११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

किताबको गातामा मान्छेको छाला!

यस्ताे पनि!

फाइल तस्वीर

दुर्लभ पुस्तकमध्ये एक मानिएको ‘डेस्टिनिज अफ द सोल’ अरूभन्दा पृथक् छ। १९ औँ शताब्दीमा लेखिएको र हार्भर्ड विश्वविद्यालयले प्रकाशित गरेको पुस्तकको विशेषता भन्नु नै यसको आवरण हो। आवरणको गाता छालाले मोरिएको छ। यो छाला कुनै जनावरको होइन। मान्छेको हो। विश्वविद्यालयले मान्छेको छालाले मोरिएको सो पुस्तकको गाता हटाउने निर्णय गरेको छ। नैतिक रूपमा भयावह प्रकृतिको भएकाले गाता हटाउने निर्णय भएको विश्वविद्यालयले जनाएको हो।

त्यो बेला किताबको मूल्य बढाउन यस्तो गरिएको भए पनि त्यसलाई कायम राखिरहन जरूरी नभएको भन्दै छाला हटाउने निर्णय गरिएको बताइएको छ। विश्वविद्यालयको हगटन लाइब्रेरीमा यो पुस्तक सन् १९३० को दशकदेखि थियो। सन् २०१४ मा गरिएको एउटा परीक्षणले यो मान्छेको छाला भएको प्रमाणित भएयता पुस्तकालयलाई सो छाला हटाउन दबाब पर्दै आएको थियो।

यो पुस्तक फ्रान्सेली लेखक आर्सेन हाउसेले लेखेका हुन्। मान्छेको मृत्युपछि आत्माको अवस्था के हुन्छ भन्ने चिन्तन यस पुस्तकमा गरिएको छ। त्यसो त पुस्तक निस्कदै यसको गातामा मान्छेको छाला मोरिएको होइन। पुस्तकको पहिलो प्रति आफ्नो हातमा परेपछि फ्रान्सेली चिकित्सक लुडभिक बउल्यान्डले मृतव्यक्तिको छालाले यसलाई मोरेका हुन्।

हार्भर्डका अनुसार चिकित्सक बउल्यान्ड कुनै मृत महिलाको छाला प्रयोग गरेका हुन्। ती महिलाका परिवारसँग उनले कुनै सल्लाह नै नगरी प्रयोग गरेका थिए। पुस्तकालयका आर्काइभिस्ट टम हाइरी भन्छन्, ‘जब हामीलाई यस्तो कुरा थाहा भयो, हामीलाई एक किसिमको नैतिक दबाब भयो। हामीले निकै लामो छलफलपछि यो पुस्तक हटाउने निर्णय गरेका हौँ।’

कुनै पुस्तकमा मान्छेको छाला मोर्ने काम वा कलालाई एन्ड्रथोपोडर्मिक बिब्लियोपेजी भनिन्छ। यो सन् १९०० सम्म निकै लोकप्रिय थियो।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: १८ चैत्र २०८० ०७:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App