१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

अठोट

लघुकथा

ढिलो भैसकेकाले दायाँबायाँ  केही नहेरी म कार्यक्रम सभा हलमा स्वाट्टै छिरेँ। ब्यानरमा आँखा लगाएँ। लेखिएको थियो, ‘मानव चेतनाबारे बहस।’

परिस्थिति हेर्दा कार्यक्रम निकै सभ्य देखिन्थ्यो। वक्ता डा. प्रजापती भन्दै थिए, ‘हिजोआज मानव एकलकाँटे र घमण्डी हुँदै जाँदै छ। सबैलाई जान्ने र ठूलो हुनुपर्ने रोग लागेको छ। साधना र त्यागबिना सबै नायक बन्न  खोज्दै छन्। यस्तो चेतनाले मानवको समाज कतातिर उन्मुख हुँदै छ? सबै पक्षले चिन्ता र चासो लेओस्  भन्ने मेरो अनुरोध छ।’

म उनको धाराप्रवाह अभिव्यक्तिबाट बडो प्रभावित भएँ। कार्यक्रम सकिएपछि एकछिन भेट्न आग्रह गरेँ तर उनी हिंड्न हतार गर्दै थिए।

सोचें, ‘मान्छे कत्ति हतारमा हुन्छ? हाम्रो नेपालमा सायद ठूला मान्छे भनेको यस्तै होलान्।’

‘के भन्नु छ? छिटो भन्नुस्। नत्र मेरो बाटो छाडनुस्।’ उनको रूखो अभिव्यक्तिले म झसङ्ग भएँ। झोलाबाट निमन्त्रणापत्र झिकेर दिंदै भनें, ‘कलेजको वार्षिकोत्सव छ। सरलाई उपस्थितिका लागि अनुरोध गरें।’

उनले गर्व गर्दै भने, ‘निमन्त्रण गर्दा  मेरो हैसियतअनुरूपको आसन सुरक्षित हुन्छ नि?’

उनको प्रश्न सुनेपछि तत्कालै  एउटा अठोट गरें, ‘मञ्चमा आसनग्रहण नगराएर नै कुनै पनि कार्यक्रम गर्न सबैलाई प्रेरित गर्नेछु।’

प्रकाशित: १ चैत्र २०८० १२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App