२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

पापीझैं देखिए पनि मन पवित्र हुन सक्छ!

मुक्तक

१) मुक्तक

ज्ञानको भण्डारले मान्छेलाई मान्छे बनाउँछ,

आफ्नो भविष्य आफ्नै बाहुपाशमा नचाउँछ।

सञ्जीवनी तितो हुन्छ तर अमूल्य औषधि हो,

त्यही रत्नाकर डाँकु वाल्मिकि बनी कहलाउँछ।

२) मुक्तक

व्यक्तिबाट व्यक्तित्व बन्ने सोचमा फोहोरी दिमाग हटाएँ,

पुनः सोचें र छानें फोहोरको मोहोर अनि मनमा सजाएँ।

कसैको ज्यान बचाउनलाई ढाँटेका थिए बुद्धले समेत,

विरोधका लागि विरोध गर्ने आफूले आफैंलाई हप्काएँ।

३) मुक्तक

जहाँ समस्या आउँछ, त्यहाँ पक्कै समाधान हुन्छ,

भन्नेले बिझ्याइँ भन्लान् तर बेग्लै स्वाभिमान हुन्छ।

एकताको शक्तिले सामर्थ्य राख्छ संसार जित्ने,

सही योजनाले सही ठाउँमा सफल उडान हुन्छ।

४) मुक्तक

व्यवस्था फेरिए पनि मुट्ठीभरकाले चलेको छ,

कठै! मेरो देश आन्दोलनै आन्दोलनले गलेको छ।

अवस्था फेरियोस् भन्ने चाहनामा छन् जनता,

आशाका किरण नातावादको छायाले छलेको छ।

५) मुक्तक

परिवार पाल्न विदेश जान्छु भन्दा गोली चलाए,

विचरा! सरकार खुसी हुन्छ, उसैको गीत गाए।

युवा शक्तिविना असम्भव छ देश समृद्ध हुन,

कसले देश छोड्छ, क्षमता अनुसार रोजगारी पाए।

६) मुक्तक

जसलाई सय फेर गाली गर्‍यो, तिनैलाई पुनः जिताएपछि,

चुनावको नतिजासँगै राजधानीतिरै विजयोत्सव मनाएपछि।

दूधको साक्षी बिरालोझैं नेतालाई बनाइराखेका छैनौं कतै!

नत्र किन युवाहरू विदेशिन्छन्, बाँच्ने आधार नपाएपछि।

७) मुक्तक

चुलोचौकोमा सीमित हुन्न कथाले मागेपछि,

देशको शान्ति वाटिकामा वैरीले दागेपछि।

बच्चाकी आमा या नारी हुँ कहाँ भन्न मिल्यो र!

सार्वभौमसत्ता बचाउने दिन नै आइलागेपछि।

८) मुक्तक

जति प्रकृति स्वच्छ छ, आयु बढ्छ र हामी हुन्छौं,

हराभरा सौन्दर्य जोगाउन सक्यौं भने दामी हुन्छौं।

सर्वश्रेष्ठ भइकन, अबुझपन देखाउँछन् मान्छेहरू,

भावी पुस्ता स्वस्थ हुन यो पुस्ता जब दुरगामी हुन्छौं।

९) मुक्तक

चुनावभन्दा पहिले हाम्रो घर एउटै आकारमा थियो,

छोपेर सुनको फाली उ बाँड्थ्यो फलामको सियो।

हेमन्तमा समेत वासन्ती फूल फुलाइरह्यो उसले,

आखिरीमा यमराजले म र उ सँगसँगै उभ्याइदियो।

१०) मुक्तक

झट्ट हेर्दा चित्रभन्दा फरक चरित्र हुन सक्छ,

पापीझैं देखिए पनि मन पवित्र हुन सक्छ।

काफी हुन्छ एक झलकमा मान्छे चिन्न त,

छद्मभेषमा झुल्किएर समेत मित्र हुनसक्छ।

 - म्यामराज राई

प्रकाशित: २ फाल्गुन २०८० १४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App