२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
कला

मक्खन चोर

दुई बालकविता

१) मक्खन चोर

गाउँ डुल्दै दही-मख्खन चोर्दा पनि रमाइलो,

उफ्रिएर हाँडी-घैंटो फोर्दा पनि रमाइलो!

लडीबुडी हिलो माटो खाँदा पनि रमाइलो,

गाई हेर्न गोठालो भै जाँदा पनि रमाइलो!

जङ्गलमा बनभोज पकाउँदा रमाइलो,

रिसाएका गोपिनीलाई फकाउँदा रमाइलो,

बच्चा मार्ने पुतनालाई ढलाउँदा रमाइलो,

दुःखीमाथि थोरै माया पलाउँदा रमाइलो!

नागमाथि ताताथैय्या गर्न पनि रमाइलो,

पँधेराको चिसो पानी भर्न पनि रमाइलो!

सुदामाको कनिकालाई बाँडी खाँदा रमाइलो,

लुकीलुकी राधासित घुम्न जाँदा रमाइलो,

बाँसुरीको धूनभित्र हराउन रमाइलो,

राम्राराम्रा काम गर्न गराउन रमाइलो!

गाउँ डुल्दै दही-मक्खन चोर्दा पनि रमाइलो,

उफ्रिएर हाँडी–घैटो फोर्दा पनि रमाइलो!

२) मेरो धरहरा

बल्लबल्ल आएको छु म त आफ्नो घर,

भन्नुस् आमा कहाँ गयो मेरो धरहरा!

कमिलाझैं घुमीघुमी चढेको थेँ माथि

पहिले पुग्ने मै हुँला कि होला मेरो साथी !

टुप्पोबाट खुशी हुँदै हेर्थेँ पर...पर...

भन्नुस् आमा कहाँ गयो मेरो धरहरा!

तिरिमिरी आँखा पार्दै तलातला गन्थेँ

ठूलो भई धरहरा जत्रै हुन्छु भन्थेँ !

रूख छैन, जताततै फैलेका छन् जरा

भन्नुस् आमा कहाँ गयो मेरो धरहरा!

कहाँबाट हेरूँ अब मैले मेरो शहर्?

कस्लाई हेरी ठूलो हुने बढाउँ आफ्ना रहर्?

बस्ने ठाउँ नपाई त्यसै उडेका छन् चरा,

भन्नुस् आमा कहाँ गयो मेरो धरहरा!

प्रकाशित: ७ भाद्र २०८१ ०९:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App