१) मुक्तक
तिम्रो ओठमा घाम हुन्थ्यो उत्साहको याम हुन्थ्यो,
प्रफुल्लित मन हुन्थ्यो जताततै तिम्रो नाम हुन्थ्यो।
पीरव्यथाले सताए पनि रोगले ग्रसित बनाए पनि,
तिम्रो मिठो स्पर्शमा शीतल हुन्थ्यो आराम हुन्थ्यो।
२) मुक्तक
खुराफात सोच उस्तै महाशयको घमण्डी बानी उस्तै,
विगतदेखि वर्तमानसम्म गरिरहेको बेइमानी उस्तै।
चर्कोसँग बोल्नु हुन्थ्यो संस्कार बदल्छु भन्नुहुन्थ्यो,
संस्कारको ओछ्यान लगाए नि गफको सिरानी उस्तै।
३) मुक्तक
व्यवहार मिठो होस् अझ झन् बोली मिठो होस्,
भलै अतीत अमिलो भए पनि भोलि मिठो होस्।
यथार्थमा उभिएर असरल्ल जिन्दगी नियाल्दा,
सुन्दर सपनाले भरिएको मनझोली मिठो होस्।
४) मुक्तक
जस आफू राख्नु पोको पारेर अपजस यता पठाउनु,
बाडुल्की लाग्दा हुने घाँटीको खसखस यता पठाउनु।
स्वच्छ हराभरा जिन्दगीलाई खण्डहर बनाउँदै तर्कनेले,
साँचेको विश्वास जब हुनेछ तहसनहस यता पठाउनु।
५) मुक्तक
जीर्ण नैतिकताको पर्दामा लाजको टालो हाल्दै हिंड्छन्,
कठै,अझै पनि आफैंतिर भ्रमको भजालो तान्दै हिंड्छन्।
हेर्नुस्, भुइँभरि इमानदारी छताछुल्ल पोखिसक्दा पनि,
अझै छर्लङ्गै भैसकेको लाज ढाक्न अँगालो मार्दै हिड्छन्।
प्रकाशित: २८ असार २०८१ १२:११ शुक्रबार





