२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

प्रेमशान्तिलाई वैकुण्ठ लाकौल पुरस्कार

नेपालभाषा साहित्य र समालोचना विधाको उत्थानका लागि अनवरत योगदान पुर्‍याउने प्राध्यापक प्रेमशान्ति तुलाधरलाई वैकुण्ठ लाकौल पुरस्कारबाट सम्मान गरिएको छ।

 नेपालभाषा केन्द्रीय विभागको ४४औं वार्षिकोत्सव अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठ, नेपालभाषा केन्द्रीय विभागका प्रमुख सहप्राध्यापक डा. राजनलाल जोशी र वैकुण्ठ लाकौल पुरस्कार समितिका संरक्षक श्रीकण्ठ लाकौलले संयुक्त रूपमा तुलाधरलाई सम्मान गरेका हुन्।

नेपालभाषा साहित्यका शिरोमणि वैकुण्ठप्रसाद लाकौल नेपालभाषा कवितामा रोमानीवादका प्रारम्भकर्ता हुन्। उनले नेपालभाषा, साहित्य, संस्कृतिमा पु¥र्याएको योगदानको स्मरणस्वरूप ३९ वर्षअघि यो पुरस्कार स्थापना गरिएको थियो। वैकुण्ठ लाकौल पुरस्कारको यो १२औं संस्करण हो।

साथै, वार्षिकोत्सव कार्यक्रममा विगत तीन शैक्षिक सत्रमा नेपालभाषामा स्नातकोत्तर गरेकामध्येबाट सबैभन्दा बढी अंक ल्याई उत्तीर्ण हुने छात्रालाई पनि सम्मानित गरिएको छ। चैन लाकौल पुरस्कारबाट सम्मानित हुने विद्यार्थीमा कृष्णप्यारी श्रेष्ठ, पद्मा खयरगोली र रजनी श्रेष्ठ छन्।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश मन्त्री खड्गीले भाषा, साहित्य, संस्कृति पुस्तान्तरण हुनुपर्नेमा जोड दिइन्। उनले बागमती प्रदेशमा नेपालभाषा र तामाङ भाषा लागु भइसकेको र त्यसको कार्यान्वयनसँगै लिपि संरक्षणमा पनि जुटिरहेको बताइन्।

 सम्मानपछि कार्यक्रममा प्राध्यापक तुलाधरले पुरस्कारले आफूलाई गौरवान्वित महसुस भएको बताइन्। ‘रिटायर्ड भएको छु, तर म टायर्ड भएको छैन। आगामी दिनमा अझ सशक्त ढंगले साहित्य लेखनमा लाग्नेछु,’ उनले भनिन्।

उनले नेपालभाषा केन्द्रीय विभाग जनस्तरबाट बनेको नेपालको पहिलो कलेज भएको र त्यसलाई बनाउन स्व. लाकौलले आर्थिक सहयोग गरेको कार्यक्रममा स्मरण गरिन्।

कार्यक्रमका अध्यक्ष जोशीले बागमती प्रदेशमा नेपालभाषा सरकारी कामकाजी भाषा भइसकेको हुनाले सरकारी निकायलाई जनशक्ति आवश्यक परेको खण्डमा विभागले सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित: १५ भाद्र २०८१ १०:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App