१) मुक्तक
धर्ती ओछ्याएका छन् आकाश ओढेका छन्
नजानेरै प्रकृतिसँग गहिरो सम्बन्ध जोडेका छन्
साँच्चि गरीब को हो हँ! तिमी हौ कि उनीहरू!
जसले केही नलिएर सबै अरूलाई छोडेका छन्।
२) मुक्तक
कसैले पनि अन्याय गर्याे नभनु न
चोट पर्दा ठिक्क पर्याे नभनु न।
हार, जीत, दम्भ सबै छाडी जानै पर्छ
मर्दा राम्रो भो बल्ल मरो नभनु न।
३) मुक्तक
आज रोपेर आजै पाकेको फल खोज्छौं
मरुभूमिमा निर्मल स्वच्छ जल खोज्छौं
काम होइन चमत्कारमा विश्वास गर्छौं
धर्तीको लडाएर हावाको महल खोज्छौं।
४) मुक्तक
जति माथि पुगे पनि धरा नभुल्नु
पाकें भनेर बालीहरूले गरा नभुल्नु
हिजोले नै जन्माएको त हो आजलाई
रूख जति अग्लिए नि जरा नभुल्नु।
५ ) मुक्तक
यो हावा, यो पानी, यो घाम मेरै भन्छन्
यो दुनियाँ, यो सृष्टि तमाम मेरै भन्छन्
सुनिदिनु मात्र पर्छ होइन भन्नु हुँदै हुन्न
शिव, ब्रम्हा, राम, विष्णु नाम मेरै भन्छन्।
७) मुक्तक
भित्र कुरा लुकाएर बाहिर अर्कै बोल्छ मान्छे
आफ्ना हर्कत छिपाएर अरूका पोल खोल्छ मान्छे
बाहिर हेर्दा नरम, भद्र, शिक्षित, सभ्य देखाउँछ
थाहै नदिई अमृतमा विषको थोपा घोल्छ मान्छे।
८) मुक्तक
सधैं उस्तै हौं हामी बदलिन जान्दैनौं
आफूभन्दा अरू जान्ने सभ्य ठान्दैनौं
के दियौ ईश्वर आशीर्वाद कि सराप!
दुनियाँले जेसुकै भनोस् मान्दै मान्दैनौं।
९) मुक्तक
खासमा नाङ्गो त्यही छ महँगाे खोल छ जसको
सार्थक प्रयोग कुनै छैन् अत्यधिक मोल छ जसको
जीवन जिउने कलाको प्रवचन दिंदै हिंडछ उही
आफ्नै जीवन तहस नहस भद्रगोल छ जसको।
१०) मुक्तक
कहिले नराम्रा र कहिले राम्रा दिन आउँछन् पर्खनुपर्छ
रुनेका हाँस्ने रुवाउनेका रुने छिन आउँछन् पर्खनुपर्छ
अरूलाई डस्ने र मार्ने भयंकर विषालु गोमनलाई पनि
धुनमा लठ्ठ बनाउँदै नचाउने बीन आउँछन् पर्खनुपर्छ।
प्रकाशित: २४ श्रावण २०८१ १०:२० बिहीबार