१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

प्याजको मोल

लघुकथा

‘ए! प्याज आयो, प्याज आयो,प्याज! प्याज! प्याजको बोरा साइकलको केरियरमा बोकेर एउटी केटी उसको भाषामा कराउँदै साइकल अघि बढाउँदै थिई।

‘कसरी प्याज?’ गाउँबाट एक महिला निस्केर उही भाषामा सोधिन्। मागेअनुसारको प्याज दिएर केटी फेरि अगाडि बढी।

‘ऐ, रुकरुक।’ त्यतिखेरै बाटोमा तस्करी सामान रुँगेर बसेको नेपालतिरको पुलिसले रोक्यो।

केटीले साइकल रोकेर पछाडि फर्की।

पुलिस कड्क्यो,‘के हो यो?’

‘हजुर प्याज।’ डराउँदै उसले भनी।

‘कहाँबाट ल्याएको?’

‘उधरसे हजुर।’ उसले टुटेफुटे नेपालीमा सोझो जवाफ दिई।

‘यो गैरकानुनी हो भन्ने थाहा छैन?’

‘थाहा भएन हजुर, अरूले लाउँदै थियो अनि मैले पनि ल्याइहालें।’

‘कति छ? केका लागि लगेको?’

‘हजुर पच्चीस किलो मात्रै छ। अरूले त पचाससम्म बोकिहाल्छ। यो आफ्नो देशमा बेच्दा चार पाँच सय फाइदा भइहाल्छ।’

‘लु, त्यसो भए जरिवाना तिर् केटी।’ पुलिसले मुख मिठ्यायो।

‘किन?’

‘यो गैरकानुनी हो।’

‘म जान्दिनँ गरकानुनी।’

‘इन्डियाबाट सामान नेपाल लग्यो भने तस्करी गरेको हुन्छ। तँ तस्कर भइस्। त्यसैले जरिवाना तिर्।’

‘कति?’

‘पाँच सय।’

‘हजुर जम्मा पाँच सयको त प्याज छ?’

‘त्यो केही जान्दिन। कि पैसा निकाल कि प्याज राख्।’

पुलिसले र्‍याखर्‍याख पार्न थाल्यो। केटीले असहायझैं यताउता हेरी। उताबाट एकजना हिंड्दै गरेका शिक्षकलाई देखेर अनुनय गरी, ‘सर?’

शिक्षकका पारखी आँखाले मामिला बुझिहाले। उनले पुलिसलाई हकार्दै भने, ‘यी नानीले प्याज बेचेर स्कुलको आवश्यकता पूरा गर्छिन्। तसर्थ खुरुक्क यिनलाई जानदेऊ।’

-रमेन्द्र कोइराला

प्रकाशित: २१ असार २०८१ ०९:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App