२०७९ साल मातातीर्थ औंसीमा शशि शर्मा अर्यालको विशेष आग्रहमा दक्षिणकाली नगरपालिका–३ मा अवस्थित सेतीदेवी/कोतकीदेवी मन्दिरमा आमासम्बन्धी कविता वाचन गर्ने कार्यक्रम भएको थियो। कार्यक्रम सुसेली साहित्यिक प्रतिष्ठानले आयोजना गरेको थियो। त्यसै भिडमा ‘म कविता सुन्न बद्री कार्कीको निम्तामा उपस्थित भएको हुँ’ भन्दै वडा नं. ४ का अध्यक्ष पुष्कर खड्का देखिनुभयो। त्यस दिन उहाँले ‘दण्डवत् छ, आमा!’ शीर्षकको कविता वाचन गर्नुभयो। कविता श्रवण गरी श्रवण प्रतिक्रिया दिने जिम्मेवारी मेरो थियो। मैले आफ्नो धर्म निर्वाह गरें।
कार्यक्रम सकिएपछि सुसाप्रका सम्पूर्ण पदाधिकारी लगायत शुभेच्छुकहरूको कुराकानी चल्यो। त्यसै समय उहाँले वडा नं. ४ मा पनि साहित्यिक कार्यक्रम गर्नेे चासो देखाउनुभयो। त्यसको केही समयपछि वडाकै खर्चमा २०८० सल असार २९ गते चार पुस्तक विमोचन भए।
पुनः २०८१ साल ज्येष्ठ १९ गते वडाकै सभा हलमा दुई कृति विमोचनका साथ कविता वाचन कार्यक्रम भयो। फेरि असार २९ गते २११ औं भानुजयन्ती पनि वडा नं ४ मा नै मनाइयो। त्यस दिन सुसाप्रका आवेश मिश्र, कृष्णकुमार श्रेष्ठ, सुशान्त केसी, रामराजा केसीले एउटा पुस्तक निकाल्ने योजनासहित लाग्न वडाध्यक्षलाई आग्रह गरे। उहाँले आफूसँग केही कविता भएको तर मौका नमिल्दा वाचन गर्ने र छाप्ने काम नगरेको सुनाउनुभयो। त्यसको केही दिनपछि मलाई उहाँले फोन गरेर दृढ इच्छा सुनाउनुभयो र प्रकाशनबारे जानकारी नभएको भन्दै भूमिका लेखनसहित सहयोग गर्न आग्रह गर्नुभयो। कविता मेरो विपत्रमा आए। मैले भूमिका लेखनका लागि पढेँ। मैले केही कविता हटाउने, केही परिमार्जन गर्ने र आद्योपान्त शुद्धाशुद्धी मिलाउन फिर्ता पठाएँ। केही दिनपछि हराएको निद्रा कृतिको नाममा ३६ कविता पाएँ।
साहित्य लेखन गर्न प्रतिभा, व्युत्पत्ति (पुस्तक अध्ययन र स्रष्टाको साथ), साधना (अभ्यास) र समाधि (एकाग्रता) चाहिन्छ। यी कुरामध्ये पुष्कर खड्कासँग केके छ मैले यहाँ लेखिनँ। तथापि ‘म कवि होइन तर मलाई कविता, गीत, गजल, साहित्यका कृति पढ्न, सुन्न र हेर्न मन लाग्छ। मैले यो पुस्तकको प्रकाशन कवि बनेर नाम राख्न गरेको होइन। मैले कविता आत्मसन्तुष्टिका लागि लेखेको हुँ। किशोरावस्थादेखि मनमा परिस्थितिजन्य कारण उत्पन्न ऊहापोहलाई शब्दका माध्यमबाट लेखेको हुँ। अहिले सुसाप्रसँग जोडिएपछि निकाल्न लागेको हुँ।’ भन्ने भनाइबाट म प्रभावित छु। यसबाट मैले बुझेको कुरा यो कृति रहरमा निस्किएको हो। प्रकाशन गर्ने द्विविधाका बिच अङ्कुरित भएको हो।
पुष्कर खड्काको कविताको अन्तर्यमा रहेको विषय, भाव एकाग्रता र समूल भाव, लयचेतना, सौन्दर्य, लालित्य, विम्ब, प्रतीक र अलङ्कार, कविताको सम्पूर्ण संरचना के कस्तो छ, यसको मिहीन खोजको जिम्मेवारी भूमिका लेखकका दृष्टिले लेख्नुपर्ने हो तर गहन रूपमा पाठकले पनि जिम्मेवारी लिएर प्रोत्साहन दिनुपर्छ भन्ने मेरो विचार छ। त्यसैले प्रत्येक कविताको अन्तर्यमा पसी गहन विश्लेषण र लेखनको जिम्मा समालोचकहरूलाई छाडी समतल पक्ष कोट्याउने प्रयास गर्दै छु।
हराएको निद्राभित्र तिम्रो शहरदेखि लिएर निषेध छाडौं शीर्षकसम्मका कविता छन्। यो भूमिका लेख्दा मलाई शङ्कर लामिछानेको सम्झना भयो। उनले ‘औपन्यासिक पात्रः जीवनको पृष्ठभूमिमा’ निबन्धभित्र लेखेका छन्, ‘बाबु, जीवनमा कविता छरिएका बसेका छन्। देख्न सक्नुपर्छ। लेख्ने फुरसत कसलाई?’ पुष्करको यो सङ्ग्रह पढ्दा मलाई यही कुरा बोध भयो र भन्न मन लाग्यो, व्यक्ति, परिवार, समाज, राष्ट्र, विश्व परिवेश एवम् ब्रह्माण्ड आदि जेजेका बारेमा हामीले सुन्यौं, पढ्यौं, हेर्यौं र भोग्यौं। तीमध्ये मनलाई छोएको विषयमा शब्द खेल्न थाल्छ, शब्दले आकार दिंदै जाँदा रचना बन्छ। ती रचनालाई कलात्मकताका साथ विधागत ढाँचामा प्रस्तुत गर्दा विषयले निश्चित आकार लिई रचना बन्छ।
यसरी बनेको रचनालाई पठनानन्द दिन सक्ने विश्वासका साथ छाप्न हौसला र आँट चाहिन्छ। सुन्दरता भनेको नबनाइएको (प्राकृतिक) आफ्नै छ, बनाइएका (कृत्रिम) पनि छन्।
पुष्कर खड्काको यस सङ्ग्रहका कविताहरूमा यी दुईमध्ये मध्यविन्दुको प्रयोग छ। यस भूमिका लेखनका क्रममा मैले पनि आदरार्थीका प्रकारमध्ये मध्यविन्दु अर्थात् उनीको प्रयोग गरेको छु।
‘हराएको निद्रा’ कृतिको नामकरण सङ्ग्रहमा रहेको पन्ध्रौं कविताको शीर्षक हो। यस कवितामा प्रेमीप्रेमिकासँग वियोग भएपछि वा मृत्युलाई वरण गरेपछि भेटघाट, मिलन आदिको स्मरणले निदाउन नसकेको कुरा अभिव्यक्त भएको छ।
यस कविताले मायालुलाई अन्तिम एकपटक पुनः सम्झेर सधैंका लागि भुल्न र निदाउन चाहेको कुरा अभिव्यञ्जन भएको छ। पक्कै हो, जसलाई हृदयले चाहेको छ, तिनलाई चाहेर भुल्न नसक्ने, हृदयको सम्बन्धले बाहिरी इन्द्रिय शोकमा परिवर्तन भई भोक, तिर्खा, निद्रा टुट्छ। यिनै कुरालाई यस कवितामा प्रस्तुत गरिएको छ।
कृतिको सन्दर्भमा यसको नामकरण हेर्दा हरेक मानिसको चाहना हुन्छ, परिवार, समाज, राष्ट्रलाई आफ्नो रूपमा देख्ने। हरेकको चाहना हुन्छ, विकसित र समृद्ध देख्ने। हरेक व्यक्तिको प्रवृत्ति सकारात्मक होस्, समाज उन्नत होस्, देश समृद्ध होस्। तर ... यी चाहना पूरा नहुँदा मानिस कुण्ठामा रहन्छ। यो सङ्ग्रह पढ्दा लाग्छ, पुष्करलाई राजनीतिक, सामाजिक, आर्थिक, जातीय छुवाछुत, देशमा देखिएका विकृतिको समुच्च स्थिति, परम्परित धर्म, संस्कारमा आएको सङ्कटापन, मानवीय मूल्यमा आएका ह्रास जस्ता यावत् कुराले छोएको छ। यही स्थितिका कारण आफ्नो भोगाइसँग आम मानिसको भोगाइ जोडेर सबैको निद्रा हराएको कुरा उनले लेखेका छन्।
खड्काको हराएको निद्रा कवितासङ्ग्रहमा भएका कविताहरूले कतै न कतै राजनीतिक पक्ष छोएको छ। राजनीतिका माध्यमबाट वडाध्यक्ष बनेका खड्काले आफू राजनीतिमा लागे पनि राजनीतिसँगै जोडिएको समाज, विकास निर्माण, सभ्य चिन्तनको परम्परा, प्रोत्साहनलाई राजनीतिले छोएको देख्दैनन्। त्यसैले उनले मलाई चाहिंदैन शीर्षकको कवितामा लेखेका छन्ः
यही प्रकृतिमा बाँच्न
मेरै अधिकार भए पुग्छ
मलाई तिमीले बकसमा दिएको
दया र सहानुभूतिको दान चाहिंदैन
बस! बाँच्न पाए पुग्यो
मलाई तिम्रो धन चाहिँदैन। (हराएको निद्रा)
राजनीति गरेर नेताले जनता, गाउँ, शहर हुँदै देश बनाउन लाग्नुपर्ने सोचाइ खड्काको छ। उनी माथिल्लो तहमा पुगेका नेता हावामा उडेको कुरा गर्दै एकदिन फुटेर तल झर्ने कुरामा विश्वस्त देखिन्छन्। यस विश्वासलाई उनी यसरी लेख्छन्:
नेता भनौंदाहरू
बेलुनको साथ लिएर जति माथि पुगे पनि
घमन्डको मातले हावा फुस्किएर
जनताले फुक्न छाडेको बेला
तल झर्छन्। (नेता भनौंदाहरू)
खड्का वर्तमान नेतृत्वसँग निराश देखिन्छन्। जनतालाई आशा देखाएर काम नगर्ने नेताको प्रवृत्ति उनी रूचाउँदैनन्। जनतालाई लिएर सरकारमा पुगेपछि जनताको काम नगर्ने नेतालाई उनी धोकेबाज ठान्दछन्। त्यस्ता प्रवृत्तिका नेतालाई सचेत बनाउन उनी लेख्छन्:
तिमी खोला तर्छौ
हामीलाई लट्ठी बनाउँछौ
पारि, अलि पारि
धेरै पारि
पुगेपछि
त्यही लट्ठी बिर्सन्छौ। (खोला तर्ने लट्ठी बिर्सने)
वर्तमान नेताले आफ्नो सत्ता जोगाउनका लागि देशभित्र र बाहिरका दलाललाई आफ्नो बनाएको उनी ठान्छन्। यसै कारण उनी नेपालको रजनीतिमा दलाली प्रवृत्ति हाबी भएको ठान्छन्। स्वार्थको दलदलमा भासिएका कारण उनी नेतालाई देश, जनताको चिन्ताले नछोएको ठान्छन्। उनी आफ्ना आँखा सामुन्ने नेता बनेको तर जनताको समस्याले नेता नपिरोलेको देख्छन्। साथै उनी नेतृत्वमा वंशको हावी भएको देख्छन्। यसलाई उनी कवितामा यसरी भन्छन्:
जलोस्, देश चलोस्
तपाईलाई चिन्ता छैन
तपाईका त भविष्य
वंशाधिकारले बाँचेकै छ। (तपाईलाई राम्रै छ)
खड्का नेताले जनता र देशका लागि काम नगर्नुको दोष नेतृत्वलाई मात्र थोपर्दैनन्। देशमा विषम परिस्थिति सिर्जना हुनुको मूल कारण उनी जनताको हस् प्रवृत्तिलाई पनि देख्छन्। त्यसैले उनी आफू जनता बनेर आत्मालोचना गर्दै कवितामा लेख्छन्:
यिनै नेतालाई चुनावबाहेक
अरू समय सराप्ने हामी जनता
भोट दिएर जिताउनै पर्ने
हामी जनता
विकृतिलाई सलाम ठोकेर
आफ्नै घरमा भित्र्याउने
हामी हस्,
बहादुर जनता। (हामी हस् बहादुर)
यसरी आफ्ना राजनीतिले स्पर्श गरेका उल्लिखित कविताबाहेक धोका, परिवर्तन, धन्यवाद, व्यापारी कि सरकार, फूललाई फुल्न देऊ, निषेध छाडौं शीर्षकका कविता र अन्य कवितामा सङ्घीय, प्रदेश, स्थानीय तहका साथै समूह समूहमा भएको राजनीतिक विकृति उनले कवितामा देखाएका छन्। उनले राजनीतिलाई सरकार बनाउने, सरकारमा बस्ने, जनताको सलाम खाने नीति मान्दैनन्। उनी राजनीतिलाई व्यक्तिको आचरण सुधार गर्नेदेखि लिएर, इतिहास, धर्म, संस्कृति, पुराताङ्खिवक सामग्री, चालचलन, संस्कार, मानवतावाद, विकास निर्माण, देशप्रेम, सीमा रक्षा जस्ता यावत् कुरासँग जोडिएकाले असल राजनीतिक संस्कार विकास हुनपर्ने चाहना राख्छन्।
पुष्कर खड्काका कवितामा देशप्रेम पनि प्रस्तुत भएका छन्। उनले नेपाललाई प्राकृतिक स्रोत, साधन, जनशक्ति आदिले सम्पन्न मानेका छन्। यसको सदुपयोग भए देश बन्ने उद्घोष उनी गर्छन्। यसका लागि उनले आफैंलाई यसरी भनेका छन्:
मेरो देश बनाउने
मेरै देशमा स्रोत र साधन छन्
मेरो देश बनाउन
मेरै देशमा कर्मी छन्
मैले मेरो देश बनाउन
मेरै मनलाई आह्वान गरिरहेको छु। (मेरो देश महान् छ)
विकास निर्माणमा नेपाल पछि भए पनि प्राकृतिक सम्पदा, मानवतावाद, सभ्यता विकासमा अझसम्म महान् रहेको खड्का ठान्छन्। त्यसैले उनी देश छाडेर गएका युवालाई र देश छाडेर रोजगारका लागि विदेश जान चाहनेहरूलाई यहीँ बसेर विकासमा लाग्न आह्वान् गर्दछन् र लेख्छन्:
ईश्वरीय शक्ति
हाम्रै देशमा छ रे
जीवजन्तु, वनस्पति,
मानवको हित गर्ने दीक्षा प्रयोग गरौं
नेपालमा नै बसी
मातृभूमिको एकपटक
उपकार गरौं। (मातृभूमि)
पुष्कर खड्काले अप्रत्यक्ष रूपमा हरेक कविताका माध्यमबाट सामाजिक, राजनीतिक विकृतिविसङ्गति प्रशोधन गरी देशप्रेम देखाएका छन्। तथापि मेरो देश महान् छ, मातृभूमि, आफन्त कवितामा यसको विशेष प्रयोग छ। उनले आफन्त कवितामा नेपाललाई र छिमेकी देशसँग तुलना गर्दै छिमेकीको षड्यन्त्र नेपालमा परेको कुरा बोध गरेका छन्:
त्यसो भए
यो घर भत्काएर
त्यो ढुङ्गो फुटाउनुपर्छ।
... ... ...
बल्ल थाहा भयो
मेरो परिवार, र
छिमेकीमा रहेको फरक! (आफन्त)
पुष्कार खड्काको हराएको निद्रा कवितासङ्ग्रहमा रहेका कविताहरूमा पूर्वीय दर्शन र धर्मको कुरा पनि छ। उनले नेपालमा परम्परादेखि चल्दै आएको जीवन चलाउने पद्धति अनेक पटक संशोधन र परिष्कार भई तयार भएको कुरा बुझेका छन्।
पूर्वीय वेद, दर्शन र पुराणका किताबहरूको अनुसरणले मानिस मानिसको बिचमा मात्र नभई मानिस र अन्य प्राणीसँग पनि समभाव विकास हुने उनी ठान्छन्। उनका यात्रा मन, आधुनिकता, जाति प्रथा हटाऊँ जस्ता कवितामा पूर्वीय दर्शन र धर्मको प्रभाव छ।
यसमा दर्शनले देखाएको बाटामा मानिसहरू नहिंडी स्वविचारबाट हिंडेको बताउँछन्। यस व्रmममा मानिसमा लोभ, तृष्णा, व्यभिचार, वर्गीय असमानता आदि उत्पन्न गराई रोक्ने काम मानिसकै मनले गरेको कुरा उनी महसुस गर्छन्:
यथार्थमा मन
भ्रम छर्ने
वास्तविक संसार
बोध गर्न रोक्ने
बाहिरी इन्द्रिय सव्रिmय बनाई
मानिसलाई धोका दिने
सुन्दर पर्दा हो। (मन)
पुष्कर खड्काको हराएको निद्राभित्र आमा विषयक आमा, मेरी आमा, दण्डवत् छ, आमा! गरी तीन कविता छन्। उनले आमालाई सान्त्वना दिने, प्रेरणा दिने, मायाममता र स्नेह दिने लगायत जीवनको महान् जाति मानेका छन्। यसरी प्रेरणा दिने आमा दुःखमा साथ दिँदा रहे पनि सुख पाउने वेलामा नभएको कुरा व्यक्त गर्दै दुःख मनाउन गर्छन्:
जब
मैले खेलमा हारेको खबर
रूँदै भनेको थिएँ, आमा!
तिमीले धैर्य दिएको
प्रेरणा दिएको सम्झन्छु, आमा!
जब
मैले जितेको थिएँ
तिमी यहाँ थिएनौ, आमा! (आमा)
त्यसै गरी उनले आफ्ना कवितामा एउटी आमाले अर्की आमालाई गर्ने व्यवहारले आमाको महिमामा दाग लागेको कुरासमेत गरेका छन्:
छोरी र बुहारी एउटै लिङ्गका हुन् नि, आमा!
सासू र बुहारी पनि समान लिङ्गका हुन् नि, आमा!
नारीको शत्रु नारी नै हुँदी रहिछिन्, आमा! (आमा)
उनका यस सङ्ग्रहका कवितामा मायाप्रेमका कविता पनि छन्। उनको हराएको निद्रा, मुग्लानी जस्ता कवितामा मायाप्रेम देखिन्छ। उनले उनी कवितामा जीवन सङ्गिनीलाई आफ्नो परिवारको संरक्षक मानेका छन्। जीवन सङ्गिनीको रूप र व्यवहारलाई उनले मुक्तकण्ठका साथ प्रशंसा गरेका छन्:
शिरमा सिन्दूर
ललाटमा रातो टीका लगाउँदा
गृहलक्ष्मी जस्ती देखिने
समस्यामा सुझाव दिँदा
सरस्वती जस्तै लाग्ने
मेरी उनी। (उनी)
पुष्कर खड्काले आफ्ना कवितामा विकृतिविसङ्गति मात्र पनि देखाएका छन्। कलियुगको नाति, जाति प्रथा हटाऊँ, निषेध हटाऊँ जस्ता उनका कवितामा व्यक्ति, समाज र राष्ट्रमा भएका विसङ्गति हटाउनुपर्ने कुरा आएका छन्:
मान्छेको जाति मान्छे बनाउन
भावी सन्तानलाई मानव चिनाउन
मान्छे मान्छेको विभेद हटाउन
प्रयास गरौँ विद्वान् महोदय! (जाति प्रथा हटाऊँ)
पुष्कर खड्काले विज्ञान, प्रविधि, सञ्चारले देश विकास भए पनि सहरभन्दा गाउँ राम्रो भएको कुरा गरेका छन्। तिम्रो शहर कवितामा सहरसाग गाउँको तुलना गर्दै उनले लेखेका छन्:
तिम्रो शहरमा
युवायुवतीले बिहानै खाएको देख्छु
आफ्नो हात धारिलो हतियारले रेट्ने
हिंस्रक मान्छे देख्छु।
गाउँमा पानी पिउन दिँदा पुण्य हुन्छ भन्थे
दही र मोही बेच्न पाप ठान्थे
तिम्रो सहरमा व्यापार देख्छु। (तिम्रो सहर)
पुष्कर खड्का पर्यावरण चेतनामा पनि सचेत छन्। त्यसैले उनी मानिस भएर पनि पिपलको वृक्ष भनी अक्सिजन दिने व्यक्ति बन्न चाहन्छन्:
भरियाले छहारीमा
भारी बिसाएर सुस्ताउन पाउँछन्
बटुवाले शीतलमा
लामो सास फेर्न पाउँछन्
गाउँलेहरूले
कुराकानी गर्ने ठाउँ पाउँछन्। (पिपल)
पुष्कर खडका आफूलाई कवि वा साहित्यकारभन्दा पनि साहित्यानुरागी भन्छन्। उनी साहित्यकारले गर्नुपर्ने काम सुधाउँछन्। उनी साहित्यकारलाई समाज, देशको शक्ति मान्छन् :
तिमी साहित्यमार्फत
आफ्नो पीडा
समाज र देशको पीडा
मानव र प्राणीको पीडा सुनाऊ
म तिम्रो साहित्य पढेर
गर्न हुने र गर्न नहुने काम
छुट्याउँछु। (प्रिय कवि)
तपाईको रचना
नदी जस्तै स्वच्छ बनेर
अमृत दिने बनोस्
परिआए बम र बारूद जस्तै
पड्कने पनि बनोस्
पीडितको उपकारका लागि
व्रिद्रोह ओकलोस्। (सिर्जनाकार)
पुष्कर खड्काको हराएको निद्रा कवितामा विभिन्न स्वादका कविता छन्। यी कविताहरू जीवन भोगाइका क्रममा अनुभव हुने दिक्क, विरक्त, पीडा, समस्या, विकृति, विसङ्गतिका व्रmममा निस्किएका उच्छवास हुन्। त्यसैले यी कविताका पठन र श्रवणमा मन आकर्षित हुन्छ। यी कविताहरू समान संरचनाका छैनन्। यी कविताका विषय र भाव पुनरावृत्ति भएका पनि छन्।
कवितालाई छोटो, सुन्दर, आकर्षक, सङ्क्षिप्त बनाउने धेरै स्थान छन्। खड्काका कतिपय कवितामा एकोहोरो आलाप देखिन्छ, कविताको मूलभाव छाडेर सहायक भावतिर आफ्नै तालमा कविता अगाडि बढिरहेको देखिन्छ। त्यसलाई आगामी लेखनमा विचार पुर्याउन आवश्यक छ। यसका लागि उनले शब्द छनोट, शब्द संयोजन, भाव परिकल्पना निर्माण गरी परिष्कार गर्न अझ आवश्यक छ।
विषयलाई कुरा गराइ र नाराको रूपमा प्रस्तुत नगरी वक्र शैलीमा प्रस्तुत गर्नुपर्ने देखिन्छ। उनका कविताहरू कथात्मक शैलीका छन्। घटनाका क्रम छन्। यस किसिमका धेरै कविता र सङ्ग्रह प्रकाशित छन्। यो पनि एउटा प्रवृत्ति हो। तथापि आगामी लेखनमा विषयभन्दा भाव सम्प्रेषणमा उनले जोड दिन आवश्यक छ।
पुष्कर खड्काको हराएको निद्रा पढ्दा पाठकको मनमा बेचयन उत्पन्न हुन्छ। देशको राजनीति, सामाजिक संरचना र बुनोट, शिशु, युवालगायत वृद्धसम्मको समस्या बोध हुन्छ। भूगोलमा मात्र नभई धर्म, संस्कृति, चालचलन, रीतिरिवाज र पूरै जीवन पद्धतिमा विदेशी हस्तक्षेप बढेको महसुस हुन्छ।
मानिसले अपनाएको कर्मलाई देशप्रेमसँग जोड्नुपर्ने कुराको बोध हुन्छ। मूलतः जनता सचेत भई आफै आफ्नो, समाजको र राष्ट्रका लागि लाग्नुपर्ने कुरा बोध हुन्छ। यसै कारण पुष्कर खड्काको यस सङ्ग्रहमा रहेका कविता पठनले सुन्दरता खोज्नेभन्दा यथार्थ पीडा भोग्नेको मन स्पर्श गर्ने देखिन्छ।
कहिले सरकारी जागिर, कहिले राजनीति त कहिले राजनीतिक नेतृत्व लिई वडाको विकासमा लागिपरेका पुष्कर खड्काले आफ्ना कविताका माध्यमबाट पनि मन, व्यवहार परिवर्तन गर्नुपर्ने सोच राखेका छन्। यसका लागि एउटाएउटा कविता लेखी तिनलाई सङ्कलन गरेर पुस्तक प्रकाशन गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।
अन्तमा हराएको निद्रा कवितासङ्ग्रहका साथै र पुष्कर खड्कामा सुरूआत भएको साहित्यिक जीवन अझ सुधार हुँदै जाओस्। यसका लागि निरन्तर पठन, साधना र अभ्यास गर्ने चाहना विकास होस् भन्दै पुनः कृति र कृतिकारलाई सफलताको कामना गर्दछु।
प्रकाशित: ४ भाद्र २०८१ १३:३६ मंगलबार