२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

प्रेम रोग

लघुकथा

दिउँसो ३ बजेतिर श्रीमानले गुलाबको फूलको बुक्के र हिराको औंठी उपहार दिंदै गालामा मिठो म्वाइँ थमाएर भने, “बुढी धेरै धेरै माया। ह्याप्पी भ्यालेण्टाइन्स डे। सरि आज तिमीलाई समय दिन सकिनँ। विनोद बिरामी भएर हस्पिटल जानुपरेकाले। म भरसक छिट्टै फर्कन्छु। म बाहिरबाटै केही खानेकुरा पनि ल्याउँछु, सँगै बसेर खाउँला। अहिले म लागें।’

यति भनेर ऊ चिटिक्क परेर निस्क्यो। देख्दा यस्तो लाग्थ्यो, ऊ हस्तिपटलतिर गएको नभई कुनै बृहत पार्टी र भोजमा गएको हो।

रातको २ बजेसम्म पर्खिंदा पनि श्रीमानको अत्तोपत्तो नभएपछि उसले विनोदको मोबाइलमा फोन गरी। केहीबेरसम्म फोन उठ्न ढिला भए पनि फोन उठ्यो। उसले आफ्नो श्रीमानको बारेमा सोधी र हस्पिटल जानुको पूर्ण विवरण बताएपछि विनोदलाई पनि नमिठो झट्का लाग्यो तर उसले आफ्नोतर्फको केही भनेन। उसले फोन राख्दियो र सोच्न थाल्यो। आखिर उसकी श्रीमतीले पनि उस्तै कुरा भनेर साँझको ७ बजेतिर निस्किएकी थिई।

ढोका ढक्ढक्याएको आवाजले विनोद ढोका खोल्न आउँदा आफ्नी श्रीमती र मित्रजी नशामा डुबेका थिए। विनोदले उनीहरूलाई कुनै प्रतिक्रिया नदेखाई मित्रकी श्रीमतीलाई आउन भनेर फोन गरे। उनी आत्तिएर के भयो त्यस्तो, मलाई किन  बोलाए भनेर पठाउ बोलाएर बिहानीपख त्यहाँ आउँदा आफ्नो श्रीमान् र विनोदकी श्रीमतीको दूरावस्था देखेर अचम्ममा परिन्। उनीहरू मूकदर्शक बने।

उनले यति मात्र भनिन्, “हस्पिटल कहिलेदेखि भट्टी भयो? विनोदजीलाई रोग लागेको होइन रहेछ। प्रेमरोग त तपाईलाई लागेको रहेछ। त्यसैले हस्पिटल जान आवश्यक परेछ।’’

यति भनेर उनी फरक्क फर्किन्।

विनोदले ती दुई मायालु जोडीलाई आशीर्वाद दिंदै भने, “ यो नयाँ जोडीको जीवन आजीवन निश्छल र निष्कलंकसँग बितोस्। अब यहाँहरू जान सक्नुहुन्छ। म यो सुखद् जोडीको बाधक बन्न चाहन्नँ।’

तब मात्र ती मायालु जोडीको होस् खुल्यो। तबसम्म ढिलो भइसकेको थियो।   

प्रकाशित: २७ फाल्गुन २०८० १२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App