‘हजुरको पनि छुट्टी छ। अब उठेर एक घण्टा जति मर्निङवाक गर्नुपर्छ है! जहिल्यै मेरो एक्लै हिंडाइ हुन्छ, बुढाबुढीसँगै हिंडेर हेरौ कस्तो हुँदोरहेछ।’ श्रीमानलाई मैले भनें।
कामको दौडधूपले गर्दा दिनदिनै बिहान हिंड्ने कामलाई निरन्तरता दिन नसकेकी मैले अब कामको बीच पनि बिहानबेलुका केही समय भए पनि हिंड्ने र थप सामान्य वर्कआउट गर्ने योजनासहित सजिलो जुत्ता र ट्रयाकसुट किनेर थन्क्याएकी थिएँ।
श्रीमानको उत्सुकतासँगै मैले ती जुत्ता र ट्रयाकसुट निकालेर भेटिने ठाउँमा राखें र सुतेकी बिहान पौने पाँच बजेतिर हेर्दा श्रीमान् उठेर कोठाबाहिर निस्किइसक्नुभएको थियो। यताउता उहाँलाई नदेखेपछि म वाकिङ ड्रेस र जुत्ता लगाएर निस्किएँ। करिब एक घण्टा हिंडेपछि घर फर्किएं। बाटोमा उहाँलाई कतै नभेटेपछि मनमनै रिस उठेको थियो।
आफैंलाई प्रश्न गरिरहें, ‘बल्लबल्ल समय निकालेर एकदिन मर्निङवाक जुरेको त्यो पनि अलगअलग बाटो, सँगै एउटै बाटो हिंड्दा के बिग्रन्थ्यो र?’
‘होइन तपाईं त कुन बाटो हिंड्नुभो? कतै देखिनँ त! के थियो त्यस्तो मलाई थाहै नदिई एक्लै हिंड्नुपर्ने?’ घर फर्केर आएपछि पनि श्रीमानलाई नदेखेपछि मैले फोन गरेर सोधें।
‘वर्षभरि तरकारी खाने बारी बाँझै राखेर मर्निङवाक? मैले दुई गरा बारी खनिसकें बरु तिमी दराजमा राखेको पालुङ्गो रायो र सिमीको बीउ लिएर रोप्न आउ!’ तिम्रो मर्निङवाकमा तरकारी फल्दैन क्यारे!’
मेरो श्रीमानले स्यास्याँ हुँदै जवाफ दिनुभयो।
प्रकाशित: ८ चैत्र २०८० ०९:३६ बिहीबार