अमेरिका जान खोज्नु, अमेरिका पुग्नु, अमेरिकामै बस्नुलाई हामी नेपालीले अहोभाग्यका रूपमा लिन्छौं। कोही आफन्त, साथीभाइ, चिनेगुनेका मान्छेले अमेरिका पुगेपछि नेपालतिर फर्केर साथीभाइलाई सम्झे भने खुसीले पुलकित हुने जमात ठुलो छ।
अझ नेपालमा त भुटानी शरणार्थीलाई नेपाली बनाएर अमेरिका पठाउने अर्को धन्दा नै चल्यो। त्यति मात्र कहाँ हो र? एउटा समूह महिनौं हिँडेर मात्र होइन, लाखौं खर्च गरेर अमेरिका छिर्न तल्लीन छ।
यस्तो अवस्थामा नेपालको सुखसयलको जागिर छाडी अमेरिका पुगेका सिभिल इन्जिनियर कृष्ण कुसुमले नेपाली परिवेशको अमेरिकी जिन्दगीको रहनसहनलाई सम्झाएर ‘पार्श्वधुन’ कथासंग्रह नेपाली साहित्याकाशमा दिएर अमेरिका गएका छन्।
यतिबेला नेपालीहरू कथासंग्रह पढ्ने भन्दा पनि कथालाई नाटक बनाएर आफैं मञ्चन गर्ने धुनमा छन्। नेपाली साहित्यका धेरैजसो अध्यता कथाकार आत्मरतिमा रमाउन थालेका बताउँछन्।
अझ भनौं, सामाजिक सञ्चालमा धेरैजसो मानिस आफन्तबाट एक्लिँदै गएको अवस्थामा साहित्यकार पनि त्यसबाट अछुतो छैनन्। यस्तो अवस्थामा अमेरिकी माटोसँग पिरती गाँसेका कथाकार कुसुमले नेपाली पाठकलाई दिएको ‘पाश्र्वधुन’ले नशा–नशामा आफ्नै जीवनको लयलाई पस्केको अनुभूति दिलाएका छन्।
डायस्पोरा साहित्यमा थोरै तर गहकिलो कृति लेखेर चुपचाप बस्ने कथाकार कुसुमका कथामा चर्चामा आएका धेरै पात्रलाई पछि देखिन्छ। कथामा तेस्रो देश पुनर्वासमा गएका नेपाली भाषी भुटानीहरूको कथा थोरै नेपालीले पढे भने पनि त्यसको सान्दर्भिकता र देशप्रेमबारे पछिल्लो पुस्ताले थाहा पाउँछन्।
नेपाली भाषीहरू जहाँ गए पनि सामन्तवादी सोचले ग्रस्त हुन्छन् भन्ने अर्को भाष्य कथाभित्र रहेको छ। त्यसलाई हटाउन अर्को पात्र सिर्जना गर्नुपर्छ भन्ने सन्देश कथाले दिन्छ तर समस्यासँगै आउने समाधानलाई भने कथामा त्यति समेटेको पाइँदैन।
पछिल्लो समय कथा लेखन समस्या मात्र होइन, समाधान हो भन्ने परिष्कृत भाव कथामा भेटिँदैन तर समस्यालाई सुल्झाउन कथाकारले नजिकै अर्को पात्र पनि खडा गरेका छन्।
पुस्तकको सुरुमै ‘एउटा अन्त्य’ शीर्षकको कथाले अमेरिकामा छात्रवृत्तिमा पढ्न आएको मानिसको सम्झनायोग्य वर्णन गरेको छ। एउटा विद्यार्थी ढुक्कसँग आफ्नो पढाइलाई अगाडि लैजान खोजिरहेको हुन्छ तर आफ्नो बसाइलाई दीर्घकालीन र भविष्य सुरक्षित बनाउने भन्दै ऊ अमेरिका बस्न चाहिने आवश्यक कागजपत्रका लागि चिन्तित भइरहन्छ। भुटानी मूलका नेपालीहरूले अमेरिका गएर पनि सन्तोषका साथ जीवनयापन गर्न नसकेका कुराले उसको मन बेमेल हुन्छ।
कथामा उनी आफ्नो परिवारलाई भुटानी शासकले लखेटेको नभई सम्पत्ति आफ्नो बनाउने आफ्नै बडाबाले लगत छुटाएर षड्यन्त्र गरेको देखिन्छन्। अमेरिकामा गएपछि पनि देशविहीन र नागरिकताविहीन मात्रै नभई भाषा हराउनुपर्दा विक्षिप्त गोपालले अन्त्यमा आत्महत्याको बाटो रोजेको छ।
पछिल्ला पुस्ताका लागि यो कथा पूर्वस्मृति शैलीमा लेखिएका कारण निकै शक्तिशाली रहेको छ, जीवन र जगत्लाई शिक्षा र अर्थसँग जोडेको छ।
कथासंग्रहमा तेह्रमध्ये आठवटा कथा नेपालीहरूले बिदेसिनुपर्ने परिस्थिति, बिदेसिएपछि आइपर्ने समस्याहरूबारे लेखिएका छन्। जसमा अमेरिका बसाइलाई मात्र ध्यान दिइएको छैन।
श्रमिकका समस्या विश्वभरि नै एकै हुन् भन्ने भावना समेटिएको छ भने अर्कोतर्फ बसाइँसराइको उद्देश्य अवसरको राम्रो खोजी र समस्याको समाधानभन्दा पनि व्यवस्थापन हो भन्ने भाव समेटिएको छ।
‘एकपटक आफैंलाई राम्ररी नियालें ऐनामा। रूप भन्ने कुरा यस्तै रहेछ। संसारभरको सबभन्दा नराम्रो व्यक्तिले ऐना हेर्यो भने उसले आफूलाई नराम्रो नदेख्ला। सायद मलाई पनि त्यस्तै भयो। ऐना ढल्काई ढल्काई हेर्दा आफ्नो रूप आफूलाई त राम्रो लाग्थ्यो तर उसलाई कस्तो लाग्ला ? दिनभर हिँडेको खुट्टाजस्तो मन पनि करकर खाइरह्यो।’
पार्श्वधुनभित्र एउटा कथा छ त्यो हो ‘ब्याइन्ड डेट’। त्यसभित्रको एक अंश हो यो। सायद कथासंग्रहभित्रका सबै कथा यही भावसँग मेल खान्छन्। कथासंग्रह पढेपछि पाठकसँग ऐना र अनुहारको रूप हेरेका छन् कथाकार कुसुमले। ‘ब्लाइन्ड डेट’ अमेरिकामा नेपाली छात्राको निर्मम नियतिको सजीव चित्र हो भन्दा फरक पर्दैन।
एकपटक समीक्षक राजकुमार बानियाँले उनको कथाबारे भनेका थिए– ‘कृष्ण कुसुमको कथाकारिकताले ‘बर्ड आई भ्यु’लाई सहजै स्वीकार गर्दैन। बरु छिद्रान्वेषणमा लैजान्छ र रहस्योद्घाटन गरिछाड्छ।’
पेसाले इन्जिनियर हुन् उनी। साहित्यको विषयमा परिपक्व, अनुभवी साहित्यकारभन्दा कमजोर छैनन्। समीक्षक बानियाँका शब्दलाई यहाँ उदाहरणका रूपमा प्रस्तुत गर्दा उनी युवा साहित्यकार माझ शब्दका चतुर खेलाडी हुन्। उनले धुरन्धर विद्वान्को पनि मथिङ्गललाई एकैछिन विश्व घुम्न बाध्य बनाउँछन्।
यो कथासंग्रहको ‘माया उर्फ पासो’लाई यसैको उदाहरणका रूपमा लिन सकिन्छ। ‘माया उर्फ पासो’ नक्कली विवाह गरेर विदेश जाने फेसनको उत्कर्ष हो भने ‘लडाकु’मा माओवादी आन्दोलनको उपजलाई जोडिएको छ। यसले अन्नतः अर्थ र राजनीतिलाई अभावसँग जोडेको छ।
नेपाली न हुन्, राजनीतिले किन छाड्थ्यो। बेलाबखत सामाजिक सञ्जालमा तिखा शब्द पोख्ने कथारकारले ‘क्लोन’ कथामा राजनीतिक भावनामाथि खेलोफड्को गरेका छन्। परिवर्तन भनेको एउटा राजा हटाएर देशका ७६० स्थानमा नयाँ स्वरूपका रंगीचंगी रजौटा स्थापना गर्नु हो त? प्रश्न उठाएका छन्।
‘अन्त्य राजाको होइन, राजतन्त्रको भएको हो। तन्त्र पड्किँदा व्यक्ति सकिने होइन, शासन सकिने हो’ यस्ता कुराले व्यवस्था व्यवस्थापनमा कमजोरी भइरहेको प्रतीत गराएका छन्।
कथाकारले धेरैजसो कथा ‘म’ पात्रबाट सुरु गरेका छन्। जसले गर्दा उनले आफ्ना जीवनका भोगाइलाई बढी राखेका हुन् कि भन्ने अनुमान सहज छ। तर सबै पाठकको जीवन उनको भोगाइसँग मेल खाँदैन भन्ने तथ्यलाई उनले बिर्सैका हुन् कि भन्ने प्रश्न उठ्न सक्छ।
छोराछोरीहरूको निम्तोमा अमेरिका गएका आमाबुबाको कथाले पनि नेपालको भन्दा पनि सहरिया नवधनाढ्यहरूको हविगतलाई प्रस्ट पारेको छ। बुढाबुढीको समस्या बेग्लै हुन्छ अनि छोराछोरीको कामको चाप बढी। कथा पढ्दै जाँदा यस्ता धेरै कुराले नेपाली परिवेशबाट हराउन बाध्य पार्छ।
प्रकाशित: १२ फाल्गुन २०८० ०९:२४ शनिबार