७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

‘छचल्का’ लघुकथासङ्ग्रहमा विद्रूप वर्तमानको संश्लेषण

‘सानो झ्यालबाट सिङ्गो संसार चियाउन सकिन्छ’ भन्ने कुनै विद्वान्को भनाइअनुसार दैनिक जनजीवनको चक्रमा लामा–लामा लेखरचनाहरू पढ्ने–लेख्ने समयाभावका कारण आज साहित्यिक उपविधा लघुकथाको लेखन/प्रकाशन ह्वात्तै बढेको सर्वविदितै छ।

साहित्यले समाज, गाउँ, सहर र सिङ्गो भूगोलको प्रतिनिधित्व गर्ने कुरामा दुईमत छैन। साहित्य जसलाई हामीले समाजको ऐनाका रूपमा मान्यता प्रदान गर्दै आएका छौं। यसैगरी हाल लोकप्रिय रहेको साहित्यिक उपविधा लघुकथाले समाज–जनजीवन र समयलाई दर्साउने गरेको पाइन्छ।

वर्तमान यति छिटो घटित र सङ्कुचित हुँदैछ कि मान्छेलाई जीवनयापन गर्न सहज छैन। दैनन्दिन्य जीवनका लागि लामो दौड गर्नुपर्ने अवस्था छ।

अतः लामा कथा या उपन्यासहरू पढेर बस्ने समयाभावलाई लक्षित गरी केही दशकयता आख्यानप्रेमीहरूका लागि केही छोटा कथा लेखिने गरिएको पाइन्छ। सम्भवतः यस नयाँ उपविधालाई ‘लघुकथा’ भनिन्छ हिजोआज।

आजको सामाजिक चुरो भनेकै विरोधाभास, अधिकार, समानता, पारिवारिक विखण्डन, अशान्ति, विसङ्गति, वैदेशिक पलायन, जीवनप्रतिको निराशा, पीडाबोध, सङ्कट, अभाव र यी यावत् तथ्यहरूले प्रतिनिधित्व गरेका लघुकथाहरू समेटेर एक प्रतिनिधि सङ्ग्रह ‘छचल्का’ प्रकाशनमा आएको छ।

‘छचल्का’ लघुकथासङ्ग्रहमा भाषाशैली यति सरल–सहज छ कि जुनसुकै तह र तप्काका पाठकले सजिलै बुझ्न सक्छन्। ९९ लघुकथाकारहरूका एक–एकवटा उत्कृष्ट लघुकथा सङ्कलन र सशक्त तवरले सम्पादन गरी सम्पादक विमल भौकाजीले भुँडीपुराण प्रकाशनको सहकार्यमा प्रकाशनमा ल्याएका हुन्।

यस अर्थमा वर्तमान लघुकथाको उर्वर फाँटमा उदाहरणयोग्य हिसाबले ‘छचल्का’ फलेको छ, फुलेको छ। यद्यपि, यस सङ्ग्रहमा केही सशक्त लघुकथाकारहरूका रचना छुटेकोमा भने अलिक खल्लो लाग्छ।

एकएक पढ्दै जाँदा चोटिला लघुकथाहरूले व्यङ्ग्यात्मक चेतसमेत समेटिएका छन्। समय घर्केपछि अर्थात् मान्छे मरेपछि गोहीको आँसु झार्ने परम्परा अनि सामाजिक वा साहित्यिक विषमता एवं विकृतिलाई व्यङ्ग्य प्रहार गरिएको छ।

 आम नागरिक सर्वाधिक उत्पीडित हुनुपरेको वर्तमानको टड्कारो समस्या भनेको राजनीतिक स्वार्थ हो। सङ्ग्रहका कथाले आम नागरिकका आँसु, रोदन, सुकसुकाहट, अन्त्यहीन पीडा, गरिबी, अभाव, छटपटी आदि विषयलाई मार्मिक ढङ्गले प्रस्तुत गरेका छन्।

लघुकथासङ्ग्रहमा पुस्तागत रूपमा हेर्नुपर्दा– गोरखबहादुर सिंह, दुर्लभलाल सिंह, मनु ब्राजाकी, रत्न कोजू, विनयकुमार कसजू, मञ्जु काँचुली, ध्रुव मधिकर्मी, गणेशकुमार प्रधान, बाबुराम लामिछाने, अशेष मल्ल, लव गाउँले, किशोर पहाडी, विमल भौकाजी, हरिगोविन्द भोमी, दिव्य गिरी, राजव, पेशल आचार्य, सुरेन्द्रलाल भुजू, विनोद दाहाल, रूपक श्रेष्ठ, रत्न प्रजापति, इन्द्रकुमार श्रेष्ठ सरित्, युवराज मैनाली, नवराज रिजाल, अच्युत घिमिरे लगायत क्रमशः युवापुस्तासम्मका लघुकथाहरू समेटिएका छन्। तसर्थ यस सङ्ग्रहलाई वर्तमान अवस्थामा एक प्रतिनिधि लघुकथासङ्ग्रह मान्ने आधार तयार भएको पाइन्छ।

केही उद्धरणका सन्दर्भमा: परिवर्तित समयकाल अनुसारको सोझासाझाहरूसँग चोरी, ठगी र जालझेल गरी उँभो लाग्ने केही व्यक्तिहरूको जस्तै चरित्र रहेको मनु ब्राजाकीको लघुकथा ‘धर्म परिवर्तन’मा ‘उसले यताउति पल्याकपुलुक हेर्दै तिनीहरूले मात्र सुन्ने गरी मिठो स्वरमा भन्यो ‘चोरी’।

यसरी, मौकापरस्त व्यक्तिको धर्म नै चोरी हुने कुरालाई ब्राजाकीले बडो सहज ढङ्गले लेखेका छन्।

एक गाउँमा एक्ली बुढीआमा बस्दै थिइन्। बुहारी–नाति सहरतिर र छोरा विदेशतिर रोजगारमा थिए। आम नेपालीले भोग्नुपर्ने नियति, छोरो बाकसमा फर्कियो र कसैले छोराको हविगत बुढीआमालाई सुनाएका थिएनन्।

बाकस बुझेर फर्किंदै गर्दा बुढीआमै आफैंमा गुनगुनाउँदै भन्छिन्, ‘मेरो छोरो पहिलेदेखि नै पौरखी हो, खुब मेहनती थियो। सधैं भन्ने गथ्र्यो-आमा, तिमीलाई कुनै कुराको अभाव हुन दिने छैन। नभन्दै विदेश गएको यति थोरै समयमा यी आज यति ठुलो बाकस पठाएछ।’

यो भनाइमा रहेको निर्दोषपना, छोराप्रतिको अथाह विश्वास र माया समेटिएको छ- भनी साध्य छैन। आजको कठोर वास्तविकता प्रस्तुतिका साथ ‘बाकस’ लघुकथा वनमाली निराकारको सफल लघुकथामा दरिएको छ।

टीकाराम रेग्मीको ‘पाप कस्तो हुन्छ ?’बाट हिन्दु परम्पराले देवी पूजामा बलि दिइने अवस्थामा कथा पात्र रघुको क्रियाकलाप हेरिरहेका विदेशी मित्र छक्क पर्छ। परिदृश्य यस्तो थियो-‘रघुले केही फलाक्दै बोकाको शरीरमा पानी छ्याप्यो। बोकाले शिर हल्लायो र मार हान्नेले एकै चोटमा छप्कायो। त्यसपछि छटपटाइरहेको रगताम्मे बोको लिएर बाहिरियो। केही पर पुगेपछि रघुतिर फकेर रोबर्टले भन्यो-‘रघु, तपाईंले धर्म गर्दा त यस्तो हुन्छ, पाप नै गर्दा कस्तो होला?’

सकारात्मक र नकारात्मक पाटो रहेको वैदेशिक रोजगारसँग सम्बन्धित लघुकथा ‘डेरा’मा इन्द्रकुमार श्रेष्ठ सरित्ले विकृत पक्षलाई यसरी उजागर गरेका छन्- ‘भोलिपल्ट रामुलाई बिदाइ गरेर एअरपोर्टबाहिर निस्केपछि अरूबाट अलिछेउ लागेर प्रकृतिले फोन गरिन्-हेलो लच्छु! कहाँ छौ, भेट्ने हैन? काँ बाहिर भेटिरने र यार! अब त तीन वर्ष घरमै भेट्ने हो। मस्ती नभाको जिन्दगी के जिन्दगी? दुईचार दिनलाई हैन, अब तीन वर्षका लागि डेरा यता सार न। हुन्न र!’ फोन समाप्तिपछि पनि प्रकृतिको मधुरो तर अर्थपूर्ण हाँसो गुन्जिरहेको थियो।’

‘पराई’ लघुकथामा खेमराज पोखरेल लेख्छन्-‘साह्रै दिक्दारीले सुतेछु, तन्द्रामा प्रभु आएछन्। प्रभु दयालु हुँदै भन्दै थिए-‘वर माग मनुष्य।’ मैले हतारहतार भनेछु- ‘आफन्तबाट रक्षा गर प्रभु, पराईसँग त म आफैं जुध्छु।’ यसरी केही लघुकथाको उद्धरणलाई  टुङ्ग्याउन चाहें।

मानवीय कुण्ठा, पीडा, विसङ्गति र जर्जर मानसिकता बोकेर बाँचेका पात्रहरू यस लघुकथासङ्ग्रहका प्रतिनिधि पात्र हुन् भन्दा फरक नपर्ला। लघुकथालाई नवरसमा बाँधेर प्रस्तुति गर्ने साहित्यिक व्यक्तित्वका कथा नै यहाँ प्रस्तुत भएका छन्। लघुकथामा बिम्ब, प्रतीकात्मकता, नयाँ शैलीको प्रयोग पनि वाञ्छनीय हुने गरेको छ। अन्ततः कतिपय लघुकथाकारका लघुकथा यस पक्षमा कमजोर रहेको देखिन्छ।

यसै सन्दर्भमा केही लघुकथामा शिल्पगत कलात्मकताको कमी नखट्किएको पनि होइन। विषयवस्तु, लेखनशैली र प्रस्तुतिलाई ध्यानमा राखेर सिर्जना भएमा लघुकथाहरू उत्कृष्ट बन्न सक्ने तथ्यलाई अतिशयोक्ति मान्न सकिन्न।

यसरी ‘छचल्का’जस्तै क्रमशः नयाँनयाँ सङ्ग्रहका प्रकाशनबाट नयाँ प्रतिभाहरू उदाउने वातावरण सिर्जना हुने नै छ भन्ने विश्वास गर्न सकिन्छ।

प्रकाशित: ५ फाल्गुन २०८० ०७:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App