७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

विदेशी जेलमा बन्दी सपनाहरू

बिदेशिनेकाे व्यथा

वैदेशिक रोजगारीमा विभिन्न देश पुगेका कामदार त्यहाँको नीतिनियमबारे जानकार नहुँदा सजायको भागीदार हुनुपर्छ। अझ मुस्लिम मुलुकमा बर्जित मदिरा र लागुऔषदसम्बन्धी विषय परे कानुनको फन्दामा पर्नु निश्चित हुन्छ।

मुस्लिम मुलुकमा मदिराजन्य पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, सेवन तथा लागुपदार्थको सेवन वा कारोबार पूर्ण गैरकानुनी कार्य हो। कतिपय कामदारले देशअनुसारको कानुन नबुझ्दा जेल सजाय भोग्नुपरेको छ। कतिपय कामदार भने परिबन्दमा परेर पनि बिनागल्ती जेल परेका छन्।

युएईमा दुईवर्षदेखि सेक्युरिटी गार्ड रहेका झापाका २४ वर्षीय एक युवक आफ्नो गल्ती थाहा नभई जेल परेर करिब २० दिन अघि स्वदेश फर्काइएका छन्। ड्युटी गरिरहेका बेला प्रहरीले कारण नबताई आफूलाई आबुदाबीको चौकीमा पुर्‍याएको ती युवा बताउँछन्।

आबुदाबीको नेसनल सिटीमा रहेको मेन सेन्ट्रल बस स्टेसनमा कार्यरत रहेको बेला भएको घटना उनी अहिले बताउँछन्। ‘मैले ड्युटी गर्नेभन्दा केही पर एक पार्कजस्तो ठाउँमा दुईतीन जनाले एउटा अधबैंसे मान्छेलाई छुरा हानिरहेको देखिरहेको थिएँ,’ उनी भन्छन्, ‘छुरा हानिएका ती मानिसको हेर्दाहेर्दै मृत्यु भयो। मैले प्रहरीलाई खबर गर्नुभन्दा पहिले नै अरू कसैले जानकारी गराइसकेको रहेछ।’

त्यहाँ गार्डका रूपमा उनी एकजना मात्रै थिए। एकैछिनमा प्रहरी आयो र उनलाई पनि चौकीमा लग्यो। त्यहाँ लगेपछि के के देखिस् भनेर सोधे। उनले त्यहाँ जे देखे त्यही बताए। तर, उनीहरूले पत्याएनन्। त्यसपछि चार दिन जेलमै राखे।

सोधपुछ गर्न पनि जेल राख्नुपर्ने युएईको नीति रहेछ भन्ने उनलाई लाग्यो। बरु आफ्नो जिम्मेवारी पूरा गर्न नपाएकोमा उनी चिन्तित थिए। हिरासतबाट बाहिर निस्कने दिन त्यहाँका प्रहरीले उनलाई भनेका थिए, ‘नाउँ यु क्यान गो योर वर्कप्लेस (अब तिमी काम गर्ने ठाउँमा जान सक्छौ)।’

अनाहकमा उनलाई चार दिन हिरासतमा राखियो। हिरासतबाट निस्केपछि उनी यथावत् काममा लागे। आफूले कुनै गल्ती नगरी चार दिन थुनामा बस्नुपर्दा उनलाई निकै गाह्रो भयो। थुनाबाट फर्केपछि उनी काममा लागे।

युएईमा मासिक करिब लाख रूपैयाँ कमाउने उनका दिन यथावत् रहेनन्। कामकै सिलसिलामा उनलाई आबुदाबीस्थित जुडिसियल कोर्टबाट एउटा लिंक मोबाइलमा आएको थियो। कामको व्यस्ततामा उनले त्यसलाई खोल्नु आवश्यक ठानेनन्।

त्यही सन्देश उनलाई कोर्टबाट चारपटक आयो। ‘मोबाइलमा लिंक खोल्न सन्देश आएको थियो,’ उनी भन्छन्, ‘मैले त्यस्तो धेरै चासो गरिनँ। एकदिन प्रहरी चौकीबाट तत्कालै आउन फोन आयो। चौकी नआए हामी त्यहीं लिन आउँछौं भने।’

प्रहरीको आदेशानुसार उनी यसअघि चार दिन बसेको चौकी पुगे। त्यहाँ उनलाई तीनचार घण्टा बाहिरै राखियो। एक्कासी चौकी बोलाएपछि पक्कै केही त होला भन्ने उनको मनमा चिसो पसेर साथीलाई फोनमा खबर गरे। यसो गर्दा केही भइहाल्यो भने पनि परिवारमा खबर पुग्छ भन्ने उनलाई लाग्यो।

तत्कालै उनको मोबाइल खोसेर १३ दिन थुनामा पठाइयो। ‘एरेस्ट हिम फर थर्टिन डेज (उसलाई १३ दिनका लागि पक्राउ गर) भनेर मेरो नामको कागजात बन्यो,’ उनले भने, ‘त्यो दिन मेरा लागि अन्धकारमय भएको थियो। मेरो के दोष थियो र? मलाई किन गिरफ्तार गरेको भनेर अंग्रेजीमा सोधें। उनीहरूले कुनै जवाफ दिएनन्। जवाफबिनै मलाई हिरासतमा राखियो।’

त्यो बेला उनी आत्तिसकेका थिए। ‘केटा मान्छे रून हुन्न भन्थे तर, म रोएँ,’ उनी भन्छन्।  

आमाको सम्झनाले उनलाई खुबै सताएको थियो। उनी आमालाई सम्झीसम्झी रुन्थे। आमा र देशको मूल्य के रहेछ भनेर कारागारमा पुगेपछि उनले बुझे। ‘कुनै अपराध गरेर कारागार पुग्दा मनलाई सम्हाल्ने ठाउँ हुन्छ,’ उनले भने, ‘तर, बिनाकारण जेल पर्नु भनेको आफैंले आफ्नो घाँटी रेटेर मर्नुबाहेक केही नहुने रहेछ।’

एक दिन दुई दिन हुँदै त्यहाँ १३ दिन बिताउँदासम्म आफूले गरेको कसुरबारे उनी अन्जान थिए। १३ दिन चौकीमा बिताएपछि उनको मनमा बाहिर निस्कन पाउँछु कि भन्ने आशा पलाएको थियो। तर, उनको मनमा जाग्दै गरेको आशालाई फेरि मारियो। उनलाई थुनामा राख्न पुनः म्याद थप भयो। त्यसपछि उनलाई केन्द्रीय कारागार चलान गरियो।

‘प्रश्नमाथि प्रश्न थुपार्दा थुपार्दै मलाई केन्द्रीय कारागार पुर्‍याइयो,’ उनले भने, ‘केन्द्रीय कारागार पुगेपछि मेरो परिचय खुल्ने कार्ड बन्यो। त्यो कार्ड वालमा राखेको बक्सभित्र छिराएर जेलभित्र जानुपथ्र्यो। त्यहाँ आफ्नो नामसहितको सबै विवरण आउथ्यो। तब आफू किन जेल परेको भनेर थाहा पाएँ।’

उनले मोबाइलमा चारचोटि आएको लिंक खोलेर नहेर्दा अदालतको अपहेलना गरेसँगै केही समयअघि हत्या मुद्दाको अभिलेख सल्टाउन अदालतले सन्देश पठाएर बोलाउँदा बेवास्ता गरेको कसुरमा आफूले जेल सजाय पाएको उनलाई बल्ल थाहा भयो।

‘कार्ड भित्तामा रहेको बक्समा छिराउँदा त्यहाँ अरबिक भाषामै मेरो कसुर लेखिएको थियो। तर, त्यहाँको भाषा बुझे पनि पढ्न आउँदैनथ्यो। जेलमा त्यहाँका स्थानीय पनि थिए। उनीहरूलाई पढ्न लगाई आफ्नो कसुर औंल्याएँ,’ उनले भने। आफ्नो कसुर थाहा भए पनि कति समयका लागि थुनामा परेको भन्नेमा अन्योलमा थिए।

एकदिन प्रहरीले प्रश्न गरेको उनी सम्झन्छन्, ‘तँ युएई बस्छन् कि तेरो घर फर्कन्छस् ?’ उनले खुसी हुँदै म युएई बस्दिनँ नेपाल नै जान्छु भने। सेन्ट्रल जेलमा दुई महिनाको सजायपछि त्यहाँका प्रहरीले नै हवाई टिकट काटेर नेपाल फर्काइदिएको उनले बताए।

उनले युएईमा काम गरेको महिना दिनको तलब पनि पाएनन्। गर्दै नगरेको अपराधका निम्ति थुनामा पनि परे। परिवारलाई केही खबर गर्न पनि पाएनन्। काठमाडौंमा अवतरण गरेपछि बल्ल परिवारसँग सम्पर्क भई घर गए।

‘मलाई देखेर आमा धेरै रुनुभयो,’ उनले भने, ‘मेरो आम्दानीभन्दा बढी म घर फर्केकोमा आमा खुसी हुनुहुन्थ्यो।’

उनी घर फर्केको तीन हप्ता भयो। उनी युएईमा सम्पर्कविहीन हुँदा आमा निकै विरक्तिएकी थिइन्। आमाको खुसीका लागि आफूले धेरै गर्नुपर्ने कर्तव्य रहेको उनले बताए। ऋण काढेर विदेश पुगेका कामदारहरूले जेल पर्दा दुःख त पाएकै छन्, यता परिवारले समेत थप सास्ती खेपिरहेका छन्।

उनका अनुसार गैरकानुनी कामदारलाई सेन्ट्रल जेल पु¥याएपछि दूतावासले सक्रियता देखायो भने छिटोभन्दा छिटो मुक्त गर्न सकिन्छ। तर, जनशक्तिको अभाव झेलिरहेको र सुस्त शैलीमा चलिरहेको नेपाली दूतावासबाट त्यस्तो पहल हुन सक्दैन। जसको मारमा अनाहकमा दुःख पाइरहेका कामदार पर्छन्। केन्द्रीय कारागार पुगेका पाकिस्तानी नागरिकलाई त्यहाँको सरकारले तुरुन्तै छुटाएर आफ्नो देश लैजान्छ। नेपाली भने वर्षौंवर्ष राज्यको बेवास्ताको सिकार हुनुपर्छ।

आफूसँगै युएईको केन्द्रीय कारागार बिनाकसुर तीन महिनादेखि जेलजीवन बिताइरहेको उनले बताए। उपत्यकाभित्रैका एक युवक वैदेशिक रोजगारीमा युएई गएको पाँचछ वर्ष भएको थियो। उनका साथी पनि युएईमा कमाउने भनेर तीन महिना अघिमात्रै छुट्टै राज्यबाट काम गर्न आएका थिए। तर, उनीहरूको भेट आपसमा नभए पनि सामाजिक सञ्जालमार्फत प्रशस्त भइरहन्थ्यो।

एक दिन उनीहरू एकापसमा भेटिने निर्णय गरे। बिदाको दिन पारेर केही महिना मात्रै युएई छिरेका साथीलाई धेरै वर्षदेखि युएईमा रहेका साथीले आफ्नो कोठामा आमन्त्रण गर्छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत आबुदाबीस्थित एक महल पछाडि भेटिने बाचा राख्छन्।

त्यही बाचा, स्थान र समयलाई ध्यानमा राखेर धेरै वर्षपछि भेटिने आशामा खुसीले गदगद हुँदै साथीलाई लिन भनेर उनी तोकिएको ठाउँ पुग्छन्। ‘हामीले निश्चित गरेको समयमा साथी आइपुगेन। उसको पर्खाइमा महल पछाडि पार्कमा बसिरहेको थिएँ। उनको नजिकै दुईचारजना बंगालीले रक्सी बेचिरहेका थिए। त्यसलाई उनले ध्यान दिएनन्। उनको ध्यान कतिबेला साथी आउने भन्नेमै थियो। कोठा पुगेर साथीसँगै खाना बनाएर खाने आशामा उनी थिए।

‘साथीलाई कुर्दै गर्दा पन्ध्रबीस मिनेट भइसकेको थियो। एकछिनमा प्रहरी आएर रक्सी बेच्ने ग्रुपसँगै मलाई पनि उठाएर लग्यो। कति रुवाबासी गरेँ छाडेन। उनीहरूको भाषासँगै अग्रेजी पनि नआउने भएर होला, उनीहरूले बोलेको केही बुझिनँ।’ केही समय कष्टडीमा राखेर केन्द्रीय कारागारमा २५ वर्षका लागि मुद्दा चलाएको ६ महिना पनि नभएको खबर ती पीडितले स्वदेश फर्केका युवालाई बताएका थिए।

‘साथीलाई लिन जाँदा जेल जानुपर्ने कस्तो कानुन हो? युएईका प्रहरीले सबैलाई खुनी नै देख्छन् कि क्या हो?’ ती युवाले भने, ‘त्यहाँको जेलमा खानबस्न सबै दिए पनि बिनाकारण जेल परेका कतिपय साथीहरू मानसिक सन्तुलन गुमाएर होला, पानी वा भित्तासँग कुरा गर्थे।’

स्वदेश फर्किएका ती युवाका अनुसार अर्का एक नेपाली पनि बिनाकारण केन्द्रीय जेलमा छन्। आबुदाबीस्थित एक महलमा करिब ४२ वर्षका नेपाली कामदार सफाइको काम गर्थे। उनी निकै मेहनती थिए। युएईमा सात वर्षदेखि जेलको सजाय भोग्दै आएका पीडितले हालसालै स्वदेश फर्केका युवालाई भनेअनुसार महलमा पोछा लगाइरहेको बेलामा हेर्दा धनी देखिने एक अरबीले आएर ‘योर ओर्क इज भेरी एक्सिलेन्ट’ भनी १० दिहराम दिए।

सोझो हिसाबले काम गरिरहेका थिए। काम गरेको राम्रो छ भनेर पैसा दिए। उनले राम्रै सोचेर बक्सिस दिएको होला भन्ने लाग्यो। तर, त्यसरी लिनु गलत रहेछ भन्ने के थाहा? त्यो सिआइडी रहेछ। कसैले दिँदैमा पैसा लिनु भनेको माग्नेले मात्रै लिन्छ। काम गर्ने मान्छेले त्यसरी लिएको गलत हो भन्दै उनलाई सिधै जेल हाले। अब केही महिनापछि नेपाल फर्कने आसमा ती थुनुवा कामदार रहेका छन्।

पाकिस्तान, भारत आदि मुलुकका नागरिक सरकारी पहलमा छुटिसक्दा पनि थुप्रै नेपाली विदेशी जेलमा परिरहेका छन्। नेपाली दूतावासले त्यसमा ध्यान दिएर काम गरे उनीहरू नगरेको अपराधबाट मुक्त भई देश फर्कन पाउने थिए।

विभिन्न मुलुकमा कार्यरत नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई दिएको तथ्यांकअनुसार नेपालका प्रमुख रोजगार गन्तव्य मुलुक कतार, साउदी अरब, कुवेत, ओमान, युएई, मलेसिया र बहराइनमा एक हजार ४५ नेपाली कामदार विभिन्न अभियोगमा जेल परेका छन्। तर, यसमा यहाँ उल्लेख गरिएकाबाहेक अन्य देशको तथ्यांक समावेश भएको छैन।

साउदी अरेबियास्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीका अनुसार मुस्लिम देशहरूमा मदिरा सेवन निषेधित छ। तर, कैयन् नेपाली श्रमिक कानुन उल्लंघन गरी सार्वजनिक स्थलमा मदिरा सेवन गर्छन्। ‘साउदीमा मात्रै ८३ प्रतिशत नेपालीले ड्रक्स तथा अल्कोहल प्रयोग तथा बेचबिखन गरेकोमा जेल परेका छन्। अन्य बाँकी विभिन्न कारणमा नेपालीले जेलमा सजाय भोगिरहेका छन्।

रोजगारीमा गएका कतिपय कामदार सम्बन्धित देशको भाषासम्बन्धी ज्ञान नहुँदा जेल पर्ने गरेको बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले बताए। उनका अनुसार आफू जाने देशको विषयमा पूर्ण जानकार नहुँदा र भाषा र सूचनाको ज्ञान नहँुदा त्यहाँ पुगेपछि कतिपय नेपाली समस्यामा पर्ने गरेका छन्।

हत्या, बलात्कार, लागुऔषध कारोबार, झैझगडा, चोरी अभियोग, रोजगारदाता देशको कानुन उल्लंघनलगायत गम्भीर अभियोगमा नेपाली कामदार जेलजीवन बिताइरहेका छन्। तीमध्ये कतिलाई मृत्युदण्डको सजायसमेत सुनाइएको हुन्छ। साथै कतिपय जेलमा परेका कामदारलाई जन्मकैदको सजाय पनि सुनाइएको छ।

रोजगारमा गएको देशको नीतिनियम थाहा नहुँदा, झैझगडामा फस्दा, श्रम अनुमति नलिईकन काम गर्दा वा कार्यस्थल परिवर्तन गर्दा जेल पर्ने नेपालीको संख्या ठुलो छ। स्पोन्सर परिवर्तन गरी गैरकानुनी बसोबास र झैझगडा नेपाली श्रमिक जेल पर्ने मुख्य कारण रहेको उनले बताए।

वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकको हितका निम्ति वैदेशिक रोजगार प्रवर्धन बोर्डको स्थापना गरिएको हो। तर, बोर्डसँग पनि जेलमा रहेका कामदारको तथ्यांक छैन।

वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी टीकाराम ढकाल विदेशमा नेपाली कामदार कति जेलमा छन् भन्ने तथ्यांक कन्सुलर सेवा विभाग र परराष्ट मन्त्रालयसँग हुनुपर्ने हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राई परराष्ट्र मन्त्रालयसँग निरन्तर समन्वयमा रहने विभिन्न देशका दूतावासहरूले त्यस्तो तथ्यांक नियमित रूपमा पठाउँदैनन्। त्यस्तो तथ्यांक कन्सुलर विभागसँग वा श्रम मन्त्रालयसँग सम्बन्धित भएकाले त्यतै हुनुपर्ने हो।

कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेल भन्छन्, ‘यो तथ्यांक हामीले पनि परराष्ट्रबाट पाउने हो। त्यता मजाले अद्यावधिक गरेर राखेको हुन्छ। एकचोटि त्यहाँ बुझ्नुस् न है?’

विदेशमा नेपाली श्रमिकबारे सरकारी निकायसँग चुस्त तथ्यांक प्रणाली भने छैन। जस्तोः विदेशका जेलमा कति नेपाली श्रमिक छन् र तिनीहरू कहाँ र कस्तो अवस्थामा छन् भन्ने एकीकृत तथ्यांक राख्नु आवश्यक ठानिएको छैन।वास्तवमा सरकारले यसरी विभिन्न जेलमा रहेका कामदारको अद्यावधिक तथ्यांक राखेर तिनको उद्धारका निम्ति काम गर्न ढिला भइसकेको छ। सिधासादा नेपाली देशमा काम नपाएर विदेश जान्छन्, त्यहाँ पनि कानुनी अज्ञानताले अनाहकमै थुनामा पर्छन् र सपनालाई छियाछिया पार्छन्। 

प्रकाशित: २६ श्रावण २०८१ ११:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App