२४ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

दिलभित्र घाउ छ, खत छ कसरी भन्ने होला!

मुक्तक

१) मुक्तक

खास भएर पनि लाग्दैन खास नफुले पनि हुन्थ्यो,

रुझ्नुपर्छ हेर बारम्बार वर्षामास नफुले पनि हुन्थ्यो।

ऊ साथमा छैन उसकै चिन्ताले यो मन दुखिरहन्छ,

यो वनमा यसपाली लाली गुँरास नफुले पनि हुन्थ्यो।

२) मुक्तक

शहर जस्तो नभए पनि शहर फर्केर आउँदिन,

फर्किन्छ कि भन्ने नमान डर फर्केर आउँदिन।

मबिना नै तिमीलाई खुसी मिल्छ भने प्यारी,

कसम भयो म अब मेरै घर फर्केर आउँदिन।

३) मुक्तक

अचानक भए भने हाराहारी के भन्छ होला,

बोल्ने बहानामा कुरा नटारी के भन्छ होला।

पूर्व प्रेमिका कतै आफ्नै भाउजू बनिन् भने,

एकान्तमा भाउजू या  प्यारी के भन्छ होला।

४) मुक्तक

नहोस् जाँगर नहोस् जोस् गुनासो छैन,

बादल लागोस् झरी परोस् गुनासो छैन।

मलाई चन्द्रमामा बस्ती बसाल्न मन छ,

जीवन जीवन जस्तो नहोस् गुनासो छैन।

५) मुक्तक

थाहा छँदा छँदै सबथोक हेर किन भन्न पर्‍याे,

जानीजानी उसकै अगाडि पुगेर किन भन्न पर्‍याे।

आफ्नै दुनियाँ बिर्सेर पागल भएको मान्छे हो ऊ,

पागल मान्छेलाई पागल भनेर किन भन्न पर्‍याे।

६) मुक्तक

सकिन्न जीवन घट्दैन ज्ञान गर्दै गर्नुपर्छ,

आफूलाई नहुने गरी हैरान गर्दै गर्नुपर्छ।

रक्तदान नै जीवन दान हो यसकारण,

बेलाबेलामा रक्तदान गर्दै गर्नुपर्छ।

७) मुक्तक

आफ्नो अस्तित्व आफ्नो सार जहाँ पनि हुन्छ,

उज्यालो सब हटाए अन्धकार जहाँ पनि हुन्छ।

मण्डपमा मात्र देखाई राम्रो नभन्नुस् महोदय,

हर नारीको थोरैधेरै श्रृङ्गार जहाँ पनि  हुन्छ।

८) मुक्तक

देखिन्न के छ जिन्दगीको खेलामा कति ठेस लाग्छ,

उही आँगन र एउटै ठेलामा कति ठेस लाग्छ।

सपनाको उडान भर्दै गरेको चरीलाई सोध,

सपनाको उडान भर्ने बेलामा कति ठेस लाग्छ।

९) मुक्तक

दिलभित्र घाउ छ खत छ कसरी भन्ने होला,

सहमत मबाट छैन सहमत छ कसरी भन्ने होला।

फर्केर आउँदिन भनी छोडेर गएको मान्छे हो ऊ,

फर्किन्छु भन्छ फेरि स्वागत छ कसरी भन्ने होला।

१०) मुक्तक

थपिन्छ जोस थपिन्छ उमङ्ग मीठो बोलिदिनुस्।

सबै बनून् बोली सुनेर दङ्ग मीठो बोलिदिनुस्।

मरेर जाँदा सँगै लैजान केही पाइन्न महोदय,

बाँचुञ्जेल भेटिएकाहरूसँग मीठो बोलीदिनुस्।

प्रकाशित: १२ फाल्गुन २०८० १०:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App