२४ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

‘म त लालीगुराँस भएछु’

यकिन मिति ठ्याक्कै बिर्सिएँ, एक दिन क्षेत्रप्रताप अधिकारीको नामबाट मलाई एउटा बन्द खाम प्राप्त भयो। खोलेर हेरें, उनीद्वारा लिखित कुनै किताब थियो त्यसभित्र।

म सम्झन्छु, त्यो कवितासङ्ग्रह थियो तर के नामको थियो कुन्नि! अहिले हेक्का रहेन। खामभित्रै एउटा अर्को कागज पनि पट्याएर राखिएको रहेछ। खोलेर हेरें, मेरो नाममा सम्बोधित एउटा छोटो चिठी थियो त्यो। त्यसमा यस्तो बेहोराको सानो छोटो वाक्य लेखिएको थियो– ‘तपाईंले किताब खोलिदिनुभएपछि अब यसको विमोचन भयो।’

मलाईजस्तै उनले धेरैलाई यसरी नै खामबन्दी किताबका साथ अनुरोधपत्र पठाएका रहेछन्। यसको अर्थ जसको हातमा त्यो किताब पुग्थ्यो, त्यसको विमोचन, लोकार्पण वा सार्वजनिकीकरण भएको ठहरिन्थ्यो। कुनै तडकभडकबिना बिल्कुलै नौलो तरिकाको यो विमोचन–काइदा मलाई बडो रमाइलो लाग्यो।

                                        ०००

नयाँ बानेश्वरस्थित उनको कलेजमा उनलाई भेट्न यदाकदा गइरहन्थें म। भेटघाटको क्रममा त्यतिबेला उनी आफूले लेखेका नयाँ गीत वाचन गर्ने गर्थे, बडो डुबेर। मलाई अत्यन्त आकर्षक लाग्थ्यो उनको प्रस्तुति। विशेषतः प्रकृतिसँग उनी अत्यन्त मोहित थिए। यसैकारण होला, उनी प्रत्येक सिर्जनामा प्रायः फूलका कुरा लेख्थे। सुन्दर तरिकाले फूलको वर्णन गर्थे।

एउटा गीतले त नेपाली सङ्गीतको क्षेत्रमा यति ख्याति कमायो कि एक जमानामा प्रत्येक नेपालीका मुखमा त्यो गीत झुन्डिएको पाइन्थ्यो। स्मरणीय छ-‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फलिदिन्छु...’ बोलको गीत स्वरसम्राट नारायण गोपालको आवाजमा सजिएको छ।

उनी प्रखर राष्ट्रप्रेमी थिए, राष्ट्रका पूजारी थिए। यो उनको दोस्रो व्यक्तित्व हो। जतिसुकै बेला पनि उनी राष्ट्रकै गीत गुनगुनाइरहन्थे। प्रत्येक कवितामा देशभित्रको बेथिति, विकृति-विसङ्गतिप्रति औंला ठड्याउँथे। सुदूर क्षेत्रको गरिबीप्रति उनी सदैव चिन्तित रहेका देखिन्थे।

‘कर्णालीको कर्णबहादुर

कन्दमूल खाएर छाक टारिरहेछ

महाकालीको मानबहादुर

सिस्नु टिपेर भोक टारिरहेछ

यस्तो अनिकालको चपेटामा पनि

तिमीले त चुनाव जित्यौ

तर देश हारिरहेछ...’

पहाडी भेगबाट राजधानी पसेर साझाबसमा खलासीको जागिर सुरु गर्ने सामान्य एउटा केटो पछि गएर शिक्षामन्त्रीसम्म हुन पुग्नु चानचुने कुरो होइन। उनको व्यक्तित्व हेर्दा उपन्यासको कुनै आदर्श पात्र झैं लाग्छ।

दुई-तीन पटकका उनीसँगको मेरो भेट अविस्मरणीय छन्।

‘शारदा’का लागि उनको एउटा सिर्जना लिन उनीकहाँ पुगें म। उनको स्वभाव अनुसार उनले मलाई बडो हावभावपूर्ण तवरले एउटा नयाँ गीत सुनाए। शारदाको पहिलो अङ्कमा उनको सिर्जना छापेर, पारिश्रमिक समेत लिएर म उनकोमा पुग्दा उनले त्यो लिनु त कहाँ हो कहाँ, एउटा सानो टिपोट गरिएको कागजको टुक्रा दिँदै भने-‘हाम्रो कलेजका बारेमा सानो परिचय छ, शारदाको कुनै कुनामा यसो अटाइदिनु होला!’ र उल्टै मलाई एउटा निश्चित रकम दिई पठाएका थिए।

२०६२/६३ सालको जनआन्दोलनताका मैले एक साथीको सहयोगमा तत्कालीन आन्दोलन समर्थित एउटा साहित्यिक कार्यक्रम गर्ने सोच बनाएँ। जसमुताबिक धरहराको बरन्डालाई हामीले उपयुक्त स्थान चयन गर्‍यौं र मे १ तारिख मजदुर दिवसका दिन धरहराका सिँढी उक्लेका थियौं।

बरन्डामै डा. डिपी भण्डारी, डा. तारानाथ शर्मा, रत्नशम्शेर थापा, द्वारिका श्रेष्ठ, हेम हमाल, तुलसी दिवस, डा. ओमवीर बस्नेत, चित्रकार डा. रामकुमार भौकाजी, पत्रकार युवराज गौतम, जलेश्वरी श्रेष्ठ लगायतका स्रष्टाहरू सहभागी ‘ऐतिहासिक-काव्योद्घोष, शान्ति, अहिंसा र सहिष्णुता : हाम्रो प्रतिबद्धता’ को नारा दिएर छोटो कार्यक्रम सम्पन्न गरियो।

उपस्थित अधिकांशबीच त्यहाँ करिब १० मिनेटजति साहित्यिक सिर्जनाका कुरा भयो। दुर्भाग्यको कुरो, क्षेत्रप्रताप अधिकारी भने उकालो चढ्दा दम बढ्ने कारणले धरोहरा नचढी तलै प्राङ्गणमै बसे। मलाई अहिले पनि सम्झना छ, कति प्रेम गर्थे उनी मसँग! हामी त्यति अग्लो धरोहरा चढेर, कार्यक्रम सकेर तल ओर्लंदासम्म पनि तलै बसिरहेका रहेछन्। त्यहीं नै उनले आफ्नो कविता वाचन गरेका थिए। अन्तमा, जलपानको सानो कार्यक्रम सकेर हामी छुट्टिएका थियौं।

अरूभन्दा ठुलो हुँ भन्ने आडम्बर उनको चरित्रले कहिल्यै देखाएन। आफ्नो त्यो चरित्र उनले धरोहरा कार्यक्रमको त्यो दिन पनि प्रस्तुत गरेर मलाई भावविह्वल बनाएका थिए।

अर्को स्मृति : उनी साझा प्रकाशनमा अध्यक्ष थिए। एक दिन मलाई फोन गरेर उनले आफ्नो चिरपरिचित विनम्र आवाजमा भने-‘ठुलो किताब त होइन, तपाईंका बालकथाहरू पाऊँ न ! म यहाँ भएको बेला तपाईंको एउटा किताब निकालूँ कि!’

मैले नाइँनास्ति गर्नु नै किन थियो र ! उनको अनुरोध स्विकारेर बडो कृतज्ञ हुँदै एउटा बाल कथासङ्ग्रहका लागि आवश्यक कथाहरू लिई म उनको कलेज गएँ। मैले त्यसपछि कुनै किसिमको ताकेता गर्नै परेन। संयोगवश साझा प्रकाशनको त्यो बोर्डमा कवि विनय रावल पनि थिए।

केही दिनपछि रावलजीले मलाई फोनबाट सूचना दिए, ‘तपाईंको बाल कथासङ्ग्रह छापिने भएको छ है। म केही दिनका लागि दार्जिलिङ जाँदै छु। तपाईंलाई यत्ति जानकारी मात्रै दिऊँ भनेर...।’

दुर्भाग्यको कुरा, सम्भवतः पहिलोपटक मसँग बोलेका रावलजी फेरि काठमाडौं फर्केनन्। साहित्यिक कार्यक्रमअन्तर्गत दार्जिलिङ-खर्साङ पुगेका उनी गाडी दुर्घटनामा परेर दिवङ्गत भए।

केही समयपछि मेरो बालकथासङ्ग्रह ‘असिनाभूत’ प्रकाशित भयो। आज सम्झँदा कताकता आत्मग्लानि हुन्छ, मैले क्षेत्रप्रताप र रावलजी दुवैलाई ‘धन्यवाद’सम्म पनि भन्न पाइनँ। रावलजीलाई त भन्ने अवसर सधैंका लागि गुम्यो-गुम्यो, क्षेत्रप्रतापलाई त धन्यवाद भन्ने समय मसँग प्रशस्तै थियो तर पनि खोइ किन हो, भनेनछु। आज समय भड्किसकेपछि पश्चात्ताप गर्नुको के अर्थ ? मनमनै पिरोलिन्छु र उनीद्वारा रचित गीत सम्झन पुग्छु-

‘जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ

सबैभन्दा ठुलो कुरा, मर्न बाँकी छ।’

प्रकाशित: १ वैशाख २०८१ १२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App