प्रिय पुरुष!
शताब्दीऔंदेखि सिकाइयो
छोरा मान्छेको आँखामा आँसु सुहाउन्न,
छोरा मान्छेले रुनु हुँदैन,
‘हुँदैन’ को भयमा गुम्सिएर
उत्पन्न भएको सन्तापको रापले
आँखामै सुकाए आँसु पुरुषहरूले।
पुरुषत्वलाई गलत परिभाषित गरेर
सिकाउनेहरू चुकेकै हुन् सिकाउन
सन्तान फल्ने बीउमा
प्रकृति र पुरुषका
दुवै गुण मिसिएका हुन्छन्,
जस्तो कि,
पुरुषमा स्त्रीत्व र स्त्रीमा पुरुषत्व!
जबर्जस्ती लादेर लज्जा
‘हुन्न’ को हतियारले काटे तिनीहरूले
पुरुषभित्रको स्त्रीत्व
र बन्द गरिदिए
जन्मसिद्ध पुरुषहृदयमा अवस्थित स्त्री
ऊर्जाद्वार!
प्रिय पुरुष!
घाममा सुकाएर लज्जा
बेपर्वाह रुनू तिमी,
कागको धर्म कराउने हो
कराउँदै जान्छ, पिना सुक्दै जान्छ।
अहँ!
भनेको छैन आँसुले
म स्त्री आँखाबाट मात्र बग्छु,
भनेकी छैनन् पृथ्वीले
तिम्रो आँसुको भार बोक्न सक्दिनँ,
भनेका छैनन् तिम्रा हातहरूले
नरुनू म आँसु पुछ्दिनँ,
भनेको छैन हावाले
म तिम्रो आँसु सुकाउँदिनँ,
भनेकी छैनन् गङ्गाले
खबरदार!
तिमी छोरा मान्छे हौ
तिम्रा गालामा बसेको
रङ्गहीन आँसुको दाग म धुन्नँ!
हो,
तिम्रा आँसुको प्रवाहमा
प्रकृतिले
कहिल्यै गरेको छैन अवरोध!
प्रिय पुरुष!
स्त्रीका पेवा होइनन् आँसु,
घाममा सुकाएर लज्जा
बेपर्वाह रुनू तिमी,
बुझ्नू, शब्दहरूको असमर्थतामा नै
बग्ने गर्छ आँसुको नदी,
आँसु त मौन भाषा हो।
मलाई थाहा छ,
यो समाज
सुन्न चाहँदैन तिम्रो क्रन्दन,
देख्न चाहँदैन तिम्रा आँसु,
ऊ त जान्दछ
मात्र पुरुषत्व सम्झाउन,
उसले बुझेकै छैन
आँसु पिउनु पुरुषत्वको पोषण होइन!
तिमी जंगलमा गएर
रुनू रुखसँग,
झरनाको पानीसँग,
कोकिल कण्ठीसँग,
आकाशसँग,
अनि तिमी उभिएको जमिनसँग,
चिच्याएर पागलझैं बन्नू,
बेसमेल ढुंगा बर्साउनू,
बेस्सरी कोतर्नू माटो,
नबुझिने भाषामा
बेपर्वाह गाली गर्नू,
सभ्य मानिसले नगर्ने सबैसबै गर्नू,
र बर्साउनू अविरल आँसु
नीर- शान्त आँखाबाट!
प्रायः स्वार्थी हुनुलाई
नकारात्मक बुझ्छन् मानिसहरू,
प्रिय पुरुष!
अलिकति भए पनि तिमी स्वार्थी बन्नू,
अर्थात् आफ्नै ‘स्व’ मा स्थित हुनू,
प्राणलाई पोषण दिनू,
त्यसपछिको समय
अविरल वर्षापछिको
शुभ्र आकाशजस्तै हुनेछ!
प्रिय पुरुष!
स्मरण रहोस्–
मनको आकाशमा
काला बादलहरू मडारिनेबित्तिकै
घाममा सुकाएर लज्जा बेपर्वाह रुनू,
रुनू, बेपर्वाह रुनू,
अनि खुल्नु इन्द्रेनीझैं
सप्तरङ्गी मुस्कान फिंजाएर!
प्रकाशित: १ चैत्र २०८० १३:३२ बिहीबार