मधुपर्क मासिकको ५७ औं वार्षिक उत्सवकाे अवसरमा विशिष्ट तीन साधकलाई सम्मान गरिएकाे छ। वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीले ‘मधुपर्क सम्मान-२०८१’ आख्यान र समालोचनातर्फ प्रा. कृष्ण गौतम, पद्य मञ्जु काँचुली र ‘मधुपर्क प्रतिभा सम्मान-२०८१’ साहित्यकार किशोर पहाडीलाई जनही ५० हजार रूपैयाँ नगद राशि र सम्मानपत्रसहित सम्मान प्रदान गरिएको हाे।
कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति प्राडा त्रिपाठीले ‘गोरखापत्र’ र ‘मधुपर्क’ ले नेपाली साहित्यमा योगदान पुर्याएको बताउँदै पछिल्लो साहित्यिक पत्रिका पठनीय र संग्रहनीय भएको र यसले पाठकको स्तर पनि उकासेको बताए।
संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले संस्थाका प्रकाशन गुणस्तरीय बनाउने प्रयास गरिएको बताउँदै तिनलाई ‘डिजिटल फर्म्याट’मा राखेर पाठकमैत्री बनाउन थालिएको जानकारी दिए।
कार्यक्रममा गोरखापत्रका महाप्रबन्धक लालबहादुर ऐरीले स्वागत मन्तव्य राख्दै नेपाली साहित्यको मानक ‘मधुपर्क’ मा योगदान गर्ने सबै स्रष्टा तथा पाठकप्रति सम्मान प्रकट गरेका थिए। उनले मधुपर्ककै कारण गोरखापत्र संस्थानका अन्य प्रकाशनप्रति पनि जनविश्वास बढ्दै गएको बताए। उनले साहित्य व्यापार नभइ समाज सेवा रहेकाे पनि बताए।
कार्यक्रममा समालोचक प्रमोद प्रधानले सम्मानित तीन साधककाे छाेटाेमीठाे परिचय प्रस्तुत गर्दै उनीहरूकाे लेखकीय कृतित्व तथा व्यक्तित्व प्रस्तुत गरेका थिए। मधुपर्कले नेपाली भाषासाहित्यको प्रवर्द्धन गर्न, वाङमयको विकास गर्न र नेपाली साहित्यकारहरू जन्माउन उल्लेखनीय भूमिका खेलेकाे पनि उनले बताए।
मधुपर्कका निमित्त सम्पादक त्रिभुवनचन्द्र वाग्लेले विशिष्ट तीन साधकलाई मधुपर्कले सम्मान गरेको नभई आफैं सम्मानित साधकहरूलाई अनुमोदन मात्रै गरेको बताए। उनले धेरै खर्च गरेर कृतिहरूको लाेकार्पण गर्नुभन्दा साहित्यिक पत्रिकाहरूलाई विज्ञापन दिएर प्रचारप्रसार गर्न साहित्यकारहरूलाई आग्रह गरे।
कार्यक्रममा छनौट समितिका संयोजक कथाकार पुष्कर लोहनीले नेपाली साहित्यलाई विश्व स्तरमा पुर्याउनुपर्नेमा जोड दिंदै श्लील याैन कथाहरूलाई पनि केहीले अश्लील मानेर गाली गरेकाे विगत सुनाए।
कार्यक्रमको दोस्रो चरणमा ‘मधुपर्क मन्थन’ अन्तर्गत स्रष्टा द्रष्टा प्राडा दयाराम श्रेष्ठ र सीता पाण्डे (आख्यान) र प्राडा लक्ष्मणप्रसाद गौतम र श्यामल (पद्य) ले सहभागीहरूसँग छलफल गरेका थिए।
उक्त अवसरमा प्राडा श्रेष्ठले आख्यान खासगरी नेपाली कथा लेखनलाई रातो, निलो, पहेंलो आदि रङका माध्यमबाट विश्लेषण गरेका थिए।
त्यस्तै कथाकार सीता पाण्डेले विदेशमा बसेर पनि आफूहरूले नेपाल र नेपाली साहित्यमै चिन्तन गरिरहेको बताइन्।
त्यस्तै प्राडा गौतमले नेपाली कविताले समय, समाज र मान्छेबारे बोले पनि त्यसको शाश्वतीकरण भने हुन नसकेको बताए।
कवि श्यामलले आजकलका नेपाली समालोचक एक सय १३ शब्दमै रुमल्लिएको र परम्परावादी मात्र भएको धारणा राखे।
कार्यक्रममा मधुपर्ककाे तर्फबाट प्रमुख अतिथि, छनौट समितिका संयोजक पुष्कर लोहनी, समालाेचक प्रमोद प्रधान र मधुपर्कका पूर्व सम्पादक जयदेव भट्टराईलाई मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रममा सम्मानित व्यक्तित्वहरूले संक्षिप्तमा आफ्नो लेखनयात्राबारे बताउँदै आफूलाई मधुपर्कले सम्मानका गरेकाेमा धन्यवाद प्रकट पनि गरेका थिए।
गोरखापत्रका समाचार सम्पादक दीपक श्रेष्ठले सञ्चालन गरेकाे कार्यक्रममा दिनेश अधिकारी, कृष्ण बाउसे, शैलेन्द्र साकार, प्रल्हाद पोखरेल, रामप्रसाद पन्तना, रायण तिवारी, ठाकुर बेलबासे, कणाद महर्षि, उषा शेरचन, मुकेश मल्ल, रोचक घिमिरे, अरूण खत्री नदी, कृष्ण कँडेल, दिव्य गिरी, नन्दु उप्रेती, भागीरथी श्रेष्ठ, लक्ष्मी उप्रेती, ममता मृदुल, विमल भाैकाजी, वियाेग बुढाथाेकी, डा. शेखरकुमार श्रेष्ठ, प्रमाेद स्नेही, युवराज नयाँघरे, विनाेद नेपाल, साम्ब ढकाल, रामकुमार पण्डित, विन्दु अधिकारी ढकाल, विक्रमभक्त जाेशी, डा. दामाेदर पुडासैनी, शीतल गिरी, शेखर गिरी, श्रीबाबु कार्की, श्रीराम राई लगायतकाे बाक्लै उपस्थित रहेकाे थियाे।
प्रकाशित: ३१ जेष्ठ २०८१ ०८:३७ बिहीबार