३१ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

बर र पीपल

कथा

नदी अटुट बगिरहेको छ आफ्नै लयमा। यस नदीमा कतिले जीवन धानेका छन्, कतिले जीवन हारेका छन्। यस नदीले कतिको प्रेम जुराएका छन्, कतिको प्रेम चुँडाएका छन्। यही नदी थियो जीवन र जुनीको प्रेमको सुरुवात, युगौंसम्म सँगै जिउने मर्ने विश्वासको साछी। यही नदी थियो जीवन र जुनीको अटुट माया र पवित्र सम्बन्धको प्रेरणा। सधैंझैं नदी उही लयमा कञ्चन र अटुट बगिरहेको छ। तर आज यस नदीले जीवन र जुनी एक अर्कालाई बिर्सन पनि दिएको छैन, सम्झन पनि दिएको छैन। जीवन र जुनी यस नदीले हराएको जीवनभरिको प्रेम हो, यस नदीले चुँडाएको जुनीभरिको माया हो।

जीवन बाबासँगै नदीमा माछा मारेर विक्रीवितरण गर्थ्याे। बाबा बितेपछि जीवनले त्यही पेसा गरेर आमालाई पाल्यो। ऊ पौडिन निकै सिपालु थियो। नदीको माझमा रहेको सानो टापुमा पौडेर कोही पनि जान सक्दैनथ्यो तर जीवन पौडेर सहजै जान्थ्यो। एकदिन जीवन माछा मार्न जाल हान्दै नदीको किनारै किनार जाँदै थियो। नदीका पारि किनारामा मानिसहरू वनभोजको तयारी गरिरहेका थिए। केही मानिसहरू पौडी खेल्दै थिए। एक्कासि मानिसहरू आत्तिए। एकजनालाई नदीले बगाएर तल पुलको भँगालामा डुबाएछ। जीवन वारिबाट हतपत पौडिएर भँगालोमा पुग्यो र त्यो मान्छेलाई निकाल्यो। त्यो मान्छेलाई उसका साथीहरूले तत्कालै अस्पताल पुर्‍यायो।

वनभोजमा रमाइरहेकी जुनी होसमा आउँदा अस्पतालको शय्यामा थिई। त्यो दिन जीवन नभएको भए सायदै जुनीले पुनर्जीवन पाउँदिन थिई होला। पुनर्जीवन पाएकी जुनीलाई त्यत्रो ठुला नदी पार गरेर आई आफूलाई बचाउने जीवन जिउँदो भगवान् नै लाग्यो। उसलाई जीवनसँग भेट्न मन लाग्यो। जीवनप्रति समर्पित हुन मन लाग्यो। किनभने त्यो भँगालामा पुगेपछि कोही बाँच्ने सम्भावना हुँदैन र आजसम्म कोही पनि बाँचेको छैन। जुनी पूर्ण रूपमा ठिक भएपछि जीवनलाई भेटी। जीवनका अँगालोमा बाँधिएर बेस्सरी रोई। जीवनले जुनीको आँसु सँगाल्दै सम्हाल्यो।

भयङ्कर दुर्घटना, भाग्यको साथ, दुर्लभ संयोग। यसले पश्चिमपट्टिका गाउँमा हुर्किएको ठिटो जीवन र पूर्वका सानो शहरमा फक्रिएकी जुनीलाई प्रेममा बाँध्यो। यहाँँ जात, धन र योग्यता हेर्ने कुनै आँखा थिएन केवल आत्मा थियो। यँहा बाँधेर राख्ने कुनै सामजिक मान्यता थिएन मानवता थियो, महानता थियो। यहाँ गाउँ र शहर छुट्याउने कुनै रीत थिइन केवल जीवन र जुनीको जीत थियो, प्रीत थियो। त्यही नदी किनारमा ती जोडीको भेट हुन्थ्यो। जीवनले जुनीलाई पौडिन सिकायो। जुनी मज्जाले पौडिन थाली। यसपछि ती जोडी नदी बीचका टापुमा गएर दिनहरू बिताउँथे। भविष्यका सपनाहरू र योजनाहरूका कुरा गर्थे। कहिलै नछुटिने बाचा गर्थे। समय बित्दै गएपछि उनीहरूले एक वर्षपछि बिहे गर्ने सल्लाह गरे।

एक वर्ष पुग्यो ताकि बिहे गर्ने दिन आयो। जीवन र जुनीको त्यही टापुमा भेट भयो। भेटमा जुनीले जीवनलाई फेरि एक वर्ष पर्खिनु भनी। जीवनले हुन्छ पनि भनेन हुन्न पनि भनेन। अर्को हप्ता भेट्ने सल्लाह भयो। भेट भयो। जीवनले जुनीलाई अर्कै केटीसँग बिहे गर्ने तयरी भएको भन्यो। जुनीले गर पनि भनिन नगर पनि भनिन।यसपछि उनीहरू छुटिए। जीवन पौडिंदै वारितिर आयो। जुनी पौडिंदै पारितिर गई। जीवन वारि किनारमा आएर पारिपट्टि हेर्दा जुनीले आफ्नो रुझेको कपाल झट्कार्दै गइरहेकी थिई। जीवनले हेरिरह्यो तर जुनीले एक नजर पनि लाइन।

जीवनसँग छुटेको भोलिपल्टै जुनी घर छोडेर टाढाको ठुलो शहर गई। जीवनले एक वर्षसम्म पर्खेर बस्यो तर जुनी आइन। अर्को वर्ष त दिनहुँ त्यस टापुमै गएर पर्खियाे। अहँ जुनी आइन। उसले वारिपारिका नदी किनारमा खोज्यो। कतै जुनी देखिएन।

जीवनको आमा पनि बित्यो। जीवनलाई आमाको माया र जुनीको मायाले व्याकुल बनायो। जीवनलाई आमाबिनाको रित्तो घरमा जान पटक्कै मन लागेन न त जुनीसँग भेट गर्ने त्यस टापुमा नै जान मन लाग्यो। जीवनले गाउँ नै छोडेर जाऊँ कि भनेर पनि सोच्यो तर जुनी आई पो हाल्ली कि भन्ने लाग्यो। त्यसैले जीवनले गाउँ छोडेन। जुनीलाई नदी किनारमा खोजिरह्यो, टापुमा पर्खिरह्यो तर जुनी कहिलै आइन।

साथभरिको आमा, आतभरिको माया कोही छैनन् जीवनसँग। जीवन एक्लो छ। एक्लोपनाले जीवनलाई झनै एक्लाइरहेको छ।

उसले मनमनै सोच्यो, “मैले अर्कै केटीसँग मेरो बिहेको तयारी भयो भनेर झुट बोल्नु नहुने थियो। सायद यही एउटा बोलीले जुनी मेरा जुनीबाट टाढा भई। तर, जुनीले धोका दिए पनि म उसलाई कहिलै धोका दिन्न।”

ऊ सरासर टापुतिर गयो। टापुमा पुगेर जुनी पौडेर आउनेपारि किनारतिर हेर्‍यो। किनार चुपचाप थियो, नदी आफ्नै लयमा बगिरहेको थियो। फेरि जुनी आइपुग्ने तल किनारमा गएर हेर्‍यो तर सबै रित्तो थियो। अनि ऊ फर्कियो माथि टापुमा।

दिनको मध्यान्ह हुँदै गर्दा पारि किनारबाट यही समयमा जुनी आइपुग्थी र वारिबाट जीवन पौडिंदै जुनीलाई लिन पुग्थ्यो। यसपछि दुवै पौडिएर टापुमा आउँथे। जीवन टापुमा बसेर जुनी आउने बाटो हेर्दै थियो। एकजना केटी पारि किनारमा देखिई तर उसले वारि टापुतिर हेर्दा पनि हेरिन। केही समयपछि पुलको भँगालोतिर गई। जीवनले उसको बिम्ब मधुरो भइञ्जेल नियाल्यो। यसपछि जीवन टापुबाट पोडिंदै पारि किनारमा पुग्यो र त्यो केटी गएको बाटो हुँदै पुलको भँगालामा गयो। केटीले भँगालामा हाम फलेर आत्महत्या त गरिन भन्ने शङ्काले जीवनलाई पोल्न थाल्यो। जीवन भँगालामा हतपत हामफाल्यो र सबैतिर खोज्यो तर केही भेटिएन। यसपछि जीवन फेरि टापुमा फर्कियो।

जुनीका पर्खाइमा जीवनको तीन वर्ष बितिसकेको थियो। जीवन प्रायः गरेर त्यही टापुमा बस्थ्यो। जुनी र आमाको मायाले जीवन शिथिल हुँदै गयो। ऊ विचलित हुँदै गयो।

बगेको खोली, पड्केको गोली, मरेकी आमा र छाडेकी माया किन फर्केर आउँथे होलान् तर पनि जीवनले आशा गरिरह्यो र भरमा परिरह्यो। एकदिन जीवनलाई घरको याद आयो। ऊ घर गयो। घरको छानो भत्किएको थियो। घरको काठपात मक्किएको थियो। घरका भित्ताहरू खुइलिएको थियो।आँगन र करेसामा झारहरू उम्रिएका थिए। आमाबिनाको रित्तो घर मायाबिनाको उसको जिन्दगी जस्तै उजाड थियो।

जीवन झन् विक्षिप्त बन्न पुग्यो र घरलाई भन्यो, “तिमी जति उभिन सक्छौ उभिनु, ढलेपछि माटो बन्नु। म पनि ढलेपछि माटो हुन्छु। मेरी आमा पनि अब माटो भइसक्नुभयो होली। अब हामी माटोमै भेट्नुपर्छ।”

यसपछि ऊ आमाको सागर (चिहान) तिर लाग्यो। आमाका सागरमा साना रुखको बिरुवा उम्रिएको थियो। जीवनले सोच्यो, “आमा त रुखको बिरुवा हुनुभएछ। मान्छेको जुनीपछि रुखको जुनी पाइँदो रहेछ। म पनि मरेपछि रुख हुन्छु होला। आमा! अब रुखको जुनीमा भेट्नुपर्छ है।” यसपछि ऊ सरासर टापुतिर फर्कियो। 

जीवनलाई टापु गएपछि कतै जान मन लागेन। दिउँसो भएपछि उसले पारि किनारमा नजर लगायो। किनार सुनसान थियो। नदीतिर हेर्‍यो नदी सोही लयमा सलल बगिरहेको थियो। जीवनलाई एकाएक माटो हुन मन लाग्यो रुख हुन मन लाग्यो।

उसले साच्यो, “माटो हुनुअगाडि एकपटक जुनीलाई पारि किनार, किनारै किनार अनि भँगालोसम्म खोज्न जान्छु।”

जीवन पाैडिएर पारि किनारमा गयो। वरिपरि जुनीलाई खोज्यो तर जुनी कतै देखिएन। ऊ किनारै किनार जुनीलाई खोज्दै गयो अह जुनी कतै भेटिएन। यसपछि जीवन भँगालामा हामफाल्यो र जुनीलाई खोज्यो तर जुनी कतै फेला परिन। यसपछि जीवन झन् निराश भएर टापुतिर फर्कियो।

टापु छोडेर जीवन कतै गएन तर हेरक दिनका मध्यान्हमा पारि किनार र नदीमा नजर लाउन भने छोडेन। एकदिन उसलाई रुख बन्न मन लाग्यो।

उसले साच्यो, “रुख बन्नअगाडि एक पटक जुनीलाई पारि किनार, किनारै किनार अनि भँगालोसम्म खोज्न जान्छु।”

जीवन पोडिएर पारि किनार जाँदै थियो। नदीले बगाएर तलसम्म लग्यो तर पनि ऊ तल किनारमा निस्कियो। जुनी आउने किनारमा आएर जुनीलाई खोज्यो तर जुनी कतै देखिएन।

“जुनी! तिमी जहाँ छौ आऊ म अब रुख बन्दैछु। तिमीबाहेक मेरो कोही छैन। मैले अर्को केटीसँग बिहेको तयारी भयो भनेर झुट बोलेको थिएँ। मलाई माफ गर्न भए पनि आऊ जुनी। अब म रुख बन्दैछु।”

यसपछि जीवन किनारै किनार जुनीलाई खोज्दै गयो अहँ जुनी कतै भेटिएन। ऊ भँगालामा पुग्यो। भँगालामा हामफल्यो र भँगालाका चारैतिर जुनीलाई खोज्यो तर जुनी कतै फेला परिन। यसपछि जीवन “यस जुनीमा जुनीसँग भेट नहुने रैछ। अब रुखका जुनीमा भेट होला” भन्ने आशा गर्दै टापुतिर फर्कियो।

टापुमा फर्किदा जुनी बस्ने ठाउँ रित्तो थियो। जुनीका रिक्तताले जीवनको रुख बन्ने इच्छालाई झनै तीव्र बनायो। जीवनले आँखा कहिलै नखोल्ने गरी बन्द गर्‍यो। केही नखाई रुख हुने ध्यानमा बस्यो। उसको शरीर सिथिल थियो झन् शिथिल हुँदै गयो। ऊ काठको ठुटोजस्तै स्थिर भयो। उसको शरीरमा धमिरा लाग्न थाल्यो।

वर्षौं भयो जुनी शहरमा जीवनका यादले तडपिँदै बसेकी। उसलाई घर फर्कन मन छ तर जीवनबिना जुनी काट्न मन छैन। जुनी धेरै पटक पश्चातापमा जली, “मैले जीवनलाई अझ एक वर्ष पर्खनु भनी झुट बोल्नु हुँदैन थियो। यही एक वाक्यले मलाई जीवन दिने जीवन मेरो जीवनबाट सधैंका लागि टाढा भएर गयो। अब त उसको बच्चा पनि ठुलो भइसक्यो होला।”

एक रात जुनीले नमिठो सपना देखी, “जीवन टापुमा बसिरहेको थियो। उसको शरीर पूरै धमिराले खायो। ऊ एकाएक माटाका ढिस्कामा परिणत भयो।”

जुनी झस्किँदै बिउँझिई। बिउँझिंदा उसको शरीर पसिनाले भिजेको थियो। उसलाई अचम्म लाग्यो। के अनिष्ट हुन लाग्यो भनेर मन फटाउन पुगी।

एक वर्ष, अर्को वर्ष, आउने वर्ष हुँदै वर्षहरू बित्दै गयो। जुनीले जीवनलाई सपनामा देख्थी तर कहिलै राम्रो देखिन, “कहिले धमिराले खाएको, कहिले पौडिँदै गर्दा नदीले तलसम्म बगाएको त कहिले भँगालामा हाम फालेको देख्थी” र कहालिँदै ब्युँझन्थी। हुँदा हुँदै शहरमा महामारी फैलियो। शहरकै मानिसहरू शहर छाडेर अन्त जान थाले। जुनी पनि घर फर्किई। महामारी सबैतिर फैलियो। दुर्भाग्य, जुनीका आमाबा महामारीले लग्यो। यो दुनियाँमा जुनी एक्ली भई। आमाबाका माया र जीवनका यादले उसलाई बेस्सरी सताउन थाल्यो।

जुनीको तीक्त र रिक्त जीवन सुरु भयो। रुँदारुँदा उसका आँखाहरू थाके, आँसुहरू रित्तिए। जुनीसँग रुने आँखा र बग्ने आँसुबाहेक केही रहेन। ऊ एक्लो भई। एक्ली जुनीलाई आमाबाका माया र जीवनका यादले पलपल रुवाइरह्यो। जुनीका जीवनको पर्याय केवल रोइरहनु जस्तै भयो।

जुनीलाई आमाबाबिनाको घर बस्न पटक्कै मन लागेन न त शहर नै जान मन लाग्यो। जुनी बिहान सबेरै नदीको भँगालोतिर लागी। जुनी मध्यान्हतिर भँगालामा पुगी। पुलमाथितिर नदीको पानी एक मुस्लो बनेर ठुलो शक्तिका साथ पुलका पिलरमा ठोकिँदै कालो गोहो बनाएर भित्रभित्र कहाँकहाँ भासिँदै थियो। जुनीलाई यस भँगालाले जीवनको याद बेस्सरी दिलायो। जुनीका आत्मालाई कुनै आवाजले भन्यो,“जुनी त्यहाँ नबस। तिमीलाई फेरि बचाउन जीवन आउँदैन। जीवन टापुमा तिमीलाई नै पर्खेर बसेको छ। जीवन प्राप्त गर्न तिमी छिटोभन्दा छिटो टापुमा जाऊ।” यसपछि जुनी टापुतिर हतारिँदै गई।

धेरै वर्षपछि जुनी टापुमा पुगी। त्यहाँ जीवन थिएन सबैतिर सुनसान थियो। जीवन आउने पारि किनारा पनि सुनसान थियो। जीवन बस्ने ठाउँमा धमिराले बनाएको माटोका ढिस्को थियो। त्यो ढिस्को देखेर जुनी छक्क परी किनभने उसले सपनामा त्यही ठाउँमा जीवनलाई धमिराले खाइरहेको देखेकी थिई। यसपछि जुनी जीवनका यादले झनै व्याकुल बन्न पुगी।

जुनीले त्यही माटाका ढिस्कालाई जीवनको अवतार मानी र बाँकी जीवन त्यहीँ बसेर त्याग गर्ने अठोट गरी र भनी, “जीवन तिमी नै मेरो पुनर्जीवनको जिउँदो भगवान् थियौ। मैले एक वर्ष पर्खिनु भनेर ठट्टा मात्र गरेकी थिएँ तर तिमीले त साचो ठान्यौ र अर्कै केटीसँग बिहेको तयारी गर्‍याै। ठट्टा गर्नु मेरो भुल थियो तर धोका थिएन। तर, तिमीले धोका दियौ तापनि मैले तिमीलाई धोका दिएको छैन। पहिलै नदीले बगाएर मारेको मानिस थिएँ म तर तिमीले बँचायौ अब म तिम्रा लागि मर्छु जीवन। यही ठाउँमा जहाँ तिमी र मैले युगयुगसम्म सँगै बाँच्ने सँगै मर्ने बाचा गरेका थियौँ।”

यसपछि जुनीले सधैँका लागि आँखा बन्द गरेर ध्यानमा बसी। बिस्तारै धमिराले जीवनलाई जसरी जुनीलाई पनि खायो। जुनी माटाका ढिस्कामा परिणत भई। त्यो टापुमा दुई वटा माटाका ढिस्को भयो।

समय बित्दै जाँदा त्यस टापुमा वर र पीपल उम्रियो। दुवै जवान भयो। चकमन्न रातको समय थियो। एक्कासि ठुलो हुरी चल्यो। पीपलतिरका दिशाबाट हुरी बेगले चलिरह्यो। अरु रुखका कमजोर हाँगाहरू भाँचिएर नदीमा खस्न थाले। हुरीको बेगले गर्दा पीपलका हाँगाहरू वरका रुखमा ढल्किए। पीपलको पूरै बोट नै उखिलिएला जस्तो भयो। पीपल आत्तियो। “मलाई बचाऊ बचाऊ” भन्दै करायो।

 यही बेला वरका हागाहरूले पीपललाई चारैतिर घेरा हाल्यो। यसपछि पीपल वरको अँगालामा पुग्यो। यही बेला वरले भन्यो, “जुनी तिमीलाई केही हुँदैन। तिम्रा लागि म छु। तर, मलाई माफ गरिदेऊ जुनी मैले अर्को केटीसँग बिहेको तयारी भयो भनेर झुट बोलेको थिएँ। तिमीबाहेक मैले कसैसँग बिहे गर्दिनँ थिएँ र गरेको छैन। तिमीलाई धेरै खोजे कतै भेटिन र यही टापुमा आएर तिमीलाई पर्खिदापर्खिदा म माटो भएँ। तिमीलाई मान्छेका जुनीमा नपाएपछि रुखका जुनीमा पाउन म वर भएँ। अझै पनि म खुसी छु जुनी। मान्छेका जुनीमा तिमीलाई नपाए पनि रुखका जुनीमा पाएँ।”

हुरी रोकियो तापनि वरले पीपललाई अँगालोमा बाँधिरह्यो। पीपलले हर्ष र पश्चाताप गर्दै भनी, “मलाई माफ गरिदेऊ जीवन। मैले तिमीलाई एक वर्ष पर्खन भनेर ठट्टा मात्र गरेकी थिएँ तर तिमीले साचो ठानेछौ। तिमीले मेरो अर्कै केटीसँग बिहेको तयारी भयो भनेको झुट रहेछ तर मैले साचो ठाने। तिमीलाई आफ्नो बनाउने सपना समाप्त भएको ठानेर म टाढाको शहरमा गएँ तर तिमीलाई कहिलै भुल्न सकिनँ। तिमीलाई खोज्दै यहाँ (टापु) आए र तिम्रै मायामा समर्पित हुन ध्यानमा बसेँ। म पनि माटो भएँ। अर्को जुनीमा भए पनि तिमीलाई पाउन म पीपल भएँ। अझै पनि म खुसी छु जीवन। मान्छेका जीवनमा तिमीलाई नपाए पनि रुखका जीवनमा पाएँ।”

हुरीले ढल्काएको पीपल बिस्तारै साबिकमा आयो। जस्तै हुरी चले पनि पीपल सुरक्षित हुने गरी वरले पीपलको चारैतिर हाँगाहरू फैलायो।

चोखो माया युगौं युगसम्म बाँचिरहँदोरहेछ। सच्चा प्रेम युगौं युगसम्मका लागि हुँदोरहेछ।

(डा. पुरण राईकाे नयाँ कथासंग्रह अस्तुबाट।)

प्रकाशित: १६ फाल्गुन २०८० १३:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App