२४ पुस २०८१ बुधबार
image/svg+xml
कला

दुधले नुहाएका हामी !

माथि बस्ने हामी माउडे अगुवाले दुधजति खातखुत्त भ्याएर बलियाबाङ्गा बनिसकेका छौं। दुधै पिउँछौं, दुधैले नुहाउँछौं, दुधै बगाएर देशका खोलानाला सफा गर्ने अभियान चलाउँछौं। सहर-बजारमा पानी नपुग्दा पनि दुधै बाँड्ने परिपञ्च मिलाएका छौं। त्यसैले दुध उत्पादक किसानको बक्यौता नतिरे पनि हामी लुच्चा ठग भनिँदैनौं, उल्टो दुधजस्तै धवल ज्योतिपुञ्ज लिएर टल्किएका छौं।

परिवर्तनका बाहक निष्कलङ्क आगोका फिलिङ्गा हामीजस्ता भर्भराउँदा नायक सत्तामा आएपछि दायाँबायाँबाट पनि साथ सपोर्ट टेवा भरथेग त चाहियो नै। चाउरिएको मरिचजस्तो अनुहार लिएर जाँदा जता पनि हामीलाई जनताले ठुस्सिएको अनुहारले हेर्न बेर छैन। त्यसैले सहकारीपीडित, उखुकिसान, मिटरब्याजपीडित, दुग्ध किसान आदिले पनि लिनदिनका मामिला भुसुक्कै बिर्सिएर काम गर्न दिनु नै बेश।

आखिर एक दिन संसार छोडेरै जानुपर्ने ध्रुव सत्यलाई मनन गरेर खाइमासेका पुराना कुरा बिर्सिदिँदा कति राम्रो हुन्थ्यो, हैन र ? हल्ला घेराउ पेपरबाजी आदि विरोध प्रदर्शनका कर्म छोडेर गच्छे औकातअनुसारका सत्कार टकारेर हामी नवनायकलाई विवादरहित भनाइदिनु जनताको कर्तव्य हैन कसरी भन्नु ?

एक छिनलाई लुज टक नै गरौं– उधारो दुध दिएपछि बिरालोले फिर्ता गर्न असम्भव हुन्छ भन्ने कुरा दुध किसान दाजुभाइले पनि त बेलैमा बुझ्नु पर्ने हो नि ! किन त भन्दा बिराला दाइहरू गाई, भैंसी, चौंरी पालेर दुधघिउ खेती गर्नभन्दा ङार्रङुर्र प्रविधिको भाषण वर्षामा बर्सिने गर्नमा हौसिनुहुन्छ।

सिकुवा धुरी छिचोलेर अर्काको चुलामा साँझबिहान बुदु्रक्क हाम फालेर लामो थुतुनो तेस्र्याउँदै कुँडेभरिको दुध उतिबेरै स्वर्‍याप्पै भ्याइदिने असाधारण दक्षता देखाउनुहुन्छ। जतिसुकै इमानदार कुकुर भए पनि मासु पैंचो दिएपछि उसले फिर्ता गर्दैन भन्ने कुरा घाम–जूनजत्तिकै सत्य साबित भइआएको छ।  

सरकार दिन होइन लिन जन्मिएको हुन्छ भन्ने उहिलेका अर्थशास्त्रीहरूले कहेका कुरा अहिलेका दुध किसानले मात्रै कसरी बिर्सनुभयो ? या मौकैमा राम्ररी मनन गर्नु नै भएन कि। धामी नाचको अभिनय गर्ने गेमचेन्जरहरूको रेज्जर दस्ता मर्कटमुखियाको शैलीमा झोला थैली लुछ्न अघि बढेको त थाहा पाउनुपर्ने हो।

कताको दुध, कताको मिटरब्याज, कताको सहकारी ठगी। कसलाई फुर्सद यस्तो पासोमा पिङ खेल्न ? उतिबेरै एक हातले दिने अर्को हातले लिने गरेको भए अहिले खल्तीमा रिक्तता र सम्बन्धमा तिक्तता आउने चान्स नै थिएन।

शुद्ध बुद्ध शान्त सच्चरित्र रहनु नै नवनायकको मौलिक चरित्र रही आएको तपाईंहरूले जानी आएकै हो। ठगी, दुराचार, छुल्याइँ, किर्तेजस्ता अकीर्तिका कर्मबाट चार कोष टाढा रहने सुकीर्तिका मनुवा परद्रव्य छुनबाट टाढा भएको कुरा देशमा मच्चिएका काण्डैकाण्डले छर्लङ्ग पारेकै हुन्।

हो त उहाँहरू भनिदिनुहुन्छ– हामी छौं र त तपाईं हुनुहुन्छ। तपाईं भएर त हामी आएको। अझ यसलाई यसरी भनौं भासमा भास्सिएको देशलाई उकास्न हामी उदाएको। हामी आकाशबाट टक्रक्क धर्तीमा बर्सौंला भने पनि हुन्छ या यो धर्तीको तालुमा लटरम्म फलेका लेकाली आलु भने पनि हुन्छ, या पँधेर्नीले लाटो केटालाई जिस्काउँदै पकाएका फुरौला भने पनि हुन्छ।

वर्षात्अगावै पाकेर झरेका असारे आलुबखडा भनौं अथवा जादुमण्डलीको अखडा ! नवनिर्माणको कहानी पुरानो भएकाले हामी नयाँ भाँडचालिसा गाउँदै फेरीवाल बनेर उदाएका ठानौं। आफ्नै देश र समाजलाई केही होइन, सबथोक गर्न आएका हामीले ट्याटुले अनुहार रङ्गाएका छौं र नै कुराका धामीनाचले आकाशपाताल रिँगाएका छौं।

ढाडे बिरालाकै शैलीमा विकासको बाजा बजाउन सिकाउँछौं हामी। स्याँट्ट कुँडे रित्याएपछि जिब्रो फट्कारेर ओठ चाट्तै अर्को चुलातिर बुर्लुक्क उक्लन जान्छौं। आफ्ना छाउरा भुराहरूलाई पनि त्यही कर्म गर्न सिकाइरहेछौं। उनीहरूलाई पनि तातेताते गर्दानगर्दै भित्तो कोपर्न, थाम निदाल गजबार टोक्न अनि धुरी सिकुवा चिथोर्न सिकाइरहेछौं। हामी अविश्रान्त कर्मठ योद्धामा दरिइसक्यौं र नै सर्वाङ्ग चलायमान अवस्थामा पुगिसकेका छौं।

गरिबगुरुवा अनाथका नाथ हामी। दिनरात हाडछाला घोटेर पनि अन्नपानीले छाक टार्न असमर्थ मनुवाका दीननाथ हामी। भोकानाङ्गा सडकमा बिल्लीबाठ बनेका अदना प्राणीको हिफाजत गर्ने उद्धारक हामी। बिनासिजनका च्याउभन्दा पनि मूल्यवान भिजनका हाउगुजी हामी।

सहरका चौबाटामा जुत्ता टालेर बसेका अकिञ्चन बालकको कमाइ हात नलागेसम्म ढुकेर बस्छौं। हाम्रा लागि त्यो नानीको कमाइ रसभरि चमचम बनेर लोभ्याइरहन्छ। सडकपेटीमा बसेर हरिया मकै पोल्दै जीवन गुजारा गर्ने नानीको सानो कमाइ हाम्रा लागि ठुलो सौगातको तातो जिलेबी बनिदिन्छ। उनी केही नखाई भोकै सुतेर कमाइको सबै अंश सहकारीमा राख्छिन् होला।

हामी उनैजस्तो सोझो सिधा अवश्य छैनौं किन त भन्दा सोझो सिधा तालले देश उकास्ने माल नआउने जानेर साक्षीको कुनै दसी प्रमाण नभेटिने गरी जादुको जुक्तिले हात लगाइलिन्छौं। आकाश पाताल बाँध्ने हाम्रो जादुमा गलगाँड लाग्ने तालुका आलु बनेका खाइखजाना कतिकति। आकाशबाट बर्सिने बर्सौला हौं हामी। बाँदरबाट बादशाह बन्न पुगेकाले नाङ्गेझार बनेर आफैंलाई जिस्क्याउने शिक्षा पनि पाएका छौं।

वृद्धभत्ता पाउने उमेरले उकालीको सिरानमा टेकेका बुढाबुढीलाई हामी धेरै सम्मान गछौं र नै चालीस डिग्रीको चर्को घाममा खुला प्राङ्गणमा लाइन लगाएर उनीहरूको देहयष्टिमाथि भावरका लौराले मुसार्न मजा मान्छौं। कसैले यसलाई हाम्रो परपीडक प्रवृत्ति भन्छ भने त्यस्तालाई गोर्खेलौरी लगाइदिन्छौं।

किन त भन्दा सुन जति खारिए पनि उसको गुणवत्ता झन्झन् बढ्दै जान्छ भन्ने हामीले बुझेका छौं। त्यसैले वृद्धभत्ता लिने वयोवृद्ध नरनारीलाई राष्ट्रिय परिचयपत्र अनिवार्य गरिदिएर उनीहरूलाई घामपानीमा टट्याउँदै हप्तौं लाइन लगाउने नयाँ सत्कर्मको आविष्कार गरेको छौं।

उहिलेका ऋषिमुनिहरूले हिमाल तराईमा गर्ने कठोर तपस्यामा अहिलेका हाम्रा ज्येष्ठ नागरिक पनि सहभागी बनून् भन्ने भित्री मनसायबाट उब्जिएको आइडिया भन्दा पनि हुन्छ यसलाई। उता ऋषि महर्षि पनि त गर्मीसर्दीसँग पौंठेजोरी खेल्दै ध्यान र तपस्यामा तल्लीन हुन्थे। ऋषि च्यवनदेखि रावणसम्मका बडाबडा तपस्वीले जोधाहा पाराले तपश्चर्या गरेको कुरा हामीले पुस्तकपात्रामा पढीसुनी आएकै हो। त्यही अभ्यास पुनर्जीवित गर्न खोजिएको मात्र।  

बाढी पहिरोपीडित नेपालका विभिन्न जिल्लामा हामी एकपटक निरीक्षणशुद्ध गर्न पुगेनौं। किन त भने बाढी आउनु थियो आइदियो, घरबस्ती बगाउनु थियो बगाइदियो। कैयौं नरनारीको ज्यान लगिदियो। हामीले घटनास्थलतिर पुग्नुभन्दा कुर्सीमै बसीबसी श्रद्धाञ्जली दिएर समवेदना जाहेरीको जुक्ति निकालेका छौं। नत्र हतारहतार घटनास्थल पुग्ने पहिलेका सरकार र हामीमा के फरक त ?

पोहोरदेखि नै शिर ओत्याइने पर्खाइमा आकाशमुनि बसेका सप्तरी सिराहाका अग्निपीडितको पनि टेन्सन छैन हामीलाई। आगो हो लागिदिन्छ त कहिलेकाहीं अनि लागेपछि घरबस्ती डढाउने उसको धर्म या स्वभावै हो पनि। बर्खा लागेपछि उनीहरूको झनै बनीबास हुने कुरा हामीले अन्दाज गरिसकेका छौं।

हाम्रो जासुसी संयन्त्र नै फासफुसे भइदिएकाले यस्ता कुरा अन्दाज गर्न सहज भएको हो। राजा राम पनि वनवास बस्नुभएकै हो भन्ने कुरा सम्झिएर यसतर्फ पनि हामीले चित्त बुझाएका छौं। युद्धकलाका पारखी सम्राट नेपोलियन पनि त जाडो गर्मीसँग लुठाइँ खेल्न खुबै मजा मान्ने अचम्मका प्राणी थिए।

उनको विश्व विजयको अभियान चल्दै गर्दा यस्तै अदबेस्रा र ओर्‍याहा काम धेरै गरे उनले। गर्मी लाग्दा सेनाहरू साथ लिएर भूमध्य सागरपारि अफ्रिकी महाद्वीपतिर अगि बढ्थे। जाडो लाग्दा उत्तरी बाल्टिक सागर आसपासका नर्डिक देशतिर लाग्थे।

जाडो मौसमको हिमदेशमा नौला नयाँ शक्ति र बर्कतका शिलाजित भेट्थे। सहयात्री सैनिकहरूको जीवनमा पनि जाडोविरुद्धको व्यायाम गर्दा नयाँ नौलो परिवर्तन र बहादुरीका आयाम देख्थे उनी। शीत तापसँग समशीतोष्ण सम्बन्ध राखेर विजयका तोप पड्काउँथे, बन्दुक चलाउँथे नेपोलियन।

हाम्रा वयोवृद्ध बाआमाले पनि थोरबहुत त्यो अभ्यास गरून् भन्ने सदासय हाम्रो। त्यसैले चर्को घाममा लाइन लगाएको अनि पाइन चढाएको पनि उमेर घटाउनै हो। बस अहिले कुरो यत्ति !

प्रकाशित: १९ श्रावण २०८१ ०७:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App