२ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

सत्तामा पुगेपछि देश बेचेका हुन्!

मुक्तक

१) मुक्तक

दुःखपीडाले मुटु छुँदा कस्तो भयो होला

सम्झ त, रातदिन रुँदा कस्तो भयो होला

विदेशबाट पैसा कमाई घर फर्केर आउँदा

घरमा श्रीमती नहुँदा कस्तो भयो होला।

२) मुक्तक

आफ्नो अधिकार जमाउन खोज्नुभयो भने

पालो मिचेर पद कमाउन खोज्नुभयो भने

तपाई आफैं लड्नुहुन्छ त्यतिबेलासम्म

जरो उधिनी फेद समाउन खोज्नुभयो भने।

३) मुक्तक

स्वार्थ बोकेर गाउँगाउँमा आउँछन् बेलाबेलामा

ठूलाठूला सपनाहरू देखाउँछन् बेलाबेलामा

यी नेताहरूले म नेता हुँ, म सांसद् हुँ नसोचे हुन्छ

यी जुवाडेहरू हुन, सत्ता पल्टाउछन् बेलाबेलामा।

४) मुक्तक

रूखा वचनहरू भन्न समय लाग्दो रैन्छ

पार्न अरूको मन खन्न समय लाग्दो रैन्छ

दुश्मनहरू छिट्टै मित्र बन्छन् कि बन्दैनन्

मित्रहरू दुश्मन बन्न समय लाग्दो रैन्छ।

५) मुक्तक

सधैं खोले पाक्छ गाँस फेर्न सके छैनन्

बाँसको झुपडी छ वास फेर्न सके छैनन्

नेताले वर्षैपिच्छे सरकार फेर्दा पनि

ढुक्कसँग जनताले सास फेर्न सके छैनन्।

६) मुक्तक

न त्यो बन्न सक्छ न यो बन्न सक्छ

उहीं नै महान हो जो बन्न सक्छ

फलानाको छोरा जस्तो बन भन्नुहुन्छ

भगवान् श्रीरामभन्दा राम्रो को बन्न सक्छ।

७) मुक्तक

मेरो पछाडि पूरै गाम आको रैछ

सँगै एउटा खराब नाम आको रैछ

चिताबाट झट्ट उठेर लासले भन्यो

मेरो हत्यारो मेरै मलाम आको रैछ।

८) मुक्तक

बैरीले भाइलाई कुटेको हेर्नेहरूले

सिमानामा बार टुटेको हेर्नेहरूले

सत्तामा पुगेपछि देश बेचेका हुन्

आमाको इज्जत लुटेको हेर्नेहरूले।

९) मुक्तक

रक्सी खाएर हात नै हाले सोचेकै थिइन

घरमै होलान् यस्ता खाले सोचेकै थिइन

पैसाका लागि यतिसम्म गिर्दा रहेछन्  

छोरी बेच्लान् पापी बाले सोचेकै थिइन्।

१०) मुक्तक

लौरीबिना उकाली चढ्न गाह्रो हुँदो रैछ

सधैंभरि भोकभोकै पढ्न गाह्रो हुँदो रैछ

जँड्याहा बाउले घरघडेरी सबै बेची खायो

आमाबिना अघि बढ्न गाह्रो हुँदो रैछ।

प्रकाशित: २८ भाद्र २०८१ १३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App