ए मन ! सम्हाल आफूलाई
अनि सम्हाल आफ्नो प्रवेग
आँधी पनि नबनाउनू त्यसलाई
हुरी पनि नबनाउनू है
सुस्तरी चल्नू ए मन!
बिस्तारै चलाउनू
यो जीवन–गाडी
डर लाग्छ मलाई
कतै ठोकिन्छ भनेर
पिर लाग्छ मलाई
कतै पल्टिन्छ भनेर
मरे त भयो
तर
पीडाको काँडा उम्रन्छ मनभरि
कतै सम्बन्धहरू
अंगभंग हुन्छन् भनेर।
त्यसैले
बिस्तारै चल्नू तिमी
जसरी चल्छ
टन्टलापुर घाममा पवन
तिमीले मलाई पनि चलाउनू
जसरी हावाको इसारामा चल्छ बादल
अनि
निलो आकाशमा बन्छन्
बादलका सुन्दर बुट्टाहरू।
हरेक बिहान
उषाको पारिलो किरणजस्तै
झुल्कन सिकाउनू
यो जीवनलाई
विचारलाई क्षणभरमै
आकाश पुर्याएर
क्षणमै पातालमा नपछारिदेऊ
प्रिय मन !
आफूभित्र ज्वालामुखी जमाएर
यो जीवन नचलाउनू
पीडाभन्दा माथि उठेर
जीवनलाई सुनौलो वासन्ती
बनाएर चलाउनू
जुन सदैव मगमगाइरहोस्।
प्रकाशित: ५ फाल्गुन २०८० ०७:५१ शनिबार