१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

सादृश्यमा आदिकविद्वय भानुभक्त र वाल्मीकि

२०८१ असार २९ गते अर्थात् आज आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्ती हो। नेपालमा भानुभक्तको नाम नेपालको राष्ट्रिय एकतासँग आबद्ध छ। भाषिक हिसाबले मात्र होइन, विश्वभर छरिएर रहेका नेपालीहरूका लागि उनी एकताका प्रेरणा बनेका छन्। वाल्मीकि रामायणलाई भानुभक्तले नेपाली भाषामा छन्दमय पद्यमा अनुवाद गरेर नेपाली जनमानसलाई श्लोकमय बनाउन सकेका थिए।

वाल्मीकि संस्कृत भाषाका आदिकवि हुन्। वाल्मीकि रामायण अनुवाद गरेर भानुभक्त नेपाली भाषाका आदिकवि बन्न पुगे। वाल्मीकिले नेपालको चितवन जिल्लाको दक्षिणतर्फ नारायणी नदीको किनारमा आश्रम कायम गरेका थिए। त्यही ठाउँमा रामले सीतालाई त्यागेपछि सीताले आश्रय लिएकी थिइन्। त्यही ठाउँमा लवकुशको जन्म भएको थियो।

‘मा निषाद प्रतिष्ठां त्वमगमः शास्वती समाः  

यत्कौंच मिथुनादेकम् अवधीः काम मोहितम्।’

यो संस्कृत साहित्यको पहिलो कविता हो। वाल्मीकि आश्रमको किनारमा सोना र तमोसा नदीमा नुहाउन जाँदा एक ब्याधाले चलिरहेको एक जोडी बाजलाई काँडले हानेर घायल बनाएपछि त्यो विह्वल दृश्यबाट विष्फोटित बनेर करुण रसमय श्लोक वाल्मीकिमा प्रस्फुटित हुन गयो र त्यही श्लोक प्रस्फुटित भएपछि वाल्मीकिले रामायण लेखे। वाल्मीकि ऋषि बने।

वाल्मीकिले रामायणका केही भाग भक्तपुरको हनुमानघाटमा बसेर लेखेका थिए भन्ने प्रमाण पनि जुटेका छन्। भक्तपुरको हनुमानघाट सानो छ। राम, सीता, लक्ष्मणको अखण्ड दीप प्रज्ज्वलित हनुमानघाट एउटा पवित्र धाम नै हो। यसको चर्चा नभएकाले हनुमानघाटजस्तो पौराणिक स्थल अपरिचित हुन पुगेको हो।

केही वर्षअघि मात्र हनुमानघाट अध्ययन–भ्रमणको मौका मिल्यो। तर २०३७ सालमा वाल्मीकि आश्रमको अध्ययन भ्रमण गर्दा मलाई गौरव महसुस भयो। यी दुवै वाल्मीकिका कर्म क्षेत्र हुन्। वाल्मीकि आश्रम र हनुमानघाटलाई अन्तर्राष्ट्रिय धामका रूपमा सरकारले विकास गरेर विश्वव्यापी बनाउनुपर्छ।

वाल्मीकि आश्रम र हनुमानघाटलाई अन्तर्राष्ट्रियकरण गर्न सकियो भने नेपालको ठुलो प्रतिष्ठा कायम हुन्छ। नेपाली भूमिमा रहेर रामायणलाई संस्कृत र नेपाली भाषामा यी दुई महारथी वाल्मीकि र भानुभक्तले लेखेर नेपालको प्रतिष्ठा बढेकोमा हामी नेपालीहरू गौरवान्वित छौं।

भानुभक्तका कविता प्राकृतिक सिर्जनात्मक नेपाली राष्ट्रवादसँग गाँसिएका छन्। भानुभक्तले दुर्गा कवच, रुद्री, अमरकोष, लघुकौमुदीको राम्रो अध्ययन गरेका थिए। उनलाई विद्या उपार्जन गराउनमा उनका पितामह श्रीकृष्ण आचार्यबाट प्राप्त भएको र ती गन्थहरू भानुभक्तले राम्ररी अध्ययन गर्न सकेकाले वाल्मीकि रामायण अध्ययन गर्नमा उनलाई सजिलो हुन गयो।

अध्ययन नगरी कोही पनि स्रष्टा बन्न सक्दैन। उनको मेहनतको प्रतिफल नेपालले भानुभक्तबाट रामायण पायो। भानुभक्तले नेपाली भाषामा रामगीता, वधूशिक्षाजस्ता कैयौं काव्यहरूको रचना गरेर नेपाली समाजलाई सिर्जनात्मक बाटो देखाएका थिए। भानुभक्त सम्झँदा मोतीराम भट्टको नाम पनि सँगसगै आउँछ।

भानुभक्तका कीर्तिहरूलाई व्यापक प्रचार गर्नमा उनको ठुलो देन छ। भानुभक्त कवितात्मक सिर्जनाका धनी थिए। भानुभक्तलाई कसैले ‘तपाईं को हो? भनेर सोध्दा भानुभक्तले कविताबाटै जवाफ दिएका थिए- 

‘पहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण थिया,

खुप् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया,

विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया ,

इन्को नाति म भानुभक्त भनि हूँ यो जानी चिन्ही लिया।’ 

यसबाट थाहा हुन्छ, भानुभक्त सहज कवि थिए। मोतीराम भट्टले भानुभक्तबारे लेखेका थिए, ‘धेरै नामका कवि भानुभक्तभन्दा पहिले भए तर कविताको मर्म जानी भाषा पद्ये लेख्ने कविहरूमा आदिकवि भानुभक्त नै हुन्। इनको जन्मस्थल तनहुँ देशका चुँदीबेसीको रम्घा ना गरेको गाउँ हो।

कवि भानुभक्ताचार्य सहज कवि थिए। अर्काका करमा कहिल्यै पनि बसेनन्। जस्ता भानुभक्तका सरल कविता छन्, उस्तै इनको नाम पनि प्यारो छ। संसारमा जन्म लिइकन आफ्नो नाम राखेन भने त्यस पुरुषले जन्मेको के सार?’

त्यसैले भानुभक्तको नामसँग कवि मोतीराम भट्टको नाम जोडिन्छ। मोतीराम भट्ट पनि नेपाली साहित्यको जग हुन्। उनले लेखेका थिए– ‘न्याय गर्नमा निसाफ नपाए गोर्खा जानु भन्ने उखानैं छ। यसै औसरमा म पनि श्री ५ गोर्खा सरकारको यश कीर्तिलाई धन्य भनी एक श्लोक लेख्दछु– ‘अचल झन्डा फर्रोस् फरफर गरी कान्तिपुरीमा। रिपुको मन थर्कोस् थरथर गरी छिनघरिमा। यमनले राज् गर्दा कति पतित हिन्दुस्थल भयो। फगत यो नेपालको मुलुक कञ्चन रहिगयो।’

भानुभक्तको सम्मानार्थ साहित्यकार पारसमणि प्रधानको सक्रियतामा दार्जिलिङका नेपालीहरूले दार्जिलिङको चौरास्तामा भानुभक्तको सालिक बडो सम्मानसाथ राखेका थिए। गोर्खाल्यान्ड आन्दोलनका बेला नेपाल विरोधी उच्छृङ्खल तत्त्वले भानुभक्तको सालिक ढालेका थिए। सालिक ढालिएको केही वर्षपछि म, मेरी श्रीमती सानुबाबा, भाइ भरत र मेरी छोरी टिस्टा दार्जिलिङ घुम्न गयौं।

छोरीको नाम टिस्टा नदीसँग जोडिएकाले टिस्टालाई टिस्टा नदी पुग्न रहर थियो। टिस्टा नदीको दर्शन र सिक्किम अध्ययन भ्रमणका लागि २०५२ को असोजमा हिँड्यौं। दार्जिलिङ पुगेर वरिष्ठ लेखक राजनारायण प्रधान र कवि तथा साहित्यकार गुमानसिंह चामलिङसँग भेट्ने इच्छा थियो, भेट्यौं। राजनारायण प्रधानले मलाई आठराई, चुहानडाँडाको वीरेन्द्र इन्टर कलेजमा आइए पढाउनुभएको र त्यसको अलवा उहाँले मलाई धेरै ज्ञान दिलाउनु भएकाले मेरा गुरुहरूमध्ये उहाँ अत्यन्त सम्मानित हुनुहुन्छ।

त्यस्तै गुमानसिंह चामलिङसँग मेरो पहिलादेखिको राम्रो सम्बन्ध थियो। उहाँलाई मैले मेरो डेरा काठमाडौंको क्षेत्रपाटीमा २०२४ सालतिर खाना खुवाएको छु। उहाँलाई मैले आठराईको राम्रो खुकुरी उपहार दिई वीर गोर्खाको स्मरण गराएको थिएँ। चामलिङजी नेपाली साहित्यका अगुवा स्रष्टाका रूपमा परिचित एक व्यक्तित्व हुनुहुन्छ।

उहाँसँग पनि भेट भयो। उहाँहरूलाई भेटेपछि अरू केही पुराना साथीहरूको पनि खोजी भयो तर भेट्न सकिएन। तर दुःखको कुरा, चामलिङज्यूको केही वर्षपछि देहान्त भएछ। त्यसपछि हामीहरू दार्जिलिङ घुम्न लाग्यौं। चौरस्तामा पुगेपछि भानुभक्तको सालिक ढालेको देख्दा हामी सबैको मन रोयो। थाहा थिएन त्यसरी भत्काएको कुरा।

सिक्किमबाट फर्कंदा टिस्टा नदी छेउमा बास बसियो। साँझ टिस्टा छोरीले टिस्टा नदीको पानी लिँदै ‘हे टिस्टादेवी ! दार्जिलिङको चौरास्तामा भानुभक्तको सालिक चाँडै उभ्याइयोस्’ भनेर आत्मादेखि माग गरेकी थिइन्। केही वर्षपछि दार्जिलिङको चौरास्तामा नै भानुभक्तको पूर्णकदको सालिक निर्माण भएको कुरा पत्रपत्रिकामा छापिएपछि मैले समाचार पढेर छोरीलाई सुनाएँ।

छोरी टिस्टा खुसी हुँदै हर्षको आँसु झारिन्। धन्य छन् दार्जिलिङका नेपालीभाषी स्रष्टाहरू, जसले नेपाली भाषाको प्रतिष्ठाका लागि सगौरव भानुभक्तको सालिक उभ्याएर देखाइदिए। पहिचानको लडाइँमा सिक्किमकी एक वीराङ्गना दिलकुमारी भण्डारीले भारतको संसद्बाट आवाज उठाएर नेपाली भाषालाई भारतको सरकारी लेखापढीको भाषाका रूपमा राख्ने अभियानमा सफलता हासिल गरेकी थिइन्।

त्यस्तै सिक्किममा नेपाली भाषालाई सम्पर्क भाषाका रूपमा अनिवार्य पाठयक्रममा राखिएको छ। सिक्किमका नेपालीभाषीहरूको एकताका लागि सिक्किममा ५० फुट अग्लो भानुभक्तको सालिक बनाउने जुन घोषणा गरिएको छ, यसले नेपाली भाषा अन्तर्राष्ट्रिय भाषाका रूपमा सम्मानित भएको देखाउँछ।

२०५२ साल असोज २० गते राति हामी टिस्टा नदीकै किनारमा बास बसेर टिस्टा नदी सुस्ताएको रातभरि सुनेर बितायौं। टिस्टा नदी सुस्ताउँदा लाग्थ्यो, कथित सुगौली सन्धिदेखि टिस्टा नदीले बलात्कृत नारीजस्तो अपमानित भएको ठानेको होला। सुगौली सन्धिमा बेचिएकी टिस्टा नदीको सुस्केरा रातभरि रोएको जस्तो लाग्थ्यो।

वास्तवमा दार्जिलिङ सुगौली सन्धिभन्दा अगाडि नेपालकै भूभाग थियो। सुगौली सन्धिका बेला दरबारबाट निष्कासित भएका गजानन्द मिश्र र चन्द्रशेखर उपाध्यायले भारतको मुजफ्फरपुरमा १२-१२ बिघा जग्गा लिएर आफूहरू राजाको प्रतिनिधि हौं भन्दै अंग्रेजले तयार पारेको कागजको घातक सुगौली सन्धिमा हस्ताक्षर गरेका थिए।

त्यसबेला त्यो किर्ते सुगौली सन्धिको घनघोर विरोध भयो। सन्धिको समर्थन गराउन अंग्रेजहरूले राप्तीदेखि टिस्टासम्मका भूभाग फिर्ता दिने तर मेचीदखि टिस्टासम्मको भूभागको सम्बन्धमा प्रतिवर्ष नेपाललाई दुई लाख बुझाउने सर्तमा अंग्रेजले नै उपभोग गर्ने सर्तमा भाडामा लिएर सन्धि भएको थियो। तर भारत स्वतन्त्र भएपछि न नेपालले टिस्टापूर्वको नेपाली भूभाग पायो, न दुई लाख रूपैयाँ नै।

कोही मान्छे टिस्टा काँगडाको भूभाग फिर्ता लिने कुरा पुरानो भयो भन्छन् तर राष्ट्रियता गुम्दाको मनको घाउ त बिसेक नहुँदो रहेछ। त्यस्तै २०६३ सालपछि नेपालको राष्ट्रियता संकटमा छ। अहिले नेपाली भाषा मात्र होइन, धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता लाद्न खोजिएको छ। अहिले मधेस प्रदेशमा नेपाली मुद्रा चल्न नदिने र भारतीय मुद्रा चलाउने, सरकारी लेखापढीको भाषाबाट नेपाली भाषा विस्थापित गर्ने, आफ्नै प्रहरी राख्ने नेपालको राष्ट्रिय पोसाक टोपी दौरा–सुरुवाल औपचारिक कार्यक्रमबाट हटाएर नेपालको राष्ट्रिय एकता छिन्नभिन्न बनाउन खोजेको छ।

जस्तोसुकै राजनीतिक परिवर्तन भए तापनि आफ्नो राष्ट्रलाई टुक्रयाएर विदेशीहरूको निर्देशन मान्ने होइन। तर दुःखको कुरा, २०६३ सालपछिका सत्तासीनहरूले नेपालको राष्ट्रियता, राजतन्त्र, प्रजातन्त्र र हिन्दु अधिराज्यका बिचमा जसरी समन्वय र सन्तुलन कायम भएर विश्वमा नेपालले आफ्नो प्रतिष्ठा कमाएको थियो, त्यसलाई भत्काएर नेपालको अस्तित्व समाप्त गर्न खोजेका छन्।

नेपाल अधिराज्यभरि नेपाली भाषा सबै भाषाभाषीबीच सम्पर्क कायम गर्न सजिलो र लोकप्रिय हुन सकेकाले राष्ट्रभाषाका रूपमा सबै जातका नेपालीहरूको प्रतिष्ठा र पहिचानको स्रोत बनिरहेको अवस्थामा भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर नेपालको जातीय तथा स्थानीय भाषाभाषीहरूमा पनि प्रिय बन्न सके।

विशाल नेपालको एकीकरण हुनुभन्दा धेरै वर्षअघिदेखि नेपाली भाषा पूर्वमा ब्रह्मपुत्र र पश्चिममा काश्मीरसम्म प्रचलित भइसकेको थियो। १३८२ सालसम्ममा किरात क्षेत्रमा पनि नेपाली भाषाको चल्ती थियो भन्ने संकेत सिमरौनगढका राजा हरिसिंह देवका पण्डित ज्योतिरीश्वरको कृति ‘वर्णरत्नाकर’बाट जाहेर हुन्छ भन्दै भाषाविद् बालकृष्ण पोखरेलले लेखेका छन्।

त्यस्तै भानुभक्त पोखरेल लेख्छन्– ‘नेपाल एकीकरण हुनुभन्दा पाँचसात सय वर्षअघिदेखि नै यस भूभागका राजा–रजौटाहरूले पत्राचार, सन्धिसम्झौता गर्ने तत्कालीन अन्तर्राज्यीय भाषा नेपाली नै थियो। नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले बाइसे, चौबिसे, लिम्बुवान, खम्बुवान आदिका टुक्रे राजाहरूसित व्यवहार गर्ने भाषा पनि नेपाली नै थियो।’

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि कान्तिपुका राजा लक्ष्मीनरसिंह मल्ल र उनका छोरा प्रताप मल्लको समयमा नेपाली भाषा प्रयोग भएका प्रशस्त अभिलेखहरू पाइन्छन्। जगतप्रकाश मल्ल, भूपतिन्द्र मल्ल, भास्कर मल्ल र जयप्रकाश मल्लले पनि नेपाली भाषामा लेखापढी गरेका थुपै प्रमाण छन्। त्यही भाषालाई भानुभक्तले थप जीवन्त बनाए।

नेपाली भाषा हिमवतखण्डका राज्यहरूमा प्रचलित भइरहेको अवस्थामा भानुभक्तले रामायणलाई नेपालीमा अनुवाद गरेपछि नेपाली भाषा अन्तरजातीय सम्पर्क भाषाका रूपमा झन् झन् लोकप्रिय हुन गयो। भारतका आसाम, मणिपुर, दार्जिलिङ, उत्तराञ्चलको देहरादुन, अलमोडा लगायत भारतका अनेकौं ठाउँमा रहेका नेपालीहरूको प्रिय भाषाका रूपमा नेपाली भाषा पूजनीय भइरहेको र भारत सरकारले सरकारी भाषा सरह मान्यता दिएर नेपाली भाषालाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको छ।

नेपाल विभिन्न जाति, भेषभूषा, भाषाभाषीहरूको थलो हो। यहाँ जम्माजम्मी १२४ भाषा छन्। तीमध्ये ४०÷५० भाषाहरू विकसित अवस्थामा छन्। मैथिली, भोजपुरी, अवधि, मगर, गुरुङ, तामाङ, शेर्पा, नेवार, थारु, राजवंशी, लिम्बु, राई, नेवार, थकाली, सुनुवार, सतार, उर्दु आदि भाषा आआफ्नो समुदायमा लोकप्रिय छन्।

भाषाको हिसाबले नेपाल धनी छ। खुला सिमानाका कारणले हिन्दी भाषा कहींकतै बोल्ने गरिन्छ। तर तराईका मूलवासीको भाषा हिन्दी होइन। यसो भन्दैमा सबै स्थानीय भाषालाई सरकारी भाषामा स्थापित गर्न खोज्नु द्वन्द्व निम्त्याउनुसरह हुन्छ।  

नेपाली भाषा र साहित्यलाई विश्वव्यापी बनाउनमा दार्जिलिङका साहित्यकारहरूको ठुलो देन छ। नेपाली भाषाबारे दार्जिलिङका विद्वान् पारसमणि प्रधानले भनेका छन्, ‘नेपाली भाषा कुनै निश्चित जात वा जातिको भाषा होइन। यसलाई बाहुन, छेत्रीलगायत गुरुङ, मगर, राई, लिम्बु, नेवार, तामाङ आदि जातिले आआफ्नो बोली छँदाछँदै पनि नेपाली भाषालाई मातृभाषा भनी अपनाएका छन्। यसो गर्नाले एउटा विशाल नेपाली जातिको सृष्टि भएको छ। कुनै जातका मानिसले आफ्नो जातीय बोली बिर्सनैपर्छ भन्ने केही छैन। तर, नेपाली भाषा हाम्रो होइन भनेर विभिन्न नेपाली जातिले संघर्षका निम्ति संघर्ष गर्न थाले भने न उनीहरू आफै उभिन सक्छन्, न अरूलाई उभिन दिन्छन्। पहिलेको खस बोली खस भाषामा परिणत भएर गोर्खा वा गोर्खाली भाषा हुन पुगेको र अहिले तमाम नेपाली जातिको भाषा हुन पुगेको छ।’

यसरी नेपाली भाषालाई अन्तरजातीय रूपमा स्थापित गराउन भानुभक्तको रामायणको ठुलो देन छ। साहित्य भनेको प्रदूषण होइन, सिर्जना हो। चरित्र निर्माणको आधार हो भाषा। भानुभक्तले आफ्नो जीवनकालमा के के गरे र के कस्तो हन्डर खपे भन्ने कुरा आफ्नै ठाउँमा छ।

उनको कवितात्मक भावना प्राकृतिक सिर्जनाबाट नेपाली राष्ट्रवादसँग गाँसिएका हुन्थे। लेखनाथ, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भवानी भिक्षु, भीमनिधि तिवारी, हृदयचन्द्रसिंह प्रधान, सिद्धिचरण श्रेष्ठजस्ता स्रष्टाको जन्म हुनु पनि भानुभक्त नै प्रेरक हुन्।

प्रकाशित: २९ असार २०८१ १०:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App