१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

मरेपछि मान्छेकै शरीर पनि जलेर जान्छ!

मुक्तक

१) छैन

माथि उक्लनका लागि अर्काको बुइ पनि चढ्नु छैन,

निगाह प्राप्तिका लागि कसैको छाता पनि ओढ्नु छैन।

आफू त आफ्नै रफ्तारमा हिंड्न चाहने मान्छे परियो,

अरूको खुट्टा तानेर उछिन्दै अगाडि पनि बढ्नु छैन।

२) सम्बन्ध

कतिपय सम्बन्धहरू जोड्न नपाइकनै टुट्दा रहेछन्,

कतिपय सम्बन्धहरू पानीका फोकाझैं फुट्दा रहेछन्।

स्टेशनमा भेटिने यात्रुहरूझैं हुँदारहेछन् सम्बन्ध भन्ने पनि,

कतिपय छुट्दा रहेछन् त फेरि कतिपय जुट्दा रहेछन्।

३) दम्भ

बलेको मैन बत्ती पनि स्वतः गलेर जान्छ,

चढेको जवानी पनि त स्वतः ढलेर जान्छ।

दम्भ गर्नु किन बेकारमा आखिर यत्तिकै,

मरेपछि मान्छेकै शरीर पनि जलेर जान्छ।

४) मन

भन्न र गन्नलाई त सबै नै छन् वरिपरि, 

तर मन भने फेरि एक्लै हुन्छ घरीघरी।

बुझेर बुझी नसक्नु विचित्रकै रहेछ मन,

छेपारोले रंग बदलेझैं बदल्ने थरीथरी। 

५) सम्भावना

समय सधैंभरि एकनास हुँदैन यता उता सर्न सक्छ, 

चुचुरोमा पुगिसकेकै पनि कुनै दिन पुनः झर्न सक्छ। 

अरूलाई दुःख पर्दा खुसीले ताली नबजाउ त्यसरी,

आज अरूलाई परे भोलि आफैंलाई पनि पर्न सक्छ। 

प्रकाशित: २ फाल्गुन २०८० ०९:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App