१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

बगेडी

लघुकथा

“नेपालमा बगेडी चराका पन्ध्र प्रजाति पाइन्छन्। तीमध्ये बाह्र प्रजातिका रुस, मङ्गोलिया, चीनलगायतका क्षेत्रबाट बसाइँ सरेर नेपालका तराई भागमा आउँछन् र फेरि फर्किएर उतै जान्छन्। बाँकी तीन प्रजाति भने नेपालका रैथाने हुन्।’’ काठमाडौँ खाल्डो छोडेदेखि नै वातावरणविद डाक्टर होमनाथका ज्ञानवर्द्धक कुराले यात्रा रोचक बनाइरहेको थियो। अझ तराई झरेपछि गफमा बारम्बार बगेडी चराले प्रवेश पाइरहेको थियो।

पतलैयाको जङ्गल कट्नै लाग्दा डाक्टर साबले फेरि बगेडीकै कुरा झिके, “... आज लालगढ बस्ने। त्याँ तारेको बगेडी खानुपर्छ। खुब स्वादिलो हुन्छ।’’

अरूको के भयो कुन्नि? त्यतिबेला मेरो मुखमा चाहिं पानी भरिएको थियो।

“हामीले सय पचास बगेडी खाँदैमा संसार रित्तिदैन।...बरु काठमाडौँमा यस्तै गरी भँगेरो फ्राईको व्यापार गर्न सके त खुब फस्टाउँथ्यो होला है?’’ लालगढ पुगेर गाडीबाट झर्दै गर्दा डाक्टर साबले फेरि भने।

ठुला मान्छेका अगाडि जान्ने हुँदै म सानो मान्छे पनि बोलेँ, “व्यापारै गर्ने गरी काठमाडौँमा भँगेरो त कहाँ पाउनु र सर? बरु परेवाको व्यापार गरे चैँ हुन्छ। यिनलाई सक्काउन पाए त सबैका घर बार्दली पनि सफा त हुन्थे।’

साँझ बगेडीको सितनसँगै सोमरस पान सुरु गरेपछि भने गफको प्रकृति फेरियो। डाक्टर साबमा जोस चढिसकेको थियो।

भने, “खासमा अहिलेका मान्छे भएको भए नि? मञ्जुश्री जेलभित्र कोचिन्थे! अरूको कुरा किन? मै मुद्दा हाल्थेँ। त्यत्रो ठुलो ताल सुकाएर बस्ती मानव बसाए। काठमाडौँ उपत्यका वरिपरिका डाँडामा बस्ती र बिचको भाग पूरै ताल भएको भए कम्ती सुन्दर हुन्थ्यो? बेकारमा चोभारको डाँडो काटेर त्यहाँ आश्रित कैयौँ जलचरको विनाश गरे। च्व..च्व..।’’

प्रकाशित: १६ चैत्र २०८० ११:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App