कथा लेखनको सम्बर्द्धन र प्रवर्द्धनमा बाह्रखरी मिडियाले पाँच वर्षदेखि निरन्तर चलाएको अभियानको अर्को कदमका रूपमा छैटौं ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता-२०८१’ घोषणा गरेको छ।
आख्यान साहित्यको सशक्त विधा कथा लेखनमा स्थापित र नयाँ कथाकारहरूको प्रतिभालाई प्रोत्साहन एवं पुरस्कृत गर्ने उद्देश्य रहेको यस कथा प्रतियोगितामा आफ्नो रचना पठाउन बाह्रखरी मिडियाले २०८१ भदौ ३१ गते पत्रकार सम्मेलनमार्फत कथा आह्वान गरेको हो।
नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा प्रतियोगी कथाकारहरूले कात्तिक ५ गतेसम्म कथा पठाउनुपर्नेछ। नेपाली भाषाका सर्जकहरूले संसारभरबाट कथा पठाउन सक्नेछन्।
सशक्त समालोचक तथा लेखक प्राडा ज्ञानू पाण्डेकाे संयाेजकत्वमा तीन सदस्यीय ‘डिशहोम बाह्रखरी कथा-२०८१’ को निर्णायक समूह रहकाे छ। अन्य सदस्यहरूमा लेखक तथा समालोचक डा. गीता त्रिपाठी र साहित्यकार श्री धीरेन्द्र प्रेमर्षि रहेका छन्।
बाह्रखरीलाई प्राप्त भएका सबै कथालाई पहिलो चरणमा बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वको आन्तरिक समूहले छाँट्ने छन्। आन्तरिक समूहले पाएका कथामध्येबाट ५० कथा निर्णायक समूहलाई उपलब्ध गराउनेछ। ती ५० कथामध्येबाट निर्णायक समूहले प्रथम, द्वितीय र तृतीय कथाका साथै ‘उत्कृष्ट कथा २०८०’ का लागि थप २२ कथा छानेर पठाउनेछ। निर्णायक समूहको निर्णय नै अन्तिम मानिनेछ।
प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ।
अन्तिम चरणमा पुगेका उत्कृष्ट २५ कथाकाे समेटेर पुस्तक प्रकाशन गरिनेछ। संग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिने भएकाे छ।
गत वर्ष कथा प्रतियोगितामा विश्वभरिबाट ८४३ कथा प्राप्त भएको थियो। यस वर्षको कथा प्रतियोगिताको नतीजा २०८१ मंसिर १४ गते शुक्रबार सार्वजनिक गरिनेछ। उक्त दिन ‘उत्कृष्ट कथा-२०८१’ कथासंग्रहको लोकार्पण गरिनेछ।
डिशहोम बाह्रखरी कथा प्रतियोगिताको प्रथम संस्करणमा मकवानपुरकी बिना थिङ तामाङको ‘ब्याड भाले’ प्रथम, लक्ष्मण वियोगीको ‘टाउको’ द्वितीय र सुमित्रा न्यौपानेको ‘बार्दली’ तृतीय भएको थियो।
प्रतियोगिताको दोस्रो संस्करणमा लहानकी मुना चौधरीको ‘लार’ प्रथम, श्रेयज सुवेदीको ‘बेजोडा’ द्वितीय र दीपेन्द्र दोङ तामाङको ‘बुलेट बाइक’ तृतीय भएको थियो।
त्यस्तै तेस्रो संस्करणमा मोरङका मनोजादित्य न्यौपानेको ‘अन्तिम अतिथि’ प्रथम, स्वप्निल नीरवको ‘बूढो घर’ द्वितीय र रेणुका जिसीको ‘मुडुली’ तृतीय भएको थियो।
चौथो संस्करणमा दाङका नवीन अभिलाषीको कथा ‘दमाहा’ प्रथम, रमेशजंग थापाको ‘डढेको आकाश’ द्वितीय तथा रुमु न्यौपानेको ‘घूँघट’ तृतीय भएको थियो।
पाँचौं संस्करणमा लमजुङका मनोजबाबु पन्तको कथा ‘बूढो लाँकुरीको रूख’ प्रथम, काठमाडौंका प्रमोद प्याकुरेलको ‘काँचुली’ द्वितीय र गुल्मीका विजय हितानको ‘चेपाङ, चमेरा र चिउरी’ तृतीय भएको थियो।
यस वर्ष पनि फाइन प्रिन्टले उत्कृष्ट कथा संगृहीत पुस्तकको प्रकाशन गर्नेछ। बाह्रखरीले आयोजना गर्दै आएको यस कथा प्रतियोगिताको टाइटल स्पन्सर डिशहोम डिश मिडिया नेटवर्कले गर्दै आएको छ।
उत्कृष्ट कथा–२०८१ को प्रकाशनका लागि प्रकाशन पार्टनरका रूपमा फाइन प्रिन्ट रहेको छ भने प्रतियोगिताका अन्य सहयोगी संस्थाहरूमा नेपाल टेलिकम, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, एनएमबी बैंक, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड तथा कृषि विकास बैंक लिमिटेड छन्। यस वर्ष एयरलाइन्स पार्टनर यति एयरलाइन्स रहेको छ।
कथा अप्रकाशित, अप्रसारित र नेपाली भाषामा लेखिएको मौलिक हुनुपर्नेछ। नतिजा सार्वजनिक नहुन्जेल प्रतियोगितामा पठाइएको कथा कतै पनि प्रकाशन वा प्रसारण गर्न पाइनेछैन। छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिने प्रतियाेगिताकाे नियम रहेकाे छ।
त्यसैगरी अन्य नियमहरूमा ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता’मा भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रूपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रसारण गर्न बाह्रखरीको पूर्वस्वीकृति अनिवार्य छ। कथा कम्तीमा १,५०० शब्द र बढीमा ४ हजार शब्दसम्मको हुनुपर्नेछ। कथा वर्ड फाइलमा मात्र पठाउनुपर्नेछ।
प्रतियोगीले कथासँगै आफ्नो छोटो परिचय, सम्पर्क मोबाइल नम्बर र हालसालै खिचिएको फोटो पनि पठाउनुपर्नेछ। प्रतियोगिताका लागि छानिएका कथाकारलाई बाह्रखरीले इमेल तथा फोनमार्फत सम्पर्क गर्नेछ। कथा 12kharibooks@gmail.com इमेलमा पठाउनुपर्ने छ भने ०१-४१०६५१, ०१-४१०६५६ र ९८०१८४९६१९ सम्पर्क सूत्र रहेकाे छ।
वरिष्ठ कथाकारहरूलाई बाह्रखरी कथा प्रतियोगितामा सहभागी हुन आग्रह
‘डिशहोम छैटौँ बाह्रखरी कथा प्रतियोगिता’ कथा लेखनको उत्सव भएको भन्दै वरिष्ठ कथाकारलाई पनि प्रतियोगी कथा पठाउन अनुरोध गरिएको छ।
‘डिशहोम छैटौं बाह्रखरी कथा प्रतियोगिता–२०८१’ को निर्णायकमण्डल संयोजक प्राडा ज्ञानू पाण्डेले अग्रज कथाकारका कथा प्रतियोगितामा प्राप्त भए त्यो नयाँ पुस्ताका निम्ति सम्मान र उत्प्रेरणा हुने बताइन्। अग्रज कथाकार पनि सहभागी हुँदा त्यसले नयाँ पुस्तालाई कथा लेखनमा थप हौसला हुने उनको भनाइ छ।
सोमबार काठमाडौंमा ‘डिशहोम छैटौं बाह्रखरी कथा प्रतियोगिता–२०८१’ को घोषणा कार्यक्रममा उनले कथा लेख्न हौसला र प्रेरणा दिने र पुरस्कार पनि पाइने भन्दै यो अवसरकाे सदुपयोग गर्न आग्रह गरिन्। बाह्रखरी कथा प्रतियोगिताले भोलिका दिनमा अब्बल कथाकार जन्माउन भूमिका खेलिरहेको उनले बताइन्।
निर्णायकमण्डल सदस्य धीरेन्द्र प्रेमर्षीले आफ्नै गाउँठाउँका प्रतिभा पनि बाह्रखरी कथा प्रतियोगितामार्फत चिनिन थालेको बताए। “बाह्रखरी कथा प्रतियोगिताको विजेता भएपछि मैले मुना चौधरीलाई हाम्रै गाउँको बैनी भनेर चिनें,” उनले भने, “बाह्रखरी कथा प्रतियोगिता कथाहरूको अनुष्ठान हो। कथा मन्थनमा पनि यसले विशेष भूमिका खेलिरहेको छ।”
बाह्रखरी कथा प्रतियोगिताका आन्तरिक निर्णायकमण्डल संयोजक गोविन्द अधिकारीले प्रतियोगितामा सहभागी भएपछि जित र हार स्वाभाविक भएको बताए। उनले अग्रज कथाकारलाई पनि प्रतियोगितामा सहभागी हुन आग्रह गरे। “यो प्रतियोगितामा वरिष्ठ साहित्यकारलाई पनि सहभागी हुन आग्रह गर्छु,” उनले भने, “प्रतियोगिता भनेकै कसैले जित्छ, कसैले जित्दैन। कथाकारहरूले पनि स्पोर्टसिपको अभ्यास गर्नुपर्यो।”
बाह्रखरी कथाले नेपालको कथा लेखन क्षेत्रलाई थप फराकिलो बनाइदिने उनको विश्वास छ।
‘डिशहोम छैटौं बाह्रखरी कथा प्रतियोगिता’का सम्पादक नयनराज पाण्डेले कथा लेखनको तरीकाबारे जानकारी गराए। व्यक्ति र समाजका एकल र बहुल विषयशैलीसहित लेखिने कथा नै राम्रो हुने उनले उल्लेख गरे। कथामा लेखक गौण र पात्र प्रधान भएर आए त्यो रोचक र उत्कृष्ट हुने उनले बताए।
आदि, मध्य र अन्त्यको संरचना भत्काएर चलाखी गर्दै कुशल लेखकले पाठकमा उत्सुकता जगाउँदै पठनीय कथा लेख्न सक्ने उनको भनाइ छ। “कथा आज लेखेर भोलि नै नपठाउनुस् । एकदुई दिनपछि पटकपटक हेरेर सम्पादन गरेर पठाउनुस्, त्यसो भयो भने राम्रो कथा तयार हुन्छ,” उनले नयाँ पुस्ताका कथाकारलाई सुझाए, “बाह्रखरी कथा, कथाहरूको उत्सव भइसकेको छ। यो प्रतियोगिता अब बलिया र राम्रा कथाका लागि हो। त्यहीअनुसार मिहिनेत गरौँ।”
फाइन प्रिन्टका प्रकाशक निरज भारीले बाह्रखरी उत्कृष्ट कथा प्रकाशन गर्न पाउनु गौरवको विषय भएको बताए। प्रकाशनगृहले गर्नुपर्ने काम बाह्रखरी मिडियाले गरेको भन्दै उनले प्रतियोगिताले नयाँ प्रतिभाको उजागर गर्ने विश्वास व्यक्त गरे।
पछिल्लो समय युवा लेखक र पाठक नभएको उनले बताए। लेखक ३५ वर्षभन्दा माथिका र युवा पाठक पनि क्रमशः घट्दै गएका उनको बुझाइ छ। नयाँ पुस्ताले विदेशी लेखकका पुस्तक पढ्ने गरेको भन्दै उनले भने, “अब विद्यालय तहमै गएर लेखनमा आकर्षण गर्न सकिन्छ कि भन्ने लाग्छ। यो काम कठिन भए पनि आवश्यक भइसकेको छ।”
निरजको योजना अहिलेको आवश्यकता भएको भन्दै बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले यसबारे सोच्नुपर्ने बताए। “यो निकै गम्भीर विषय हो। सहज छैन तर सबैको साथसहयोग भयो भने गर्न सकिन्छ कि भन्ने लाग्छ,” उनले भने।
‘डिशहोम छैटौं बाह्रखरी कथा प्रतियोगिता’ साहित्यकारको विश्वास र भरोसाका कारण नै छैटौं संस्करणसम्म आइपुगेको प्रधानसम्पादक प्रधानले बताए। कथा प्रतियोगितामा साहित्यकारको सहभागिता र वित्तीय क्षेत्रको सहयोग रहनु आफैंमा राम्रो पक्ष भएको र यसले नेपाली साहित्यलाई मजबुत बनाउँदै लैजाने उनले उल्लेख गरे।
यसपटक वरिष्ठ साहित्यकारका कथा बाह्रखरी उत्कृष्ट कथामा समावेश नहुने उनले जानकारी दिए। उनले डिशहोम र अरू प्रायोजकको साथ र सहयोगकै कारण यो प्रतियोगिताले निरन्तरता पाइरहेको बताए।
प्रकाशित: १ आश्विन २०८१ १२:३९ मंगलबार