२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

अमेरिकाको बाल्टिमोरमा हिन्दु बुद्ध मन्दिर बनाउन नेपालीले गरे २० लाख डलर दान

अमेरिकाको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा आयोजित मेरिल्यान्ड आध्यात्मिक महोत्सव तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा त्यहाँ रहेका नेपालीले झन्डै २० लाख डलर सहयोग (दान) गरेका छन्।

गत मार्च ३० देखि अप्रिल ६ सम्म आयोजना गरिएको उक्त महायज्ञमा वाल्टिमोरका युवा व्यवसायी म्याग्दीका कृष घिमिरे, अम्मर छन्त्याल, जगत घिमिरे, सुदर्शन पौडेल, सबी थापालगायतका ६६ जनाले मन खोलेर सहयोग गरेका छन्। म्याग्देलीले पाँच लाख डलरभन्दा बढी सहयोग गरेको सुदर्शन पौडेलले बताए।

अमेरिकामा रहेका नेपालीमा आध्यात्मिक भाव विकास गर्नुका साथै आफ्नो धर्म, संस्कृति र परम्परासँग आफ्ना सन्ततिलाई परिचित गराउने उद्देश्यले आयोजन गरिएको उक्त महायज्ञमा रोजगार, व्यवसाय, अध्ययन वा विभिन्न प्रयोजनका लागि अमेरिकाको मेरिल्यान्डमा रहेका म्याग्देलीको उपस्थिति थियो।

मेरिल्यान्ड आध्यात्मिक महोत्सव तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा अमेरिकाको बाल्टिमोरमा व्यवसाय गर्दै आएका म्याग्दीको बेनी नगरपालिका २ का कृस घिमिरेले एक लाख ५० हजार डलर सहयोग (दान) गर्ने प्रतीबद्धता जनाएका छन्।

हिन्दु बुद्ध मन्दिरका वरिष्ठ उपाध्यक्षसमेत रहेका घिमिरेले यसअघि पनि उक्त मन्दिरलाई ५० हजार डलर सहयोग गरेकोमा अहिले एक लाख डलर थपेर एक लाख ५० हजार डलर पु¥याएका छन्।

घिमिरे दोस्रो ठूलो रकम दान गर्ने दानवीर बनेका छन्। त्यसैगरी म्याग्देली समूहका जगत घिमिरे र सुदर्शन पौडेललगायतको समूहले पनि महायज्ञमा २ लाख ३० हजार डलर सहयोग (दान) गरेको वाल्टिमोरबाट जगत घिमिरेले बताए।

त्यसैगरी त्यहाँबाट सुदर्शन पौडेलले दिएको जानकारीअनुसार मेरिल्यान्डमा रहेका म्याग्देलीबाट गरी पाँच लाख डलर संकलन भएको छ। यसअघि पनि मन्दिरका लागि कृष घिमिरे, जगत घिमिरे, सुदर्शन पौडेल, कृष्ण केसी, नरेश केसीलगायत म्याग्देली युवाले दुई लाख डलरभन्दा बढी सहयोग गरिसकेका छन्।

म्याग्देली समाजका अध्यक्ष कृष्ण केसीले विदेशी भूमिमा व्यस्त जीवनशैलीका बीच आयोजित महायज्ञ तथा धार्मिक महोत्सव २०८० मा म्याग्देली युवाबाट अभूतपूर्व सहयोग प्राप्त भएको बताए।

म्याग्देली युवाहरु पार्किङ व्यवस्थापन गर्नेदेखि लिएर हरेक दिन सम्पूर्ण कार्यमा स्वयंसेवीको भूमिका निर्वाह गरेर महायज्ञ सफल बनाउन ठूलो सहयोग गरेको समाजसेवी सबी थापाले बताइन्।

त्यसैगरी हिन्दु बुद्ध मन्दिरका अध्यक्ष डा. श्याम कार्कीले १ लाख २१ हजार डलर दानको अतिरिक्त कालान्तरमा १० लाख डलर थप्ने प्रतिबद्धता जनाएका थिए। त्यसैगरी म्याग्दीकै समाजसेवी नरेश केसीले मन्दिर निर्माणका लागि महायज्ञको पहिलो दिन नै ७० हजार डलर चन्दा दिए।

महापुराण एवम् आध्यात्मिक महोत्सवका सञ्चार संयोजक सृजन ताम्राकारका अनुसार महायज्ञको पहिलो दिन (मार्च ३०) ७० हजार डलर, मार्च ३१ मा एक लाख २८ हजार २२३ डलर, अप्रिल १ मा ६०,५७२ अप्रिल २ मा ८५,२८०, अप्रिल ३ मा १,९०,४१८, अप्रिल ४ मा १,३७,४६६, अप्रिल ५ मा ७१५,३८२ तथा अन्तिम दिन ५,५३,५४१ डलर संकलन भएको छ।

महायज्ञमा दीनबन्धु पोखरेलले कथावाचन गरेका थिए। श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको पहिलो दिन दिव्य कलशयात्रासहित विभिन्न समुदाय तथा अमेरिकाको मौलिक इन्डियन अमेरिकीहरुको समेत सामूहिक झाँकी रहेको जनाइएको छ।

प्रकाशित: २६ चैत्र २०८० ०९:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App