प्राध्यापन र समालोचना क्षेत्रमा सक्रिय मोरङका स्रष्टा जीवन जीवन्तले ‘चरैवेति’ उपन्यासमार्फत् उपन्यासकारको परिचय पनि बनाएका छन्। उनको हालै प्रकाशित यस उपन्यासले पूर्वी नेपालको आञ्चलिक परिवेशका माध्यमबाट बाइबलको विश्वजनीन सन्दर्भलाई विषय बनाएको छ। मान्छेका बसाइँसराइका अनेक बाध्यताजस्तै धर्म परिवर्तनका विवशतालाई उपन्यासले कलात्मक रूपमा प्रस्तुत गरेको छ।
मान्छेलाई परिवार, समाज र भूगोलजस्तै आफ्नो धर्म, संस्कृति, आस्था र विश्वास प्यारो हुन्छ तर पनि अनेक विवशताका कारण तिनलाई छाड्नुपर्दाको पीडा अनि त्यसपछि अँगालेको नयाँ आस्थामा पनि अनेक कमजोरीका भ्वाङ फेला परेपछिको नियतिलाई चरैवेतिले मुख्य आख्यान–भूमि बनाएको छ।
जीवनको वास्तविक खेल भनेकै मानिस भएरै बाँच्नु हो र त्यसैका लागि उसले अनेक विश्वास र आस्थाहरूका लागि गतिशील जीवन बाँच्छ। जीवनको यस्तै गतिशीलतालाई उपन्यासले चरैवेतिका रूपमा प्रस्तुत गरेको छ। चरैवेति अर्थात् गतिशील बनिरहू, हिँडिरहू, खोजी कार्यमा डटिरहू भन्ने भावलाई म पात्रका हजुरबुबाको गतिशील चरित्रले चरितार्थ गरेको छ।
आफूले विश्वास गरेको आस्था र विश्वासले जीवनको सङ्कटमा आधार प्रदान गर्न नसकेपछि पुस्तौंदेखि पुजिँदै आएको देउताको प्रतिरूपलाई ढुङ्गा मानेर मिल्काएपछि उसको जीवनमा आएको आरोहअवरोहसँगै उपन्यासको चरैवेति यात्रा अघि बढेको छ।
यसै क्रममा तराई बसाइँ सरेको, परिबन्दले बाँध्दै लगेपछि इसाई बनेको, सामाजिक एवम् प्रशासनिक प्रतिकूलताका कारण विषय परिस्थिति सिर्जना भएको, बाइबल ग्रन्थप्रतिको आस्थाकै कारण पढ्न सिकेको र बाइबल पढ्दै जाँदा धेरै विरोधाभासहरू फेला पारेका कारण पुनः उसको जीवनमा आस्था र विश्वासमाथि सङ्कट पैदा भएका सन्दर्भसँगै उपन्यास अघि बढेको छ।
उपन्यासकारले यसलाई बाइबलको भौतिकतावादी पठन भनेका छन्। एक प्रकारले यो बाइबलको पुनर्पठन हो, आधुनिक वैज्ञानिक दृष्टिबाट प्राचीन समयको धर्मग्रन्थको विपठन पनि हो।
यस क्रममा नेपाली उपन्यासमा अधिआख्यान शीर्षकमा विद्यावारिधि गरेका उपन्यासकारको भाषा केही शोधपरक एवम् वस्तुगत भए पनि आख्यानका अन्य भावपरक सन्दर्भले पाठकको हृदय पगाल्ने सामथ्र्य राख्छ।
एउटा सामान्यभन्दा सामान्य मानिसले मानिस भएर समाजमा बाँच्ने क्रममा कस्तो नियति भोग्न पुग्छ भन्ने सन्दर्भलाई निकै मार्मिक ढङ्गले अभिव्यक्त गरिएको छ। एउटा बाबुले आफ्ना मुटुका टुक्रा छोरीहरूलाई छोटो समयमा नै क्रमशः गुमाउनु पर्दाको दुःख, पीडा र विवशताको प्रस्तुति बडो मार्मिक एवम् सजीव रहेको छ।
उपन्यासका ‘आकस्मिकता’ ‘नियतिको नियत’, ‘देउताढुङ्गा’ ‘तराई जहर’ जस्ता उपन्यासका उपशीर्षकहरूले मानिस मानिस नै भएर मानिसकै अस्तित्व जोगाउन सक्छ भन्ने यक्ष प्रश्न हाम्रा सामु राखिदिएको छ। एउटा मानिसलाई अस्तित्व रक्षाका लागि कुनै कुनै आस्थाको सहारा चाहिन्छ र त्यो स्वाभाविक पनि हो।
जब उपन्यासको मुख्य पात्रले छोरीलाई बचाउन सक्दैन, तब ऊ देउतालाई ढुङ्गा अर्थात् निर्जीव वस्तु मात्र देख्न थाल्छ। यसरी उपन्यासले मानिस अदृश्य शक्तिको आडमा आफ्ना मानेकाहरूको अस्तित्व जोगाउन सक्दैन, त्यो बेला व्यक्ति अदृश्य शक्तिको अगाडि निरीह बन्छ र आफूले आस्था गरेको देउतामाथि प्रश्न गर्छ या यसको विकल्प खोज्ने चेष्टा गर्छ भन्ने भावलाई कथानकीय शिल्पमा कुशलतापूर्वक बाँधिएको छ।
त्यस्तै दिदीभाइको मायाको विषय पनि निकै मार्मिक तवरले उपन्यासले झल्काएको छ। दिदी एउटा भाइका लागि दिदी मात्र नभएर एउटा असल अभिभावक रहेको भाव उपन्यासमा सजीव तवरले उठान गरिएको छ।
उपन्यासको न्यारेटरले दिदीको मृत्यु हुँदाको क्षण निकै घत लाग्ने तवरले पस्किएको छ, ‘उनको बिदासँगै मेरा थुप्रै कुराहरू बिदा भए–मेरो खेल्ने साथी बिदा भयो, मेरो सानो अभिभावक बिदा भयो, जसले मेरो गल्तीमा आफ्नो पिठ्युँ थापिदिन्थ्यो, दिनभरिको मेरो संसार नै बिदा भयो।’ यस्ता प्रसङ्गहरूले पाठकको हृदयतलमा राम्रै असर पार्छ।
यसमा धर्मको नाममा सामान्य मानिसहरूलाई फकाउने र फसाउने प्रसङ्गलाई रचनात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ। यस क्रममा कति जना सम्बन्धित धर्म र त्यसका ग्रन्थहरू पढेर बुझेर त्यसमा लागेका होला भने कति पढ्दै नपढी पनि सतही रूपमा बगेका छन्।
उपन्यासको मुख्य पात्रले एक प्रसङ्गमा भन्छ, ‘ठुले राईलाई बाइबलको ज्ञान थिएन भन्ने कुरा मलाई राम्रोसँग थाहा भयो। म उसले बाइबल पढ्न पाएको थियो न त्यसको ज्ञान भएको कुनै मान्छेसँग सङ्गत गर्नु। त्यस्तो अवस्थामा उसले बाइबलको ज्ञान पनि कसरी प्राप्त गर्न सकोस्। विचरा ठुले राई। आफ्नै काल्पनिक कथाको भ¥याङ चढेर परमेश्वरको समीप जाने मिथ्या प्रयास गरिरहेको थियो।’
ठुले राईले अपनाएको धर्मप्रचारको शैली नेपाली समाजमा इसाई धर्मको प्रचार गर्ने केही सतही व्यक्तिहरूको प्रचार शैलीसँग मेल खान्छ। यसले दुवै पक्षलाई राम्रो भएको छैन। यसर्थ मानिसको धार्मिक आस्था र विश्वासमा नवीन चिन्तन आवश्यक छ भन्ने भाव पनि उपन्यासले दिन खोजेका छ।
अङ्ग्रेजी साहित्यमा बाइबलका विभिन्न प्रसङ्ग र भावलाई आधार बनाएर धेरै कविता–काव्य एवम् आख्यानहरूको रचना भएको पाइन्छ। उनीहरूको परम्परा र आस्थामा आधारित रहेकाले त्यस्ता रचनाहरूको सिर्जन परम्परा धेरै लामो रहेको छ।
नेपाली साहित्यमा पनि पूर्वीय धर्म, संस्कृति, पुराण र विश्वासमा आधारित धेरै रचनाहरू हुने गरेका छन् तर यसरी पश्चिमी जगत्मा विकसित धर्मका विषयमाथि लेखिएको यो सम्भवतः पहिलो उपन्यास हुन सक्छ।
नेपाली साहित्यमा कृष्ण धराबासीको राधा, नीलम कार्की निहारिकाको चीरहरण जस्ता उपन्यासले पूर्वीय ग्रन्थ र विश्वासको विनिर्माण गरेको छ भने यस चरैवेति उपन्यासले पाश्चात्य इसाई धर्मको विश्वासमाथि प्रश्न गरेको छ।
एकातिर हरेक जातजातिले आआफ्नै भाषा, संस्कृति र परम्पराको खोजी गर्नुपर्छ भन्ने विचार जबर्जस्त विकास भइरहेको छ भने अर्कातिर नेपालमा फैलिरहेको धर्मपरिवर्तनको अस्वाभाविक प्रक्रियाले त्यस्ता आदिवासी जनजातिहरूको परम्परागत अस्तित्वलाई नष्ट गरिरहेको छ। यस सन्दर्भमा प्रस्तुत उपन्यासले उठान गरेको विषय सान्दर्भिक पनि रहेको छ।
समग्रमा उपन्यासको भाषाशैली निकै मौलिक र भावुकता झल्काउने खालको छ तर धर्मको जस्तो संवेदनशील विषयलाई वास्तविकतासँग जोड्न अन्य थुप्रै धर्म सम्प्रदाय तथा समाजका अभ्यासहरू केलाउन आवश्यक हुन्छ तर चरैवेति कुल देवता र बाइबलको विषयमा मात्रै बढी केन्द्रित देखिन्छ।
अन्त्यमा, चरैवेति मानिसको अस्तित्वको खोजीमा आउने अनेकन् समस्याहरूको मन्थन र मानवीय अस्तित्वलाई जोगाइराख्न मानवीय आस्थाको नवीन परिभाषाको खोजीका लागि आह्वान गर्छ। चरैवेति नेपाली आस्था, नेपाली समाज र नेपाली परिवारहरूको परिवर्तनप्रतिको एक नवीन चिन्तनको आयाम मान्न सकिन्छ।
प्रकाशित: ८ वैशाख २०८१ ०७:३४ शनिबार