मैले बडो निरीह बनेर मेरा काकालाई अनुनयविनय गरेथें, ‘काका कृपया, मेरो छोराको जीवन र मृत्युको सवाल छ। हजुरको थोरै सहयोगले मेरो सिद्धान्तले नयाँ जीवन पाउनेछ।’
उहाँले बडो रुखो जवाफ दिनुभाथ्यो, ‘अहिले म केही गर्न सक्दिनँ। मेरो ठेक्कापट्टाको काममा मैले पूरै लगानी गर्नुपर्नेछ। पछि त्यसबाट आएको नाफाले सहयोग गरौंला।’
‘आकाशको फल आँखा तरी मर’ भन्ने उक्ति सम्झिदै म त्यो दिन निरश बनेर घर फर्किएको थिएँ।
मेरो छोराको असमायिक निधन भयो। साधरण रोगको उपचार पनि समयमै गर्न नसक्दा मैले उसलाई बँचाउन सकिनँ। आखिर अभावको खडेरीले मेरो छोरालाई उडाएर लग्यो।
आज सबैभन्दा अगाडि मेरो घरमा उहाँ नै आइपुग्नुभो र मलाई सम्झाउनथाल्नुभो, ‘विशाल, अब चिन्ता गरेर, रोएर केही फाइदा छैन। मृत्यु शाश्वत हुन्छ। यसलाई कसैले रोकेर रोकिंदैन। म र मेरा परिवार अत्ति मर्माहत बनेका छौं नातिलाई अल्पायुमै बिदा गर्नु परेकाले।’
मैले उहाँको नाटकीय रोदन स्वीकारेझैं गरें। उहाँले मेरो निरीह मुहारको भाषा के बुझ्नुभो कुन्नि? फेरि भन्नुभो, ‘सिद्धान्तको आत्माले शान्ति पाओस्। अहिले म लागें। आज मेरो ठेक्कापट्टाको टेण्डर खुल्ने अन्तिम दिन हो।’
मनमनै सोच्न बाध्य भएँ म, ‘आफ्नै सन्तानको घरमा बज्र पर्दा आफन्तीलाई भने ठेक्कापट्टाको टेण्डर पर्ने खुसीयाली।’
प्रकाशित: ८ चैत्र २०८० १३:४८ बिहीबार