२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

बदलिंदो विश्व परिस्थिति र रुस-नेपाल सम्बन्ध

दौत्य सम्बन्ध स्थापनाको ६८औं वर्षगाँठ सन्दर्भ

इतिहासका विभिन्न आरोह अवरोह र परिवर्तनका अनेकन् कुइनेटा र घुम्तीहरूबाट गुज्रिँदै रुस/सोभियत संघ र नेपालबीचको कूटनीतिक सम्बन्ध आज ६८ औं वर्षको यात्रामा छ।

युगौंदेखि बाँकी संसारबाट अलगथलग र भर्खर १०३ वर्षको राणा शासनबाट मुक्त नेपाललाई पूर्वाधार विकासका लागि शिक्षा, प्रविधि र विशेषज्ञको आवश्यकता थियो। संयोगवश यो मार्गमा तत्कालीन सोभियत संघसँगको दौत्य सम्बन्ध एउटा कोसेढुंगाजस्तै साबित भयो।

१९५६ जुलाई २० को दौत्य सम्बन्ध स्थापनाको दिन त्यो समय थियो जुनबेला अक्टोबर क्रान्ति, त्यसपछिका गृहकलह र विश्वयुद्धहरू झेल्दै समाजवाद निर्माणको चार दशकपछि सोभियत संघ विकासको शिखरमा पुगेको थियो र अन्तरिक्षमा उड्न तयार थियो।

वर्तमान रुसी शासकवर्गले सोभियतकाललाई जुन रूपमा परिभाषित गरे पनि यो रुसको इतिहासमा स्वर्णकाल थियो। विज्ञान र प्रगतिको चुली चुम्दै गरेको मुलुकसँगको यो सम्बन्धले शिक्षा, उद्योग र पूर्वाधार विकासमा आपसी सहयोगको ढोका खोल्यो र नेपालमा सोभियत सद्भावको बीजारोपण सुरु गर्‍यो।

यो एउटा संयोग नै मान्नुपर्छ कि सन् १९५७ को अक्टोबरमा सोभियत संघले पहिलोपटक मानवनिर्मित भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्‍यो। यही वर्षदेखि सोभियत सरकारले नेपालीहरूलाई उच्च शिक्षाका लागि छात्रवृत्ति दिन सुरु गर्‍यो। यो त्यो बेला थियो, जुन बेला नेपालको साक्षरता दर दश प्रतिशतभन्दा कम थियो र ६ दशक यतादेखि मुलुकको विकास निर्माणमा कार्यरत हजारौं इन्जिनियर, डाक्टर, कृषिविद् र वैज्ञानिकहरू सोभियत विश्वविद्यालयका उत्पादन हुन्। नेपाललाई जलविद्युत्को सम्भावनामा विश्वको दोस्रो नम्बर भनेर चिनाउने विज्ञ मस्को इलेक्ट्रिकल इन्स्टिच्युटमा विद्यावारिधि गर्ने स्व. हरिमान श्रेष्ठ थिए।

भौतिक र औद्योगिक पूर्वाधार निर्माणमा रुसको सहयोगले नेपालमा आधुनिकीकरणको प्रक्रियालाई तीव्रता दिएको थियो। सोभियत रुसले स्थापना गरेको जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी कारखाना, वीरगन्ज कृषि औजार कारखाना, नेपाल रोजिन एन्ड टर्पेन्टाइन लिमिटेड आफ्नो समयमा देशको औद्योगिकीकरणका मेरुदण्ड थिए र मुलुकको राजस्व र रोजगारीका प्रमुख स्रोतमा गनिन्थे।

जनकपुर चुरोटका ब्रान्डहरूको आफ्नै प्रसिद्धि थियो र यसले वैदेशिक आयातलाई विस्थापित गरेको थियो। तराई क्षेत्रका किसानहरू यसबाट लाभान्वित भए। १९६४ मा स्थापित चिनी कारखानाले उखु खेतीलाई नगदेबालीमा परिणत गर्न उत्साहित गर्‍यो।

सन् १९६३ मा मुलुकको पहिलो बाल अस्पताल कान्ति बाल अस्पताल सोभियत राष्ट्रकै पहलमा स्थापना भयो। सन् १९६५ मा निर्मित पनौती जलविद्युत् आयोजना भएको पहिलो मेगावाट क्षमताको सोभियत उपहार थियो। जुन आज पर्यन्त सुचारु छ।

सन् १९६० मा राजा महेन्द्रले मुलुकको भाग्यरेखा मानिएको पूर्वपश्चिम राजमार्ग निर्माण सहयोगका लागि गरेको आह्वानमा होस्टेमा हैंसे गर्ने प्रथम राष्ट्र सोभियत संघ थियो। एक हजार किलोमिटर लम्बाइको यो राजमार्गको १०९ किलोमिटर लामो ढल्केबर–पथलैया खण्ड संघले निर्माण गर्‍यो। विश्व रंगमञ्चमा जुनै परिवर्तन भए पनि इतिहासले सोभियत संघको यो गुण कहिल्यै बिर्सने छैन।

सन् २०१५ वैशाखमा जब नेपालमा ठुलो भूकम्प गयो, यो सुनेर १९७० को दशकमा महेन्द्र राजमार्गको निर्माणमा खटिएका एक सोभियत इन्जिनियर इभान गोन्छारोभ धेरै रोए। यो एसियन मुलुकको साँघुरा गल्लीहरूमा अवस्थित प्राचीन दरबारहरू, मन्दिरहरू, कलात्मक रूपमा कुँदिएका टुँडालहरू र अलौकिक इँटाका घरहरूको नजिकैबाट घुमेर कुनै दिन उनीहरूले आनन्द लिएका थिए।

आज त्यही ठाउँ पूरै खण्डहरमा परिणत भएको, भुइँचालोले हजारौं मानिसको ज्यान लिएको, पुराना स्मारकहरू ध्वस्त पारेको देखेर इभानहरू स्तब्ध भए। यो सङ्कटले नेपालीहरूलाई पुर्‍याएको दुःखमा यति राम्रो देश, यहाँका असल र आत्मीय जनताप्रति आफ्नो गहिरो समवेदना व्यक्त गर्न इभान हातमा कलम नलिई बस्नै सकेनन्।

आधा शताब्दीअघि आफ्नो यौवनकालमा नेपाल र नेपालीसँग गुजारेको मायाले उनलाई धेरै कुतकुत्यायो। ती सुमधुर विगतको सम्झना गर्दै उनी लेख्छन्:

‘तल तल झर्दै गरेको हवाईजहाजको सानो झ्यालबाट देखिएको पूर्वदेखि पश्चिमसम्म लमतन्न फैलिएको हिमालयको काखका हरिया फाँटहरूले मेरो मस्तिष्कमा नेपालप्रति पहिलो छाप पारेका थिए। सोभियत संघ र नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको कारण संसारको सुदूर कुनामा रहेको यो अधिराज्यमा हामी सोभियत इन्जिनियरहरूलाई काम गर्ने मौका मिलेको थियो।

योजनास्थलमा स्थानीय गाउँले केटाहरूको समूह साँच्चिकै उत्कृष्ट थियो। यिनीहरूसँग काम गर्न सहज थियो। सबैतिर गरिबी छाएको देश भए तापनि नेपाल खुसी मानिसहरूको देश हो। सबै मेहनती, खुला हृदयका र हँसिला छन्। दुई वर्षको बसाइमा मैले यिनीहरूबाट एउटा पनि खराब शब्द झरेको सुनिनँ।

खराब हाउभाउ र नजरले हेरेको कहिलै पनि पाइनँ। १९७२ डिसेम्बरमा सिमरा–जनकपुर सडकमा पूरै यातायात सञ्चालन गरियो। यस उद्घाटन कार्यक्रममा नेपालका राजा वीरेन्द्र, सोभियत राजदूत बोरिस किर्नासोभ्स्की, निर्माण आयोजनाका चिफ इन्जिनियर पाबेल क्राभ्चोभ तथा निर्माणमा खटिएका सबै नेपाली र रुसीहरूले भाग लिएका थिए।

नेपालीहरूले हामीलाई बाटोभरि फूलैफूल छरेर अभिनन्दन गरे, माला लगाइदिए र केही उपहार पनि दिए। छुट्टिने बेला थाम्न नसकी निसङ्कोच रोए। साँच्चै भन्ने हो भने हामीहरू पनि कहाँ रोकिन सक्यौं र? यहाँका मानिसहरू र तिनीहरूको देशसँग हामी निकै आत्मीय भइसकेका थियौं।

अहिले पनि हामीहरू एक आपसमा भेट्दा त्यो बेलाको रमाइलो समय, जुन बेला हामी उष्ण प्रदेशीय जंगलको उखरमाउलो गर्मी, धुलाम्मे समतल सडक र उर्लंदा नदीहरूको किनारामा काम गथ्र्यौं।’ (राजेन्द्र शर्मा, नेपालीमा अनुवाद)  साँच्ची कै नेपाल सोभियत सम्बन्धले पैदा गरेको जनमानस र भूगोल बीचको आत्मीयता थियो त्यो।

प्रायः दातृराष्ट्रहरूले गर्ने सहयोगको प्राथमिकतामा ‘पूर्वाधार विकास र उद्योगधन्दा स्थापना’ विरलै पर्छन्। हाम्रो कृषि क्षेत्रको औद्योगिकीकरणमा निः स्वार्थ सहयोग गर्ने सोभियत संघ सायद प्रथम देश थियो। यसले हाम्रो स्वावलम्बी अर्थतन्त्र निर्माणमा टेवा दियो। सोभियत मिसनले दिन र बाँड्न मात्र जान्यो, लिन जानेन। सायद यो सोभियत विखण्डनको आर्थिक कारकहरूमध्ये एक हुन सक्छ।

नब्बेको दशकमा छाएको विश्वबजारीकरणको लहरले नेपाललाई जस्तै रुसलाई पनि छोयो। प्रजातन्त्रसँगै भित्रिएको बजार अर्थतन्त्रले आयातित सामानका प्रयोगकर्ताका लागि बाह्य जगत् खुला भयो। यो लेख लेख्न बस्दाको बिहानीमा सोनी अर्थ बिबिसी टिभीले पूर्व ग्रुजिया सोभियत गणतन्त्रमा थुप्रै पुराना उद्योगधन्दाहरू बन्द भएको खबर प्रसार गर्दै थियो।

नेपालमा पनि मुलुकको राजस्वमा महत्त्वपूर्ण योगदान दिने सार्वजनिक उद्योगहरू बन्द भए। नेपालमा निजीकरणका नाममा ती कौडीको भाउमा बिक्री भए भन्ने सुनिन्थ्यो। यो उदारीकरणको प्रभाव कहाँसम्म आयो भने सोभियत जनताको मायाको प्रतीकका रूपमा स्थापित प्रायः उद्योगहरू बन्द भए र ती इतिहासमा मात्रै रहे। कतिपयले यसलाई रुसको उपहारको अपमान भनी उल्लेख गरे।

सोभियत संघको विघटनपछि रुस र अन्य गणतन्त्रहरू लामो समय संक्रमणकालमा गुज्रिए। उसले आन्तरिक र बाह्य द्वन्द्वहरू झेल्नुपर्‍यो। आर्थिक–राजनीतिक उतारचढावबाट तङ्ग्रिन उसलाई धेरै समय लाग्यो। एउटा प्रणालीबाट अर्को प्रणालीतर्फको यो संक्रमणको अवधिमा उसको बाह्य सम्बन्ध पातलिनु स्वाभाविक थियो।

योसँगै रुसले नेपाललाई दिने विकास सहायतामा कमी आए पनि रुसले नेपाली विद्यार्थीलाई प्रदान गर्नेे छात्रवृत्ति निरन्तर छ। सन् २०१५ को विनासकारी भूकम्पपछि राहतका लागि रुसी संघले सहयोग पुर्‍याएको थियो। उसले जलविद्युत् क्षेत्रमा हात बढाउन चासो देखाएको छ। अहिले रुसबाट दीक्षित नेपाली उद्यमीहरूले जलविद्युत् आयोजना र उद्योगहरूमा लगानी गरिरहेका छन्।

लुम्बिनी र हिमालय रुसी र बौद्ध धर्मावलम्बीहरूको प्रमुख आकर्षणको केन्द्र बनेको छ। रुसको बौद्धसम्बद्ध संस्थाहरूको पहलमा लुम्बिनीमा रुसी बौद्ध मन्दिर निर्माण भइरहेको छ। दुई देशबीच पर्यटन, जलविद्युत्लगायतका क्षेत्रमा द्विपक्षीय आयोजनाहरू गर्ने प्रशस्त सम्भावनाहरू छन्।

गत वर्ष राष्ट्रियसभाका सभामुख गणेशप्रसाद तिमल्सिनाको रुसभ्रमणपछि रुसी दूतावासले २०८० वैशाख २१ गते नेपाललाई पत्र पठाएर १३ वटा विभिन्न आयोजनाको विस्तृत प्रस्ताव माग गरेको थियो। यसमा पोखरा–पर्वत–रिडी सडक निर्माण, पोखरामा बाल क्यान्सर अस्पताल, पूर्व–पश्चिम रेलवे, अध्ययन छात्रवृत्तिमा संख्या वृद्धि आदि थिए।

विस्तृत प्रस्ताव आउन ढिलाइ भएपछि रुसी दूतावासले २०८० जेठ २६ गते परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर पुनः विस्तृत परियोजना प्रस्ताव माग गर्‍यो। तर हालसम्म नेपालबाट कुनै औपचारिक अनुरोध प्राप्त नभएको रुसीपक्षको तर्क छ। कोभिड महामारीको बेला रुसी सरकारले प्रस्ताव गरेको ‘स्पुत्निक भी भ्याक्सिन’ को फाइदा नेपालले लिन सकेन।

युद्धको कठिन समयका बाबजुद रुसी राजदूत अलेक्सेई नोभिकोभले गत वर्ष राससलगायतका नेपाली प्रतिनिधि पत्रकार टोलीलाई मस्को र सेन्ट पिटर्सबर्गको भ्रमणको आयोजना गरेका थिए। नेपाली पत्रकार जगत्ले ‘रुसी पक्षबाट युक्रेनविरुद्ध घोषित विशेष सैनिक अपरेसन’बारे प्रत्यक्ष जानकारी प्राप्त गरून् भन्ने आयोजककोे मनसाय थियो।

उक्त भ्रमणमा संलग्न राष्ट्रिय समाचार एजेन्सी अन्तर्राष्ट्रिय मामिलाका वरिष्ठ संवाददाता लेख्छन्, ‘रासससँगको संक्षिप्त अन्तर्वार्तामा रुसी सूचना तथा प्रेस विभागका उपनिर्देशक सेर्गेई नालोबिनले नेपाल र रुसबीचको आपसी विकास प्रयासमा रुसले गरेको सहयोगलाई नबिर्सन आग्रह गर्नुभयो। हामी नेपालले हाम्रो द्विपक्षीय सम्बन्ध र दीर्घकालीन मित्रताको सम्मान गरोस् भन्ने चाहन्छौं।

नेपालले लामो समयदेखि अवलम्बन गर्दै आएको असंलग्न परराष्ट्र नीतिलाई रुसले सम्मान गर्छ। साथै उनले संयुक्त राष्ट्र संघमा युक्रेन मामलामा भएको मतदानमा नेपालले अमेरिकाको पक्ष लिनु मस्कोको कल्पनाभन्दा बाहिर भएको संकेत गरे। यद्यपि कैयन् दबाबका बाबजुद नेपालले रुसविरुद्धको आर्थिक प्रतिबन्धलाई समर्थन नगरेकोमा हामी तपाईंहरूको सदाशयताको सराहना गर्छौं, उपनिर्देशकले बताए।’

यसलगत्तै २०८० साल भदौ ४ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग भएको भेटवार्तामा रुसका राजदूत अलेक्सी नोभिकोभसहितको टोलीले नेपालसँग काठमाडौं मेट्रो परियोजनालगायत मुलुकको रेलवे आयोजनासम्बन्धी प्रस्ताव माग गरेको थियो।

रुसी पक्षका यी सदाशयी प्रस्तावहरूको बाबजुद नेपाल सरकार पक्ष आफ्नो बेवास्ताहरूको विषयमा टसको मस नभएको गुनासो रुसी कूटानीतिक वृत्तबाट यो वर्षभर गुन्जिरह्यो।

हालै मात्र रुसी भवनका प्रतिनिधिले आगामी वर्ष रुस सरकारले नेपाललाई प्रदान गर्ने पूर्ण छात्रवृत्ति कोटा ५० बाट वृद्धि गरी २५० बनाइएकोमा वर्तमान शिक्षा मन्त्रीज्यूसँग छलफल गर्न चाहेका रहेछन्। तर सम्बद्ध निकायबाट चासो नदिइएको कुरा सामाजिक सञ्जालमा सुनिन आयो।

सुनिन्छ, रुसबाट कुनै परियोजना प्रस्ताव आउनेबित्तिकै त्यसलाई उत्पत्तिस्थलमै ठुकुर्‍याइन्छ। यो हाम्रो असंलग्न नीतिविपरीत छ। आज सोभियत संघ छैन, तथापि अझै पनि रुस देश मात्र नभएर एउटा महादेश हो। त्यहाँ सुदूरपूर्वको भ्लादिभास्तोकमा सूर्य उदाउँदा सेन्टपिटर्सबर्गमा साँझ पर्छ। अनन्त प्राकृतिक सम्पदा, साधन, खनिज, विज्ञान र प्रविधिका अजस्र स्रोतहरूले भरिपूर्ण त्यो मुलुकको सदाशयताबाट हामीले लाभ लिनुपर्छ। त्यो हाम्रो कूटनीति सफलता हो। अरूको लहैलहैमा लागेर हामीले आफ्नो मूल शक्ति गुमाउन हुँदैन।

शीतयुद्धकालमा नेपालले आफ्नो परराष्ट्र नीतिमा असंलग्नता र तटस्थताको सिद्धान्तलाई अपनायो। त्यतिखेरको सोभियत संघ र अहिलेको रुसले नेपालले अवलम्बन गर्दै आएको असंलग्न परराष्ट्र नीतिलाई सम्मान गरेको छ तर पछिल्ला परिघटनाहरूले ऊ संशयमा छ। कतै रुस–नेपाल सम्बन्ध वर्तमान विश्वपरिप्रेक्षमा बिर्सिएको पाटो र हेलाँको बाटो भइरहेको त छैन? सायद त्यस्तै भइरहेको छ-इतिहासप्रतिको बेवास्ता।

गत १७ मे २०२४ को एक कार्यक्रममा नेपालका परराष्ट्र तथा उपप्रधानमन्त्रीले रुसले हाल युक्रेन युद्धमा प्रयोग भइरहेका नेपाली युवाहरूको अवस्था प्रस्ट पारी तिनलाई फिर्ता गर्नुपर्ने माग गर्नुभएको थियो। रुसी सरकारले यसलाई त्यसरी नै समाधान गर्नुपर्छ, जसरी भर्खर नरेन्द्र मोदीको भ्रमणपछि युद्धरत भारतीयहरूलाई फिर्ता गर्ने सहमति भएको छ।

जो कोही कैयन् सोभियत–रुसी नीति र कदमहरूसित सहमत–असमहत हुनसक्छ। तथापि इतिहास भुल्नुहुँदैन र त्यसप्रति कृतघ्न हुन हाम्रो पूर्वीय दर्शनले पनि दिँदैन। दुई ढुंगाबीचको तरुलजस्तो संवेदनशील भूगोलमा अवस्थित हाम्रो मुलुकले असंलग्न नीति अवलम्बन गर्दा नै राष्ट्रको दीर्घकालीन हित हुन्छ। विश्व अशान्तिका घटनाहरूबाट मुलुकले पाठ सिक्नुपर्छ।

त्यो युग जुन बेला मुलुकलाई अशिक्षा, रोग, भोकले गाँजेको थियो र हाम्रा निम्ति शिक्षा, स्वास्थ्य र उद्योग अपरिहार्य थियो, हामीलाई सहयोग गर्ने सोभियत जनताको सहयोगलाई कसरी बिर्सन सक्छौं?

नेपाल–रुस कूटनीतिक सम्बन्धको ६८ औं वार्षिक सहयात्राको अवसरमा हामी हाम्रो देश र जनताप्रति निःस्वार्थ सहयोगका लागि सोभियत रुसी सरकारलाई धन्यवाद दिन्छौं र विशेषगरी एसिया, अफ्रिका, ल्याटिन अमेरिकाका विद्यार्थीलगायत हाम्रो उच्च शिक्षामा योगदान दिने सबै प्राध्यापकहरू, विश्वविद्यालय प्रशासन र सोभियत–रुसी जनताप्रति आभारी छौं। नेपाल–रुस मित्रता अमर रहोस्।

–लेखक सोभियत विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातकोत्तर हुन्। 

प्रकाशित: ५ श्रावण २०८१ ११:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App