९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

यान्त्रिक यात्रामा एक यायावर

पठन

अमेरिकालाई अवसर भूमि मान्ने र सम्झनेहरू धेरै छन्। मानव जीवनयापनका क्रममा विज्ञान र प्रविधिका देनहरूलाई सर्वाधिक उपयोगमा ल्याउने मुलुकहरूमध्ये संयुक्त राज्य अमेरिका अग्रपङ्क्तिमा आउँछ नै। विज्ञान र प्रविधिले स्पर्श नगरेको त कुनै क्षेत्र नै छैन।

अमेरिका ज्ञान आर्जन र आर्जित ज्ञानलाई प्रविधिमा रूपान्तरण गर्न पनि विश्वमै अग्रणी मानिन्छ। ज्ञानलाई प्रविधिमा रूपान्तरण गरेपछि त्यसले आममानिसलाई आकर्षित गर्छ अनि प्रविधि आममानिसको व्यवहार र जीविकासँग जोडिन्छ। मानिस प्रविधिमय बन्छ, यन्त्रमय बन्छ।

 आममानिसमा रहने यस्तै यान्त्रिक/प्राविधिक जीवनशैलीप्रतिको मोह, आकर्षण, अवलम्बन र बाध्यतामा रहेको अमेरिकी समाजलाई नजिकबाट अनुभव गरेर फर्केका कानुन व्यवसायी हरिप्रसाद उप्रेतीले ‘अमेरिका यात्राका डोबहरू’ शीर्षकमा एक नियात्रासङ्ग्रह प्रकाशित गरेका छन्।

 यान्त्रीकरण भइसकेको अमेरिकी समाजको महिनौंसम्मको घुमफिरपश्चात् उप्रेतीले आफूमा प्राप्त अनुभवलाई शब्दमा उतारे, ‘यान्त्रिकताको बाहुल्य छ। मान्छेहरू यन्त्र चलाउँदा चलाउँदै आफैं यन्त्रजस्ता भएका छन्। यन्त्रचाहिँ मानिसजस्ता निकाल्न थालिसके। परिभाषा बदलिँदै छ। यन्त्र मान्छे हुँदैछन्। मान्छे चाहिँ यन्त्र हुँदैछन्। यन्त्र श्रीमान्–श्रीमती त भइसके रे। अब यन्त्र छोराछोरी र यन्त्र बाबुआमा हुन बाँकी देखिन्छ।’ (पृ. १२४)  

अमेरिकी जनजीवनको एउटा वास्तविक चित्र हो यो। अर्को पाटो पनि छ अमेरिकी जीवनशैलीको। यान्त्रिक जीवनशैलीबीच मानिसलाई आशा र आकांक्षातर्फ निरन्तर डोर्‍याइरहने तत्त्व भनेको स्वतन्त्रता हो।

व्यक्ति पूर्णतः स्वतन्त्र छ। यान्त्रिकताले बाँधिएको आम अमेरिकी जीवन राजनीतिक सामाजिक तवरले स्वतन्त्र हुनुको अर्थमा विलासी छ। वैयक्तिक स्वतन्त्रता उसको अधिकार हो तर पारिवारिक र सांस्कृतिक तवरले ऊ एकलकाँटे पनि बन्दै गइरहेको छ। उसमा आफ्नो बाहेक अरू निकटस्थ कसैसँग पनि सरोकार नराख्ने प्रवृत्ति बढ्दो छ।

पारिवारिक वा वैवाहिक सम्बन्ध कुन बेला टुट्छ, पत्तो हुँदैन। भौतिक सम्पन्नता छ तर त्यसमा जीवनको मूल्य निस्प्राणतुल्य छ, निःचेष्ट छ अनि निरस छ।

नियात्राकारले बडो यथार्थपरक चित्रण गरेका छन् अमेरिकी समाजको, ‘हामीले हेर्दा राम्रो रूप तर बास्ना नभएको फूलजस्तै छ त्यहाँको जीवन। भौतिक सम्पन्नता छ, पर्याप्तता छ। जीवन विलासितापूर्वक जिउन चाहिने स्रोत र साधन पनि छ तर त्यसमा सजीवता र सरसता छैन। रस निचोरेको फलजस्तो छोक्रा जिन्दगी।’

संयुक्त राज्य अमेरिकाका कयौं राज्य घुमेर, अनुभव गरेर नियात्राकारले त्यहाँको जीवनको निर्जीवताबारे यस्तो टिप्पणी गरेका हुन्।

अमेरिकी इतिहासप्रति संकेत गर्दै प्रारम्भमा व्यापारीहरूद्वारा शासन व्यवस्था सञ्चालित र नियन्त्रित रहँदै आएको हुनाले त्यहाँको जीवनशैली नै पूर्णतः पैसासँग जोडिएर आएको अनुभव नियात्राकारले गरेका छन्, ‘सायद प्रारम्भदेखि नै व्यापारमा संलग्न हुनेले शासन व्यवस्था कब्जा गरेका हुनाले सबै कुरा गएर आखिर पैसामा जोडिन्छ। पैसा कमाउने, पैसा बचाउने, पैसा खर्च गराउने, पैसा तिराउने कुरासँग जोडिएको छ जीवनशैली।’

पूर्णतः भौतिकवादी समाजमा मानवीय मूल्यमान्यता, विवेक र आध्यात्मिक जीवनदृष्टि एवं चिन्तनको महत्त्व रहँदैन। मानव जीवनका सबै आयामहरूलाई अर्थले निस्प्रभावी बनाउँदो रहेछ। अमेरिका त्यसको एक उदाहरण रहेको तितो यथार्थ अनुभूत गर्छन् नियात्राकार उप्रेती।

हरिप्रसाद उप्रेती आफ्नी धर्मपत्नीसहित छोराबुहारीको समुन्नतिलाई अनि सपनाको देश पनि हेर्ने रहरका साथ अमेरिका पुगेर पारिवारिक एवं इष्टमित्रसँग भेटघाटमा व्यस्त रहन्छन्।

नियात्राकार उप्रेती यात्राक्रममा ठुल्ठुला सहरका चमकधमकलाई मात्र देख्दैनन्, अमेरिकी गाउँलाई पनि चिन्छन्। सार्वजनिक स्थल र सहरिया परिवेशभन्दा बाहिर मानिसको चहलपहल छैन, ग्रामीण परिवेश स्वच्छ, शान्त, हरियालीयुक्त प्राकृतिक सौन्दर्यले वेष्टित त देखिन्छ तर त्यहाँ मानिसको चहलपहल कतै देखिँदैन।

नियात्राकार हाम्रा नेपाली गाउँहरूमा भएजस्तो जीवन्तता खोज्छन् त्यहाँका गाउँहरूमा, तर त्यहाँ शून्यता र मौनता मात्र देख्छन्, ‘सार्वजनिक मनोरञ्जनका स्थलमा, पार्कमा र सहरका गल्लीहरूमा मात्र मानिस जम्मा भएजस्तो...। त्यसबाहेक अरू ठाउँमा मानिस भए नभएको, बसे नबसेको पत्तै नहुने मौनता देखिन्छ। त्यो मौनता, स्वच्छता, हरियाली र सुन्दरताले दिने परिचय नै अमेरिकी गाउँको परिचय रहेछ। हाम्रा गाउँभन्दा धेरै नै भिन्न देखिन्छन्।’ (पृ. १७) अमेरिकी ग्रामीण परिवेशप्रति नियात्राकारको दृष्टि रोचक देखिन्छ, ‘गाउँको त्यो सुन्दरतालाई एकछिन सुमसुम्याउँजस्तो लाग्ने। हरिया चौरमा लडीबुडी गरौंजस्तो लाग्ने।

समग्रको सुन्दरतालाई चुमौंजस्तो लाग्ने...।’ ग्रामीण पृष्ठभूमिमा जन्मेहुर्केका नियात्राकार उप्रेतीलाई अमेरिकी सहरिया जीवनभन्दा ग्रामीण जीवनको मौनता र प्राकृतिक सौन्दर्य नै प्रिय लाग्नु स्वाभाविक छ। तर नियात्राकारले अव्यक्त रूपमै अनुभूत गर्छन्, मानवीय गतिविधिशून्य देखिने एकान्तवेष्टित प्राकृतिक सुन्दरता स्वयंमा जीवनहीन प्रतीत हुँदो रहेछ।

अमेरिकाका विभिन्न राज्यहरूमा घुमफिर गर्दा त्यहाँ भएका विकास र समृद्धिका कतिपय पूर्वाधारहरू देख्दा नेपालमा पनि सजिलै त्यस्तै पूर्वाधारहरू स्थापित र व्यवस्थापन गरी यहाँको पनि जीवनमा परिवर्तन ल्याउन सकिने विचार नियात्राकार गर्छन्।

मूलतः मुलुकको राजनीतिक बेतिथि र विसङ्गति अनि बेइमानीले जन्माएका अनगिन्ती विडम्बनाहरूको दृश्य सम्झेर आहत हुन पुग्छन् उनी। उनी अनेकौं ठाउँमा पुग्दा आँखाको क्षितिजमा अमेरिकालाई राख्दाराख्दै पनि मनको क्षितिजमा भने नेपाल बोकेर पुगेका हुन्छन्।

विकसित मुलुकतिर छोटो वा केही लामो समयका लागि घुम्न गएका नेपाली स्रष्टा वा सामान्य व्यक्ति जोकोही पनि धेरैलाई आफ्नै मुलुकको दृश्यले पछ्याइरहेको हुन्छ।

नियात्राकार उप्रेती आफ्ना पारिवारिक नातागोता वा झापाली वृत्तसँग आत्मीयता साट्दै, रमाउँदै जहाँ जहाँ पुग्छन्, अमेरिकी जीवनका विभिन्न पक्षहरूलाई नियाल्दै अनि तिनका अन्तर्यलाई पनि छाम्दै हिँड्छन्। अमेरिकी जीवन सुविधायुक्त छ तर सबैलाई सधैं हतार मात्र।

फुर्सद भनेको कसैलाई नहुने। काममा व्यस्त, अर्थात् कमाउन व्यस्त, खर्च गर्न वा मोजमस्तीमा व्यस्त हुनेहरूले अमेरिकालाई बनाएका छन् र खर्चिलो जीवनशैलीलाई बढावा पनि दिएका छन्। जति कमाए पनि खर्चका बाटा र बाध्यताहरू चौतर्फी छन्।

कमाउन नसक्नेको जीवन धरासायी हुने अमेरिकी समाजिकताको पाटोलाई चियाउन पुग्छन् उप्रेती, ‘धनीका लागि स्वर्ग हो, पैसा भएकाका लागि रामराज्य तर गरिब निमुखाका लागि एकदमै जटिल जिन्दगी हुँदोरहेछ...।’  

अमेरिकामा पनि गरिबी छ, बेरोजगारी छ, रंगभेद छ, उत्पीडन छ, यन्त्रवत् गतिशीलता छ, असंख्य आप्रवासीहरूमा एक्लोपनको नैराश्य छ। यद्यपि विश्वभरकै मानिसहरूका लागि अमेरिका आकर्षणको थलो बनेको छ। नियम कानुनअनुसार छोटो समयमा नै स्थायी बसोबास पाउँछन्।

स्वदेशी वा विदेशी सबैलाई समान रूपमा लागु हुने पद्धति छ। कानुनको पालनामा इमानदार रहेसम्म आप्रवासीहरू आयआर्जन गरी सुविधायुक्त जीवन जिउन स्वतन्त्र भएको कुरा पनि उप्रेतीले भ्रमणका क्रममा अनुभूत गरेका छन्, ‘सायद देश नै ठुलो र फराकिलो भएर होला, विश्वका मानिसले आफ्नो निवास बनाएका छन् अमेरिकामा। यसरी हेर्दा यहाँका सरकारको छाती फराकिलो नै भन्नुपर्ला। ग्रीनकार्ड प्राप्त गरेर पाँच वर्ष बसोबास गरेपछि अंगीकृत नागरिकता नै पाउने। संसारमा यति धेरै मानिसको बसोबास र गतिविधि हुँदा पनि सबै क्रियाकलापलाई एउटै प्रणालीमा आबद्ध गरेर चलाउन सफल भएकाले होला, सबै कुराको पर्याप्त व्यवस्थापन भएको जस्तो देखिन्छ।’

नियात्राकार उप्रेती न्युयोर्कलगायतका ठुला सहरहरूमा पुग्दा कतिपय नेपालीहरू विभिन्न व्यवसाय अँगालेर, मिहिनेत गरेर काम गरिरहेको देख्दा आद्र बन्छन् र सम्झँदै लेख्न पुग्छन्, ‘उनीहरूको जीवनको कठोरताबारे म कल्पन थाल्छु। निश्चय नै सुखले त्यो काम गरेका होइनन्...।’ (पृ. ६९) वास्तवमा अवसरको स्वर्ग मानिएको अमेरिकामा श्रम र संघर्ष नगरी त बाँच्नै मुस्किल पर्दो रहेछ भन्ने यथार्थलाई उप्रेतीले आफूले देखेभेटेका कतिपय नेपालीका सन्दर्भमा व्यक्त गरेका छन्।

नियात्राकार उप्रेतीले आफ्नो अमेरिका भ्रमणका सन्दर्भहरूलाई यसरी वर्णन गरेका छन् कि त्यसलाई पढ्दा कुनै चलचित्रका दृश्यहरू चाँडचाँडो फेरिइरहे जस्तै अनुभव हुन्छ। सकेसम्म बढी भन्दा बढी घुमेर, अनुभव अनुभूत गरेर फर्कन चाहन्छन्।

एउटा सचेत व्यक्तिमा यस्तो चाहना रहनु र प्राप्त ज्ञान र अनुभव–अनुभूतिलाई लेखेर अरूलाई पनि बाँड्न सक्नुमा कति ठुलो महत्त्व रहन्छ! उप्रेतीले आफ्नो भ्रमणसँगै पाठकलाई पनि अमेरिकाको भ्रमण गराएर त्यहाँको जीवन र आधुनिक सम्यताको घामछायाबारे पर्याप्त जानकारी गराएका छन्। उनको यात्रास्मरणका कतिपय सन्दर्भहरू पाठकका लागि आवश्यकताभन्दा बढी विस्तृत लाग्न सक्छन्। यद्यपि जो कोही नियात्राकारका लागि ससाना कुराहरू पनि महत्त्वका लाग्नु स्वाभाविक रहन्छ नै। आफ्ना विचार, भावनालाई अतिशयोक्तिको जलप नलगाई अभिव्यक्त गर्छन् उनी।

धर्तीको अर्को किनार, आधुनिक भौतिक सुखसुविधाको ऊहापोहमा पौडिरहेको अमेरिका–यात्राको साङ्गोपाङ्गो अनुभव, आफ्नो जीवनयात्राको पनि इतिहास बनेको कोमल अनुभूति नियात्राकार उप्रेतीले गरेका छन्, ‘धर्तीको अर्कोपट्टि रहेको आफ्नो देश नेपालमा पुग्दा अहिले देखिएका यी वस्तु र ठाउँ, अहिलेको समय र हाम्रा बसाइका बान्की केवल इतिहासका तरेली मात्र बन्नेछन्। सम्झँदा पनि मन गरुङ्गो हुने। रोमाञ्चक र संवेदनशील हुने...।’ (पृ. १२१) 

कानुन व्यवसायीका रूपमा हरिप्रसाद उप्रेतीको व्यक्तित्व, ख्याती र उचाइ उनको औपचारिक अध्ययन र अभ्यासको जगमा निर्मित रहेको बुझिन्छ भने उनको लेखकीय व्यक्तित्व उनको स्वःस्फूर्त, सहज सामथ्र्यको जगमा निर्मित रहेको अनुभव हुन्छ। उनको लेखकीय व्यक्तित्वको मापन वर्तमान, भोलि र सुदुर आगतले सधैं गरिरहने छ।

नियात्राकृतिमा नियात्राकारले के देख्यो भन्दा पनि उसले कसरी देख्यो भन्ने कुराले बढी अर्थ राख्छ। यस हिसाबले संयुक्त राज्य अमेरिकाको अन्तर्बाह्य स्वरूपलाई चिन्न र चियाउन नियात्राकार उप्रेतीकृत ‘अमेरिका यात्राका डोबहरू’ नियात्राकृति महत्त्वपूर्ण जानकारीमूलक/संस्मरणात्मक अभिलेख बनेको छ। 

प्रकाशित: १९ जेष्ठ २०८१ १२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App