३ असार २०८१ सोमबार
image/svg+xml
कला

बुढ्यौली

लघुकथा

१) बुढ्यौली

“हजुर! केही पाम्।’’

आवाजले रश्मिको गति टक्क रोकियो। फनक्क टाउको घुमाएर हेरिन्। सडक पेटीको छेउमा बनाइएको फलामको बारमा आड लागेर एक जोडा बुढाबुढीले हात फैलाइरहेका थिए।

उनीहरूले मागलाई विस्तार गरे,“भोकै छम् हजुर! खानेकुरा दिए यहीं खान्छौं! पैसा दिए किनेर खान्छौं!’’

रश्मिलाई अप्ठ्यारो महशुस भयो। “यी ८०/८१ वर्षका जस्ता देखिने बुढाबुढी सन्तानको स्याहारसम्भारमा घरमा हुनुपर्ने थियो। त्यसको त कुरै छोडौं, पेट समेत रित्तो छ। त्यही पेट पुर्न मगन्ते हुनुपरेको छ। सिमेन्टद्वारा पोतिएको भुईको चिसोमा डामिएर बसिरहेका छन्। को होलान यिनीहरू।’’

“हजुर!’’

आवाजले उनलाई फेरि झस्काइदियो। केही दिनुभन्दा पहिला सोध्नै पर्ने भयो,“हजुरहरूका सन्तान छैनन्?’’

वृद्धाबाट जवाफ आयो,“छन् नि छन् त! उनका पाँचोटा छन्। मेरा छओटा।’’ 

“सन्तानहरू बेग्ला बेग्लै भएको कुरा गर्नुभयो।’’

“हो नि! सन्तान जन्माउने बेलामा हामी पतिपत्नी थिएनौं।’’

रहस्य झन् झाङ्गिएको महसुस भयो रश्मिलाई।

“आज सडकमा पतिपत्नी छन्। घरमा सन्तानहरू पनि छन्। ती जन्माउने बेलामा यी पतिपत्नी थिएनन्। यो कसरी भयो?’’

“तपाईहरू कसरी फालिनुभयो त यहाँ?’’

“बुढीलाई उसका छोराले चौतारीमा राखेर गएछ। पछि लिन आएनछ। मलाई मेरा छोराले घरबाट निकालिदियो। दुवै आआफ्नै तरीकाले वृद्धाश्रममा भर्ती भयौं।’’ बुढा बोले।

“मेरो प्रश्नको सबै जवाफ त आएन नि?’’ रश्मिले पहिलैको प्रश्नको सम्झना गराइन्।

“हाम्रो बिचमा आकर्षण भयो र रुखको छहारीमा गएर विवाह गर्‍यौं। स्विकृतिको निम्ति अनुरोध गर्दा वृद्धाश्रमले निकाला गरिदियो।’’

२) जात

“मुखबाट जन्मेका हुन्’’ वडाध्यक्ष भइसकेका उप्रेत लक्ष्मीपतिको ओठबाट खस्यो।

सुन्नेबित्तिकै वडा सदस्य रश्मि परियारको जिज्ञासा प्रस्तुत भयो, “कसको मुखबाट हो गुरुजी?’’

“ब्रह्माजीको मुखबाट’’ पुरेतको बोली सुनियो।

“मुखबाट पनि कोही जन्मन्छ?’’ को जन्म्यो मुखबाट?’’

“प्रश्न पनि बुझेर गर्नुपर्छ के केटी! सोधिहाल्यौ लौ सुन। ब्रह्माको मुखबाट ब्राह्मण जन्मे, बाहुबाट क्षेत्री, तिघ्राबाट वैश्य र पैतालाबाट शूद्र जन्मे।’’

“जान्नेबुझ्ने छु भन्नेले पनि नहुँदो कुरा गर्ने? मान्छे जहाँबाट जन्मन्छ त्यो ठाउँको चर्चा छैन, नभएकोनभएको ठाउँको कुरा गर्ने? हजुरको मानसिक सन्तुलनको समस्या त होइन नि?’’

“उत्ताउली केटी! यस्तै उद्दण्ड भएका हुनाले भगवानले तिमी जस्तालाई शूद्र बनाएका हुन्।’’

“मानिसलाई विभिन्न जातमा विभक्त गर्ने र त्यसकै आधारमा उचनिच र अछुत बनाउने आधार के रहेछ?’’

उप्रेतले वेदका ऋचा पढेर सुनाए,“वेद, पुराण र मनुस्मृतिका आधारमा भनेको छु।’’

उप्रेतको जवाफ पुरातत्त्वद्वारा अप्रमाणित भएको उल्लेख गरी अकाट्य प्रमाण सुन्नुस् भन्दै रश्मि परियारले भन्नुभयो, “स्त्रीलिङ्ग र पुलिङ्ग, जसजसका बिचमा यौन सहवास हुँदा सन्तान जन्मन्छन् त्यो एउटै जात हो।’’

३) भाग्य

“अहिले पनि माघे झरी कटेन।’’ रमिलाको नैराश्य छताछुल्ल भयो।

“के भयो भाउजू?’’ सविनाले सोध्नैपर्ने भयो।

रमिलाको ओठको गति जारी रह्यो। “हेर्नु न नानी! गोठमा एउटा पाडो हुर्कँदैन। बछेडो जस्तो पाडोसितको भैंसी साउनमा किनेर ल्याउँछु। पाडो झुसेझुसे हुँदै जान्छ र माघभित्रै मरिहाल्छ।’’

“कति वर्ष भैंसी पाल्नुभयो भाउजू?’’

“तीस वर्ष भयो नानी।’’

“भैंसीको दूध सबै आफै खानु हुँदो हो? स्याहारसम्भार पुगेन होला?’’

दिक्दारी पोखिन् रमिलाले, “होइन! दूध पनि खुवाएकी छु। स्याहार पनि गरेकी छु। बिहान ओछ्यान छोडेदेखि बेलुका साँझसम्म गोठमै हुन्छु। मेरो भाग्यमा नै खोट छ जस्तो लाग्यो नानी।’’

“भाग्यमाथि भरोसा गर्ने त अल्छी र कायरहरूको काम हो। सफल हुने व्यक्तिहरूले त कर्ममाथि विश्वास गर्छन्।’’ सविनाद्वारा वास्तविकता जाहेर भयो।

भाउजू च्याँट्ठिइन्, “कर्म गरेकी छु!’’

“सामुदायिक विद्यालयको पढाइ जस्तो “कर्म गरेकी छु’’ भनेर हुन्छ? सही कर्म गरियो कि गरिएन भन्ने कुरा परिणामले बताउँछ।’’

प्रकाशित: १४ जेष्ठ २०८१ १३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App