१२ असार २०८१ बुधबार
image/svg+xml
कला

‘प्रकृतिको लयात्मक अनुकरण हो सङ्गीत’

सङ्गीतकारहरूले सङ्गीतबाटै प्रकृतिको वर्णन गरेका हुन्छन्। सङ्गीतमा बाजामार्फत प्रकृतिको अनुकरण गरिन्छ। मौसमअनुरूपका गीतसंगीत नै सबैले मन पराउने हो।

हामीले समयअनुसार नै गीत छनोट गर्छौं। एकाबिहानै भक्ति सङ्गीत सुन्छौं, बिहान ढल्केपछि लोक, आधुनिक, पप आदि रुचिअनुसारका गीत सुन्छौं, साँझ फेरि आध्यात्मिक गीत सुन्न रुचाउँछौं। मौसमअनुसार नै नेपाली पर्व मनाइन्छन्।

पर्वगीतको भाका पनि ऋतुअनुसार परिकल्पना गरिएको हुन्छ। जस्तैः दसैं गीत, तिहारमा गाइने देउसी–भैलो, कात्तिक–मंसिरतिर गाइने कर्म गीत आदिमा मौसमी बास्ना हुन्छ। वसन्तको प्रारम्भिक बिन्दु मानिने फागुपूर्णिमामा गाइने गीत आफैमा रङ्गीन हुन्छन्। रङ र माहोलले नै त्यस्तै गीतको अपेक्षा गरेका हुन्छन्।

केही दिनअघि मात्र नर्वेबाट शास्त्रीय सङ्गीत प्रस्तुत गर्ने समूह आएर काठमाडौंमा प्रस्तुति दिएको थियो। उक्त समूहले पियानो, भ्वाइलिनका माध्यमबाट चिसो मौसममा गाउने शास्त्रीय गीत प्रस्तुत गरेको थियो।

पश्चिममा कन्सर्टको आयोजना प्रायः जाडो महिनामा नै गर्ने प्रचलन छ। जाडो समयमा खानपान गरेर हलमा गयो, आनन्द लियो। यो मौसमले मागेको मनोरञ्जन हो। न्युयोर्कमा रहँदा म पनि यस्ता कन्सर्टमा धेरै गएको छु। जापानमा पनि कन्सर्ट गर्ने समय र तरिका यस्तै नै हुन्छ।

पश्चिममा शास्त्रीय सङ्गीत निकै नामुद छ। चार मौसमलाई मिलाएर सङ्गीत बनाउने प्रचलन परापूर्वकालदेखिकै हो। पश्चिममा मौसमी सङ्गीत निकै चल्छ। पूर्वीय वाङ्मयमा पनि शास्त्रीय सङ्गीतको त्यस्तै लामो प्रचलन छ। यता पनि मौसमअनुसार बाजा बजाउने, गीत गाउने प्रचलन धेरै पहिलादेखि चल्दै आएको नै हो।

नेवारी समुदायमा ऋतु र बाजाबिच घनिष्ट सम्बन्ध रहेको पाइन्छ। नेवारी समुदायमा ऋतुअनुसार बाजा बजाएर जात्रा मनाउने चलन छ। वर्षभरिका जात्रा पर्वहरू वसन्त पञ्चमीबाट सुरु हुने मानिन्छ। सङ्गीतमै वसन्त झल्किन्छ।

पूर्वीय सङ्गीतमा दीपक, बहार, बागेश्री, ललित, भैरव, वृन्दावनी, वसन्त, भूपाली आदि विभिन्न राग छन्। यी रागमा निस्कने धुनले समय, ऋतु तथा अवस्थाको नै प्रस्तुति गर्ने हुन्। ती राग, स्केल, उच्च, मध्यम उठान आदिको उद्देश्य नै मौसम, समय, तापक्रमअनुरूप मान्छेको मन संगीतमा आकर्षण गर्नु हो।

फरक रागले फरक मौसमलाई प्रस्तुत गरेको अनुभूत हुन्छ। वसन्तमा कोइली कराएको, हावाहुरी आएको, फूलहरू फुलेका, वर्षा ऋतुमा पानी परेको, खोलानाला बगेकाजस्ता ऋतुगत अनुभूति बाजाका माध्यमबाट गराउने प्रयास गरिन्छ। प्रकृतिको लयात्मक अनुकरण हो सङ्गीत। आजकल भने यस्ता शास्त्रीय गीत अत्यन्त कम सुन्न पाइन्छ।  

प्रकाशित: २४ चैत्र २०८० १०:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App