२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

‘नालापानी’मा नेपाली सेना

काठमाडौं – नेपाली सेनाको सहयोगमा फिल्म ‘नालापानी’को छायांकन गरिएको छ । राजधानीको विभिन्न स्थानमा छायांकन भइरहेको फिल्म गत शुक्रबार नारायणहिटी दरबार संग्राहलयको उत्तरमा रहेको नेपाली सेनाको ‘गोरख गण’को मैदानमा छायांकन गरियो।

नेपाली सिपाही वलभद्र कुँवरको समूह र ब्रिटिस फौजबीचको ऐतिहासिक नालापानी युद्धको पृष्ठभूमिमा बनिरहेको फिल्ममा शुक्रबार नेपालीसँग युद्ध लड्न आउँदै गरेका अंग्रेज फौजको दृश्यलाई कैद गरिएको थियो।

फिल्मका निर्देशक रिमेश अधिकारीका अनुसार सेनाबाट प्राप्त झन्डै पचास घोडा र करिब ३ सय हतियारसहितका फौज गोरख गणको मैदानमा उतारिएको थियो । ‘यो दृश्यलाई भिएफएक्सको माध्यमबाट हजारौंको संख्या देखाइनेछ । यो दृश्य छायांकन गर्नकै लागि हामीले पाँचवटा क्यामरा प्रयोग गरेका थियौं,’ उनले भने, ‘भिएफएक्सको अधिक प्रयोग हुने फिल्मका सम्पूर्ण दृश्य छायांकनमा सम्पादन तथा भिएफएक्स समूहसँगै रहेर काम गरिरहेका छन्।’

रामराजा कुँवर र प्रा. डा. धनबहादुर कुँवरको पुस्तक ‘वीर वलभद्र कुँवर’मा आधारित रहेर निर्माण भइरहेको फिल्ममा देव गुरुङ, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, इशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी, गीता बिष्टलगायतका कलाकारको अभिनय छ।

पद्माकुमारी फिल्मस र गंगानारायण फिल्मसको संयुक्त ब्यानरमा बनिरहेको फिल्ममा मनोज शाक्य र नितिशा शाक्य निर्माता छन् । फिल्ममा कृष्ण आचार्य र रिमेश अधिकारीको लेखन, रोशन श्रेष्ठको द्वन्द्व, विपिन मल्लको सम्पादन तथा रामशरण उप्रेतीको छायांकन छ ।
 

प्रकाशित: २१ चैत्र २०७४ ०२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App