१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

मेरो सम्झनामा परशु प्रधान

संस्मरण

वरिष्ठ साहित्यकार परशु प्रधान २००० सालमा भोजपुरमा जन्मनुभएको हो। नविन कथा शिल्पी प्रधानका दुई दर्जनभन्दा बढी पुस्तक एवम् कृतिहरू प्रकाशित भएका छन्। यस्ता नेपाली सिद्धहस्त कथाकार परशु प्रधानसँग म कसरी परिचित भएँ भन्ने कुरा खोतल्न चाहन्छु।

विक्रम संवत् २०५७ सालको कुरा हो म त्यो समय नोकरीको सिलसिलामा वीरगञ्जमा थिएँ। त्यतिखेर वीरगञ्जको ठाकुराम बहुमुखी क्याम्पसको दोस्रो वर्षमा अध्ययनरत थिएँ।

विए प्रथम वर्षको एडभेन्चर्स इन इंगलिसमा परशु प्रधानको अंग्रेजीमा द टेलिग्राम अन द टेबल कथा पढ्नपर्थ्याे। त्रिभुवन विश्वविद्यालयबाट त्यस वर्षको अन्तिम परीक्षामा द टेलिग्राम अन द टेबलबाट बीस नम्बरको प्रश्न सोधिएको थियो। गाउँबाट शहर पसेको युवक ग्रामीण परिवेश बिर्सिएर शहरी वातावरणमा रमाएकाले गाउँबाट दुखद् समाचार अर्थात् आवा आउँदा उसको ह्रदयलाई पगाल्न सकेको थिएन। शहरीया विसङ्गतिप्रति प्रहार गरिएको कथा थियो त्यो।

उक्त कथाको उत्तरबाट त्यस वर्षको अंग्रेजी विषयमा म पास भएको थिएँ। त्यसभन्दा अगाडि अर्थात् आइए ऐच्छिक नेपालीमा उहाँको ‘यौटा क्रान्ति पुरुषको जन्म’ कथा पढेको थिएँ। मेरो घर दुगर्म पहाड हुँदा त्यहाँ साहित्यिक वा अन्य पुस्तक पढ्न पाउनु असम्भव प्रायः थियो। त्यही भएर उहाँका सिर्जना पढ्न पाएको थिइन र उहाँसँग चिनापर्ची पनि थिएन। म पनि सामान्य साहित्य लेख्ने र साहित्यको विद्यार्थी भएकाले ‘परशु प्रधान को हुनुहुँदो रहेछ, एकपटक भेट्न पाए हुन्थ्यो भनी’ खुलदुली लागिरहेको थियो।

वास्तवमा उहाँ त साहित्यिक वातावरण बनाउँदै र वाणी प्रकाशन चलाउँदै विराटनगरमा बस्नुभएको थाहा भयो। उहाँ त्यतिखेर पूर्वाञ्चलको विशिष्ठ साहित्यिक संस्था वाणी प्रकाशनको अध्यक्ष हुनुहुँदो पो रहेछ।

उहाँसँग मेरो केहीपछि वाणी प्रकाशन विराटनगरमा भेट भयो। मैले उहाँलाई भेट्दा अत्यन्त मिजासिलो र फरासिलो पाएँ। त्यसमाथि युवा प्रतिभाहरूलाई साहित्यप्रति लाग्न अति नै उत्साहित गर्नुहुँदो रहेछ। उहाँ वाणी प्रकाशनको अध्यक्ष हुनुभएको र उहाँकै जोडबलमा म वाणी प्रकाशनको शेयर सदस्य भएको थिएँ। त्यसपछिका प्रत्येक वार्षिक साधारण सभामा उहाँ खबर गर्नुहुन्थ्यो। जब उहाँ वाणी प्रकाशनको अध्यक्षबाट निवृत्त हुनुभयो। त्यसपछिका कुनै पनि साधारण सभामा मलाई बोलाइएको थाहा छैन। कवि कृष्ण भूषण बलको देहान्तपछि वाणी प्रकाशन वन्द भएजस्तो लाग्छ।

परशु प्रधान पूर्वाञ्चलको साझा साहित्यिक संस्था वाणी प्रकाशनको माध्यमबाट धेरै लेखक र स्रष्टाहरूलाई पाठकसम्म पुर्‍याउन हरतरहले लागिपर्नुभएको सबैमा जगजाहेरै छ। उहाँको सक्रियतामा वाणी प्रकाशनबाट भएका कवि गोष्ठीहरूमा मैले धेरैचोटि भाग लिएको छु।

उहाँसँग वाणी प्रकाशनबाट सशरीर भएको परिचय क्रमशः निरन्तर हुँदै गयो। विराटनगरमा हुँदा म उहाँको विराटनगरस्थित पिचराको घर धेरैपटक गएको छु। उहाँ जोसुकैसँग पनि नम्र र शालीन रूपमा प्रस्तुत हुनुहुन्थ्यो। युवा प्रतिभाहरूलाई साहित्यमा लाग्न र लेख्न सधैं उत्प्रेरित गर्नुहुन्थ्यो। उहाँका कथा पढेर र उहाँको प्रेरणाले कथा लेखनमा म सक्रिय रहेको छु भन्दा पक्कै फरक पर्दैन होला।

परशु प्रधान २०३६ सालमा खोटाङको सिडियो हुनुभएको रहेछ। जब उहाँसँग मेरो विराटनगरमा पहिलो भेट हुँदा मेरो घर दुबेकोल खोटाङ भनेको थिएँ। उहाँले दुबेकोलका हरिकाजी गुरुङ र शोभा गुरुङ जो त्यसबेला राजनीतिमा सक्रिय थिए, उनीहरूको बारेमा सोध्नुभएको थियो। शोभा गुरुङको बारेमा थाहा नभए पनि हरिकाजी गुरुङ बहुदलका जनपक्षीय उमेदवार हुनुहुन्थ्यो र जनताको पक्षमा उभिने नेता हुनुहुन्थ्यो। जसले देउराली मावि स्थापनादेखि धेरै काम गर्नुभएको रहेछ। उनीहरूका बारेमा त्यतिखेर परशु प्रधानले सोध्नुभएको मैले बिर्सिएको छुइनँ। उहाँ खोटाङको सिडियो हुनुभएको र खोटाङे चेली विवाह गर्नुभएकाले पनि त्यताको विषयवस्तु र स्थानको माया भएर सोध्नुभएको होला।

हामी रावाखोला वारि दुबेकोलबाट पारि हेर्दा हौंचुर गाउँमा पानी ल्याउने ठूलो कुलो थियो। रावाखोलाभन्दा निकै माथि गाउँको बीचमा हिउँद वा वर्षादमा ठूलै पानी खेततिर झरेको देखिन्थ्यो।

हिउँदमा रावाखोलाको जँघार तरेर सदरमुकाम दिक्तेल जाँदा हौंचुर गाउँको बीचबाटै ठूलो कुलो लगिएको थियो। ठाउँठाउँमा सिमेन्टले समेत टालिएको थियो। त्यसताका यातायातको साधन र सडक केही नहुँदा कटारीबाट सात दिन बोकेर सिमेन्ट ल्याउनुपर्दथ्यो भने एक बिहान बोकेर रावाखोलाबाट बालुवा ल्याउनुपर्दथ्यो। यस्तो पक्की कुलो कसले र कहिले बनायो होला भनी म सदरमुकाम जाँदा र आउँदा सोच्थेँ। तर हौंचुरको कुलो तिनै वरिष्ठ साहित्यकार परशु प्रधान २०३६ सालमा खोटाङको सिडियो हुँदा बनाउनुभएको रहेछ। उक्त कुरा उनै परशु प्रधानसँग परिचय हुँदा उहाँले भन्नुभएको थियो।

केहीपछि मेरा मामा रमेश शर्मा घिमिरेबाट पनि थाहा पाएँ। एकदिन कुनै कुराको प्रसङ्गमा परशु प्रधानले भन्नुभो, ‘दुबेकोलकै एकजना रमेश शर्मा घिमिरे मेरै अफिसको सुब्बा हुनुहुन्थ्यो। उहाँ साह्रै इमान्दार हुनुहुन्थ्यो। कहाँ हुनुहुन्छ, चिन्नुहुन्छ?’

हो मैले आफ्नै मामालाई नचिन्ने कुरै भएन र मेरो मामा बताएँ। साहित्यकार परशु प्रधान स्थानीय विकास मन्त्रालय, पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयको निर्देशक हुनुहुँदो रहेछ। मेरा मामा त्यही कार्यालयमा उहाँसँगै काम गर्नुभएको रहेछ।

यसरी साहित्य मात्र होइन सकेको बेला जनताको सेवा र विकास निर्माण कार्यमा उत्ति नै सरिक हुनुभएको रहेछ भन्ने कुरा दित्तेलमा उहाँ सिडियो हुँदाका बेला थाहा पाउने मानिसबाट सुनेको हुँ। हो उहाँसँग विकासप्रेमी भावना समेत रहेछ र त्यतिबेला गाउँमा विकासका धेरै काम गर्नुभएको रहेछ।

साहित्यकार प्रधानसँग मेरो नजिकपन झन् बढ्दै गयो। जब मैले २०६१ सालदेखि ‘अन्तर्बोध’ साहित्यिक पत्रिका निकाल्न थालेँ तब परशु प्रधानले पटकपटक हौसला दिंदै रहनुभयो। म अन्तर्बोध साहित्यिक पत्रिका प्रकाशित गरेर बानेश्वरस्थित उहाँको घरमा धेरै पटक गएको छु। उहाँबाट लेखनमा मात्र होइन पत्रिका प्रकाशनमा समेत उत्साह र हौसला पाइरहेँ।

समयमा अन्तर्बोध पत्रिका नपाउँदा फोन गरेर ‘अन्तर्बोधको खबर के छ बास्तोलाजी? निकाल्दै हुनुहन्छ?’ भन्नुहुन्थ्यो। पत्रिका लिएर भेट गर्दा ‘बास्तोलाजी पत्रिका कसरी निकाल्नुहुन्छ? निकै कठिन छ नि साहित्यिक पत्रिका निकाल्न?’ उहाँ सोधिरहनुहुन्थ्यो र हौसला बढाउनु हुन्थ्यो।

उहाँले २०६०/०६१ तिर युद्ध र द्वन्द्वका संकलित कथासङ्ग्रह निकाल्न उत्प्रेरित गरिरहनुभएको थियो। म सहयोग गरूँला बास्तोलाजी भनी दुईतीन वर्ष झक्झक्याउनुभयो। तर मेरो व्यक्तिगत व्यस्तता र काठमाडौं बाहिर भएकाले उक्त कार्य गर्न सकिनँ। त्यसपछि युद्ध र द्वन्द्वका संकलित रचनाका पुस्तकहरू केही लेखक/ सम्पादकले निकाले।

उहाँ नै परशु प्रधान र नारायण तिवारीको सम्पादनमा ‘तराई मधेशका कथा’ प्रकाशित भएको थियो। केही न केही काम गर्नुपर्छ भनेर उत्प्रेरित गरिरहने परशु प्रधानकै प्रेरणाका कारण मैले २०७१ सालमा ‘हिमाल पहाडका कथा’ निकालेँ। सो सङ्ग्रहमा उहाँको कथा ‘अहिले लहर चुपचाप बग्छ’ भन्ने कथा सङ्गृहीत गरेको छु।

उक्त कथा सो सङ्ग्रहको एउटा सुन्दर कथा हो। हो ‘हिमाल पहाडका कथा’ संकलनमा उहाँको सहयोगलाई म कहिल्यै बिर्सन सक्दिन। उहाँ जीवित रहेको एक वर्ष अगाडि तीन/चार महिनाभित्र भेट नहुँदा ‘ए बास्तोलाजी कता हराउनु भो? अन्तर्बोधको खबर के छ? भनी सम्झनुहुन्थ्यो। परशु प्रधान आधुनिक नेपाली कथा लेखनका शिखरपुरुष थिए भन्दा फरक पर्दैन। उहाँका हरेक कथाहरू समाजमा घटेका विकृति र विसङ्गतिको उजागर गर्ने किसिमका छन्।

म उहाँको कथाको फ्यान समेत हुँ। उहाँका कथा हुन् वा उपन्यास एवम् कथोपन्यास परम्परागत कथा प्रवृत्तिलाई त्याग्दै नविनतम शैलीको खोजी गरी लेखिएका छन्।

उहाँका कथामा निम्न वर्गीय मानिस र समाजले भेगेको पीडा, वेदना, भावना प्रस्फुटित हुनुका सार्थ विसङ्गतिपूर्ण शहरीया जीवनको समेत पर्दाफास गरिएको भेटिन्छ। उहाँका कथामा जीवन र मानवीय पीडाका अभिव्यक्ति कति छन् कति। गाउँ र समाजको दर्द, अभाव, शहरीया उन्माद यी सब उहाँका कथाका कथ्य विषय रहेका मैले अध्ययन गर्दा पाएको छु।

अतः अत्यन्तै सहयोगी र हरेक लेखकलाई लेखनमा उत्साहित गरिरहने वरिष्ठ साहित्यकार परशु प्रधानलाई असी वर्षको उमेरमा २०८० साल चैत्र ६ गते गुमाउनुप¥यो। उहाँको अवसानले नेपाली साहित्य क्षेत्रलाई अपुरणीय क्षति पुगको छ। नेपाली आख्यानलाई उर्वर बनाउने लेखक स्वर्गीय परशु प्रदानप्रति हार्दिक श्रद्धासुमन। 

प्रकाशित: ८ चैत्र २०८० ११:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App