२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

किरण आचार्यको उपन्यास परशुरामको लोकार्पण

साहित्यिक पत्रकार संघले साहित्यकार किरण आचार्यको पौराणिक उपन्यास परशुरामको लोकार्पण गरेकाे छ। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ उपन्यासकार भरत जंगम, कार्यक्रमका सभापति एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, समालोचकहरू- प्रमोद प्रधान र प्राडा गोविन्दमानसिंह कार्की, सम्पादक राजकुमार बानियाँ लगायतले उपन्यासको लोकार्पण गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि भरत जंगमले उपन्यासले पौराणिक पात्र परशुरामबारे धेरै कुराको जानकारी दिने बताउँदै उपन्यास पठनीय भएको धारणा राखे। उनले उपन्यासकारलाई कलम नरोक्न आग्रह गर्दै पौराणिक विषयमा उपन्यास लेख्न गाह्रो भए पनि किरण आचार्यले अत्यन्त मिठो तरीकाले उपन्यास लेखेको बताए।

सभापति लेकालीले साहित्यिक पत्रकार संघले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउँदै छिट्टै संघको स्वर्णमहोत्सवको स्मारिका प्रकाशित हुने बताए।

कृतिकार आचार्यले परशुराम उपन्यास लेखनका पृष्ठभूमिबारे व्याख्या गर्दै हाम्रा धार्मिक ग्रन्थ र व्यक्तित्वबारे गलत र भ्रमपूर्ण कुराहरू फैलाइएकाले सही कुरा खोजेर लेख्नुपर्ने खाँचो औंल्याइन्।

समालोचक प्रमोद प्रधानले पौराणिक पात्र र विषयमा लेखिएको भए पनि उपन्यासले आजको समयलाई पनि सम्बोधन गरेको चर्चा गरे।

अर्का समालोचक प्राडा गोविन्दमान सिहं कार्कीले उपन्यास रोचक र पठनीय रहेको उल्लेख गरे। कार्यक्रममा उपन्यासका सम्पादक राजकुमार बानियाँ र साहित्यकार कल्पना खरेलले पनि आआफ्नो मन्तव्य राखेका थिए।

साहित्यकार यादव भट्टराईले संचालन गरेको सो कार्यक्रममा सङ्गीतकार नरहरि प्रेमीले गीत प्रस्तुत गरेका थिए।

कार्यक्रममा गीतकार एवं समाजसेवी शोभित उप्रेती, प्राडा जनार्दन आचार्य, सचिव नीता श्रेष्ठ, पत्रकारहरू जीवराम भण्डारी र ज्ञानेन्द्र कार्की, साहित्यकारहरू विक्रमभक्त जोशी, मन्जिला अनिल, पारस नेपाल, श्रीबाबु कार्की, रुद्र खड्का, कमला रिसाल, प्राडा डिल्लीराज शर्मा पौडेल, लता केसी, शिव प्रधान, ममता मृदुल, राज रजक, टेकराज शास्त्री, अविकेशर ओली, सरस्वती गौतम, द्वारिका ढुंगाना, पवन बुढाथोकी, अरुण नदी खत्री, उषा केसी, ईश्वर श्रेष्ठ, ललिता दोषी, नायक एवं साहित्यकार हरिश कल्पित, शदानन्द कडेँल, रश्मि रिमाल लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २६ फाल्गुन २०८० १२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App