सधैं पोलिरहने व्यथा जिन्दगीको।
हजारौं चोट सहेको छ मेरो जिन्दगीले,
कहिल्यै हरेस नखाने बाचा जिन्दगीको।
३) मुक्तक
योजनाको नदीबाट पौडी आऊ तिमी,
उज्यालो त्यो बाटोतिर दौडी आऊ तिमी।
दिगो विकास गर्दै हजुर अगाडि बढेर,
अशिक्षाको जालोलाई तोडी आऊ तिमी।
४) मुक्तक
उज्यालो छर्न तेलबिना बत्ती त्यसै कहाँ बल्छ र,
ताप दिन आगोबिना दाउरा त्यसै कहाँ जल्छ र!
सत्कर्म नगरी हातपाउ त्यसै खालि राखेर,
पौरखैबिना अल्छी भएर जिन्दगी कहाँ चल्छ र!
५) मुक्तक
उजाडिएका डाँडापाखा हरियालीले भर्नुपर्छ,
सुन फल्ने फाँटहरूमा परिश्रम त गर्नुपर्छ।
नयाँनयाँ सीप प्रविधिको विवेकपूर्ण प्रयोग गर्दै,
सक्षम राष्ट्र बनाएर विश्वमा नाम छर्नुपर्छ।
प्रकाशित: ५ आश्विन २०८१ ०८:०८ शनिबार




