१९ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

३२२औं वर्षमा ङातापोल मन्दिर

फाइल तस्वीर

शनिबार भक्तपुरको ऐतिहासिक विश्वप्रसिद्ध सम्पदा ङातापोल (पाँचतले मन्दिर) को ३२२औं वार्षिकोत्सव मनाइएको छ। वार्षिकोत्सव अवसरमा भक्तपुर नगरपालिका–५ टौमढीस्थित मन्दिरमा विशेष कार्यक्रम आयोजना गरिएको थियो, जसलाई नेपालभाषामा ‘बुँसदा’ भनिन्छ।

‘बुँसदा’को अवसरमा ङातापोलको गजुरमा झण्डोत्तोलन गरिएको छ। सो अवसरमा प्रत्येक वर्ष यसरी नै पाँचतले मन्दिरको टुप्पो गजुरमा पुगेर झण्डोत्तोलन गर्ने चलन छ। प्रत्येक वर्ष जस्तै यो वर्ष पनि भक्तपुर नगरकै तुछिमला टोलका अवालहरू यो काममा संलग्न रहे। अवालका साथमा परम्पराअनुसार तुछिमला टोलकै सुवाल, सिल्पकार समुदायसहित विभिन्न जातजातिका प्रतिनिधिसहितको टोलीले वर्षाबीच पनि मन्दिरको माथिल्लो तलाको गजुरमा पुगेर झण्डा राखेका थिए। मन्दिरको भित्रभित्र हुँदै उनीहरू मन्दिरको गजुरसम्म पुगेका हुन्।

ङातापोलको स्थापना दिवसको सम्झनामा बुँसदा गरी मन्दिरको सरसफाइ तथा मर्मत सम्भार गर्ने परम्परा रहेको छ। साथै ङातापोल मन्दिरभित्र रहेको सिद्धिलक्ष्मीको विशेष पूरा र बोका बली दिएर बुँसदा मनाउने चलन रहेको छ। मन्दिरको वार्षिकोत्सव वर्षेनी असार शुक्ल प्रतिपदाका दिन मनाइन्छ।

नेपाल संवत् ८२२ (अहिले नेपाल संवत् ११४४) मा तत्कालीन भक्तपुरका राजा भूपतिन्द्र मल्लले ङातापोल बनाएको इतिहास छ। उनले ६ महिनामै मन्दिर निर्माण गरेको इतिहासमा उल्लेख छ। नेपाल संवत् ८२२ मा राजा भूपतिन्द्र मल्लले असार शुक्लपक्ष प्रतिपदाका दिन पहिलो वार्षिकोत्सव मनाउँदै पूजा गरिएको इतिहास रहेको छ।

 संस्कृतिविद् ओम धौभडेल ङातापोल मन्दिर निर्माण सम्पन्न भएको उपलक्ष्यमा झन्डोत्तोलन गरिने चलन चलेको बताउँछन्। उनका अनुुसार मन्दिर निर्माणका लागि नेपाल संवत् ८२२ पौष शुक्ल नवमीमा जग राखिएको थियो। मन्दिरको छाना बनाउने काम तुछिमलाका अवालहरूले गरेकोे किंवदन्ती छ। त्यही कारण प्रत्येक वर्ष तुछिमला टोलका अवालेहरू झण्डोत्तोलनमा सहभागी हुने गरेको उनी सुनाउँछन्।

टौमढी टोलका भैरव डरलाग्दो, रिसाहा र घमण्डी भएकाले उनलाई शान्त पार्न भैरवअगाडि सिद्धिलक्ष्मी स्थापना गरिएको बताइन्छ। मन्दिरलाई अग्लो बनाउनुका कारण भैरवनाथभन्दा ठूलो मन्दिर बनाएपछि भैरवनाथको रिस कम हुन्छ भन्ने धारणाले बनाइएको भनाइ छ।

सिद्धिलक्ष्मी देवतालाई तान्त्रिक देवता तथा शक्ति देवी, शक्तिको प्रतीक मानिन्छ। नेपालकै सबैभन्दा अग्लो यो मन्दिर बारम्बारको भूकम्पबीच पनि सुरक्षित छ। पछिल्लो २०७२ सालको महाभूकम्पमा पनि यो मन्दिरमा देखिने गरी क्षति पुगेको थिएन।  

प्रकाशित: २३ असार २०८१ ०९:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App