८ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

मनको क्यानभासमा वयस्क वसन्त

साैन्दर्य

‘तिमी फूलहरू च्यात्न सक्छौ तर वसन्तलाई रोक्न सक्दैनौं’ कवि पाब्लो नेरुदाको कवितांश हो यो। हुन पनि समय रोकिँदैन। हिजोजस्तो आज छैन, आजजस्तै भोलि हुँदैन। फूलमय हेमन्त चिरेर सिरेठोमय शिशिर आयो। शिशिरको कठ्यांग्रिदो समयलाई चिरेर आज समय फेरि फूलमय पछ्यौरी ओढेर हाँस्दैछ। भोलि आजको वासन्तिक मौसम रहँदैन, गृष्मको पदार्पण हुन्छ, त्यसलगत्तै वर्षाको सिञ्चन हुन्छ।

प्रकृति यतिबेला फूलमय छ। डाँडापाखा लालीम्मे छन्, घरकरेसा रङ्गीन छन्। तराईका पाखाभरि आँप फुलेको छ, फाँटभरि तोरी फुलेको छ। तराईभन्दा अलिक माथि पखेराको फेदभरि पैड्ढयुँ फुलेको छ। पहाडभरि लालीगुराँस फुलेको छ। हिमालका फेदभरि स्याउ फुलेको छ। अर्थात् फुल्ने अधिकांश वनस्पति देशभरि कहीं न कहीं फुलेका छन्।

भनिन्छ, अरू अरू बेला कहिल्यै नफुल्ने फूल वसन्तमा फुल्छ। अरू बेला नबसाउने फूल वसन्तमा बसाउँछ। अरू बेला कहिल्यै नबोल्ने कोइली वसन्तमा गीत गाउँदै बोल्छ। अरू बेला अस्वीकृत प्रेम वसन्तमा स्वीकृत हुन्छ। यो सबै ऋतुराज वसन्तकै कमाल हो। पाखाभरि ढकमक्क फुलेको लालीगुराँस, मनै फुलाउनेगरी फुलेको आरु, फाँटभरि मगमग बासना छर्दै फुलेको आँप, हाँगाभरि प्रतिस्पर्धा गर्दै फुलेको कोइरालो, चौरभरि सेताम्मे फुलेको आलुबखडा, मन्दिरलाई सुशोभित पार्नेगरी आनन्दले फुलेको मेल, बगैंचाभरि मुस्कुराएको मौसमी, घरआँगनमा मगमगाउने इन्द्रकमल। वसन्त र फूल पर्याय हुन्, वसन्तमय फूल अनि फूलमय वसन्त।

हाम्रो देशको सन्दर्भमा वसन्त लालीगुराँसमय हुन्छ। हुन पनि हाम्रा पहाडी जंगलमा फुलेका लालीगुराँस हेर्दा दिव्य अनुभूति हुन्छ। सबै जंगलले गुराँसैगुराँसको पछ्यौरी ओढेजस्ता, ओठमा लाली लगाएर सबै रुख मुसुमुसु हाँसेजस्ता। गुराँस नेपालको राष्ट्रिय फूल हो, त्यसैले यसप्रति समग्र नेपालीको भावनात्मक प्रेम र सम्मान छ।

लालीगुराँस हेर्नमा जति राम्रो छ, उत्तिकै गुणकारी पनि छ। आयुर्वेदिक औषधीहरूमा गुराँसको प्रयोग हुँदै आएको पाइन्छ। रातो रङको गुराँस पोषक तत्त्वले भरिपूर्ण मानिन्छ भने गुराँसको जुस कलेजो, मृगौलाजस्ता समस्यामा उपयोगी हुन्छ। अध्ययनले गुराँसको जुस हड्डीको दुखाइ, उच्च रक्तचापजस्ता समस्यामा समेत लाभदायक हुन्छ भन्ने देखाएको छ। गुराँसको फूल घरको मूल ढोकामा सजाउँदा घरमा नकारात्मक ऊर्जा भित्रिँदैन भन्ने मान्यता छ।

यस्तै फूल देखेर कवि माधवप्रसाद घिमिरेले मन्दाक्रान्ता छन्दमा सुन्दर कविता लेखेका होलान्-वैशाख।

‘लाऊँ कानैतिर भनि टिपिन गुर्सिनीले गुराँस

नेवार्निले मधुसुमनले जेल्दिइन् केशपाश।

भोटेनीले मगमग बुकीफूल बाँधिन तुनामा

क्वैली बोल्यो वनवन नयाँ प्रीतिको सम्झनामा।’

०००

‘आई कैल्यै पनि नसकिने चैत वैशाख मेरा

लाई कैल्यै पनि नसकिने प्रीति नौलाख मेरा।’  

वसन्त ऋतुका सीमा खोतलिएका सिर्जना खासै भेटिँदैनन्, प्रायः शक्ति नै औंल्याइएका लेखरचना पढ्नसुन्न पाइन्छ। यसबाट स्पष्ट हुन्छ कि वसन्त अर्थात् फूलमय प्राकृतिक सौन्दर्यले सबैलाई पगाल्छ कवि–पाठक, साधक–भावक, गायक–श्रोता, शासक–शासित सबैलाई।

स्वच्छन्दतावादी कवि लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, माधवप्रसाद घिमिरेलाई त वसन्तले पगालेकै हो, शास्त्रीय कवि लेखनाथ पौड्याललाई समेत वसन्तले पगालिछाड्यो र जन्म्यो कविता-‘वसन्त कोकिल’।  

‘न शीत बाधा, न त घामको डर

न बाग नङ्गा, न त वृष्टिको पिर

वसन्तका गौरवले गरीकन

खुसी छ साह्रै कलकण्ठको मन।’

सिद्धिचरण श्रेष्ठ शालीन शैलीमा प्रकृतिचित्रण गर्ने स्वच्छन्दतावादी कवि हुन्। प्रकृतिको लालित्य वर्णनमा उनका कविता विशेष मानिन्छन्। स्वच्छन्दतावाद मनबाट सिजिर्ने साहित्यधारा हो। प्रकृतिले मनलाई चस्स छुन्छ। अझै फूलले मान्छेको मनै अपहरण गर्छ। त्यसैले त होला मान्छेले फूलबुट्टा भएको पहिरन रुचाउँछ, केश सजाउन फूल सिउरिन्छ, ओठ लालुपाते बनाउँछ। प्रकृतिप्रेमी कवि श्रेष्ठको ‘वसन्त’ कविता त्यस्तै प्राकृतिक माधुर्य छर्ने कविता हो:

समस्त माधुर्य लिएर साथमा

छरेर सौन्दर्य विशाल विश्वमा

वसन्त मेरो हितमा निमग्न भो

अहो! छ कस्तो रस–रागयुक्त यो।

प्रकृति विषयमा पनि वसन्त, फूल, पाखापखेराजस्ता बिम्ब राखेर धेरै कविले कैयौं कविता लेखेका छन्। कविता मात्र नभएर साहित्यका नाटक, आख्यान, निबन्धमा पनि प्रकृति चित्रण मुख्य विषय बनेर आएका छन्। धेरै साहित्यकारका कृतिको नामले समेत प्रकृति र साहित्यको सम्मोहनलाई दर्शाएका छन्।

 

लेखनाथ पौड्यालको ‘ऋतु विचार’, लक्ष्मीप्रसाद देवकोटाका ‘कुञ्जिनी’, ‘वसन्त’, ‘मैना’, ‘वनकुसुम’, सिद्धिचरण श्रेष्ठको ‘कोपिला’, आनन्ददेव भट्टको ‘गुराँस’, माधवप्रसाद घिमिरेका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘चैत वैशाख’, ‘ऋतम्भरा’, मदनमणि दीक्षितको ‘माधवी’ कृतिमा फूल अर्थात् वसन्तप्रेरित शीर्षक राखिएको छ।

त्यसैगरी डायमनशमशेर राणाको ‘वसन्ती’, ईश्वर बरालको ‘सयपत्री’, ईश्वर वल्लभको ‘आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन्’, कृष्णप्रसाद पराजुलीको ‘सय थुँगा फूल’, पारिजातको ‘शिरीषको फूल’, वासुदेव त्रिपाठीको ‘नवपल्लव’, मुकुन्दशरण उपाध्यायको ‘प्राकृत पोखरा’ आदि वसन्तसम्बद्ध शीर्षक राखिएका साहित्यिक कृति हुन्।

 

भनिन्छ-प्रकृतिमा नपग्लने मान्छे कहिल्यै कवि हुन सक्दैन। कवि हुन मनमा प्रकृतिको बिउ रोपिनै पर्छ। सुरुमा सबै कविले वसन्त ओढ्छन् र केशमा फूल सिउरिन्छन्। वसन्त र फूल नै कविका सिर्जनात्मक बिउ बन्छन्। हुन पनि चर्चा पाएका धेरै कविको कवितात्मक यात्रामा प्राकृतिक सुन्दरता र वसन्तबारे कुनै न कुनै कविता लेखिएकै छन्।

कवि भूपी शेरचनको ‘वसन्त’ शीर्षकको कविताको अंश:

‘वसन्त यहाँ किन आउँछ विदेशी पाहुनाझैं

यो कस्तो औपचारिकता

किन आउँदैन ऊ त्यसरी

जसरी युवावस्थामा जुँगारेखी आउँछ?

या हर्षमा मुस्कान

आफै, अनायास र अनजान,

उफ् यो कस्तो वसन्त हो!’

कवि विमल निभाको वसन्त शीर्षकको कविताको अंश:

‘यहाँ

यस प्रकारको बगैंचामा

एक्लो, उदास र चुपचाप

तिमी कुन मौसमको

प्रतीक्षा गरिरहेछौ कवि?

वसन्तलाई त

छापा मारेर

हिजो राति नै

यहाँ गिरफ्तार गरिसकिएको छ।’

कवि कुन्ता शर्माको ‘यहाँ वसन्त आउन लागेको छ’ कविताको अंश:

‘झर्दैछन् पहेंला पातहरू सुस्तरी सुस्तरी

अब उल्लासले मुरली बजाउन लागेको छ  

घाइते हुँदाहुँदै पनि मन पक्षी

प्वाँख फटफटाउन लागेको छ

शिथिल मन बिस्तारै चिरबिराउन लागेको छ

अहा ! यहाँ वसन्त आउन लागेको छ।’

०००

नेपाली गीतसङ्गीतमा समेत वसन्त ऋतुले सदैव विशेष स्थान पाएकै छ। किरण खरेलको शब्द र आशा भोस्लेको स्वरमा सुसज्जित कालजयी गीत:

‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर,  

यो हो मेरो प्राणभन्दा प्यारो माइती घर...’

यस गीतमा एउटी विवाहित महिलाका लागि माइती घर कति प्यारो हुन्छ भन्ने भाव व्यक्त गरिएको छ। माइती घर, त्यसैमाथि पाखाभरि वसन्त फुलेको मौसम। के चाहियो र ती चेलीलाई। माइती घरलाई अझै प्यारो बनाउँछ वसन्तले।

राजेन्द्र थापाको शब्द र अरूण थापाको आवाजमा जनमनमा सदाबहार झङ्कृत भइरहने गीत हो-

‘ऋतुहरूमा तिमी हरियाली वसन्त हौ,  

नदीहरूमा तिमी पवित्र गंगा हौ...,  

फूलहरूमा तिमी कोमल गुलाब हौ,  

नदीहरूमा तिमी पवित्र गंगा हौ...’

अरूण थापा जीवनको अस्तव्यस्तताबिच सशक्त गायन भएका गायक हुन्। जीवन अस्तव्यस्त होस्, सशक्त गायकको कमाइ गलत ठाउँमा लगानी भएको होस्, दुःखैदुःखमा जीवन बितेको होस्, त्यो पाटो एकातिर छ तर उनको मनलाई बाध्ने, अरूणको गायकी बुझाउने गीत हो ‘ऋतुहरूमा तिमी’। यसमा मायालु र वसन्तबिचको तादात्म्य मनमोहक छ। करिब तीन दशक पुरानो यो गीत अहिले पनि जनजिब्रोमा उत्तिकै प्रिय छ। यो गीत बिबिसी वल्र्ड सर्भिसले सन् २००३ मा गरेको सर्वेक्षणमा विश्वमै उत्कृष्ट दशभित्र परेको थियो।

‘म त लालीगुराँस भएछु

वनैभरि फुलिदिन्छु

मनैभरि फुलिदिन्छु

फाँटहरूले कसलाई पुग्छ, भिरमा पनि फुलिदिन्छु

खुसी मात्र कहाँ हुन्छ, पिरमा पनि फुलिदिन्छु’

स्वरसम्राट नारायण गोपालले गाएको यस गीतमा मान्छेमा फूलको प्रभावलाई सुन्दर ढंगले देखाइएको छ। नेपालको राष्ट्रिय फूल लालीगुराँस अहिले समग्र पहाडलाई नै रङ्ग्याउनेगरी पाखाभरि फुलेको छ। गुराँस वसन्त ऋतुमा फुल्ने सुन्दर एवम् लाभदायक फूल हो। वसन्तमा पर्यटकलाई लोभ्याउने मुख्य आकर्षण बनेको छ लालीगुराँस। हुन पनि पाखाभरि राताम्मे फुलेका लालीगुराँसले वसन्तमा देशलाई नै बैंशालु बनाउँछ। गीतकार क्षेत्रप्रताप अधिकारीले यस गीतमा यही वासन्तिक उमङ्ग पोखेका छन्।

 

‘यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो, मगमग चल्यो वासना’ प्रेमध्वज प्रधानको स्वरमा रहेको यो कालजयी गीतले इन्द्रकमल फूलको वासना र सौन्दर्यको महिमा झन् बढाएको छ। वसन्तमा फुल्ने इन्द्रकमलमा मायालुलाई आकर्षित पार्नसक्ने शक्ति हुन्छ भन्ने आशय गीतमा प्रस्तुत छ।

शुभबहादुर सुनामका शब्द र तारादेवीको स्वरमा रहेको अर्को गीत: 

‘फूलैफूलको मौसम तिमीलाई,  

ताराजूनको रमझम तिमीलाई,  

मेरो माया हरदम तिमीलाई’  

प्रेमीलाई मायालुले फूलै फूलको मौसम उपहारस्वरूप दिने भाव यस गीतमा रहेको छ। फूलैफूलको मौसम हो वसन्त। वसन्तमा ताराजूनसँगै परिपूर्ण माया उपहार दिँदा फुलेको समर्पण भाव गीतमा प्रस्तुत छ। गीतमा मायालुलाई उपहार दिनका लागि सुन्दर मौसम, ताराजून र फूल रोजिएको प्रेमिल भाव प्रस्तुत छ।

वसन्त रसिक मौसम हो। नाङ्गा रुखमा पालुवा पलाउन, पालुवामा रङ्गीन फूल फुलाउन प्रेम अनि सम्भोगको जरुरत पर्छ। वसन्त पृथ्वीमाता रसिक बन्ने मौसम हो। पृथ्वीमाता रसिक भएपछि धरणीसन्ततिमा नवीन उत्साह थपिइहाल्छ।  

राममान तृषितको रचना, नातिकाजीको स्वरमा रहेको कालजयी गीत छ ‘ए फूल ए वसन्त’। स्थायी नै ‘ए फूल ए वसन्त’ रहेको यस गीत प्रकृतिप्राण भएको कालजयी प्राकृत गीत हो।  

‘ए फूल ए वसन्त यसरी न पिछा गर्नु

फुर्सद त दिनु फलभर रोएर सुखी बन्न

ए फूल ए वसन्त’

चलचित्र माया नमारको गीत ‘सुसेलीले वसन्तलाई डाकूँ डाकूँजस्तो, फूलसँगै अटुट नाता राखूँ राखूँजस्तो’मा अभिव्यक्त वसन्त ऋतुको शक्ति सुन्दर तरिकाले देखाइएको छ।

सन् १९९६ मा स्थापना भएको ‘मुक्ति एन्ड रिभाइबल’ ब्यान्डको गीत ‘वसन्त उदायो’ युवापुस्तामाझ लोकप्रिय छ। गायक मुक्ति शाक्यको स्वरमा रहेको यस गीतमा रक शैलीमा वसन्त र प्रेमबिचको अन्तरसम्बन्धलाई देखाइएको छ।

‘वसन्त उदायो यो धर्तीभरि, जून र तारा पनि लाजले लुक्यो। तिमीलाई नै देखेर, तिमीलाई नै सम्झेर, तिमीलाई नै देखेर हो कि जस्तो लाग्छ...।’ जीवनमा ‘जूनतारा’ बिम्बभन्दा ‘वसन्त’ बिम्ब सर्वप्रिय रहेको सन्दर्भ गीतमा आएको छ।

गीतसंगीतमा वसन्त ब्यक्तिएका उदाहरण कैयौं छन्। यहाँ एकादुई प्रतिनिधि दृष्टान्त मात्र दिइएको हो।

०००

प्रकृतिसँगको मान्छेको सम्बन्ध अद्भुत छ। मान्छेको मनलाई सबैभन्दा छिटो पगाल्ने चिज हो प्रकृति। मनलाई तरल बनाएर प्रकृति यसरी मनभित्र घोलिन्छ कि प्रकृति र मनको स्पर्श जीवनभर छुट्टिँदैन। मान्छे उत्सव मनाउन प्रकृतिछेउ जान्छ, मान्छे वनभोज खान प्रकृतिकै काखमा पुग्छ, मान्छे यात्रा गर्दा प्रकृतिलाई नै रोज्छ, मान्छेले प्रकृतिका टुसामुनाहरू नै खान मन पराउँछ। अर्थात् मान्छे र प्रकृतिबिचको सम्बन्धको ताँदो अजम्बरी छ।

वसन्त प्रेमभाव पोख्ने ऋतु पनि हो। रङ्गीन प्रकृतिले मनलाई पनि रङ्गीन बनाउँछ। पौराणिक उपाख्यानको अध्ययन गर्दा समेत वसन्तमै प्रेमप्रस्ताव, प्रेमक्रीडा भएको सन्दर्भ ठाउँठाउँमा आउँछ। वसन्त ऋतुमा पञ्चतत्त्व (पृथ्वी, वायु, जल, आकाश र अग्नि)ले आफ्नो उग्र रूप छोडेर सुन्दर रूपमा प्रकट हुने कुरा पूर्वीय पौराणिक ग्रन्थहरूमा चर्चा भएको पाइन्छ।

वसन्तमा आकाश स्वच्छ हुन्छ, वायु सुहाउँदो हुन्छ, सूर्यको ताप ठिक्कको हुन्छ, जल सुखदायक हुन्छ अर्थात् पृथ्वीमा सुखद सन्तुलन रहन्छ। प्राचीन कालमा कसैप्रति आफ्नो प्रेम र आकर्षणबारे भाव व्यक्त गर्नका लागि यो ऋतुअनुकूल मानिन्थ्यो। राजमहल र राजकीय रेखदेखमा नगरहरूमा रमाइलो गरिन्थ्यो। आफ्नो प्रेमभाव सम्बन्धित व्यक्तिसामु व्यक्त गरेर उत्सव मनाइन्थ्यो।

पहिला वसन्तलाई स्वागत गर्न माघ महिनामा ठुलो उत्सव मनाउने गरिन्थ्यो। यस उत्सवमा विष्णु र कामदेवको पूजा हुन्थ्यो। कामदेवको मन्दिरमा स्त्रीपुरुष मिलेर अबिर, फूल लगाएर गीत गाउँदै नृत्य गर्थे। हिजोआज यसै प्रकृतिको उत्सव होलीमा मनाइन्छ। होली त्यही माघे उत्सवको परिवर्तित स्वरूप पनि हुन सक्छ।

प्रकृतिले मान्छेलाई मात्र कहाँ लोभ्याउँछ र? साना साना कीटपतङ्गदेखि ठुला ठुला जीवजन्तुलाई समेत मोहित पारिदिन्छ। वर्षभरि मौन व्रत बसेको कोइली वसन्तमा सुमधुर गीत गाउँदै मौनता तोड्छ।

वसन्तको आगमनसँगै ‘कुहुकुहु’, ‘काफल पाक्यो’ जस्ता सुमधुर सांगीतिक आवाज वनभरि सुनिन्छन्। वसन्तमा गाउने यी गायक चराहरूले यति शालीन र सभ्य तवरले गीत प्रस्तुत गर्छन् कि अभद्र प्रस्तुतिले सुन्दर प्रकृतिको लय भङ्ग हुन सक्छ भन्ने कुरामा ती शिष्ट पन्छी सचेत हुन्छन्।

हामीसँग यति सुन्दर प्रकृति छ। मान्छेलगायत समस्त जीवजन्तु जब प्रकृतिबाट टाढिन्छन्, अनेक समस्या उत्पन्न हुन्छन्। प्राकृतिक हावापानी, प्राकृतिक बानीव्यवहार, प्राकृतिक सम्बन्ध, प्राकृतिक खानपान, प्राकृतिक पहिरन, प्राकृतिक सङ्गत, प्राकृतिक बसोबास। यी हुन् सर्वप्रिय चिज। हाम्रो सोचविचार, खानपान, आनीबानी, सम्बन्ध, बसोबास, पहिरन, सङ्गत सबै प्राकृतिक बनाऔं। सुन्दर प्रकृतिलाई हेरेर मजा लिने मात्र होइन, हामी पनि प्रकृतिजस्तै सुन्दर बनौं।

प्रकाशित: २४ चैत्र २०८० ०९:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App