२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

हाम्रो लघुकथा केन्द्रले मनायाे चौथो वार्षिक उत्सव

हाम्रो लघुकथा केन्द्र, दक्षिणकाली, काठमाडौंले विभिन्न कार्यक्रमकाे साथ चौथो वार्षिक उत्सव मनाएको छ। हाम्रो लघुकथा केन्द्रका संस्थापक लता केसीकाे अध्यक्षता तथा लघुकथा समाज नेपालकाे संस्थापक तथा स्रष्टा समाज नेपालकाे अध्यक्ष श्रीओम श्रेष्ठ राेदनकाे प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे हाे।

वार्षिक उत्सव अवसरमा केन्द्रले लघुकथा लेखन गर्दै प्रविधिमा लघुकथालाई जोडेर प्रचारप्रसार गर्दै आएका स्रष्टा नारायण तिवारीलाई नगद रुपैयाँ ११,१११/- (अक्षरेपि एघार हजार एक सय एघार) सहित लघुकथा केन्द्र सम्मान-२०८० बाट सम्मान गरेको छ।

उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथिले केन्द्रको सम्मानपत्र  र दोसला प्रदान गरेका थिए भने केन्द्रका अध्यक्ष लता केसीले नगद रकम प्रदान गरेकी थिइन्।

‘सबै मेरा सपना थिए’ लघुकथा लेखी लघुकथा विधामा प्रवेश गरेका सम्मानित तिवारीका दसैं खर्च (२०५७) र महँगी, भोक र सार्वभौमसत्ता (२०७०) लघुकथासङ्ग्रह प्रकाशित छन्। उनले फेसबुक पेजमार्फत लघुकथा कुनोकाे माध्यमबाट नेपाली लघुकथाको विकास र विस्तारमा उल्लेखनीय याेगदान पुर्‍याउँदै आएका छन्।

वार्षिक उत्सवमा हाम्रो लघुकथा केन्द्रले प्रकाशनमा ल्याएका पी.पी. कोइरालाको डगल्यान्ड, अनु विज्ञातिको अक्षररेखा, सीता रेग्मीको शब्दयात्रा र केन्द्रका लघुकथा र विविध (संयुक्त लघुकथासङ्ग्रह) लघुकथासङ्ग्रह पनि लाेकार्पण गरिएकाे छ।

वरिष्ठ लघुकथाकार ध्रुव मधिकर्मी, गङ्गा कर्माचार्य पौडेल, डा. रवीन्द्र समीर, नारायण तिवारी, स्रष्टात्रय पी. पी. कोइराला, अनु विज्ञाति, सीता रेग्मी र केन्द्रका अध्यक्ष लता केसीले पुस्तकको लाेकार्पण गरेका थिए।

लघुकथाकार मिसु श्रेष्ठ थपलिया, विरेन मालाकार, गङ्गा दाहाल न्यौपाने र निर्मला बरालले लोकार्पित कृतिबाट एकएक लघुकथा वाचन गरेका थिए।

केन्द्रले आफ्नो वार्षिकोत्सवमा दोस्रो चरणअन्तर्गत ३५ जनालाई केन्द्रको आजीवन सदस्य प्रदान गरेको छ। हालसम्म केन्द्रले ८९ जनालाई आजीवन सदस्य प्रदान गरिसकेको छ।

हाम्रो लघुकथा केन्द्रद्वारा आयोजित उक्त कार्यक्रममा केन्द्रका कोषाध्यक्ष सत्या अधिकारीले उपस्थित अतिथिको स्वागत गरेकी थिइन्। वन्दना घिमिरेले सम्मानित स्रष्टाको परिचय दिइकी थिइन्।

कार्यक्रममा विशिष्ट अतिथि डा. रवीन्द्र समीर, गङ्गा कर्माचार्य पौडेल, ध्रुव मधिकर्मी, प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदन, स्रष्टा त्रय पी. पी. कोइराला, अनु विज्ञाति, सीता रेग्मीले मन्तव्य राखेका थिए।

हाम्रो लघुकथा केन्द्रका उपाध्यक्ष तथा वरिष्ठ समालाेचक डा. शेखरकुमार श्रेष्ठका अनुसार २०७६ चैत्र ३ गते स्थापना भएको केन्द्रको उक्त वार्षिकोत्सव कार्यक्रममा शेखर अर्याल, किशन पौडेल, श्यामप्रसाद श्रेष्ठ, विनोद नेपाल, इन्दिरा चापागाई, रत्न विरही घिमिरे, कुमुदप्रसाद शर्मा, रामकुमार पण्डित, दीपक लोहनी, कात्यायन, डा. हिमलाल श्रेष्ठ, लोकनाथ पुडासैनी, वन्दना घिमिरे, मन्दिरा चापागाई, रामराज केसी, समिर पाख्रिन, मनीषकुमार शर्मा समित, रासा, मधुसूदनप्रसाद घिमिरे, शान्ता शर्मा, कल्याण पन्त, सुनिता निरौला पौडेल, रमेश सुवेदी लगायत सयाैं लघुकथाप्रेमीको उपस्थिति रहेकाे थियो।

प्रकाशित: ४ चैत्र २०८० १०:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App