१९ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

झिसमिसेमै झङ्कृत आशालाग्दो आवाज

सङ्गीत

सङ्गीतको लोभले भरिएको मन तर गरिबीका कारण यसप्रकारको सिर्जनात्मक लोभ शमन गर्न नपाउनुको दर्द। यस्तो दर्दबिच सांगीतिक मञ्च प्राप्त गरेर आफ्नो क्षमता प्रदर्शन गर्न पाउनुको मजा छुट्टै हुन्छ। उमेरले दुई दशक वर्ष मात्र टेकेका, हिन्दी र थारु भाषाको बाहुल्य रहेको बर्दियाको परम्परागत गाउँमा जन्मेहुर्केका, नेपालीभन्दा बढी हिन्दी गीत गुनगुनाउने। नेपाल आइडल विजेता करण परियारलाई चिनाउन प्रयोग हुने केही परिचयात्मक बिम्ब हुन् यी। यसपालि नेपाल आइडलले क्षमता भएर पनि घमण्ड अनि तडकभडक नभएका सक्षम प्रतिभालाई विजेताका रूपमा पाएको छ।

पुरानो सांगीतिक पुस्तामा व्यावसायिकता र गतिशीलता कम तर गुणात्मकता र स्थिरता बढी पाइन्थ्यो। पुराना गीतसङ्गीत सुन्दा यही अनुभूति हुन्छ। तडकभडक अनि हाहु नगरीकन गहिरोसँग मन छुने गायकी पाइन्थ्यो पहिला। वर्तमान पुस्तामा पनि अद्भुत क्षमता भएका गायक छन् तर त्यो क्षमतालाई गम्भीरतासाथ प्रस्तुत गर्ने यात्रामा निकै कम गायकगायिका छन्।

गीतको वास्तविक चरित्र हेर्नु होइन, सुन्नु हो। सुन्ने गीत जब हेर्ने गीतमा बदलियो, गायकीको आधा ओज त्यहींबाट घटेजस्तो महसुस हुन्छ। अहिले त गायकीको गुणवत्ताभन्दा पहिला बजारका आँखामा कस्ता गीत बढी बिक्री हुन्छन् भन्ने सोचेर गीत बनाइन्छन्। अझै भनौं क्यासेटको ओज युट्युबको पर्दाले धुमिल पारिदिएको महसुस हुन्छ।

गीतको आआफ्नै विधागत धर्म हुन्छ। लोकगीतमा परम्परागत बासना र समाजगत मनोभावना हुनुपर्छ, साथै लोकपरम्पराअनुरूपकै गायकी हुनुपर्छ। दोहोरी लोकगीतकै संवादात्मक तथा आख्यानात्मक उपविधा हो। लोक तथा दोहोरी गीतमा उच्छृङ्खलता शोभनीय हुँदैन।

समाजका दुःखसुख अभिव्यक्त गर्ने माध्यम हुन् लोकगीत। तर आज लोकदोहोरीमा पनि बजारमा बिक्री गर्न राखिएको देखावटी मालजस्तै अशोभनीय उच्छृङ्खलता प्रदर्शन गरिएको पाइन्छ। यस्ता उच्छृङ्खल गीत र गायक खडेरीमा भुइँबाट उम्रेका पँखेटायुक्त कमिलाजस्तै हुन्, जुन एकैछिन उड्छन् अनि सकिन्छन्।

आधुनिक गीतगजलको जीवन पनि गुणात्मकताले नै दीर्घजीवी बनाउने हो। नारायण गोपाल, तारादेवी, अरूणा लामा, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, नातिकाजीजस्ता पुराना गायकले गायकीलाई मजाकमा उडाएको कहिल्यै महसुस भएन। यिनका गीत आज सुन्दा पनि आनन्द आउँछ। राति एफएमहरूमा अजम्बरी गीतहरू भनेर प्रसारण गर्ने अधिकांश गीत स्वर्णिम युगका यिनै स्वनामधन्य गायककै हुन्छन्।

आज पनि क्षमतावान् गायकगायिका छन् तर पुरानो पुस्तामा रहेको गायकीको ओज आजका गायकगायिकामा पाइँदैन। आजका गायकगायिकाको तडकभडकपूर्ण जीवनशैली, कतिपय गायकको बेलाबेला आउने अशोभनीय क्रियाकलाप, व्यवहारमा सरलता र गम्भीरताको अभावका कारण पनि होला, गीतमा धेरै राम्रा पक्ष हुँदाहुँदै पनि के नपुगे के नपुगेजस्तो महसुस भइरहन्छ।

करण परियारको गायकी अनि व्यवहारगत सरलता र गम्भीरता हेर्दा उनी पनि पुरानै पुस्ताका गायककै शैलीमा हिँडेको महसुस हुन्छ। नेपाल आइडलमा गाउनका लागि छनोट गरेका गीतहरूले नै उनी गम्भीर गायकी रुचाउने गायक हुन् भन्ने बुझिन्छ।

‘अल्झेछ क्यारे पछ्यौरी’, ‘माया नै माया छ तिम्रो नाउँमा’, ‘देशले रगत मागे’, ‘के लत बस्यो मलाई’, ‘मलाई यो जिन्दगीले चोट दियो गनीगनी’, ‘यो मन यो तन यो जीवन पनि उनकै हो’, ‘मेरो साधनाको वरदान हो गीत’, ‘फूलपाती भाकेर मनकामना आयो बन्दीपुर’, ‘उकाली ओराली गर्दै आँखाभरि रहर भर्दै’, ‘फूलको थुङ्गा हो कि बगेको गंगा हो’, ‘असारे महिनामा’, ‘पिउँदिनँ भन्दा भन्दै पिलायो साथीले’ यी करणले नेपाल आइडलमा गाएका केही गीत हुन्।

हुन त करणले रोजेका अधिकांश गीत वर्तमान समयावधिमै सिर्जित हुन्। यद्यपि प्रायः सबै गीत गम्भीर र गहिरो प्रकृतिका छन्। करणले रोजेका गीतका यी उदाहरण दिएपछि भन्न सकिन्छ– करणको गायकी गम्भीर र अजम्बरी धारमा प्रवाहित छ। यद्यपि यी गीत नेपाल आइडलको प्रतिस्पर्धाका लागि गाइएका हुन्।

उनले बुझ्नुपर्ने कुरा हो– उनले गाएका अजम्बरी धारका गीत श्रोताले निकै मन पराए। त्यसैले भविष्यमा पनि यही धारलाई नै आफ्नो गायकीको मूल प्रवृत्ति बनाउनु नै राम्रो हुन्छ। पुराना गायकगायिकाको अजम्बरी गायकीबाट पाठ सिकेर अथक मिहिनेतसाथ साधनामा लाग्ने प्रेरणाका लागि यो सन्दर्भ उल्लेख गरिएको हो।

करण अन्य प्रतियोगीहरूभन्दा पृथक् देखिन्छन्। सुरुमा अडिसन दिन आउँदा उनी अत्यन्त सरल र दयालु प्रकृतिका देखिन्थे। उनको यो सरलता नेपाल आइडल विजेता हुँदा समेत कायम नै रह्यो। सरलताभित्र गहन मिहिनेत करणको सफलताको प्रमुख कारक तŒव हो। यस्ता रियालिटी सोमा भोटिङलाई निर्णायक मान्दा पैसाको चलखेल हुन्छ, जातीयता र क्षेत्रीयताका आधारमा भोट आउँछ, जित्नका लागि सम्पन्न प्रतिस्पर्धीले लाखौं खर्च गर्छन्, वास्तविक क्षमतावान्ले भन्दा पैसाको चलखेल गर्न सक्ने प्रतिस्पर्धीले जित्छ भन्ने कुरा पनि चर्चामा आइ नै रहन्छन्।

यो चर्चामा धेरै हदसम्म सत्यता पनि छ र कतिपय रियालिटी सोमा विजेताभन्दा विजितको क्षमता अझै अब्बल रहेको पनि देखिएको छ। आफू अब्बल हुँदाहुँदै पनि कम भोट आएका कारण पराजित हुनुपरेको कुरा पनि आएकै छन्। करण यो सन्दर्भभन्दा पृथक् छन्। करणलाई नचिन्ने बेलासम्म उनी डेन्जर जोनमा परेकै हुन्। यद्यपि जब ‘अल्झेछ क्यारे पछ्यौरी’, ‘के लत बस्यो मलाई’ जस्ता गीत गाए, त्यसपछि त उनले भोट माग्नै परेन। सामूहिक वा सांगठनिक रूपमा करणलाई जिताउन कुनै पनि अभियान चलाइएन। तैपनि देशविदेशबाट साँचो प्रतिभाको पक्षमा मत जाहेर भयो, परिणामस्वरूप करण विजेता बने।

विजय प्राप्त गरिसकेपछि करणलाई बधाई तथा शुभकामनाको ओइरो नै लाग्यो। उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री केपी शर्मा वलीलगायतले सामाजिक सञ्जालमा मात्र शुभकामना दिएनन्, भेटेरै बधाइका साथ उपहार दिए। उपहारस्वरूप दाहालले ‘प्रचण्ड’ लेखेर गितार दिए भने वलीले नेपाली बाजा सारङ्गी दिए। अहिले उनको आवाजमा निर्माण गर्नका लागि गीत पालो कुरेर बसेका छन् भन्ने कुरा स्वयं करणले नै विभिन्न ठाउँमा बताएका छन्।

त्यसैले पनि करण अन्य सिजनका विजेताभन्दा फरक छन्। उनी विजेताहरूका पनि विजेता हुन्, अर्थात् हालसम्मकै वास्तविक नेपाल आइडल हुन्। यो सिजनमा नेपाल आइडलले वास्तविक प्रतिभा पाएको छ।

प्रकाशित: २२ असार २०८१ ०७:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App