coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘सार्वभौम वन’को यात्रा

प्रदर्शनी

‘सार्वभौम वन’ भनेको के हो? तपाईंको दिमागमा झट्ट के आउँछ?

मसँग टुरमा जाने भए यो प्रश्नको उत्तर दिनु जरुरी छ।

अच्छा, मनमनै उत्तर दिइसक्नुभयो भने हिँड्नोस्, म तपाईंलाई सार्वभौम वन डुलाउन लैजान्छु।

मसँग आज डुल्न जाँदा अँध्यारो हुँदै गुज्रनुपर्छ। यो अँध्यारो विगत अढाई महिनादेखि काठमाडौंमा प्रदर्शनरत छ तर निकै कमले चासो दिएका छन्। अँध्यारोमा छिरेपछि धेरै कुरा उज्यालिँदै जान्छन्। अँध्यारोमा धेरै कुरा छिप्छन् तर त्यहाँ धेरै कुरा भइरहेका हुन्छन्। त्यो भान दिने एउटा प्रदर्शनी जनबरीयता काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्मा जारी छ। मैले त्यसैको कुरा गरिरहेको हुँ।

यो प्रदर्शनी अन्य प्रदर्शनीजस्तो छैन। अन्य प्रदर्शनीमा तपाईं छिर्नु भएपछि त्यहाँ जे देख्नुहुन्छ, जे बुझ्नुहुन्छ, त्यो आफ्नो दृष्टिकोण बनाएर फर्कनुहुन्छ। त्यसमा कुनै खास कलाकारको कुनै खास आग्रह वा पूर्वाग्रह हुँदैन।

यो प्रदर्शनीमा पनि त्यस्तो आग्रह त राखिँदैन तर सन्दर्भ बुझाउन कोही न कोही सँगै हुन्छ। ती सहयोगीलाई तपाईंले नबुझेसम्मका कुरा सोध्न सक्नुहुन्छ। यो प्रदर्शनीको सबैभन्दा सशक्त पक्ष भनेको यसले दिने संग्रहालयको झल्को हो। यो एउटा सानो संग्रहालय हो र यो सानो संग्रहालयमार्फत अवलोकनकर्ताले इतिहास, भूगोल, पर्यावरण र भविष्यसमेत एकसाथ बुझेर फर्कन्छ।

यो प्रदर्शनीमा म तीन पटक छिरें। अन्तिम पटक मलाई अझ गहिरोसँग बुझाउन प्रदर्शनीका आयोजक फोटोसर्कल नेपालकी नयनतारा कक्षपति हुनुहुन्थ्यो। अनि, बल्ल मैले यो सानो संग्रहालयका बारेमा लेख्न सकें, नत्र त सूचनाको बबन्डरमा हरेक पटक म त्यहीं हराउने गरेको थिएँ।

प्रदर्शनी हलभित्र छिर्नेबित्तिकै एउटा लामो सूचनापाटी देखियो। यो सूचना पाटीमा ‘सार्वभौम वन’ लेखिएको थियो। यसको परिकल्पनाकार अमर कन्वर हुन्। भारतका कन्वरले यो प्रदर्शनी भारतका विभिन्न ठाउँसँगै विभिन्न देशमा समेत गरिसकेका छन्।

 अमर डकुमेन्ट्री विधाका ख्यातनाम हुन्। उनको ‘अ नाइट अफ प्रोफेसी’ नामक डकुमेन्ट्री निकै चर्चित छ। उनको त्यो चर्चा र ख्यातनाम यहाँ छिरेपछि बिर्सनुहुन्छ र उनको यो कृतिमा रन्थनिनुहुन्छ।

यो प्रदर्शनी उनको सो डकुमेन्ट्रीबारे होइन। ‘सार्वभौम वन’ त भारतको उडिसा राज्यमा वनक्षेत्रमा पाइएको खनिज उत्खनन, त्यसको प्रतिरोध, आन्दोलनका सामान्य नायकहरूबारे हो।

म अलि बढी बहकिएँजस्तो छ। अब फेरि सुरुदेखि नै कुरा गरौं होला। जब प्रदर्शनी स्थलमा छिरिन्छ, तपाईंले यो प्रदर्शनी के हो भन्ने एउटा ठाडो कालो पृष्ठभूमिमा लेखिएको जानकारीमा पुर्‍याइन्छ।

अमरले सुधीर पटनायक तथा समद्रुष्टि तथा शेरना दस्तुरसँगको सहकार्यमा प्रदर्शनी स्थलमा देखिने भिडियो, अडियो, तस्बिरहरू मात्र होइनन्, धानका नमुना र अन्य धेरै कुराहरू संकलन गरेका छन्।

तपाईंलाई त्यसैबेला ‘टुरगाइड’ले छेउमै ठुलो स्वरका साथ देखाइँदै गरेको भिडियोतर्फ आकर्षित गर्नेछन्। यो भिडियो उडिसाको आदिवासी क्षेत्रको हो। अबका केही वर्षमा यी देखिएका दृश्य फेला पर्ने छैनन् किनभने त्यहाँ एउटा ठुलो खनिज उत्खनन कम्पनीले यहाँको दुर्लभ खनिज खोतल्न केन्द्रीय सरकारसँग स्वीकृति लिइसकेको छ।

सुरुमा त त्यहाँका आदिवासी कम्पनी खुल्ने हुँदा खुसी पनि भए तर समयक्रममै थाहा भयो, स्थानीयबाट धमाधम खेत, बारी र गाउँ नै किनिँदै थियो। यही स्थिति रहे, एउटा ठुलो समुदाय शताब्दीऔंदेखि बसिरहेको उनीहरूको थातथलोबाट विस्थापित हुँदै थिए।

हामीलाई घुमाइरहेकी फोटोसर्कलकी नयनतारा गुरुङ कक्षपतिले भनिन्, ‘हेर्दा त्यहाँ विकासको कुरा भइरहेको थियो तर भित्री रूपमा मान्छेको घर उजाडिँदै थियो, थातथलो खोसिँदै थियो।’

यसपछि त्यहाँका सर्वसाधारणले प्रतिरोध थाले। प्रतिरोधमा प्रहरी परिचालन भए। केहीको ज्यानसमेत गयो। अचानक ठुलो कम्पनीलाई स्थानीयले जग्गा नबेच्ने भएपछि धाकधम्की दिन थालियो। केहीले आफ्नो जग्गाको लालपुर्जा हरायो भन्न थाले, केहीले अन्यत्रै लुकाए।

अमरले केही वर्षअघि झारखण्ड राज्यमा यस्तै प्रतिरोध देखेका थिए। त्यहाँ पनि सर्वसाधारणका जग्गा हडप्ने, प्रतिरोध गर्नेको हत्या गर्नेलगायतका क्रियाकलाप भएका थिए र त्यसै मेसोमा एक जना स्थानीय नेताको ‘माओवादी’को बिल्ला लगाउँदै हत्या गरिएको थियो।

ठुलो लगानीमा खुल्न लागेको खनिज कम्पनीका कारण आदिवासीहरूको थातथलो बचाउने आन्दोलनमा लागेकाको हत्या भएपछि अमर झङ्कृत भएका थिए।

कसरी आदिवासी थातथलोबाट विस्थापित हुन नमान्नेहरू सिध्याइन्छन् भन्ने उनी उदाहरण बनेका थिए। र, यो प्रदर्शनीमा उनको त्यो छोटो भिडियो ‘लुप’ भइरहन्छ। जहिले पनि प्रदर्शनीमा हामीले भित्तातिर हेर्छौं तर यो भिडियो चाहिँ हामीले शिर निहुर्‍याएर हेर्नुपर्छ। मानौं, हामी पनि शोकमा छौं।

यसपछि नयनताराले अर्को त्यस्तै निहुरिएर सम्मान गर्नुपर्ने ठाउँमा पुर्‍याउँछिन्। योचाहिँ भारतको संविधानको धाराहरू लेखिएको ठाउँ हो। त्यो धारामा आदिवासी हकको कुरा छ। जल, जंगल र जमिनमा आदिवासी अधिकारको कुरा छ।

त्यो बाक्लो कागजको पाना पल्टाउँदा तपाईंको रौं ठाडो हुनसक्छ किनभने त्यहाँ वास्तवमै जल, जंगल र जमिनका जराहरू फैलिएजस्तै रेसाहरू फैलिएको पाउनुहुन्छ।

यसपछि अब तपाईं अलि अघि बढ्नु भएपछि आफ्नो थातथलो बचाउन संघर्ष गर्दा ज्यान गुमाएका ‘पर्यावरणीय सहिद’हरू देख्नुहुन्छ। ती सहिदहरू देख्दा भने मलाई फ्याट्ट दिलीप महतोको सम्झना आयो। उनी नेपालको पहिलो पर्यावरणीय सहिद हुन्।

उनले नेपालको चुरे क्षेत्रमा निर्बाध भइरहेको दोहनका विरुद्धमा आवाज उठाएका थिए तर सानो आम्दानीको लोभमा सारा समुदायको भविष्य नै चौपटमा पारिरहका समूहले त्यो आवाज सुन्न सकेन। उनी जुन डोजर रोक्न निस्केका थिए, त्यसैले किचेर मारिदिए।

शक्तिशालीले विद्रोही आवाज सुन्न चाहन्न। यो सबैतिरको समस्या हो। भारतमा पनि यस्ता हत्या धेरै भएका छन्। तिनैमध्येका केही ‘पर्यावरणीय सहिद’को अनुहार नियाल्दा पक्कै तपाईंले पनि नेपालको मधेस/तराईका केही अनुहारको झझल्को पाउनुहुन्छ।

यसपछि अलि अघि बढ्नुभयो भने तपाईंले धानका बिउहरू देख्नुहुन्छ। त्यहाँ १३५ जातका ओडिया धानका बिउहरू यसरी मिलाएर राखिएका छन्, मानौं ती चिहान हुन्। हुन पनि बदलिँदो मौसम, पर्यावरणीय समस्या र अन्धाधुन्द आधुनिकीकरणका कारण धेरै रैथाने बिउ चिहानघारीमा पुगिसकेका छन्।

ती रैथाने बिउहरू जस्तोसुकै मौसममा पनि फल्ने जातका थिए तर बढी आम्दानीको लोभमा रैथाने बिउ बिर्सिइए, त्यसका साटो ठुला कम्पनीले बनाएका कृत्रिम बिउहरू प्रयोग गर्न थालिए। पुराना बिउ बिर्सिइए र ती चिहानमा परिणत भए। जब देशमा विकास हुन थाल्छ, त्यो विकासले रैथाने चिजहरूलाई चिहानमा पुर्‍याउन थाल्छ।

त्यहाँ तपाईंले ती बिउका जात, ती बिउ लगाउने समय, पाक्ने बेला सबै लेखिएको छ किनभने यो पुराना स्मृतिहरूको संग्रहालय हो। तपाईं सहरिया हो भने पक्कै पनि धान रोप्न बिर्सिसक्नुभएको छ। धान रोप्न बिर्सनु भनेको तपाईंको शरीरले त्यो आदिम लचकता, लय र कामको शैली बिर्सिसक्नुभएको छ।

नयनताराले यी कुरा सुनाउँदा ‘मसल मेमोरिज’ भनेकी थिइन्। वास्तवमा केही कुरा गुम्नु भनेको शरीरको स्पश्र्य स्मृति पनि लोप हुनु हो। जबसम्म स्पश्र्य स्मृति रहन्छ, हामीले रैथाने चिजहरू कसरी संरक्षण गर्ने, सुरक्षित पार्ने र पुनः उत्पादन गर्ने बुझ्न सक्छौं, त्यो नै गायब भएपछि हामीले सदासर्वदाका लागि त्यो बिर्सन्छौं।

यो प्रदर्शनीले त्यसका लागि पनि झक्झकाउँछ।

असार १५ मा नेपालीले रमाइलोका लागि आफ्नो आँगनमा गमलामा धान रोपेर भए पनि मनाउने धान दिवस त्यही ‘मसल मेमोरी’को सिको हो।

यसपछि तपाईंको मस्तिष्क झनन्न हुन्छ, जुन विकासका लागि हामी आज दौडधुप गरिरहेका छौं, त्यो विकासको नाउँमा हामीले के के गुमाइरहेका छौं! हामीलाई अहिले त अन्धाधुन्ध विकास चाहिएको छ, बाटो चाहिएको छ र यतिबेला हामी ‘डोजरे विकास’को एउटा उच्चतम तहमा पुगिसकेका छौं। अन्ततः यस्ता विकासको अर्थ के भनेर सोच्न बाध्य पार्छ।

यसपछि नयनताराले हामीलाई त्यो अँध्यारो कुनाबाट बाहिर निकालिन् र एक तला चढाइन्। त्यहाँ पनि तलकै जस्तो डकुमेन्ट्री देखाइँदै थियो। यो तल्लाको सबैभन्दा आकर्षक पक्ष भन्नु स्थानीयहरूको तस्बिरको डकुमेन्टेसन थियो।

डकुमेन्टेसन भनेको ठुलाबडाको मात्र हुँदैन। सानाहरूको धेरै कुरा पनि हुँदैन तर ती ऐतिहासिक हुन्छन्। जसजसले घर, खेत, व्यक्ति, आफन्तजन, पशुधन गुमाए, ती सबै कुराहरू भोलिका लागि ऐतिहासिक अभिलेखनको एउटा पाटो बन्न सक्छ भन्ने उदाहरण त्यहाँ भित्ताभरि छरिएका थिए।

‘सार्वभौम वन’ प्रदर्शनी पहिलो पटक सन् २०१२ अगस्त १५ मा उडिसाको राजधानी भुवनेश्वरस्थित समद्रुष्टि परिसरमा भएको थियो। सो परिसरमा सन् २०१६ डिसेम्बर ३० सम्म प्रदर्शन भएपछि अस्थायी रूपमा स्थगन गर्नुपर्‍यो। पक्कै पनि यसको शक्तिशाली सन्देशका कारण बन्द गर्न दबाब आएको हुनुपर्छ।

सन् १९५० को दशकदेखि नै उडिसामा रैथाने किसानलाई जबर्जस्ती विस्थापित गर्ने क्रम चलेको हो र अहिलेसम्म जारी छ। पछिल्ला २५ वर्षमा थुप्रै पर्वतशृंखला, वनजंगल तथा कृषियोग्य जमिन खनिज उत्खननका लागि बेचिएको वा भाडामा दिइएको छ।

जमिन अधिग्रहणको प्रक्रिया सजिलो पारिएयता भ्रष्टाचारका विविध अभ्यास सुरु भए। भ्रष्टाचारका कारण स्थानीय किसान, माझी, आदिवासी समुदायका जग्गा डर, धाक, धम्की, लोभले हत्याउने क्रम त सुरु भयो नै, त्यससँगै प्रतिरोध आन्दोलन पनि हुन थाले। यस्ता प्रतिरोधलाई सहरी अभियन्ताले पनि साथ दिए।

अभियन्ता र स्थानीयहरूले भाडाका गुण्डाबाट प्रताडित समेत हुनुपर्‍यो। सन् १९९९ यता अमर कन्वरले ती द्वन्द्वका गतिविधिलाई दस्ताबेज बनाउन थालेका थिए। उनले यसलाई ‘राज्यद्वारा आफ्नै जमिन तथा नागरिकमाथि गरिएको युद्ध’ नामकरण गरेका छन्।  

नयनतारा भन्छिन्, ‘यो प्रदर्शनीले अपराध, राजनीति, मानवअधिकार तथा पर्यावरणबारे हामीलाई एक विचारोत्तेजक बुझाइसम्म पुर्‍याउँछ।’

यो प्रदर्शनीमा जानु एउटा भावनात्मक संवेगको चाकाचुलीमा संवेदित हुनु हो। यो तस्बिर, भिडियो, अडियो मिश्रित डकुमेन्टेसनहरूको प्रदर्शनी मात्र होइन, यादहरूको स्मृतिगृह पनि हो। र, यो स्मृतिगृह यति भव्य किसिमले डिजाइन गरिएको छ कि तपाईंले एक साथ दुई वटा कुरा अनुभूत गर्न सक्नुहुन्छ, हाम्रा संग्रहालयलाई यस्तै रोचक र संवेदित किन बनाउन सकिन्न? अनि, हाम्रो देशमा पनि पर्यावरणको हदै विनास भइरहेको अवस्थामा यस्ता प्रदर्शनीबाट हामीले पाठ किन सिकिरहेका छैनौं ?

(सार्वभौम वन कला प्रदर्शनी आउँदो चैत ८ सम्म हरेक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म जारी रहनेछ।)

प्रकाशित: १२ फाल्गुन २०८० ०९:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App