‘गथांमुगः द्यःया मगस वल, सु हकी, छ्वाली हकी’ बिहानदेखि बालबालिकाहरू टोलछिमेकमा घण्टाकर्णका दिन छ्वाली, पराल माग्दै हिँड्छन्।
काठमाडौं उपत्यकामा नेवार समुदायको बसोबास छ। त्यसो त नेवार समुदाय नेपालभरि छरिएर रहेका छन्। नेपालका विशेष स्थानहरूमा नेवार समुदाय आफ्नो कला, संस्कृति, परम्परा, रीतिरिवाजलाई जीवन्त राख्दै आएको देखिन्छ।
विशेष गरेर उपत्यका र नेवार समुदाय बसोबास गर्ने हाम्रो देश नेपालका स्थानहरूमा अन्य चाडपर्व मनाएजस्तै घण्टाकर्ण पर्वलाई पनि उल्लासपूर्वक मनाउँदै आएको पाइन्छ। नेपालभाषामा घण्टाकर्ण पर्वलाई गथांमुगः चःर्हे भनिन्छ। यो पर्व श्रावण महिनाको कृष्णपक्षको चतुर्दशी तिथिका दिन मनाइने गरिन्छ।
स्थानीय नेपालभाषामा यसलाई गथांमुगःद्यः भन्ने गरिन्छ। यो सिनाज्या अर्थात् रोपाइँ सकिएपछिको नेवार समुदायको पहिलो चाड हो। साउन कृष्ण चतुर्दशीका दिन दोबाटो, चौबाटोमा घण्टाकर्ण ठड्याइने प्रचलन रहेको छ। यसको निर्माण विशेष गरेर छ्वाली, नर्कट, पुरानो नाङ्लो आदिबाट गरिन्छ। छ्वाली र नर्कटबाट शरीरका विभिन्न अङ्गहरू जस्तो हात, खुट्टा, जिउ बनाइन्छ भने नाङ्लोबाट घण्टाकर्णको मुहार बनाइन्छ। पुरानो नाङ्लोमा स्थानीय चित्रकारहरूले मुखाकृति कोर्ने गर्छन्। घण्टाकर्णको शरीर ठुलो आकारको हुन्छ। गथांमुगःको ठुल्ठुला दुई हात र तीनवटा खुट्टाहरू हुन्छन्। नर्कटका टुप्पा, स्याउला हालेर कपाल बनाइन्छ। यस्ता स्याउला वा झारपातको प्रयोगले कपाल बाक्लो, ड्याम्म परेको देखिन्छ।
कुनै ठाउँमा भने माटाको घ्याम्पोको टाउको बनाउने गरिन्छ। घण्टाकर्णको शरीर प्रायः ठाउँहरूमा नरको रूपमा बनाइन्छ। शरीरका गुप्ताङ्गका लागि भोगटे, मकैको घोगा, घिरौंला आदिको प्रयोग गरिन्छ। गथांमुगःलाई तीनवटा खुट्टामा अड्याइएको हुन्छ। यो त्रिखुट्टीको अर्थ सत्त्व, तम र रज तत्त्वको प्रतीकका रूपमा पनि व्याख्या गर्ने चलन छ। यसका साथै कपडाबाट बनाइएका पुतलीहरूको माला लगाइदिने प्रचलन पनि कतैकतै रहेको छ।
यस पर्वमा टोलका बालबालिकाहरूले नजिकबाट नर्कट काटेर ल्याउँछन्। त्यही नर्कट सबैले एक एकवटा समातेर घरघरमा गई पराल र छ्वाली माग्न जाने गर्छन्। यसरी माग्दा उनीहरू ‘गथांमुगः द्यःया मगस वल सु हकी, छ्वाली हकी’ भन्दै लयबद्ध भाषा प्रयोग गर्छन्। बिहानैदेखि टोलका केटाकेटीहरू घण्टाकर्णको जगात पाऊँ भन्दै यो दिन डोरीले बाटो छेक्ने चलन पनि छ। बालबालिकाहरूका लागि यो चलन उत्साहवर्धक हुन्छ।
यसरी मागेर ल्याएको छ्वाली, पराल अनि नर्कटबाट ठुलो आकारको गथांमुगः बनाइन्छ। यो बनाउने काम टोलका बनाउन जान्ने बुढापाकाहरूले गर्छन्। कतैकतै भने नर्कटको प्रयोग नगरी काठ प्रयोग गरेर घण्टाकर्णको प्रतिमूर्ति बनाउने प्रचलन पनि रहेको छ। यस्ता घण्टाकर्णको प्रतिमूर्ति प्रत्येक टोलमा बनाएर उभ्याइराखेका हुन्छन्।
घण्टाकर्णको प्रतिमूर्ति अगाडि काठ, नर्कट, छ्वाली, पराल आदि राखेर आगो बाली धुनी जगाउन तयारी अवस्थामा राख्छन्। यस दिन बिहानैदेखि घर लिपपोत गरी चोखो बनाउने कार्य हुन्छ। साँझपख घरघरबाट छ्वालीमा पटके झार, सिस्नो राखेर उक्त छ्वाली बालेर घर शुद्धि गर्ने प्रचलन पनि रहेको छ। साँझ भएपछि बाजागाजासहित आगो लगाई घण्टाकर्णको प्रतिमूर्तिलाई नगर बाहिर लगी विसर्जन गर्ने प्रचलन छ।
यसरी विसर्जन गर्ने बेलामा आगो लगाएपछि बलेको छ्वालीले गथांमुगःलाई झोस्ने वा हिर्काउने प्रचलन छ। घण्टाकर्णको प्रतिमूर्तिलाई नगरबाहिर लैजाँदा घिसारेर लैजाने चलन छ। घण्टाकर्णको प्रतिमूर्ति विसर्जन गरेपछि विसर्जनमा सामेल भएकाहरूले मुख धोएर चोख्याउने प्रचलन रहेको छ। घण्टाकर्ण सेलाएपछि घरको मूल ढोकाको माथिल्लो भागमा भूत, प्रेत घरभित्र प्रवेश गर्न नसकोस् भनेर तीनखुट्टे किला ठोक्ने परम्परा छ।
घण्टाकर्ण पर्वका दिन मानिसहरू आआफ्नो घर सफासुग्घर गरेर चोखो बनाउने गर्छन्। यसरी घर चोखो गरेपछि भूत, प्रेतबाट बच्न आफ्नो घरको ढोकामा किला ठोक्ने प्रचलन रहेको छ। यस दिन बालबालिकाहरूलाई बलेको आगोको धुवाँमा छुवाउने चलन पनि छ। यसरी छुवाउँदा बच्चाहरूलाई रुन्चे नलाग्ने, रोगव्याधीले नछुने जनविश्वास रहेको छ। यस दिन फलाम तथा पञ्चरङ्गी धातुबाट निर्मित औंठी लगाउने चलन पनि रहेको छ।
यस्ता औंठी लगाउँदा भूतप्रेतले नछुने, रोग नलाग्ने विश्वास गरिन्छ। त्यस्तै अविवाहित केटीहरूले वर्षभरिमा उनीहरू साथीहरूसँग खेल्दा पुतली बनाएर खेल्ने चलन छ। यसरी बनाइएका पुतलीहरू घण्टाकर्णको दिन बिहानैदेखि उभ्याएर राखिएका गथामुगःलाई अर्पण गर्ने परम्परा छ।
आफूले खेल्न बनाइएका महिलाका प्रतीक र पुरुषका प्रतीक कपडाका पुतलीहरूको माला बनाई गथामुगःलाई लगाइदिने चलन रहेको छ। यसै दिन नेवार समुदायका अविवाहित महिलाहरू आफ्ना हातमा लैंचाः लगाउने गर्छन्। लैंचाः एकप्रकारको मेहेन्दी हो। मेहेन्दी लगाउनुको अर्थ समयसँगै आफ्ना चेली जवान भएको बुझ्ने चलन छ।
गथामुगः पर्वलाई भूत पन्छाउने पर्वका रूपमा चित्रण गरिएको छ। लोकोक्तिअनुसार असारमा रोपाइँको काम गर्नका लागि तान्त्रिकहरूले भूत, प्रेत, पिशाचलाई आफ्नो तन्त्रविद्याको प्रयोग गरी बोलाउने गर्थे। साउनको कृष्णपक्षका दिन सबै काम सकिएपछि तन्त्रविद्या प्रयोग गरी बोलाइएका भूत, प्रेत, पिशाचलाई तान्त्रिक विधिबाटै आआफ्नो स्थानमा फर्काउने गरिन्छ।
यस दिनलाई बाजा सिक्ने दिनका रूपमा पनि लिइन्छ। रोपाइँको चटारोका कारण थन्किएर रहेका सांस्कृतिक बाजाहरू आजकै दिनबाट बजाउन प्रारम्भ हुन्छ। रोपाइँको कामबाट मिलेको फुर्सदका कारण बाजा सिक्न बालबालिकाहरू आजकै दिनदेखि नास द्यःको पूजाआजा गरेर बाजा बजाउने तालिम लिन थाल्छन्।
यो गथांमुगः पर्व कसरी चल्यो भन्नेबारे एउटा रोचक किंवदन्ती छ। किंवदन्तीअनुसार धेरै वर्षपहिले एकजना मानिस थियो। उसको नाम गथांमुगः थियो। ऊ नास्तिक थियो। उसलाई भाग्यमा भन्दा कर्ममा बढी विश्वास थियो। उसलाई सबैभन्दा मन नपर्ने भनेको भगवान् अर्थात् ईश्वर थियो। ईश्वरको नामसमेत ऊ सुन्न चाहँदैनथ्यो।
भगवान्को नाम सुन्नुपर्ला भनेर उसले आफ्नो कानको दुवैतिर ठुला ठुला घन्ट झुन्ड्याएको थियो। कसैले ईश्वरको नाम पुकारा गर्यो कि कानमा भएको घन्ट बजाइहाल्थ्यो। आफ्नो कानमा घन्ट झुन्ड्याएर हिँडेको हुनाले उनको नाम घन्टाकर्ण रहन गयो। ऊ वलिष्ठ थियो। ऊ बाटोमा बसेर मान्छेहरूसँग जगात् अर्थात् कर माग्थ्यो। कसैले दिएन भने आफ्नो बल प्रयोग गरेर त्यसलाई मारेर त्यसको मासु खान्थ्यो। उसका कारण पूरै नगर आतङ्कित थियो।
एक दिन गथांमुगः सिकारको खोजीमा जङ्गलको बाटो हुँदै जाँदै थियो। बाटोमा उसको भेट एउटा भ्यागुतोसँग भएछ। लामो समयसम्म पनि कुनै सिकार फेला पार्न नसकेको गथांमुगःले भ्यागुतोसँग नजिकै कतै सिकार पाइन्छ कि भनी सोधेछ। भ्यागुतालाई पनि नरभक्षी राक्षससँग रिस उठेको रहेछ। त्यसैले भ्यागुताले धाप भएतिर मानिसको बस्ती छ। त्यहीं तिम्रो लागि सिकार पाइन्छ भनेर बाटो देखाइदिएछ। तर त्यो ठाउँसम्म जाने क्रममा ऊ धापमा भासिएछ। त्यो धापबाट उम्कन उसले कयौं प्रयास गरे पनि सफल भएनछ।
पछि नगरका मानिसहरूले थाहा पाएपछि उम्कन नसक्ने गरी फसेको गथामुगःलाई ढुङ्गा, इँटा, बलेको छ्वाली बर्साएर मारेछन्। गथांमुगः मरेपछि हिन्दु परम्पराअनुसार दाहसंस्कार भएन भने गथामुगः पे्रत योनीमा जानेछ र प्रेत योनीमा रहेर फेरि पहिलेजस्तै सबैलाई दुःख दिने भयले टोलका सबै मिलेर दाहसंस्कार गर्ने योजना बनाए। टोलबासी सबैसँग चन्दा उठाएर कनिष्ठ जातका मानिसलाई त्यस दुष्टको काजक्रिया गर्न लगाए। त्यसै बेलादेखि यो गथांमुगः पर्व मनाइँदै आएको हो भन्ने भनाइ छ।
घन्टाकर्ण पर्वसँग सम्बन्धित अर्को पनि एउटा चाखलाग्दो आख्यान छ। परापूर्वकालमा गथांमुगः नाम गरेको एकजना अत्याचारी राक्षस थियो। उसले समाजमा उत्पात मच्चाउँथ्यो। मानिसलाई निकै सताउँथ्यो। सिङ्गो नगर नै तहसनहस गर्न उद्यत त्यो राक्षसलाई मार्ने तागत कसैसँग पनि थिएन।
मानिसहरू उसको अत्याचारबाट त्राहिमाम् थिए। राक्षसको अत्याचारबाट मानिसलाई बचाउन एकजना तान्त्रिकले भ्यागुतोको रूप बदलेर श्रावण कृष्ण चतुर्दशीका दिन त्यस दुष्टको संहार गरेर सबैको रक्षा गरे। त्यसै बेलादेखि आफूहरूलाई दुःख दिने राक्षस मरेको र दुष्टबाट उन्मुक्ति पाएको दिनका रूपमा यो पर्व मनाइँदै आएको छ भन्ने जनश्रुति रहेको छ।
भ्यागुतोका कारण मानिसले असुररूपी गथांमुगःबाट मुक्ति पाएको हुनाले नेवार समुदायमा वर्षको एकपल्ट भ्यागुतोलाई पूजा गर्ने प्रचलन रहेको छ। अहिले पनि जनैपूर्णिमाका दिन खेतमा गएर भ्यागुतोको पूजा गरी भ्यागुतो खुवाउने चलन रहेको छ। त्यस दिन भ्यागुतोलाई चामल, गेडागुडी खुवाउने परम्परा छ। तर भ्यागुतो खुवाउने चलन र यो पर्वबीच कुनै सम्बन्ध नरहेको विचार राख्नेहरू पनि छन्।
नेवार समुदायको बसोबास रहेको हरेक टोलमा दिनभर उभ्याएर राखिएको गथांमुगःलाई साँझमा बलेको छ्वाली, भोगटे आदिले हिर्काएर क्रूरतापूर्वक दाहसंस्कार गरेको जस्तो देखिने यो पर्वको परिदृश्य हेर्न लायकको देखिन्छ।
अरूको हित नचिताउने, अरूको विनाश गर्न खोज्ने राक्षसरूपी मानिसको कहिल्यै भलो नहुने मार्मिक सन्देश यो पर्वले बोकेको देखिन्छ। त्यस्ताहरूको अन्त्य घण्टाकर्णको जस्तै भयावह हुने भाव पनि यो पर्वभित्र लुकेको छ।
असत्यमाथि सत्यको जित अवश्य हुन्छ भन्ने अर्को महत्त्वपूर्ण सन्देश यस पर्वले बोकेको देखिन्छ। ‘परोपकार पुण्याय पापाय परपीडनम्’ भन्ने मार्मिक भाव यस पर्वले बोकेको आभास मिल्छ।
प्रकाशित: १९ श्रावण २०८१ ०५:४९ शनिबार